दोधारा चाँदनीपछि बाँकेमा नेपाली भूमि भारतीय अतिक्रमणमा
- फाल्गुन २, २०८१
कुनै पनि पार्टी एउटा विचार र सिद्धान्तको आधारमा स्थापना भएको हुन्छ । त्यसले एउटा वर्ग, धर्म वा जातिको प्रतिनिधित्व गरेको हुन्छ । पार्टीमा आबद्ध नेता र कार्यकर्ताहरू पार्टीको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टी नीति र निर्देशनअनुसार चल्ने गर्छन् । पार्टी नेतृत्वको निर्देशन र अनुशासन पालना गर्नु प्रत्येक राजनैतिक कार्यकर्ताको कर्तव्य हुन्छ । पार्टी विधान, नीति निर्देशन र अनुशासनभन्दा बाहिर गएर कार्यकर्ताहरूले काम गरेमा त्यस्तो पार्टी गन्तव्यमा पुग्न सक्दैन ।
२०४६ साल अघिसम्म नेपालमा पार्टी प्रतिबन्धित थियो । भूमिगत पार्टीका कार्यकर्ताहरूले पार्टीको विचार र सिद्धान्तअनुसार चल्ने र अनुशासनको पालना गर्ने गर्थे । पार्टीका नेता कार्यकर्ताहरूबिच पार्टीको सिद्धान्त र विचारबारे छलफल र बहस हुन्थे । कम्युनिस्ट कार्यकर्ताहरूले वैज्ञानिक समाजवादको र नेकाका कार्यकर्ताहरूले प्रजातान्त्रिक समाजवादको पक्षमा वकालत गर्थे । राजनैतिक छलफल र बहस स्वयं एक प्रकारको कक्षा सञ्चालनजस्तो हुन्थ्यो ।
त्यतिबेला दलीय आधारमा केही कार्य गर्नासाथ जेलको सजाय वा कठोर सजाय भोग्नुपथ्र्यो । पार्टी कार्यकर्ताहरूमा न लोभ थियो न कुनै पदप्रतिको लालच नै । उनीहरू आफ्नो पार्टीको विचारअनुसार सङ्गठन विस्तारको लागि लागिपर्थे । सादा जीवन उच्च विचारका धनी थिए राजनैतिक नेता कार्यकर्ताहरू । आआफ्नो पार्टीको सिद्धान्तअनुसार आदर्श समाजको कल्पनामा डुबेर काम गर्थे । जनतामा नेता कार्यकर्ताप्रति असीम विश्वास थियो । नेता र कार्यकर्ताहरूको जनताबिच उच्च सम्मान थियो । दलका नेताहरूको देश र जनताप्रति जीवन समर्पण, त्याग र तपस्याको मूल्य थियो त्यो । कति नेता कार्यकर्ताहरूले प्रजातन्त्रको उज्यालो देख्न नपाई आफ्नो जीवन त्यागे, प्रजातन्त्रका लागि धेरैले वर्षौं जेलनेल भोगे, प्रवास र भूमिगत जीवन बिताए । अधिकांश नेता कार्यकर्ताहरू इमानदार र देशभक्तका पर्याय थिए त्यतिबेला ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि नेका र माले (हाल एमाले), माक्र्सवादी, नेकपा (संयुक्त) पुँजीवादी सरकारमा गए । पुँजीवादी सरकारमा गएर आमूल परिवर्तन सम्भव छैन भने ती पार्टीहरूले ध्यान दिएनन् । सरकारमा गएर जनताको हितमा काम गर्नुभन्दा तिनीहरूले जेल, प्रवास र भूमिगत बसेको वर्ष, महिना र दिनको समेत हिसाब गरी राज्यको ढुकुटी लुट्न थाले । जनतामा राजनीतिक दलका नेता, कार्यकर्ताहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गयो । जति जति दलका नेता कार्यकर्ताहरू पद र पैसाको निम्ति मरिहत्ते गर्न थाले त्यति त्यति तिनीहरू बदनाम हुन थाल्यो । त्यो निरन्तरता अझै रोकिएको छैन । अहिले शासक दलका नेता, कार्यकर्ताहरू घृणाका पात्र बनेका छन् । तापनि तिनीहरू चेतेका छैनन् । अखिर यस्तो किन हुन्छ ?
पहिले एकजना पार्टी कार्यकर्ता बनाउन पार्टीको सिद्धान्त र विचार अध्ययन गराउने, जिम्मेवारी दिएर काम गराउने, व्यक्तिगत स्वार्थलाई कतिको प्राथमिकतामा राख्छ भने परिक्षण गर्ने र लामो परीक्षणपछि मात्रै पार्टी सदस्यता दिने गरिन्थ्यो । पार्टी सदस्यता पाउनु जो कसैको निम्ति गर्वको विषय हुन्थ्यो । अहिले भने बस र सिनेमाको टिकटभन्दा सजिलै पाउने अवस्था छ । पार्टी सदस्यता अर्थहीन कागजको खोस्टाजस्तो भएको छ । आज माओवादी, भोलि एमाले र पर्सि काङ्ग्रेस गर्दै पार्टी परिवर्तन गर्नेहरूको जमात ठुलो छ । निर्वाचनमा कतिपय ठाउँहरूमा निर्वाचन हारजितसमेत तिनीहरूले गर्थे ।
कम्युनिस्ट पार्टी दाबी गर्ने एमाले र माओवादीजस्ता शासक पार्टीहरूले खुला सभाहरूमा टीका लगाएर पार्टी सदस्यता वितरण गर्दै छन् । त्यसको परिणाम अहिले ती पार्टीहरूले भोग्दै छन् । निर्वाचनमा करोडौँ खर्च गर्न सक्ने, पार्टीलाई करोडौँ चन्दा दिने तस्कर, गुन्डा, भ्रष्टाचारीहरूलाई टिकट दिनसमेत तिनीहरू पछि परेनन् । अहिले एमाले र माओवादी त्यस्तै घोर कम्युनिस्टविरोधी प्रतिक्रियावादीहरूको घेरामा परिसकेका छन् । तिनीहरूले पार्टीको सैद्धान्तिक आधार भनिएको माक्र्सवाद र लेनिनवादलाई टुकुचामा बगाइसकेका छन् । अमेरिकी राजदूत पार्टी कार्यालय पुग्दा माक्र्स, एङ्गेल्स, माओ त्सेतुङको फोटो लुकाउने एमाले र अहिले अमेरिकी प्रतिनिधि भेट्दा निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राख्ने भन्ने माओवादीबिच अब केही भिन्नता रहेन । दुवै पार्टी पद र पैसाको निम्ति काम गर्ने नेकाकै माहिलो र कान्छो भाइ पार्टी साबित भएका छन् । निर्वाचन जित्न तिनीहरूले कम्युनिस्टको आवरणमा भोट मागे र सरकारमा गएपछि कम्युनिस्ट विरोधी कार्य गरेर देश र जनतालाई धोका दिए र दिँदै छ ।
अहिले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूमा विवाह गर्न, आर्थिक कारोबार गर्न पार्टीको अनुमति लिनुपर्ने कुरा गर्दा आश्चर्य मान्छन् । विवाह र व्यवसाय गर्नु व्यक्तिगत स्वतन्त्रता हो भनी कतिपय नयाँ युवाहरू तर्क गर्छन् । वास्तवमा विवाह निजी कुरा भए पनि पार्टीका कार्यकर्ता गलत बाटोमा नलागोस् भनी पार्टीले त्यस्तो कार्यमा ध्यान दिएको हुन्छ । एकजना कार्यकर्ता बिग्रनु पार्टीको लागि ठुलो क्षति हुन्छ । १ जना राम्रो कार्यकर्ता तयार गर्न १०÷१२ वर्ष लाग्छ । गलत व्यक्तिसँगको वैवाहिक वा व्यावसयिक सम्बन्धले कार्यकर्ता बिग्रेको खण्डमा पार्टीलाई क्षति पुग्छ । पार्टी हितको अगाडि व्यक्तिगत स्वार्थ गौण हुन्छ । व्यक्तिगत हितभन्दा पार्टीको हितलाई प्राथमिकतामा राख्नु राम्रा र असल कार्यकर्ताको विशेषता हो ।
कोही कोही पार्टी कार्यकर्ताहरू आफूले विश्वविद्यालयबाट धेरैवटा विषयमा स्नातकोत्तर गरेको, अरू सबै गँवार, आफूसँग अरूको तुलनै नहुने भनी पढाइको घमण्ड गर्छन् । त्यस्ता व्यक्तिहरूले जुलुस गर्ने, जिल्ला जिल्लामा गएर पार्टी सङ्गठन विस्तारको काममा पार्टी निर्देशनलाई बेवास्ता गर्ने मात्र होइनन् आफ्नो लागि उचित काम नदिएको भनी उल्टै पार्टीमा गुनासासमेत गर्छन् । कलेजहरूमा थप क्लास राख्नुपर्ने, प्रिन्सिपल बनाउनुपर्ने, प्रमोसन गर्नुपर्ने जस्ता मागहरू राखेर पार्टीप्रति गुनासा गरिरहन्छन् । विश्वविद्यालयको प्रमाणपत्र नभए पनि वा विद्यालयमा पाइला नटेके पनि रात्रि कक्षाहरूमबा राजनैतिक प्रशिक्षणमा बसेर देश र जनताको पक्षमा काम गर्नेहरू ती प्रमाणपत्रधारी कथित बुद्धिजीबीहरूभन्दा कम देशभक्त छैनन् । व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर काम गर्नेहरू कम्युनिस्ट कार्यकर्ता हुनसक्दैनन् ।
आफ्ना पढाइप्रति घमण्ड गर्ने कार्यकर्ताहरू ससाना कामहरू गर्नदेखि हिच्किचाउँछन् । हरेक ठुल्ठुला काम सानोबाटै सुरु हुन्छ भन्ने कुरालाई बेवास्ता गर्छन् । आगोको झिल्का सानो हुन्छ तर समयमा निभाउन सकेन भने त्यसले पुरै जङ्गलमा डढेलो लाग्छ । के यो सत्य होइन ? कम्युनिस्ट सिद्धान्त र विचारले परिपक्व, इमानदार र पार्टीले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने कार्यकर्ता नै खासमा असल कार्यकर्ता हुन्छ । आज धेरैको सङ्ख्यामा त्यस्ता कार्यकर्ताहरू कम्युनिस्ट पार्टीहरूका लागि आवश्यक छ ।
सङ्कट पर्दा धरमराउने कार्यकर्ताहरूले कुनै पनि बेला पार्टीलाई धोका दिन सक्छन् । २०४५ सालमा पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी नेमकिपाका अध्यक्ष रोहितलगायत धेरै नेता कार्यकर्ताहरूलाई ज्यान मुद्दामा फसाइयो । पार्टीलाई ठुलो सङ्कट परेको बेला थियो त्यो । त्यस्तो बेला कार्यकर्ताहरूले दिलो ज्यान दिएर पार्टीलाई जोगाउन कोसिस गर्नुपथ्र्यो तर कतिपय प्रधानाध्यापकहरू आफ्नो जागिरका लागि पञ्चहरूसित मिल्न गए, पञ्चायतको समर्थन गर्ने भनी कागज गरेर प्रहरी हिरासतबाट छुटे र पञ्चहरूको जुलुसमा गएर पार्टीविरोधी वक्तव्य दिए । तर किसान कार्यकर्ताहरू अलिकति पनि बिचलित भएनन् । पार्टीलाई जोगाउन हर किसिमले सहयोग गरे । पार्टीलाई सङ्कट परेको बेला पार्टीलाई लात मारेर भाग्ने प्रधानाध्यापक, शिक्षक वा कर्मचारीभन्दा ती किसान कार्यकर्ताहरू कैयौँ गुणा राम्रा र असल छन् ।
माओले भन्नुभएको थियो, बन्दुकको गोलीले जित्न नसकेका कम्युनिस्टहरूलाई गुलियो पोतेको गोलीले जित्छ । अहिले त्यो भनाइ एमाले र माओवादीमा ठ्याकै मेल खान्छ । झापा विद्रोहबाट अगाडि आएको एमाले र १७ हजारको ज्यान जाने गरी सशस्त्र युद्ध गरेर आएको माओवादी कार्यकर्ताहरू पद र पैसाको निम्ति कुकुरझगडा गर्दै छन् । तिनीहरूले पार्टीको सिद्धान्त र विचारलाई त्यागे, जनतालाई धोका र विश्वासघात गरे ।
एकजना माओवादी नेताले भनेका थिए, “हामी जनयुद्धमा छँदा हाम्रा कार्यकर्ताहरू सहिद हुन प्रतिस्पर्धा गर्थे तर अहिले पद र पैसाको मात्रै कुरा गर्छन् । हाम्रो पार्टी बिग्रियो ।” यो २०६६।६७ सालतिरको कुरा हो । त्यो क्रम बढ्दै अहिले सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, सहकारी काण्डलगायत विभिन्न भ्रष्टाचार काण्डमा माओवादीका नेताहरू फस्दै छन् । जे रोप्छ, त्यही उम्रिने न हो । का. रोहित भन्नुहुन्छ, “सिस्नु रोपेर तुल्सी उम्रन्न ।” हरेक राजनैतिक कार्यकर्ताले बुझ्नुपर्ने यो महत्वपूर्ण कुरा हो ।
पार्टी कार्यकर्ताहरू असल, इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भएसम्म कुनै पनि शक्तिले त्यस्तो पार्टीलाई समाप्त पार्न सक्दैन । जतिसुकै ठुलो पार्टी भए पनि कार्यकर्ताहरू सिद्धान्तअनुसार चलेनन् भने त्यस्तो पार्टी तासको घरझैँ गल्र्यामगुर्लुम ढल्छ । २०६४ सालमा एक्लै चुनाव लड्दा पनि प्रत्यक्षतर्फ १२० सीट (५० प्रतिशत) जित्ने माओवादी अहिले नेकालगायतका विभिन्न पार्टीसित गठबन्धन गरेर चुनाव लड्दासमेत ३२ सीटमा सीमित हुन पुग्यो । हरेक वस्तुको पतनको कारण त्यसभित्रै हुन्छ, बाह्य कारण त सहयोगी मात्र हुने गर्छ । सोभियत सङ्घ समाजवादी विचारकै कारण एक थियो । समाजवादी विचार त्यागेपछि देश १५–१६ टुक्रामा विभाजित भयो । सिद्धान्त छोड्नु भनेको हिमालमा चिप्लेटी खेल्नुजस्तै खतरनाक हुन्छ ।
नेमकिपा सङ्ख्यामा सानो छ तर कम्युनिस्ट विचार र सिद्धान्तको कसीमा हेर्ने हो भने देशकै सबभन्दा सशक्त र बलियो पार्टी हो । पार्टी कार्यकर्ताहरूमा अनुशासनमा कमी आउन नदिन निरन्तर कक्षा सञ्चालन जरुरी छ । सङ्ख्या ठुलो सानो हुनसक्छ तर महत्वपूर्ण विषय त्यसमा निहीत गुण हो । नेमकिपा सङ्ख्यालाई भन्दा गुणलाई जोड दिने पार्टी हो । नेमकिपालाई निरन्तर अगाडि बढाउनु नयाँ पुस्ताको जिम्मेवारी र कर्तव्य हो ।
Leave a Reply