भर्खरै :

इथियोपिया–इरिट्रिया युद्ध चर्कियो विश्वव्यापी असर पर्ने सम्भावना !

  • कार्तिक ४, २०८३
  • उरिएल अराउजो
  • विचार
इथियोपिया–इरिट्रिया युद्ध चर्कियो विश्वव्यापी असर पर्ने सम्भावना !

(इथियोपियाको इरिट्रियासँग बढ्दो टकरावले अफ्रिकाको हर्न क्षेत्रलाई अझ अस्थिर बनाउने खतरा छ, जसले गर्दा इजिप्ट र खाडी शक्तिहरू सम्भावित रूपमा आकर्षित हुनेछन् । यो सङ्कटले लालसागरमा हुने ढुवानीलाई बाधा पु¥याउन सक्छ र पहिले नै अस्थिर क्षेत्रीय सुरक्षा परिदृश्यलाई गहिरो बनाउन सक्छ ।)
इथियोपियामा भड्किएको युद्धले अफ्रिकाको हर्न क्षेत्रमा नराम्रो परिणाम निम्त्याएको छ । यसको प्रभाव सम्भवतः उक्त महादेशभन्दा धेरै परसम्म पर्न सक्छ ।
टिग्रेमा इथियोपियाली सङ्घीय सेना र इरिट्रिया–समर्थित समूहबिच भइरहेको लडाइँका कारण सीमापार घुसपैठको आरोप–प्रत्यारोप सुरु भएको छ । इरिट्रियाली सेनाहरू आफ्नो भूभागभित्र प्रवेश गरेको दाबी गर्दै अदिस अबाबास्थित इथियोपियाली अधिकारीहरूले औपचारिक रूपमा आत्मरक्षाको अधिकार प्रयोग गर्ने घोषणा गरेका छन् ।
आफ्नो तर्फबाट इरिट्रियाले इथियोपियामाथि, आफ्नो भूपरिवेष्ठित अवस्था अन्त्य गर्न असब बन्दरगाह
(Assab Port) कब्जा गर्ने तयारी गरिरहेको आरोप लगाएको छ ।
सन् २०२०–२०२२ को युद्धका बेला यी दुई मुलुक ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) विरुद्ध सहकार्य गरेका थिए । तर, अहिले त्यो साझेदारी भत्किएर शत्रुतामा परिणत भएको छ । यो द्वन्द्व पहिले नै व्यापक जलराजनीतिक र समुद्री सङ्घर्षहरूमा फैलिरहेको छ जसले अफ्रिकाको हर्न क्षेत्रलाई पुनः आकार दिन सक्छ ।
नाइल नदीसम्बन्धी विवादको जलराजनीतिले इथियोपिया र इजिप्टबिचको विवादलाई अझ क्षेत्रीय द्वन्द्वमा परिणत गर्ने सम्भावना राख्छ । सुडानको राजनीतिक उथलपुथल, टिग्रे द्वन्द्व र लाल सागरलाई लिएर बढ्दै गएको प्रतिस्पर्धा आपसमा गहिरो रूपमा अन्तरसम्बन्धित छन् । इथियोपिया र इरिट्रियाबिचको पछिल्लो तनावपूर्ण अवस्थाले यी लामो समयदेखि चलिरहेका तकरावलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ ।
ग्रान्ड इथियोपियन रेनासान्स ड्याम (GERD) बाँध मुद्दासँगको सम्बन्धलाई बेवास्ता गर्नु हँुदैन । इजिप्टले लामो समयदेखि इथियोपियाले GERD बाँधको एकतर्फी भरण र सञ्चालन र ब्लु नाइलमा थप बाँधहरूको विरोध गर्दै आएको छ ।
यसैबिच, भूपरिवेष्ठित इथियोपियाले लाल सागरसम्म, विशेष गरी असाब हुँदै आफ्नो सार्वभौम पहँुच खोजिरहेको छ, जसलाई इरिट्रियाले आफ्नो अस्तित्वमाथिको खतराका रूपमा हेर्छ । इजिप्टले इरिट्रिया, सोमालिया र सुडानसँगको सम्बन्ध सुदृढ पारेर प्रतिक्रिया जनाएको छ । अक्टोबर ४ मा, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले एल अलामेनमा ती तीन देशहरूलाई आतिथ्य प्रदान गरेका थिए ।
उनीहरूको संयुक्त घोषणापत्रले तल्लो तटीय राज्यहरूलाई हानि पु¥याउने एकतर्फी नाइल नदीसम्बन्धी कार्यहरूलाई अस्वीकार ग¥यो र लाल सागरको शासन तटीय राष्ट्रहरूमा मात्र हुने कुरामा जोड दियो । इरिट्रिया र सोमालिया नाइल जलाधारका देशहरू होइनन् । त्यसैले, नाइल नदीमा उनीहरूको कुनै प्रत्यक्ष स्वार्थ नभए पनि इजिप्टको जलसम्बन्धी अडानलाई उनीहरूले समर्थन गर्नुको कारणलाई रणनीतिक गठबन्धनका रूपमा व्याख्या गर्नु बढी उपयुक्त हुन सक्छ ।
सरल भाषामा भन्नुपर्दा, इथियोपियाली महत्वाकाङ्क्षाहरूलाई सीमित पार्न इजिप्ट र इरिट्रियाको समान स्वार्थहरू छन् । कायरो GERD बाँधसम्बन्धी एउटा बाध्यकारी सम्झौता चाहन्छ; अस्माराले भने असाबलाई इथियोपियाको हातमा पर्न नदिन चाहन्छ । शिखर सम्मेलन हुनुभन्दा केही दिनअघि राष्ट्रपति इसाइयास अफ्वेर्कीसँग भएको भेटवार्तामा सिसीले इरिट्रियाको सार्वभौमिकताप्रति इजिप्टको समर्थन पुनः पुष्टि गरे ।
इथियोपियाका अधिकारीहरूले इजिप्ट, इरिट्रिया र सुडानमाथि टिपिएलफ तथा अन्य सशस्त्र समूहहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । तर, यी तीनै मुलुकले उक्त आरोप अस्वीकार गरेका छन् ।
यसका अझ प्रत्यक्ष कारणहरू इथियोपिया–इरिट्रिया सम्बन्धमा आएको दरार तथा भूभाग र सामुद्रिक पहुँचमाथिका परस्परविरोधी दाबीहरूमा निहित छन् । कुरा के हो भने, नाइल र लालसागरसम्बन्धी विवादहरू अहिले जटिल किसिमले एक–अर्कासँग जोडिएका छन् । असाब र मासावाजस्ता इरिट्रियाली बन्दरगाहहरूप्रतिको इजिप्टको चासोले सामुद्रिक सुरक्षा र जलसम्बन्धी वार्ताहरूका बिच एक सम्भावित सम्बन्ध सिर्जना गर्छ ।
सुडानमा पनि यस्तै जल–राजनीतिक ढाँचा देखिन्छ, जहाँ रोजेरेस बाँधको वरिपर भएको लडाइँले जल पूर्वाधारहरू कसरी अझ व्यापक युद्धको हिस्सा बन्न सक्छन् भन्ने कुरा देखाइसकेको छ ।
फेरि पनि, यसका परिणामहरू अफ्रिकाभन्दा धेरै परसम्म पुग्न सक्छन् । लालसागर एसिया, खाडी क्षेत्र, पूर्वी भूमध्यसागर र युरोपलाई जोड्ने एक महत्वपूर्ण जलमार्ग हो । असाब वा बाब अल–मन्देबतर्फको पहुँच मार्गहरूसम्म लडाइँ फैलिएमा यसले बीमा शुल्क बढाउन सक्छ, जलयात्राको अवधि लम्ब्याएर केप अफ गुड होप हुँदै गरिनुपर्ने बाध्यकारी स्थिति आउन सक्छ र ऊर्जा तथा कन्टेनर ढुवानीलाई बाधा पार्न सक्छ । प्रतिस्पर्धी बन्दरगाह र सुरक्षा चासो भएका खाडी राज्यहरू विरोधी शिविरमा जान सक्छन् ।
इथियोपियामा लामो समयसम्म सङ्कट कायम रहेमा, सुडान पहिले नै गृहयुद्धले थलिएको वर्तमान अवस्थामा यसले नाइल नदीसम्बन्धी कूटनीतिलाई पनि थप जटिल बनाउनेछ ।
संयुक्त राज्य अमेरिकासहितका पश्चिमा शक्तिहरूले सहायता र सुरक्षा साझेदारीमार्फत लामो समयदेखि इथियोपियाको राजनीतिलाई आकार दिँदै आएका छन् । यसमा उनीहरूको पनि केही जिम्मेवारी रहन्छ । केही विश्लेषकहरूले तर्क गर्छन् कि प्रधानमन्त्री अबीइ अहमदसँग वासिङटनको पहिलेको निकटताले गर्दा, सन् २०२२ को शान्ति सम्झौता कार्यान्वयन गर्न सबै पक्षहरूमाथि पर्याप्त दबाब परेन ।
व्यापक छद्म सङ्घर्ष (Proxy War) वा अन्तरराज्यीय युद्धले नाइल जलाधार, हर्न बन्दरगाह राजनीति र लाल सागरको ढुवानीलाई पारस्परिक रूपमा बलियो बनाउने सङ्कटमा फसाउन सक्छ । अर्को कुरा भनेको, यस क्षेत्रमा महत्वपूर्ण सामुद्रिक तथा सुरक्षा चासो भएका चीन, भारत र जापानजस्ता मुलुकहरू; थप कूटनीतिक र नौसैनिक संलग्नतामा तानिन सक्छन् ।
स्वेज नहर–लाल सागर जलमार्गमा आउने अवरोधहरूले ढुवानी र ऊर्जा लागत बढाउन सक्छन्, जसले एसियाली आपूर्ति शृङ्खला र युरोपेली बजार दुवैलाई प्रभावित पार्नेछ । यसले लाल सागरमा विद्यमान सामुद्रिक असुरक्षाका असरहरूलाई अझ गम्भिर बनाउनेछ । यसका साथै, हर्मुज जलडमरु वरपरको तनावलाई पनि बिर्सन सकिँदैन; यी दुवै परिस्थितिहरूले विश्वव्यापी व्यापार र ऊर्जा बजारलाई पहिले नै अस्थिर बनाइसकेका छन् ।
यसैबिच, खाडी क्षेत्रका प्रतिस्पर्धी शक्तिहरूले आफ्नो संलग्नतालाई अझ गहिरो बनाउन सक्छन्, जसले गर्दा हर्न क्षेत्र महाशक्तिहरूको प्रतिस्पर्धाको अर्को मैदान परिणत बन्न सक्ने सम्भावना छ ।
यस्ता घटनाक्रमले पहिले नै दबाबमा रहेका मानवीय स्रोतसाधन र आप्रवासन मार्गहरूमा थप भार सिर्जना गर्नेछन् ।
अन्ततः इथियोपियामा चलिरहेको युद्धले अफ्रिकाको हर्नको क्षेत्रीय विवाद, नाइल जलराजनीति र लालसागरको प्रतिद्वन्द्विता कति गहिरो रूपमा अन्तरसम्बन्धित भएका छन् भन्ने कुरा उजागर गर्दछ । यस क्षेत्रीय टकरावले अझ व्यापक भूराजनीतिक सङ्कटको रूप लिने जोखिम छ, जसका असरहरू पूर्वी भूमध्यसागरदेखि हिन्द–प्रशान्त क्षेत्रसम्म फैलिन सक्छन् ।
– ग्लोबल रिसर्च डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *