भर्खरै :

नेपाल कर्मचारी समाज भनपा–९ को शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल कर्मचारी समाज भनपा–९ को शुभकामना आदानप्रदान कार्यक्रम

भक्तपुर, ३ कार्तिक । नेपाल कर्मचारी समाज भक्तपुर नगरपालिका वडा नं. ९ समितिको आयोजनामा विजया दशमी, शुभ दीपावली तथा नेपाल संवत् ११४७ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार वडा कार्यालयको सभाकक्षमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम नेपाल कर्मचारी समाज भनपा–९ समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा अतिथि ज्याख्वले कर्मचारीहरूबिच आपसी आत्मीयता, सद्भाव र सहकार्य बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वडा नं. ९ भित्रका कर्मचारीहरूलाई एकताबद्ध गर्दै पेसागत जिम्मेवारी र अनुशासनका साथ समाज तथा जनताको सेवामा समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले पेसागत सङ्गठनमा आबद्ध कर्मचारीहरूले आफ्नो पेसागत मर्यादा कायम राख्दै पार्टीको सिद्धान्त र विचारअनुरूप काम गर्नुपर्ने धारणा राख्नुभयो । प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक आस्था र आबद्धताको महत्व रहने उल्लेख गर्दै समाजमा देखिएका विकृति, विसङ्गति र नयाँ पुस्तामा बढ्दै गएको मनोरञ्जनमुखी तथा व्यक्तिकेन्द्रित प्रवृत्तिबारे पार्टीले चिन्ता व्यक्त गर्दै आएको बताउनुभयो ।
नेपाली समाजमा कुनै घटनाप्रति देखिने चासो छिट्टै सेलाउने प्रवृत्तिको चर्चा गर्दै ज्याख्वले सामाजिक परिवेशलाई गहिराइमा बुझ्न अध्ययन, विचार र निरन्तर राजनीतिक तथा सामाजिक गतिविधि आवश्यक रहेको बताउनुभयो ।
उहाँले देको मिवा आवास योजना, लिबाली क्षेत्रको सामाजिक तथा आर्थिक विकास, वर्षाको पानी र शौचालयको ढल निकास व्यवस्थापन, कासांखुसीमा आउने बाढीको मूल्याङ्कन, गुठी जग्गासम्बन्धी समस्या, खोला छेउका जग्गाको ४० मिटर मापदण्डसम्बन्धी विषय तथा हाइटेन्सन लाइनका कारण जग्गामा परेको प्रभावलगायत स्थानीय विकासका विषयमा पनि धारणा राख्नुभयो ।
कार्यक्रममा कर्मचारीहरू विकास प्रजापति र काशीराम प्रजापतिलगायतका कर्मचारीहरूले विजया दशमी, शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *