भर्खरै :

हिन्दू राष्ट्रको चिरफार

हिन्दू राष्ट्रको चिरफार

राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) हिन्दू राष्ट्र वा हिन्दू राज्य स्थापना गर्ने उद्देश्यका साथ स्थापना भएको सङ्गठन थियो । प्रश्न उठिहाल्छ, हिन्दू राज्य के हो ? अन्य धर्मको तुलनामा एउटा धर्मलाई प्राथमिकता दिने विश्वमा धेरै देश छन् अथवा धार्मिक राज्य पनि छन् । तर, धर्म विशेषलाई मान्दैमा ती राज्यको वर्गीय प्रकृतिमा कुनै अन्तर ल्याउँदैन । यसैगरी हिन्दू राज्य साकार भयो भने नै भने पनि राज्यका अधिकारीहरूले धर्मको नाममा शपथ त लेलान् तर त्यसले समाजको वर्गीय परिभाषामा कुनै फेरबदल आउनेछैन । धेरै कारणहरू केलाउँदा बरु त्यो राज्य आतङ्कको अधिनायकतन्त्र हुने देखिन्छ । त्यसको भाग्य नयाँ र अझ बढी आक्रामक एकाधिकार पुँजीले लेख्ने देखापर्छ । कम्युनिस्ट इन्टरनेसनलका अध्यक्ष रहेका ज्योर्जी दिमित्रोभ त्यसको सातौँ सम्मेलनमा फासीवादी राज्यको परिभाषा दिँदै भन्नुभएको थियो, “वित्तीय पुँजीको सबैभन्दा प्रतिक्रियावादी र प्रतिशोधी तप्काको आतङ्ककारी तानाशाही ।”
हाम्रो सन्दर्भमा भन्नुपर्दा हिन्दू राष्ट्र निश्चय नै फासीवादी राज्य हुनेछ । त्यो राज्यमा सबै सरकारी कार्य हिन्दू देवीदेवताको पुकारबाट सुरु हुनसक्छ । सबै सडक, रेल स्टेसन वा सहरको नाम फेरेर हिन्दुत्वका अनुहार बनेका मध्ययुगीन सम्राटहरूको नाममा राखिन सक्छ† सबै शैक्षिक कार्य सरस्वती बन्दनाबाट सुरु हुनसक्छ र सरकारकै खर्चमा धेरैधेरै मन्दिरको निर्माण हुन पनि सक्छ । तर, यी सबै गर्दा पनि एक औसत हिन्दूको जीवनमा कुनै सुधार आउनेछैन । मुसलमान धर्मावलम्बीको मन जित्न टर्कीको इस्तानबुलस्थित प्राचीन चर्च हागिया सोफियालाई इर्दोगान सरकारले मस्जिदमा परिणत ग¥यो । तर, त्यस कार्यले टर्कीका औसत नागरिकको जीवनमा कुनै सुधार आएन ।
अलि गहिरो विश्लेषण पनि गर्न सकिन्छ । पहिले त हिन्दूत्ववादीहरूको वर्तमान शासनकै अनुभवलाई हेरौँ । पछिल्लो दशकको तुलनामा अहिले भारतमा बेरोजगारीको अवस्था निकै नाजुक छ । भारतीय अर्थतन्त्र निगरानी केन्द्रका अनुसार सन् २००८ देखि सन् २०१९ बिच औसत बेरोजगारी दर ५/६ प्रतिशतबाट बढेर अहिले ८ प्रतिशतको हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार सो संस्थाले घरमा गरिने बेतलबी काम, दर्ता नभएको काम र (उत्पादनमा कामदारको सहभागितालाई दुरुत्साहन गर्न सक्छ भनेर) लामो समय काम नपाएर बेरोजगार भएपछि मन मारेर बसेका धेरै मानिसलाई अध्ययनमा ल्याउन्न । तर, हिन्दूत्ववादीहरूले नेतृत्व गरेको सरकारले खस्किँदो स्थितिमा कुनै सुधार ल्याउन सकेन । उल्टो सरकारका प्रमुख आर्थिक सल्लाहकारले बेरोजगारीको मामिलामा सरकारले धेरै गर्न नसक्ने भनी खुलेरै घोषणा गरे । उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छैनन् । भारत सरकारले उनलाई त्यो अभिव्यक्ति फिर्ता लिन पनि भनेको छैन । यसबाट उनको अभिव्यक्ति सरकारकै अभिव्यक्ति हो भनी बुझ्नुपर्छ । बेरोजगारी नै अहिले भारतीय कामदार जनताको बिचल्लीको मुख्य कारण हो । तसर्थ, भारतका कामदार जनतालाई सताइरहेको सबैभन्दा जल्दोबल्दो मुद्दामा भारत सरकारले सजिलै केही पनि नगर्ने भनी आफ्नो सोच स्पष्ट पारिसकेको छ ।
यसको अर्थ वर्तमान सरकारको कार्यकालमा जनताको दुःखकष्ट बढ्नेछ । यो सरकारले जाली अनुमानका आधारमा तयार पारिएको कूल घरेलु उत्पादनको प्रभावशाली वृद्धिदरको ढ्वाङ फुक्नुबाहेक अरू केही गर्नेछैन । अनि यसैलाई देखाएर एकाधिकार पुँजीपतिहरूलाई ‘विकास’ को नाममा राज्यको धन दानदक्षिणामा बाँड्न सक्छ । त्यसपछि जनताको बढ्दो दरिद्रताको सक्कली चित्र देखाउन खोज्नेहरू राज्यको कोपभाजनमा पर्न सक्छन् । हिन्दूत्ववादीहरू हाबी भएको निर्वाचित सरकारले यस्तै गर्ने हो भने भविष्यमा बन्न सक्ने हिन्दू राष्ट्रले जनताको भौतिक जीवनप्रति राज्यको उदासिनतालाई थप संस्थागत गर्नुसिवाय केही गर्नेछैन ।
यसैकारण, भावी हिन्दू राष्ट्र आतङ्कको प्रयोग गरी कायम हुने तानाशाही बन्न जानेछ । सरकारको स्वरूप लोकतान्त्रिक नै भए पनि कामदार वर्गमाथिको सम्पन्न वर्गको शासनलाई राज्यले निर्बाध चल्न दिनेछ किनभने त्यो आफैँमा वर्गीय तानाशाही हुनेछ । अर्थात्, लोकतान्त्रिक स्वरूप असान्दर्भिक वा दोयम दर्जामा झर्नेछ भनेको होइन; बरु लोकतान्त्रिक स्वरूपलाई वर्गीय तानाशाहीले सुरक्षितरूपमा थन्काएर राख्नेछ । त्यो वर्गीय तानाशाहीमा जनताको जीवनस्तर खस्किँदै जाँदा राज्य केही नगरी बस्छ भने त्यो तानाशाहीले सरकारको लोकतान्त्रिक स्वरूपको घाँटी थिच्दै जानुपर्नेछ । उसले जनअधिकार र शासनकलाका लोकतान्त्रिक संस्थानहरूलाई मिच्दै र कुल्चिँदै जानुपर्नेछ ।
हिन्दू राष्ट्र बन्यो भने त्यो एकाधिकार पुँजीको अनुकम्पामा वर्गीय तानाशाहीको रूपमा रहनेछ । त्यसले नवउदारवादी नीतिको परिधिभित्र रहेर काम गर्नेछ किनभने एकाधिकार पुँजीपतिले नवउदारवादसँग घाँटी जोडेको छ । यसले गर्दा कामदार जनताको दुःखकष्ट झन् बढ्नेछ किनभने यो नवउदारवादी सङ्कटको बेला हो । यस्तो स्थितिमा सम्भावित हिन्दू राष्ट्र आतङ्कको प्रयोग गर्ने तानाशाहीमा फेरिनै पर्नेछ ।
यही कारण एकाधिकार पुँजीपतिको एउटा ठुलो जमातले हिन्दू राष्ट्र परियोजनालाई अँगाल्ने सम्भावना छ । आतङ्कसँगसँगै साम्प्रदायिक तिक्ततामा घिउ थपिनेछ; धार्मिक अल्पसङ्ख्यकहरूलाई ‘पराइ’ बनाइनेछ । हिन्दू राष्ट्रको निर्माणसँगै यो प्रक्रियाले मलजल पाउनेछ । एकाधिकार पुँजीको आतङ्कलाई प्रयोग गरी चलाइने तानाशाही अर्को अर्थमा हिन्दू राष्ट्रभित्रको हिन्दू सर्वोच्चता साबित हुनेछ; त्यहाँ हिन्दू सर्वोच्चता संस्थागत हुनेछ । त्यही भएर सुरुमै हामीले हिन्दू राष्ट्र निश्चय नै एकाधिकार पुँजीको कृपामा आतङ्क प्रयोग गर्ने तानाशाही व्यवस्था हुनेछ भनेका हौँ ।
आतङ्कको प्रयोग गर्नु र हिन्दू सर्वोच्चताको राँको बाल्नु दुवैसँग तेस्रो पक्ष पनि गाँसिएको छ । हिन्दू राष्ट्रले कार्यकर्ता परिचालन गरेर सामाजिक प्रतिक्रान्तिको द्वार खोल्नेछ । बिसौँ शताब्दीमा भारतमा दुई समानान्तर आन्दोलन चले । पहिलो उपनिवेशवादविरोधी सङ्घर्ष थियो भने दोस्रो जातिप्रथामा आधारित सामन्ती समाजमा हजारौँ वर्षसम्म उत्पीडनमा परेका जनताको मुक्तिको सङ्घर्ष थियो । एउटा आन्दोलनका धेरै नेताले अर्को आन्दोलनप्रति व्यक्तिगतरूपमा सहानुभूति नराखेको हुनसक्छ । तर, जनताको तहमा दुवै आन्दोलनमा अन्योन्याश्रित सम्बन्ध थियो । वामपन्थी आन्दोलनले यो सह–सम्बन्धलाई अभिव्यक्ति दिएको थियो ।
यो जुम्ल्याहा आन्दोलनकै परिणामस्वरूप भारतमा गहिरो सामाजिक रूपान्तरण आयो । पक्कै पनि यो रूपान्तरण अविराम अघि बढेन; यसलाई पुँजीवादी सीमारेखाले थिचिरह्यो । यद्यपि, सामाजिक रूपान्तरणले देखिने पाइला चालेकै हो । यसको एउटा उदाहरण हेरौँ ।
२० औँ शताब्दीको आरम्भमा आज केरला राज्य रहेको भेगमा ‘अछूत प्रथा’ मात्र होइन ‘अदेखा प्रथा’ पनि थियो । यसको अर्थ ‘उच्च’ जातको व्यक्तिले तल्लो जातको व्यक्तिलाई देख्यो भने पनि बिटुलो हुन्छ भनिन्थ्यो । त्यो समयलाई आजको केरलासँग दाँज्दा मानव विकास सूचकाङ्कका हिसाबले केरला अधिकतर तेस्रो विश्वका देशहरूभन्दा धेरै माथि छ । यति मात्र होइन केरलालाई प्रायः विकसित पुँजीवादी देशसँगै तुलना गरिएको पाइन्छ । यसबाट हामी यहाँ भएको सामाजिक परिवर्तनको गहिराइ बुझ्न सक्छौँ । निश्चय नै केरला अरूभन्दा धेरै फरक छ† केरलाभन्दा थोरै सही भारतभरि नै थोरधेर सामाजिक परिवर्तन आएकै हो ।
हिन्दूत्वको सत्तारोहणलाई यी रूपान्तरणहरू उल्ट्याउने भित्री आश्वासन र वास्तविक प्रयासले पनि सघाएका छन् । राजनीतिक र सामाजिक वृत्तमा उसले यो रूपान्तरणलाई उल्ट्याएको छ । जनतालाई राजनीतिकरूपमा शक्तिसम्पन्न तुल्याएको लोकतन्त्रको हुर्मत लिएर र धर्मनिरपेक्षता घटाउँदै लगेर यसो गरिएको कसैबाट लुकेको छैन । यो उल्ट्याइ सर्वत्र फैलिँदै छ । उदाहरणको लागि हिन्दूत्व नेतृत्वको नवउदारवादी सरकारले निजीकरणलाई बढावा दियो । शिक्षामा मात्र निजीकरण भएको होइन, सामाजिकरूपमा वञ्चित समुदायलाई रोजगारी र अवसरबाट च्युत गरियो । यो चल्तीको भन्दा ठीकविपरीत कार्य हो ।
नवउदारवादी अर्थनीतिबाट लाभ उठाउँदै आएको उच्च मध्यमवर्गले आफूलाई कामदार जनसमूहबाट अलग्याउँदै लग्यो; साथै जनसमूहप्रतिको सहानुभूति घटाउँदै गयो । यो वर्ग अहिले प्रतिक्रान्तिको समर्थक बनेको छ । यसको अर्थ हिन्दूत्वको सत्तारोहण भारतमा धेरै वर्षदेखि चल्दै आएको सामाजिक रूपान्तरणको अवरोहण वा ¥हाससँग जोडिएको छ । हिन्दू राष्ट्रसँगै सच्चा प्रतिक्रान्ति गतिमान हुनेछ ।
कसैको शब्द पछाडि लाग्नु छलकारी हुनसक्छ । हिन्दू राष्ट्र यसको बलियो उदाहरण हो । हिन्दूत्ववादी शक्तिको प्रचारतन्त्रले हिन्दू राष्ट्र हिन्दूहरूको मुक्तिको दिन हुने फलाक्दै आएको छ । यसको उल्टो हिन्दू राष्ट्र खोल ओढेको तानाशाही हुनेछ र त्यसले एकाधिकार पुँजीको स्वार्थसिद्ध गर्नेछ; सङ्कटबाट गुज्रिरहेको नवउदारवादी व्यवस्थालाई मालामाल बनाउनेछ । बहुसङ्ख्यक जनताको भलो गर्नु त परेको कुरा हिन्दू राष्ट्रले प्रतिक्रान्तिकारी छाल ल्याउनेछ । त्यो छालले गत शताब्दीमा भारतीय जनताले हासिल गरेको सामाजिक र राजनीतिक उपलब्धिलाई उल्ट्याउनेछ । तसर्थ, किसान जनसमूहसँग मिलेर हिन्दू राष्ट्रतर्फ चालिने एक–एक पाइलालाई रोक्नु भारतीय कामदारवर्गको ऐतिहासिक अभिभारा हो ।
(एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *