भर्खरै :

संविधानबाटै समाजवाद असम्भव

संविधानबाटै समाजवाद असम्भव

काठमाडौँ, २४ जेठ । देश, काल र परिस्थिति तयारी नहुँदै एक समय सशस्त्र सङ्घर्ष गरेर सत्ता परिवर्तन खोज्न चाहने एमाओवादी अहिले वर्तमान संविधानबाटै समाजवादसम्म पुग्न सकिने निष्कर्षमा पुगेको छ । सशस्त्र सङ्घर्ष गरेर सत्ता परिवर्तन गर्न चाहने माओवादी क्रान्तिकारी बाटो छोडेर अब परिवर्तनको निम्ति सङ्घर्ष गर्न नपर्ने बखान गर्न थालेको छ । अहिलेकै संविधानबाट समाजवादसम्म पु¥याउन सकिने माओवादीको भनाइले माओवादी पुँजीवादी बाटोमा फसिसकेको थाहा हुन्छ । एमालेका नेता र लेखकहरूले पनि समाजवाद ल्याउन सङ्घर्ष गर्न नपर्ने बताएका थिए । सङ्घर्षबाट परिवर्तन गर्न खोज्नेहरू कम्युनिस्ट नै होइन भन्न पनि तिनीहरू पछि परेनन् । कम्युनिस्टको सिद्धान्त र विचार छोडेर कहिले अवसरवादी, कहिले संशोधनवादी त कहिले पुँजीवादी बाटोमा लागेकै कारण नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटो विचारको खण्डन’ पुस्तक प्रकाशन गरेका हुन् । सिद्धान्त र विचार छोडेपछि तिनीहरूको विचार स्थिर हुँदैन; अडान हुँदैन । अरू वाम दलका नेता र राजनीतिक विश्लेषकहरूले माओवादी र एमालेका नेताहरूलाई कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडिसकेको भन्ने टिप्पणी घटनाक्रमले पुस्टि हुँदै छ ।
संविधानबाटै समाजवाद ल्याउन सकिन्छ भने माओवादीले १७ हजार नेपाली मर्ने गरी, अरबौँ रकम बराबरको भौतिक निर्माण क्षति हुने गरी, बैङ्क, घर, सम्पत्ति फोडेर, लुटेर किन ‘जनयुद्ध’ गर्नुप¥यो ? त्यो ‘जनयुद्ध’ गलत थियो भनेर के माओवादीले निर्णय गर्नुपर्दैन ? ‘जनयुद्ध’ धोका हो; माओवादीले सरकारसामु आत्मसमर्पण गरेकै हो† क्रान्तिकारी बाटो छोडेर पुँजीवादी बाटोमा लागेको हो भनेर माओवादीले आत्मसमीक्षा गर्नुपर्दैन ? प्रायश्चित गर्नुपर्दैन ? संविधानबाटै समाजवादमा पुग्न सकिन्छ भने समाजवादी मोर्चा किन गठन गर्नुप¥यो ? एमाले र माओवादीले पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद भनी पार्टी विधानमा किन लेख्नुप¥यो ? माओवादीभित्रका सच्चा कम्युनिस्टहरूले संविधानबाट समाजवाद स्थापना सम्भव छैन† त्यसको विकल्प सङ्घर्ष नै हो भनी बोल्नुपर्दैन ? के माओवादीले पुँजीवादी व्यवस्था या संसद्बाटै समाजवाद स्थापना गर्ने ध्येयले सरकारको नेतृत्व गरेको हो ? के त्यो कुरा पार्टी विधानमा उल्लेख छ ?
समाजवादी व्यवस्था सङ्घर्षविना सम्भव छैन । यो संसारको इतिहासले पुष्टि गरेको छ । एकदिन सच्चा कम्युनिस्टहरू समाजवाद स्थापनाको निम्ति एउटै बाटोमा नगई सम्भव छैन । तर, कम्युनिस्ट र गैरकम्युनिस्ट मिलेर क्रान्ति पूरा हुन्छ भन्ने कुरा होइन । माओवादीका नेताहरूले भनेझैँ पुँजीवादी सरकारको नेतृत्व गर्नु या पुँजीवादी सरकारमा जानु समाजवादको यात्रा गर्नु होइन । माओवादी र एमालेका नेताहरू संशोधनवादमा फसेकै हुन् । ती नेताहरू अवसरवादी भएरै भागबन्डामा लागेका हुन् । सत्ता, शक्ति र पैसा नै उनीहरूको निम्ति सबथोक बनिसकेको छ । त्यस्तो दलले बहुमत जनताको हितको निम्ति सङ्घर्ष गर्दैन† सङ्घर्ष गरेर परिवर्तनको अनुभूति दिँदैन ।
माओवादीहरू एकातिर वर्तमान संविधानलाई समाजवादको ढोका या बाटो ठान्छन् भने अर्कोतिर क्रान्तिको नेतृत्व गर्नुपर्ने कुरा उठाउँछन् । यो द्वैधचरित्र हो । द्वैधचरित्र बोकेका कुनै पनि नेताहरूले सही दिशा निर्देश गर्न सक्दैनन्, देशलाई सही बाटो देखाउन सक्दैनन् । सरकारमा पाइला टेकेपछि सत्तामै टाँसिरहने, सत्ता छोड्नै नसकिने या सत्ताबिना पार्टी चल्न नसक्ने या टिकाउन नसक्ने स्थितिमा पार्टी पुग्नु भनेको राम्रो सङ्केत होइन । देशमा आमूल परिवर्तन गर्नु छ भने कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनताको घर आँगन या बस्ती बस्तीमा पु¥याउनुपर्छ† जनतालाई राजनीतिक, सैद्धान्तिक र वैचारिकरूपले सचेत गर्नुपर्छ । क्रान्तिको निम्ति देश, काल र परिस्थिति तयार गर्नु भनेकै यही हो । यस हिसाबले नेमकिपाले गरिरहेको राजनीति सही छ । नेमकिपाले थालेको राजनीति अरू कम्युनिस्ट पार्टीले पनि थाल्नु आवश्यक छ । कुनै दल सही र गलतको नापो दल ठुलो र सानो होइन† सिद्धान्त र विचार हो† सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *