भर्खरै :

जर्मनीमा मजदुर आन्दोलन – ३

जर्मनीमा मजदुर आन्दोलन – ३

तर, ५ जुलाई १८४८ को ‘पक्राउ’ भन्ने लेखलाई लिएर चलेको मुद्दाको फैसला भएको थिएन । ७ फेब्रुअरीको दिन फैसला थियो । सरकार राजनैतिक सङ्कटबाट फाइदा उठाउन चाहन्थ्यो । अदालतमा माक्र्स र एङ्गेल्सले त्यस लेखको वास्तविकताबारे बयान दिनुभयो । न्यायालय उहाँहरूलाई छोड्न बाध्य भयो ।
त्यसको भोलि अर्थात् ८ फेब्रुअरीको दिन माक्र्स र उहाँका साथीहरूलाई ‘विद्रोह भड्काउन खोजेको’ आरोपमा न्यायालयमा उपस्थिति गराइयो । त्यसबेला जनतामा ठुलो उत्साह थियो ।
माक्र्सले सफाइ दिँदै भन्नुभयो, “कानुनको इलाकाभित्र क्रान्ति हुन्छ भन्ने कुरो होइन । कानुन वर्तमान समाजको अनुरूप र भौतिक उत्पादनको अनुसार हुनुपर्छ । राजा र राष्ट्रिय सभाको भिडन्त दुई वर्ग र दुई विचारको भिडन्त हो, जो नभई छोड्दैन ।”
नोभेम्बर १८, १८४८ को राइन जिल्ला समितिले कर नतिर्न गरेको आह्वान जनताको स्वार्थको पक्षमा छ, त्यो प्रजातान्त्रिक विरोध हो भनेर भन्नुभयो । यदि राजाले प्रतिक्रान्ति गर्छ भने जनताले क्रान्तिबाट त्यसको जवाफ दिनेछ । उहाँको सैद्धान्तिक सफाइले गर्दा न्यायाधीशहरूलाई उहाँलाई छोड्न कर लाग्यो ।
स्थानीय प्रशासन र सैनिक अधिकारीहरू माक्र्सलाई नै राइनको मुख्य बाधा सम्झन्थे । तर, जनताको विद्रोहको डरले केही गर्न सकेका थिएनन् ।
२६ फेब्रुअरी १८४९ मा दोस्रो च्याम्बर बस्यो । बैठकले तीनवटा प्रतिक्रियावादी ऐनको खेस्रा राख्यो । त्यो ऐन सङ्घ–संस्था, सभा, ठुलो अक्षरले लेखेर टाँस्ने (पोस्टर) र प्रेसको मुख थुन्ने खालको थियो । त्यो बेलाको १८१९ तिरको जनविरोधी ‘मुख थुन्ने’ ऐनजस्तै थियो । प्रतिनिधिहरू काँतर थिए । अरू त के वामपन्थीहरूसमेत दक्षिणपन्थी हुन पुगे । माक्र्स र एङ्गेल्सले त्यसबेलाका लेखहरूमा वामपन्थीहरूलाई खुब आलोचना गर्नुभयो ।
कोलोनका जनताले प्रतिनिधिहरूलाई दबाब दिन ठुलठुला सभाहरू राख्न थाले । त्यसमा कम्युनिस्टहरू पनि उपस्थित हुन्थे । स्थानीय मजदुर लिगहरूले राजनैतिक भोजहरू आयोजना गर्न थाले । त्यो कोलोन र राइन प्रदेशका विभिन्न नगरहरूमा सुरु भयो । सबभन्दा पहिले ११ फेब्रुअरीको दिन मुल्हेन अन–रेन भन्ने ठाउँमा भोजको आयोजना गरिएको थियो । माक्र्सले विदेशका मजदुरहरूको अगुवाइबारे एक भाषण दिनुभयो । उहाँले फ्रान्स, बेलायत, बेल्जियम, स्वीजरल्यान्ड र अरू देशहरूको मजदुर आन्दोलनमा जर्मनीका मजदुरहरूले भाग लिएको कुरो बताउनुभयो ।
११ मार्च १८४९ मा मतदाताहरूको एक सभा भयो । त्यस सभाले ९ जवानको एक समिति चुन्यो । त्यसमा माक्र्स र उहाँका साथी पनि थिए । माक्र्सले जर्मनीको नागरिकता पाउनुभएको थिएन । तर, त्यो एक राजनैतिक प्रदर्शन थियो । त्यस सभाले दोस्रो च्याम्बरका प्रतिनिधिहरूलाई बर्लिनको घेरा हटाउन आह्वान गर्यो ।
१६ मार्चको दिन ‘नयाँ राइन समाचार’ ले ‘मुख थुन्ने ऐन’ बारे छलफल गर्न हजारौँ जनताको हस्ताक्षर लिए । कोलोनका प्रतिनिधिहरूलाई एक विरोध पत्र लेखे । पत्रमा यदि त्यो ऐन पास गर्यो भने कोलोनका प्रतिनिधिहरूले दोस्रो च्याम्बरबाट राजीनामा दिनुपर्छ भनेर लेखिएको थियो । कोलोन जिल्लाको सेनानायकले युद्ध मन्त्रीलाई माक्र्सको गतिविधिको अगुवाइबारे फेरि लेख्यो ।
मजदुर लिग र प्रजातान्त्रिक समाजको तर्फबाट २४ फेब्रुअरीको दिन कोलोनमा अर्को प्रजातान्त्रिक भोज आयोजना गरिएको थियो । त्यो भोज फ्रान्सको फेब्रुअरी क्रान्तिको वर्षगाँठमा आयोजना गरिएको थियो । ठुलो इजर भवन भरिएको थियो । सबै देशका प्रजातन्त्रवादीहरूको अन्तर्राष्ट्रिय एकता देखिएको थियो । पेरिसको फेब्रुअरी र जूनको विद्रोहमा सहिद भएका सबै वीरहरूको सम्मान गरियो ।
नयाँ राइन समाचारका सम्पादकहरूलाई धेरै धेरै निमन्त्रणाहरू आउन थाले । मार्चको क्रान्तिको वर्षगाँठ मनाइयो ।
१९ मार्चको दिन मजदुर लिग र प्रजातान्त्रिक समाजले बर्लिनको भिडन्त वर्षगाँठको समारोह आयोजना गरेको थियो । त्यसमा लगभग ६,००० मानिस उपस्थित थिए । त्यसमा माक्र्स र अरू सम्पादकहरूले पनि भाग लिनुभएको थियो । एङ्गेल्सले पेरिसको जून विद्रोहको सम्झना गर्नुभयो । शापरले बेलायती ‘मागपत्र’, ड्रोनकेले सर्वहारा क्रान्तिबारे सम्झना गराए । जून र मार्चको क्रान्तिको तुलना गरेर रातो झन्डामुनि नयाँ क्रान्तिको निम्ति आह्वान गरे । रातो गणतन्त्रको नाममा समारोह टुङ्गियो । ‘नयाँ कोलोनिज जाइतुङ’ ले लेखेअनुसार त्यो ‘सर्वहारावर्गको उत्सव’ थियो ।
त्यस्तै, बेलामा पुँजीपतिवर्गले नयाँ नयाँ नियम बनाएर मदजुरवर्गलाई दुःख दिन थाल्यो । माक्र्स र एङ्गेल्सले मजदुरहरूको भलाइको निम्ति लड्नुभयो ।
चारैतिर प्रतिक्रान्तिकारी शक्ति बढ्दै थियो । २० मार्च १८४९ को दिन अस्ट्रियाले फेरि इटालीमाथि हमला गर्यो । २३ मार्चको लडाइँमा इटालीको पैड्मोन्टको सेना हार्यो । क्रान्तिकारी लडाइँ लड्ने तरिका उपयोग नगर्नाले त्यो लडाइँ हारेको थियो । एङ्गेल्सले ‘नयाँ राइन समाचार’ मा लेख्नुभयो, “आफ्नो मुक्ति चाहने जनताले पुरानो लडाइँ लड्ने तरिकामा आफूलाई सीमित राख्नु हुन्न । जनताका विद्रोहहरू, क्रान्तिकारी लडाइँ, जहाँतहाँ गुरिल्लाहरू मात्रै एक यस्तो उपाय हो जसबाट थोरै जनताले धेरैलाई जित्न सक्छन्, एक निर्बलियो सेनाले एक बलियो र अझ राम्रो सङ्गठित सेनालाई विरोध गर्न सक्ने अवस्थामा पुग्न सक्छ ।” एक देशको क्रान्तिले अर्को देशको क्रान्तिलाई उत्साहित गथ्र्याे, त्यस्तै एक देशको प्रतिक्रान्तिले अर्को देशको प्रतिक्रान्तिलाई भड्काउँथ्यो । जर्मनीको प्रतिक्रान्ति उत्साहित हुँदै थियो । त्यसको उल्टो जर्मनीका मजदुरवर्ग पनि प्रतिक्रान्तिसँग लड्न तयार थियो ।
माक्र्स र एङ्गेल्सले अब स–साना पुँजीवादी प्रजातान्त्रिक सङ्गठनहरूबाट छुटेर अलग्गै आफ्नै मजदुरवर्गको ठुलो पार्टी बनाउनु उपयुक्त देख्नुभयो । १८४९ को मध्य अप्रिलमा माक्र्स र अरू कम्युनिस्ट लिगका नेताहरू राइन जिल्ला प्रजातन्त्रवादीहरूको समाजहरूको सङ्गठनबाट अलग्गिए । माक्र्स र एङ्गेल्सले जर्मनीमा मदजुरहरूको एक देशव्यापी पार्टी बनाउने योजना बनाउनुभयो । फ्रैङ्कफर्ट प्रतिनिधिसभाले बडो मेहनतपूर्वक एक शाही संविधान बनाएको थियो । त्यसलाई धेरैजसो जर्मन सरकारहरूले अस्वीकार गरे । १५ अप्रिलको दिन अस्ट्रियाको फ्रैङ्कफर्टबाट आफ्नो प्रतिनिधि फिर्ता बोलायो । प्रसियाली प्रान्तीय संसद्को दोस्रो च्याम्बर (माथिल्लो सभा) ले त्यस संविधानलाई स्वीकार गर्ने साहस गरेको थियो । २७ अप्रिल १८४९ मा त्यसलाई भङ्ग गरिदियो । यसकारण, सेक्सोनी, राइन, प्रसिया र दक्षिण–पश्चिम जर्मनी क्रान्ति र प्रतिक्रान्तिको भिडन्तको मैदान बन्यो । सेक्सोनी र राइनतिर सेना जम्मा गर्यो । यसले सारा जनतामा विद्रोहको भावना जाग्यो ।
३ मई, १८४९ मा सेक्सोनी प्रदेशको राजधानी ड्रेसडेनमा एक विद्रोह भयो । सबै प्रजातान्त्रिक शक्तिको नारा त्यस संविधानलाई बचाउनु थियो । सरकारी सेनासँग जनता लड्न थाले । राजा भाग्यो । जनताले सरकारी सम्पत्तिमा कब्जा गरे । त्यस विद्रोहमा मजदुर र कालिगडहरूले ठुलो बहादुरी देखाएका थिए । ६ दिनसम्म भिडन्त भयो ।
५ मईको दिन एक हल्ला फैलियो । अधिकारीहरूले कोलोनलाई घेरा हाल्न खोज्दै थिए । ‘नयाँ राइन समाचार’ ले मजदुरहरूलाई उत्तेजित नहुन खबरदारी गर्यो । किनभने ‘सारा जर्मनी गृहयुद्धको सङ्घारमा छ । तिनीहरू आफैँले आफ्ना मागहरू राख्ने अवसर छिट्टै पाउनेछन् ।’
६ मईको दिन कोलोनमा प्रजातन्त्रवादी समाज र मजदुर सङ्गठनहरूको महासभा भयो । ती दुवै सङ्गठनहरूका प्रतिनिधिहरूको संयुक्त बैठकले फ्रैङ्कफर्ट सभाले स्वीकार गरेको संविधानलाई समर्थन गर्यो । किनभने, त्यस सभाले एक सार्वभौमसत्ता सम्पन्न क्रान्तिकारी संवैधानिक अङ्गले जस्तै काम गरेको थियो । प्रसियाली सरकारले जनताको विरोधमा सेना तयार पार्यो । राइन प्रदेशमा गडबडी बढ्दै गयो । ९ मईको दिन इल्वरफेल्ड (Elberfeld) मा विद्रोह भयो । उत्तर पश्चिमी जर्मनीको औद्योगिक नगरहरूमा विद्रोहका फिलिङ्गाहरू देखिन थालियो । एङ्गेल्स तुरन्तै आफ्नो जन्म थलो वर्मेन हिँड्नुभयो ।
त्यसबेला एङ्गेल्सले भन्नुभएको थियो– (क) ठुलठुला सरकारी सेनाको केन्द्र र सैनिक नगरलाई अनावश्यक भिडन्तबाट बचाउने, (ख) स–साना नगरहरू, कारखाना इलाकाहरू र गाउँले इलाकामा छिट्फुट सङ्घर्षहरू फैलाएर राइनको सेनामाथि दबाब हाल्ने । (ग) भिडन्तमा नफसेको शक्तिमा विद्रोह फैलिसकेको, विद्रोह विकास भइसकेको र क्रान्तिकारी सेनाको तल्लो दलदेखि पैदल सेनाको दलसम्म विद्रोह फैलाउने ।
एङ्गेल्स विद्रोहलाई राइन नदीको बायाँ किनारामा फैलाउन चाहनुहुन्थ्यो । प्रसियाको सेनालाई राइनको दायाँ किनारको सबै इलाकामा फसाउन चाहनुहुन्थ्यो । त्यसले देशको पूरै भागमा विद्रोह फैलिन्थ्यो र दक्षिणतिरको सेना विद्रोहमा मिल्न आउँथ्यो ।
१० मई १८४९ को दिन एङ्गेल्स इल्वरफेल्डको निम्ति हिँड्नुभयो । त्यहाँ विद्रोह भइसकेको थियो । बाटोमा उहाँ सेलिगेनमा रोकिनुभयो । त्यहाँ क्रान्तिकारी मजदुरहरूको एक ठुलो दल बनाउनुभयो । ११ मईको दिन उहाँ इल्वरफेल्डमा पुग्नुभयो । त्यहाँ ४०० जवान सशस्त्र सर्वहाराको केन्द्र थियो ।
त्यहाँ मजदुरहरूले नगरको कारागारमाथि हमला गरे र कब्जा गरे । मेजिस्ट्रेट अफिसलाई भङ्ग गरिदिए । आन्दोलनलाई सुरक्षा समितिले हाँक्दै थियो । त्यसमा स–साना पुँजीपतिवर्ग पनि थियो । अब के गर्ने हो भन्ने तिनीहरूलाई थाहा थिएन । तिनीहरूले क्रान्तिकारी सङ्घर्ष गर्न मानेनन् । जनतालाई शान्त रहन अनुरोध गरे र पुरानै अधिकारीहरूसँग सम्झौता गर्न पुगे । त्यसले गर्दा आन्दोलन केही दिनभित्रै खतम भयो । यसबारे एङ्गेल्सले पछि भन्नुस्यो, “त्यसबेला एउटै कुरो सम्भव थियो– आन्दोलनमा नयाँ ज्यान दिन, नयाँ लडाकु शक्तिलाई आकर्षित गर्न, भित्री विरोधलाई निराश पार्न केही छिटो र चर्को उपायहरू गर्नुपर्दथ्यो, मार्क (Mark) र बर्ग (Berg) जस्तो औद्योगिक क्षेत्रलाई सकेसम्म खँदिलोरूपले सङ्गठित गर्नुपर्दथ्यो ।”
एङ्गेल्सले त्यहाँ कोलोनको सुरक्षा समितिलाई राज्यसम्बन्धी कामबारे बताउनुभयो, तर उहाँ सुरक्षा समितिमा नबसी आफूले सैनिक गतिविधिमा काम गर्ने इच्छा व्यक्त गर्नुभयो । एङ्गेल्सलाई सैनिक समितिमा राखियो । किल्ला बनाउने र नगरको सेनाको नेतृत्व सम्हाल्ने जिम्मा उहाँलाई दिइयो । एङ्गेल्सले तुरुन्तै इन्जिनियरहरूको एक दल गठन गर्नुभयो । तुरुन्तै नगरको वरिपरि किल्ला बनाउन आदेश दिनुभयो ।
एङ्गेल्सले सैनिक सभा र समितिहरूमा आफ्नो कर्तव्यलाई बडो ध्यान दिएर पुनर्सङ्गठन गर्नुभयो । क्रान्तिलाई मन नपराउने इल्वेरफेल्डका नागरिक सेनालाई निःशस्त्र पार्न र मजदुरहरूलाई हातहतियार बाँड्न एङ्गेल्सले सुरक्षा समितिमा प्रस्ताव राख्नुभयो । सैनिक दलहरूलाई जोगाइराख्न पुँजीपतिवर्गसँग कर लिने प्रस्ताव राख्नुभयो । तर, सुरक्षा समितिले एङ्गेल्सको प्रस्तावलाई अस्वीकार गर्यो । त्यस निर्णयलाई बेवास्ता गरेर एङ्गेल्स र अरू दल नायकहरू मिलेर नगर भवनमा रहेका प्रतिक्रान्तिकारी नागरिक सेनाको हातहतियारमाथि कब्जा गरे ।
१३ मई, आतइबारको दिन एङ्गेल्स विद्रोही सेनानायकको पोशाकमा वर्मेन नगरतिर लम्किनुभयो । उहाँ इल्वेरफेल्डको विद्रोहलाई वर्मेनसँग मिलाउन चाहनुहुन्थ्यो । तर, पुँजीपति र स–साना पुँजीपतिहरूले भरिएको त्यहाँको सुरक्षा समिति एङ्गेल्सदेखि डराउन थाल्यो । तिनीहरूको मनमा के पर्यो भने एङ्गेल्सले मोर्चामा राष्ट्रिय झन्डाको ठाउँमा रातो झन्डा फहराए ‘रातो गणतन्त्र’ घोषणा गर्नेछन् । त्यसकारण, १४ मईको दिन सुरक्षा समितिले उहाँको उपस्थितिले इल्वेरफेल्डका नागरिक तर्सेको कुरा बताए । तिनीहरूले ‘गलत सम्झाइ’ लाई हटाउन एङ्गेल्सलाई त्यहाँबाट जान भने । एङ्गेल्सले लेखोट मागे । त्यसैदिन सुरक्षा समितिले एक प्रस्ताव स्वीकार गर्यो, “अहिलेसम्म नगरमा उनको सबै गतिविधिलाई पूर्ण स्वीकार गर्दै, पछि कोलोनमा बसेका नागरिक फ्रेडरिक एङ्गेल्सलाई स्थानीय क्षेत्रबाट तुरुन्तै हट्न अनुरोध गर्छ । किनभने, उनको उपस्थितिले आन्दोलनको स्वभावबारे गलत सम्झाइ हुनसक्ने छ ।”
त्यहाँका मजदुरहरू र स्वयंसेवक दलहरूले आफ्नो ज्यानको बाजी लगाएर पनि एङ्गेल्सलाई बचाउने र त्यहीँ बसेर काम गर्न अनुरोध गरे । तर, त्यसो गर्दा जनताको भित्री सङ्घर्षबाट प्रसियाली सेनाले फाइदा उठाउने भए । त्यसकारण, उनी १५ मईको दिन कोलोनको निम्ति हिँड्नुभयो । एङ्गेल्स त्यहाँबाट हिँडेपछि इल्वेरफेल्डका सशस्त्र मजदुरहरू त्यहाँका हुतिहारा स–साना पुँजीपतिवर्गको नेतृत्वलाई छोडेर सङ्घर्ष चर्किरहेको ठाउँमा लड्न गए ।
अधिकारीहरू ‘नयाँ राइन समाचार’ को सरकारविरोधी लेखहरूबाट तर्सन्थे । मई र अप्रिल महिनामा मात्रै गृहमन्त्रीले समाचारका सम्पादकहरूलाई कारबाही गर्न धेरैचोटि लेखे । २३ मुद्दाहरू त्यसको विरोधमा भइसकेको थियो । दुई मुद्दामा हारेपछि सरकारी वकिलले ‘नयाँ राइन समाचार’ लाई मुद्दा लगाउन साहस गरेन । तर, राइन प्रदेशको विद्रोह दबाइए पछि स्थानीय अधिकारीहरूमा ज्यानमा ज्यान आयो । १६ मईको दिन माक्र्स बाहिरबाट फर्कनु हुँदा उहाँकी जहानलाई प्रसिया सरकारले २४ घण्टाभित्र प्रसिया छोड्न आदेशपत्र थमाइदियो । ड्रोक्ने र वीर्घ (ध्भभचतज) भन्ने दुई सम्पादकहरूलाई पनि प्रसिया छोड्ने आदेश दिए । उनीहरू पनि प्रसियाली नागरिक थिए । इल्वेरफेल्डको विद्रोहमा भाग लिएको अपराधमा एङ्गेल्सको विरोधमा मुद्दा सुरु भइसकेको थियो । अरू सम्पादकहरूलाई पनि मुद्दा लाग्यो ।
१६ मईको दिन ‘नयाँ राइन समाचार’ ले उहाँको लामो बयान छाप्यो र भन्यो, “हाम्रो सम्पादक मण्डलको एक सदस्यसँग त्यत्रो बयान गर्न लायकको सम्बन्ध र स्नेह देखाउने वर्ग र मार्क जिल्लाका मजदुहरूले यस कुरालाई बुझ्नुपर्छ कि अहिलेको आन्दोलन अर्को आन्दोलनको सुरुमात्रै हो जो योभन्दा हजारौँ गुणा चर्को हुनेछ, जसको आफ्नो हित मजदुरहरूको हितसँग घनिष्ट हुन्छ । यसले अप्ठ्यारोमा पारेको छ । यो नयाँ क्रान्तिकारी आन्दोलन अहिलेको आन्दोलनको फल हुनेछ जसलाई एङ्गेल्सले भरखर सुरु गरिसक्नुभएको छ । मजदुरहरूले पूर्णरूपले ढुक्क भए हुन्छ कि ‘नयाँ राइन समाचार’ का अरू सबै सम्पादकहरू जस्तै एङ्गेल्स पनि आफ्नै ठाउँमा रहनुहुनेछ र पृथ्वीमा यस्तो कुनै शक्ति छैन जसले उहाँलाई त्यसबाट छोडाउन सकून् ।”
१७ मईकै दिन एङ्गेल्सलाई पक्राउ गर्ने आदेश दियो । डुसेल्डोर्फ, सोलिन्जन, इजरलोन सहित राइन प्रान्तहरूको सहरका विद्रोहहरू अलग अलग थियो । दक्षिणी जर्मन राज्यहरूको वाडेन र फाल्जको विद्रोहहरूले केही सफलता पायो । विद्रोही सेनाको समर्थनले त्यहाँ एक अस्थायी सरकार गठन गरियो ।
विद्रोहहरू अलग–अलग र व्यवस्थित नभएकोले प्रसियाली सेनाले त्यसलाई दबाइदियो । ‘नयाँ राइन समाचार’ अब निस्कन सक्ने कुरै थिएन । १९ मईको दिन समाचारको अन्तिम अङ्क निस्क्यो । त्यो रातो मसीमा थियो । त्यस अङ्कमा माक्र्सले लेख्नुभयो, हाम्रो पत्रको सार नै क्रान्ति थियो । हामीले हाम्रो मातृभूमिको क्रान्तिकारी गौरवलाई रक्षा गर्यौँ । कोलोनमा मजदुरहरूसँग बिदा माग्दै भन्नुभयो, नयाँ राइन समाचारलाई तपाईँहरूले देखाउनुभएको सहानुभूतिको निम्ति धन्यवाद ¤ जहाँ पनि हाम्रो अन्तिम उद्देश्य रहने छ मजदुरवर्गको मुक्ति ।
त्यसबारे पछि एङ्गेल्सले लेख्नुभएको थियो, हामीले हाम्रो किल्लालाई छोडिदियौँ । तर, हामीले आफ्ना हात हतियार र सामानसँगै बाजा बजाउँदै रातो, अन्तिम अङ्कको झन्डा फहराउँदै हामी पछि हट्यौँ ।
माक्र्सको अनुरोधमा सम्पादक मण्डलका एक सदस्य फर्डिनान्ड फ्राइलिग्रायको एक कविता पनि छापिएको थियो । फ्राइलिग्राथ जर्मनीका एक क्रान्तिकारी कवि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *