भर्खरै :

गलत शिक्षा नीतिले जनशक्ति उत्पादनमा समस्या

गलत शिक्षा नीतिले जनशक्ति उत्पादनमा समस्या

देशको हालको शिक्षा नीतिले देश र जनताका आवश्यकतालाई ग्रहण गर्न सकेको छैन । देश र जनताको आवश्यकता पूरा गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्न शिक्षालाई उत्पादन श्रमसँग मिलाउने राष्ट्रिय शिक्षा नीति आवश्यक हुन्छ । त्यसअनुसार कृषि, जलस्रोत, पर्यटन र प्राविधिक शिक्षालाई प्राथमिकता दिनु जरूरी छ । नाचगान, ललितकला, वास्तुकला, शिल्पकलाजस्तो स्थानीय प्रविधिको संरक्षण र संवद्र्धन गर्न तथा त्यसलाई सैद्धान्तिक आधार दिन नयाँ विश्वविद्यालय खोल्नु आवश्यक छ र वैज्ञानिक शिक्षा दिने बन्दोबस्त गर्नुपर्छ । आफ्नै देशको निम्ति आवश्यक जनशक्ति तयार गर्न र रोजगारको निम्ति पनि ठुलो प्राविधिक श्रमशक्ति उत्पादन गर्नु आवश्यक छ । तर, सरकारले यस्तो शिक्षा व्यवस्था गर्न सकेको छैन ।
विगतदेखि हालसम्मको स्थिति हेर्दा नेपाली शिक्षाले देशलाई चाहिने जनशक्ति उत्पादन गरेको छैन । जुनसुकै देशको शिक्षाले आफ्नो देशको लागि चाहिने जनशक्ति उत्पादन गर्छ, गर्नुपर्छ । शिक्षालाई आर्थिक सम्पन्नताको भ¥याङ बनाउने शासकहरूको गलत नीति र निर्णयले गर्दा उच्च शिक्षा हासिल नगर्दै विदेश जाने र उतै घरजम गर्ने विचार विद्यार्थीहरूमा विकास भइरहेको छ । शिक्षाले विद्यार्थीलाई जीवन र जगत्सँग जोड्न सिकाउनुपर्ने हो । त्यस्तो शिक्षाले विद्यार्थीलाई राष्ट्र र राष्ट्रियतासँग परिचित गराउँछ; देशभक्त बनाउँछ; देश बनाउने र विकास गर्ने भावनाको विकास गराउँछ । तर, यहाँ विदेश र विदेशीलाई चाहिने जनशक्ति उत्पादन गर्ने र गराउनेमा शासकहरू लागिरहेका छन् । शिक्षा र शिक्षण पेसालाई सतहीरूपमा बुझ्ने र बुझाउने प्रयासले देशको लागि आवश्यक जनशक्ति तयार हुँदैन ।
विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्छन् । तर, आफ्नो योग्यता र क्षमताअनुसार उनीहरूले काम पाउँदैनन् । कति विद्यार्थीसँग क्षमता हुन्छ तर आर्थिक समस्याको कारण उच्च शिक्षा हासिल गर्ने अवसर मिल्दैन । कति परिवारमा पढ्ने वातावरण हुँदैन । घरमा परिवारबिच हुने कलह, अशान्ति, अभिभावकहरू विदेश पस्ने जस्ता घटनाले विद्यार्थीहरूमा वितृष्णा पैदा हुन्छ । सबै विद्यालयमा आवश्यक शैक्षिक सामग्री हुँदैन । विद्यालय आउन र घर जान समस्या हुन्छ । भौगोलिक विकटताको कारण विद्यार्थीहरू नियमित विद्यालय जान पाउँदैनन् । कति शिक्षकहरू पनि विद्यालयमा नियमित पुग्दैनन् । सरकारले स्कूलको पढाइलाई कहिल्यै महत्व दिएन । स्कूलहरूको भौतिक तथा शैक्षिक गुणस्तरमा मतलब राख्दैन । यसकारण, विद्यार्थीहरूको पढाइमा कमजोर हुन्छ ।
हालै सार्वजनिक भएको शैक्षिक सत्र २०८० को कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा राम्रो देखिएन । बैतडीको पाटन नगरपालिकाले सार्वजनिक गरेको परीक्षाको नतिजामा ८० प्रतिशत विद्यार्थी असफल भएको जानकारी प्रकाशमा आयो । सो नगरपालिकाको शिक्षा शाखाले सोमबार प्रकाशित गरेको नतिजामा सात वटा विद्यालयको नतिजा शून्य रह्यो । नौ वटा विद्यालयमा मुश्किलले एक एक जना विद्यार्थी उत्तीर्ण भयो । त्यस्तै देशका अन्य नपा र गाउँपालिकाको नतिजामा धेरै विद्यालयको नतिजा शून्य भएको प्रकाशित भएको थियो ।
शिक्षाको स्तर यसरी दयनीय हुनुमा दोष कसको ? शिक्षित हुनु भनेको आर्थिकरूपमा सबल र सक्षम हुनु भन्ने भाष्य खडा भएपछि, विदेश जाने मोहमा पल्केपछि देशको शिक्षाको स्तर कसरी बढ्छ र देशको निम्ति आवश्यक जनशक्ति कसरी उत्पादन हुन्छ ? देश र जनताप्रति जिम्मेवार भएमा, मेहनती, कर्तव्यनिष्ठ भएमा, सीपयुक्त, इमानदार भएर मुलुक र मुलुकवासीप्रति सद्भाव राखेमा मात्र देशको शैक्षिक स्थिति राम्रो हुन्छ । देशमा विज्ञान र प्रविधिको विकास नभएसम्म देशको मुहार फेर्ने छैन । देशका नागरिकले योग्यताअनुसार काम र कामअनुसारको ज्याला पाएन भने उनीहरूको जीवन सुनिश्चित हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *