भर्खरै :

समाजवादी शिक्षा व्यवस्था आमूल परिवर्तनको आधार – २

समाजवादी शिक्षा व्यवस्था आमूल परिवर्तनको आधार – २

व्यवहारिक शिक्षा
“समाजवादी शिक्षाको उद्देश्य जनतालाई क्रान्तिकारी कम्युनिस्ट तथा सिर्जनशील बनाउनु हो । समाजवादी शिक्षाले समाजवादी प्रणाली तथा कामदार जनताको क्रान्तिकारी उद्देश्य पूरा गर्नुपर्दछ । समाज, जनता र समाजवाद र साम्यवादको निम्ति सङ्घर्ष गर्ने कम्युनिस्ट क्रान्तिकारी बनाउनुपर्दछ ।” प्रजग कोरियाका नेता किम इल सङले सन् १९७७ सेप्टेम्बर ५ मा कोरियाली मजदुर पार्टीको पाँचौँ केन्द्रीय समितिको बैठकमा ‘समाजवादी शिक्षामा शोधपत्र’ शीर्षकमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा उपर्युक्त कुरा उल्लेख छ ।
जसरी पुँजीवादी शिक्षाले पुँजीवादी व्यवस्थाको सेवा गर्छ, त्यसरी नै समाजवादी शिक्षाले समाजवादी व्यवस्थाको सेवा गर्नुपर्छ । समाजवादी शिक्षाले निःस्वार्थरूपले देश र जनताको सेवा गर्न उत्प्रेरित गर्दछ । विद्यार्थीलाई सामाजिक काममा लगाएर उनीहरूमा सामूहिक भावनाको विकास गराउने, समाजमा विद्यमान खराब पक्ष सुधार गरी सामाजिक परिवर्तन ल्याउने र शोषण र दमनको प्रतिकार गर्ने, श्रमिकहरूको व्यवस्था स्थापना गर्न सङ्घर्ष गर्ने र समाजवादी व्यवस्था रक्षाको निम्ति एक ढिक्का भएर लड्ने शिक्षा दिनु नै समाजवादी शिक्षाको मुख्य लक्ष्य हो ।
कामरेड किम इल सङ अगाडि भन्नुहुन्छ, “एक कम्युनिस्टले प्रकृति र समाजको साथै साम्यवादी विचारबारे पनि राम्रो ज्ञान राख्नुपर्छ ।”
कुनै पनि मान्छेमा वैज्ञानिक विश्व दृष्टिकोणको आवश्यकता पर्छ । ईश्वर र धर्मलाई प्रतिक्रियावादीवर्गले सत्ता टिकाउने आधार हतियार बनाएको छ । ईश्वरले पृथ्वी र चराचर जगतको सृष्टि गरेको कुरा विज्ञानले स्वीकार गर्दैन । धर्मले ईश्वर, भूतप्रेत, स्वर्गनर्कको कुरा गर्दछ । त्यसैले शिक्षाले विज्ञान वा प्रकृतिका नियमविपरीतका कुराको खण्डन गर्दै समाजमा वैज्ञानिक चिन्तनको विकास गर्न मद्दत गर्नुपर्छ ।
त्यस्तै साम्यवादी चिन्तनले मानिसलाई क्रान्तिकारी बनाउँछ । क्रान्तिकारी विचार सङ्घर्षको महत्वपूर्ण हतियार हो । त्यस्तो विचारले मानिसलाई दृढ बनाउँछ, साहसी बनाउँछ, शत्रुसँग रत्तिभर पनि नझुक्ने स्वाभिमान बनाउँछ ।
मजदुरवर्गको हितको निम्ति काम गर्न प्रतिक्रियावादी वर्गका अवशेषहरूलाई समूल नामेट पार्नुपर्नेमा जोड दिँदै किम इल सङ भन्नुहुन्छ, “शिक्षाको सम्पूर्ण क्षेत्रमा हामीले सामन्तवाद र पुँजीवादका सबै अवशेषहरूलाई समाप्त पार्नुपर्छ । त्यसपछि समाजवादी शिक्षा, समाजवादी समाज र मजदुरवर्गको इच्छाअनुसार विकास हुन्छ ।”
क्रान्तिपछि पनि प्रतिक्रियावादी सोचहरू बाँकी रहेका हुन्छन् । पुँजीवाद एवम् सामन्तवादका प्रभावहरू एकैबाजी जनताको दिमागबाट निकाल्न सकिन्न, तर नयाँ विचारको प्रभावले मानिसमा पुरानो विचारप्रति अविश्वास पैदा हुन्छ ।
कोरियाली नेता किम इल सङ शिक्षालाई क्रान्तिकारी अभ्याससँग जोड्नुपर्ने कुरामा यसरी जोड दिनुहुन्छ, “शिक्षालाई व्यवहारसँग जोडेपछि मात्र यसले आफ्नो उद्देश्य पूरा गर्दछ ।” उहाँ थप्नुहुन्छ, “सिद्धान्तको निम्ति सिद्धान्त र ज्ञानको निम्ति ज्ञान वा क्रान्तिकारी अभ्यासबाट पृथक शिक्षा हाम्रो समाजको निम्ति काम लाग्दैन ।”
पाठ्यक्रममा राजनैतिक तथा सैद्धान्तिक शिक्षा
चीनमा अहिले पनि सबै विद्यार्थीलाई क्रान्ति, क्रान्तिकारी व्यक्तित्वहरूको जीवनी र माक्र्सवादको अध्ययन र अध्यापन गराइन्छ । त्यहाँ माक्र्स, लेनिन र माओका जीवनी, कार्य र विचारको अध्यापन हुन्छ प्रजग कोरियामा पनि सबै विद्यार्थीलाई जुछे विचार पढाइन्छ । किम इल सङ लेख्छन्, “जुछे विचारले विश्वकै वैज्ञानिक र क्रान्तिकारी दुष्टिकोण सिकाउँछ, यसले विद्यार्थीलाई क्रान्ति र निर्माणमा सहभागी गराउनुको साथै उनीहरूलाई स्वतन्त्र, सिर्जनशील र क्रान्तिकारी बनाउँछ ।”
नेता किम इल सङको विचारमा वर्गीय शिक्षा कम्युनिस्ट शिक्षाको मुख्य कुरा हुनुपर्छ । यसबाट विद्यार्थी निःस्वार्थरूपमा मजदुरवर्गको निम्ति सङ्घर्ष गर्न उत्प्रेरित हुन्छन् । क्रान्तिका शत्रुलाई घृणा नगर्ने मानिसले दृढतापूर्वक सङ्घर्ष गर्न सक्दैनन् ।
समाजवादी शिक्षामा व्यक्तिगत स्वार्थको ठाउँमा सामूहिक हित गर्ने शिक्षा सिकाइन्छ । पाठहरू हुन्छन् । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने नारा समाजवादी व्यवस्थामा सार्थक भएको देखिन्छ ।
समाजवादी शिक्षामा नागरिकमा कम्युनिस्ट आचरण र जीवनशैलीको विकास गर्ने, सर्वहारा अन्तर्राष्ट्रवादी भावनाको विकास गर्ने, समाजवादी देशभक्तिको भावनाबाट प्रेरित गर्ने शैक्षिक पाठ्यक्रम एवम् पाठ्यपुस्तकको विकास गरिएको हुन्छ ।
वैज्ञानिक र प्राविधिक शिक्षा
प्रजग कोरियामा एउटा नारा छ, ‘सम्पूर्ण जनताले नयाँ प्रविधि सिकौँ र नयाँ प्रविधि बनाऔँ ।’ प्राविधिक र सांस्कृतिक क्रान्तिले समाजवादी निर्माणमा ठूलो भूमिका खेल्छ ।
“साधारणतया माध्यमिक तहको शिक्षामा सम्पूर्ण विद्यार्थीहरू आधुनिक उद्योगसँग जोडिन विशेष प्रकारको प्राविधिक विषयको अध्ययन गर्न उत्साहित गर्नुपर्दछ” भन्ने किम इल सङको भनाइ यहाँ मननीय छ ।
शारीरिक शिक्षा
विद्यार्थीको बहुआयामिक विकासको निम्ति शारीरिक शिक्षा दिइन्छ । यो राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय हो । क्रान्तिकारी सङ्घर्षमा भाग लिन र शक्तिशाली र समृद्ध समाज निर्माण गर्न विद्यार्थी र युवाहरूको शरीर स्वस्थ र तन्दुरुस्त हुनुपर्छ ।
त्यसैले सम्पूर्ण शैक्षिक संस्थाहरूले विद्यार्थीलाई नियमित शारीरिक तालिम दिन्छन् ।
समाजवादी शिक्षाका सफलताहरू
क्युवामा सन् १८८९ मा महान् स्वतन्त्रता सेनानी जोसे मार्टीले अभिव्यक्त गरेको एउटा भनाइ प्रचलित छ, “पृथ्वीको हरेक व्यक्तिलाई शिक्षा पाउने अधिकार छ, त्यसको गुन तिर्न उसले अरूलाई शिक्षा दिने दायित्व पूरा गर्नुपर्छ ।” क्युवामा शैक्षिक क्रान्तिको सफलताको गूढ कुरा यही हो । क्रान्तिअघि ३० प्रतिशतमात्र जनता साक्षर थिए भने अहिले शतप्रतिशत जनता साक्षर भएका छन् । क्युवाको शिक्षा व्यवस्था विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ । विद्यालय जाने उमेरका ९९ प्रतिशत केटाकेटी विद्यालय जान्छन् । क्युवाको निरक्षरता दर विश्वकै सबभन्दा कममध्येमा पर्दछ । ७ प्रतिशत जनताले कलेजको स्नातक तह उत्तीर्ण गरेका छन् भने १३ लाख स्नातक प्राविधिक विद्यालयबाट उत्तीर्ण भएका छन् । ४ प्रतिशतले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । दुई सयजना मानिसको भागमा एकजना डाक्टर पर्दछ (सन् २०२०मा १११ जनाको निम्ति १ डाक्टर उपलब्ध छ – सम्पादक) ।
सवा एक करोड जतिको जनसङ्ख्यामा ७० हजार त चिकित्सकमात्र छन् । विश्वका ९० भन्दा बढी देशमा ४७ हजार क्युवाली स्वास्थ्यकर्मीहरू सेवा गर्दै छन् । क्युवाले आफ्नो कुल बजेटको २३ प्रतिशत शिक्षामा लगानी गरेको छ । लगानीअनुसार सफलता पनि पाइरहेको छ ।
प्रजग कोरियामा पनि क्रान्तिपूर्व विद्यालय जानेमध्येका दुईतिहाइ केटाकेटी विद्यालय शिक्षाबाट वञ्चित थिए र अधिकांश युवाहरू (२३ लाख) अशिक्षित थिए । सन् १९८० मै प्रौढ साक्षरतादर समेत ९९ प्रतिशत पुग्यो । सन् १९८७–८८ सम्ममा १६ वर्षदेखि माथिका १३.७ प्रतिशत जनताले स्नातक उत्तीर्ण गरे । सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्यअनुरूप १९८८ सम्ममा १३ लाख जनतालाई स्नातक तहको शिक्षा प्रदान गरियो । कोरिया स्वतन्त्र हुनुअघि त्यहाँ एकमात्र विश्वविद्यालय थियो र हरेक प्रान्तमा एउटा वा दुईवटा माध्यमिक विद्यालय थिए भने त्यहाँ अहिले सयौँ विश्वविद्यालय र कलेजहरू छन् ।
शिक्षाको क्षेत्रमा चीनले पनि अतुलनीय फड्को मारेको छ । क्रान्तिपूर्व र क्रान्तिपछिको शैक्षिक तथ्याङ्कमा आकाश जमिनको फरक छ । सन् १९९८ मा कुल ६४ लाख भन्दा बढी विश्वविद्यालयको विद्यार्थी भएकोमा ३ वर्ष (सन् २००१) मा यो सङ्ख्या १ करोड २१ लाख ४० हजार पुग्यो । हाल चीनमा ११ सय विश्वविद्यालयहरू छन् । त्यस्तै सन् १९९८ बाट सन् २००१ सम्ममा स्नातकोत्तर गर्ने विद्यार्थी सङ्ख्यामा ९३ प्रतिशत र विद्यावारिधि गर्ने विद्यार्थी सङ्ख्यामा ७१ प्रतिशतले वृद्धि भएको छ ।
माथि उल्लिखित केही समाजवादी देशहरूले गरेको शैक्षिक प्रगतिबाट समाजवादी शिक्षा व्यवस्थाको स्थिति बुझ्न निश्चय पनि सहयोग गर्दछ । क्रान्तिअघि र पछिका शैक्षिक तथ्याङ्कले पुँजीवादी शिक्षा व्यवस्थाभन्दा समाजवादी शिक्षा राम्रो भएको पुष्टि गर्छ ।
अन्तमा,
समाजवादी शिक्षा लागु गर्न समाजवादी व्यवस्था नै चााहिन्छ । पुँजीवादी व्यवस्थाले जनताको आँखामा छारो हाल्न समाजवादी शिक्षाका केही असल प्रावधानहरूको नक्कल गर्ने गरे तापनि त्यस व्यवस्थाले अत्यन्त बहुमत जनताको व्यक्तित्व विकासमा समान अवसरको सिद्धान्तलाई व्यवहारिकरूपमा लागु गर्न सक्दैन । त्यसैले, पुँजीवादी राज्य व्यवस्थालाई ध्वस्त पारी नयाँ समाजवादी बन्दोबस्त स्थापना गर्नैपर्छ । समाजवादी क्रान्तिबाट मात्र अनिवार्य र निःशुल्क शिक्षा तथा शिक्षालाई उत्पादन श्रमसँग जोड्न प्रणाली लागु गर्न सकिन्छ ।

समाप्त
– समाज सुधार माध्यमिक विद्यालयको स्मारिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *