भर्खरै :

विद्यार्थीलाई नागरिक भावना दिएर देश र समाजप्रति कर्तव्यबोध गराउनुपर्ने

विद्यार्थीलाई नागरिक भावना दिएर देश र समाजप्रति कर्तव्यबोध गराउनुपर्ने

बाल विकासद्वारा प्रकाशित स्मारिका Souvenir ले बाल विकासको परिचय दिन्छ । Souvenir बाल विकास नियाल्ने आँखीझ्याल हो । कुनै पनि पत्रिकाको भित्री गुदी कभर पृष्ठले निर्धारण गर्दछ । Souvenir त्यसको ज्वलन्त उदाहरण हो भन्दा फरक नपर्ला ।
बाल विकासद्वारा प्रकाशित Souvenir भित्र विभिन्न व्यक्तित्वहरूको जीवनी, राजनीति, साहित्य, संस्मरण, पुस्तक चर्चा, विज्ञान, नियात्रालगायतका विविध विषयहरू समेटिएका छन् । विभिन्न व्यक्तित्वद्वारा रचित रचनाहरू उत्कृष्ट खालका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा चर्चा समय सान्दर्भिक छ ।
‘शैक्षिक सत्र २०८२ गतिविधि नै गतिविधिको वर्ष रह्यो’ शीर्षकको सम्पादकीय अध्ययनले बाल विकासको जीवनपद्धतिबारे जानकारी दिन्छ । बाल विकासले विद्यार्थीहरूलाई भाषा, कला–संस्कृति, प्रकृति, समाज र सामाजिक, राजनीतिक चेतना दिँदै आएको कुरा गतिविधिले बताउँछ । विद्यार्थीलाई नागरिक भावना दिनुका साथै देश र समाजप्रतिको कर्तव्यबोध गराउन बाल विकास सदा प्रयासरत छ ।
स्मारिकाको सुरुमै वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँको विचार र योगदानबारे छोटो जीवनी प्रस्तुत छ । देश र जनताको हितका निम्ति सङ्घर्षरत बिजुक्छेँको राजनीतिक यात्रा कम चुनौतीपूर्ण थिएन । आफ्नो व्यक्तिगत जीवनभन्दा पनि किसान र मजदुरको हकहितका लागि लड्नुभएका बिजुक्छेँ नेपालको राजनीतिक इतिहासमा उल्लेख्य व्यक्तित्व हुनुहुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँको योगदान अतुलनीय छ । उहाँ सच्चा देशभक्त, इमानदार नेता हुनुहुन्छ । उहाँ असमान सन्धि सम्झौता, भारतीय विस्तारवाद र एकाधिकार पुँजी, नागरिकता विधेयक, देशघाती एमसीसी, एसपीपी सम्झौता, संरा अमेरिकाको साम्राज्यवादविरुद्ध लडिरहनुभयो । नेपाली भाषा, कला, संस्कृति, सम्पदा, साहित्य, पुरातत्व, इतिहासका मर्मज्ञ रोहितले देश चिनाउने कैयौँ लेख–रचना, साहित्य र पुस्तक लेख्नुभएको छ । यस अर्थमा उहाँ एक प्रगतिशील साहित्यकार हुनुहुन्छ ।
शोभा र उनको अथक सङ्घर्षबारेको वसन्तीको लेखले फेरि एकपटक भावुक बनायो । सङ्घर्षशील भावना, सहनशीलता र धैर्यताका प्रतिमूर्ति शोभा मिस एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । आज पनि उहाँको सम्झना आउँछ र आँखा भिज्छ ।
अध्यक्ष रोहितका मन्तव्यहरूको सङ्कलन आफै एक अभिलेख हो । उहाँको विचार र मार्गदर्शनबाट विद्यालयको शैक्षिक यात्रा निरन्तर अगाडि बढिरहेको कुरा अवगत नै छ ।
भियतनामी जनताका नेता होचि मिन्हको ‘जेल डायरी’ पुस्तक चर्चा समय सान्दर्भिक छ । वीर भियतनामी जनताले फ्रान्सेली उपनिवेशवाद, जापानी उपनिवेशवाद र संरा अमेरिकी साम्राज्यवादविरुद्ध इतिहास बुझ्न ‘जेल डायरी’ ले मद्दत गर्ने कुरा लेखक सुरेन बताउनुहुन्छ । १४ महिनाको जेल बसाइँको क्रममा जन्म भएको ‘जेल डायरी’ अमूल्य कृति हो । पुस्तक चर्चामा जेल डायरीले होचि मिन्हलाई चिनाएको सन्दर्भमा लेखेका छन् – ‘होचि मिन्हजस्ता नेताको जीवनमा सार्वजनिक र व्यक्तिगत जीवनको बिचमा कुनै किसिमको गोप्य ढोका छैन ।’ देश र जनताको लागि लड्ने कुनै पनि मान्छेको व्यक्तिगत जीवन नहुने कुरा लेखकले बताएका छन् । जेल डायरीभित्रको कवितामा कैदीको जीवन भोगाइमा एकदमै मन छुने एउटा गहिरो सन्देश दिएको छ – ‘हात खुट्टा बाँधिएको छ भन्दैमा चरीले गाएका मिठा गीत र फूलहरूको सुगन्धको आनन्द लिन के कसैले छेक्न, रोक्न सक्छ र ?’ कस्तो गहिरो अनि अर्थपूर्ण भावना ? होचि मिन्हको ओजपूर्ण विचार र भावनामा उत्साहित नहुने को होला र ? सुखमा बाँचेकाहरूले दुःख नबुझ्ने होचि मिन्हको भावनालाई समीक्षक सुरेन कोट्याउनुहुन्छ – ‘मानिसहरूलाई कठिनाइ, दुःख, कष्टले नै परिपक्व, परिमार्जित र पराक्रमी बनाउँछ ।’ यसप्रकार भियतनामको मुक्ति र भियतनामी जनताको स्वतन्त्रताको लागि लडेका होचि मिन्ह सङ्घर्षशील व्यक्ति हो भन्ने कुरा यस जेल डायरी पुस्तकले बताउँछ ।
सह–प्राध्यापक तारालाल श्रेष्ठको ‘प्रश्नको घेरामा पुपुलिजम्’ चाखलाग्दो लेख हो । नेपालमा भर्खरै भएको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रम अध्ययन गर्दा पपुलिजमबारे छलफल उचित लाग्यो । पपुलिजमबारे यसरी लेखेका छन् – ‘पपुलिजमको कुनै दर्शन या विचार, विमर्श हुँदैन । यसको ठोस सिद्धान्त र सङ्गठन हुँदैन । पपुलिस्टले सङ्घर्षको विरासत बोक्दैन । नटुवाजस्तो अनेक चटक देखाउन, विचारविहीन भिडलाई प्रभावित पार्न, अलौकिक कुरा गर्न वा कस्मेटिक पहिचान प्रस्तुत गर्न पपुलिस्ट खपिस देखिन्छन् । आस्तिकको भिडमा आस्तिक, नास्तिकको भिडमा नास्तिक बनेर बोल्छ । धनीको माझमा उसकै हाउभाउ बनाउँछ, गरिबको माझमा उनीहरूकै आवाज बोल्छ । सर्वहारावर्गको माझमा मुक्तिमैत्री गीत गाउँछ, नाच्छ, हाँस्छ, रुन्छ । ……कलात्मक प्रस्तुति दिन सक्छ । आफ्नो पक्षमा अलगोरिदम, युवा जत्था, साइबर सेना सब दौडाउन सक्छ ।
पपुलिस्टहरूले पपेटहरू परिचालन गर्छन् । नाटक मञ्चन गर्न नटुवा निर्माण गर्छन् । निर्वाचनकै बाटोबाट पपुलिस्ट शक्तिशाली बन्छ । जनमतबाटै शक्ति हात पार्छ । स्थापित संरचना भत्काउन पपुलिस्ट निर्मम बन्न सक्छ । आफूलाई भगवान् जसरी उभ्याउँछन् ।’ यी विचारहरू पढ्दै गर्दा पाठकलाई दोहोरो चरित्रको कुटिल बालेनको अनुहार याद आउँदो हो सायद । अनि गम्भीर हुँदो हो । अझ लेखकले चिन्ताजनक कुरा उल्लेख गरेका छन्– ‘यदि पपुलिस्टले आफूले चाहेजस्तो गर्न सकेन वा आफ्नो सपना पूरा गर्न सकेन भने फासिस्ट बाटोमा अघि बढ्न सक्छ ।’ यसबाट देश कतातिर जाँदै छ भन्ने कुराको सङ्केत दिन्छ । जेनजीको नाममा सत्तामा आएका बालेन सरकारको न कुनै विचार छ, न कुनै सिद्धान्त र न कुनै उद्देश्य ।
‘पपुलिजमले अराजनीतिक व्यक्तिलाई राजनीतिको केन्द्रमा उतार्छ, स्थापित भन्नेलाई पछार्छ, लतार्छ । पपुलिजम विचारविहीन भिडमा रमाउँछ ।’ जेनजी आन्दोलनमा यस्तै भयो । स्थापित राजनीतिक नेताहरू पछारिए । जेलेन्स्कीजस्ता जोकर, नटुवा बालेन सत्तामा आए । यद्यपि, जेनजी घटनापछि नेपालले एकखालको दुर्भाग्य भोगिरहेको छ ।
यसप्रकार पपुलिजमको चक्रब्युहमा नेपाल फसिसकेकोमा लेखक चिन्तित छन् र समयमै सोच्न आम पाठकसमक्ष अनुरोध गरेका छन् । पपुलिजमले राजनीति मात्र होइन संस्कृतिमा समेत प्रभाव पार्ने कुरा बताइएको छ ।
‘आखिर, ती जम्मै देशद्रोही थिए’ शीर्षकको एस. आर. को कविता सरल र सटिक छ । ३५ वर्षसम्म सरकारमा रहेर देश र जनताको लागि काम नगरेका शासक दलहरूलाई कविताले तीखो व्यङ्ग्य हानेको छ । साथै पछिल्लो समयमा घटित जेनजी आन्दोलनको वास्तविकतालाई पाठकसमक्ष बताउन कवि सफल देखिन्छ । कवितामार्फत उहाँ लेख्नुहुन्छ –
‘होहल्ला गर्दै हुलका हुल मानिस आए
उताउलिएर आए, आतङ्कित पार्दै आए….
झन्डा ओढेर सिंहदरबार जलाए,
झन्डा ओढेर संसद् जलाए,
झन्डा ओढेर अदालत जलाए
झन्डा ओढेर देश नै जलाए ।
आखिर ती जम्मै विश्वासघाती थिए
आखिर, ती जम्मै जनघाती थिए
आखिर ती जम्मै देशद्रोही थिए ।’
प्राध्यापक बासु सुवेदीको ‘विद्यालय र अभिभावकले विद्यार्थीमा रहेको विविधता चिन्नुपर्ने’ शीर्षकको अभिव्यक्तिले पक्कै पनि शिक्षक–शिक्षिकाहरूले सोच्नेछन् । ‘बालबालिकाहरू आफैमा पृथक हुन्छन् । हरेकमा विविधता छ । हरेकमा फरकपन छ । त्यो फरकपन र विविधतालाई हामीले चिन्न सक्नुपर्छ ।’ कहिलेकाहीँ यी कुराहरूको जानकारी हुँदाहुँदै पनि हामीले बालबालिका नचिनेर गल्ती गरिरहेका हुन्छौँ । समयमै गल्ती हुनबाट जोगिनुपर्ने आवश्यकता देख्छु ।
कवि अभय श्रेष्ठको ‘गाजाका भोका नानीहरूप्रति’ कविताले प्यालेस्टिनको विरह बोल्छ । प्यालेस्टिनको गाजामा इजरायली यातनाबाट पीडित ती निश्चल र अबोध बालबालिकाहरूको दुःख, पीडा देखेर नभक्कानिने सायदै होला ! अझ यो कविताले सहयोगको भिख मागिरहेका ती कोमल हातहरू, उमेर नपुग्दै परिपक्व बनेका ती अबोध मनहरू, रगतले लटपटिएका घाइते नानीबाबुहरू, सुम्सुम्याउने हात खोजिरहेका ती टुहुरा मनहरू, भग्नावशेषमा ‘बा’, ‘आमा’ भनी चिच्याइरहेका आवाज स्मरण गराउँछ । कविताको निम्न अंशले कता कता मेरो मानसपटल र हृदयलाई जोडले कुट्कुट्याउँछ –
‘गाजाका भोका नानीहरू
तिम्रो भोको पेटमा वैरीको गोली बर्सँदा
मलाई आफै तड्पिएर मरिरहेझैँ लाग्छ
तिम्रो भूमिमा नाकाबन्दी हुँदा
मलाई आफ्नै घाँटी कसैले थिचिरहेझैँ लाग्छ
तिम्रा ढाडमा निस्किएको करङ देख्दा
म आफैँ अनिकालमा बेहोस भएझैँ लाग्छ
परचक्रीले तिम्रो भूमिबाट तिमीलाई लेखेट्दा
मलाई आफ्नै घरमा डाँका पसेझैँ लाग्छ
गाजाको आकाशमा मृत्युको साइरन बजिरहँदा
मलाई आफ्नै थाप्लोमा बम बर्सिएझैँ लाग्छ ।’
गाजाको यो गम्भीर परिस्थितिप्रति लेखक विद्रोही भावना व्यक्त गर्दछन् । जलिरहेको गाजाको आगो निभाउन कवि सम्पूर्ण न्यायप्रेमी जनतालाई आह्वान गर्दछ । गाजाको यस्तो अवस्थामा मौन बस्न नसक्ने कविको भावना कवितामा यसप्रकार उजागर छ –
‘कुनै पनि क्षण बस्न सक्दिनँ म चुपचाप
म विरोधमा उठाइरहनेछु प्लेकार्ड
तिम्रो पक्षमा उठाइरहनेछु आवाज
लेखिरहनेछु कविता
गाइरहनेछु गीत’
यद्यपि कविताले मानवता बोल्छ, कविताले देशभक्ति बोल्छ ।
त्यस्तै ‘बालकहरूको सपना’ शीर्षकको कवितामा कवि तीर्थ श्रेष्ठले यस्तै भाव पोख्छन् –
‘बालकहरू सपना देख्छन्
सपनामा
आकाश विचरण गरेको पनि देख्छन्
तर आकाशमा
बमवर्षक विमानहरू देख्दैनन्’
यद्यपि, ती अबोध बालबालिकाको सपना सुन्दर, स्वच्छ र कञ्चन हुन्छ । सपनामा तुसारो ल्याउने ती अपराधीहरूका कारण बालबालिकाको सपना चुँड्ने गरेकोमा कवि आपत्ति जनाउँछन् ।
त्यस्तै, कवि हरिहर तिमिल्सिनाको ‘बिथोलिएका सपना’ कवितामा सपना देख्नमा बाधा दिनेहरूप्रति सचेत रहन आग्रह गरिएको छ ।
यसपटकको सोभेनियरको अर्को विशेषता पुस्तक परिचयको सङ्गालो हो । पुस्तक परिचय खण्डबाट एकैपटक १० पुस्तकको सारसङ्क्षेप पढ्ने अवसर पाएँ । सायद, विद्यालयको निरन्तरको अध्ययन गोष्ठीले यो रचनात्मक कार्य सम्भव भएकोमा म पूर्णतः विश्वस्त छु ।
हृदयचन्द्रसिंह प्रधानको ‘छेउ लागेर’ नाटक सङ्ग्रहबारे सितुको पुस्तक समीक्षा पठनयोग्य तथा जानकारीमूलक छ । पुस्तक परिचय लेखन तरिकाबारे जान्न यो समीक्षा उत्कृष्ट उदाहरण बन्नेमा ढुक्क छु । साथै ‘रुसको डिसेम्बर विद्रोह’ ‘कल्याणी धर्ती’, ‘गुडनाइट’, ‘शून्यको मूल्य’, ‘काकली’, Letters’ from jail, Bhaktapur After Century, Mao Tse-Tung जस्ता कृतिको परिचय दिनुहुने शिक्षक–शिक्षिकाहरू सुर्यबहादुर पञ्च, सुशीला लवजू, रविना ह्योङ्ग्वजू, जयराम कोजू, पविना श्रेष्ठ, जयन्द्र श्रेष्ठ, सृष्टि प्रधान, मञ्जु श्रेष्ठलगायत विद्यार्थी आर्यन मचामसी, अनिम छुस्याबागलगायत धन्यवादका पात्र हुनुहुन्छ । पठन र लेखन संस्कृतिलाई जीवनपद्धतिको रूपमा अगाडि बढ्ने कुरामा आशावादी छु ।
चिनियाँ भाषाका पूर्वशिक्षिका ह्वाङ् यूचि, शिक्षिका सोफिया र तनको अनुभव उत्साह र मायाले भरिपूर्ण छ । पारिवारिक भावना, मायालु सम्बन्ध, आपसी समझदारीमा काम गरे हरेक समस्या पनि सानो लाग्दछ । चिनियाँ शिक्षकहरूको समर्पणभाव र उत्साहलाई हामीले आत्मसात गर्न आवश्यक देख्छु ।
शिक्षिकाहरू विना कर्माचार्य, विजेश्वरी फैजू र मेरिना प्रजापतिको तालिम अनुभवले हामीलाई उत्साहित बनाउँछ । एकवर्षे तालिम कोर्सको क्रममा आएका व्यावहारिक कठिनाइ, समस्या, चुनौतीको सामना गर्दै उहाँहरू अगाडि बढ्नुभयो । पक्कै पनि उहाँहरू बधाईका पात्र हुनुहुन्छ । शिक्षिका सीता प्रजापतिको विद्यालय गतिविधि प्रतिवेदनले विद्यालयको विस्तृत परिचय दिन्छ । शिक्षिका सुलोचना छ्वाजूको यात्रा संस्मरणमा माओको जन्मभूमि शाओसानबारे विस्तृत विवरण प्रस्तुत छ ।
विद्यार्थीहरूद्वारा रचित कविता, निबन्ध, यात्रा विवरण, कथा, चिठी साहित्यले विद्यार्थीहरूको स्तरलाई कम आकलन गर्न हुन्न । शब्द प्रयोग प्रशंसायोग्य छ ।
स्मारिकाको अर्को सुन्दर पक्ष रङ्गीन तस्वीरहरू हुन् । पुस्तकको सज्जा आकर्षक छ । निलो आकाशको छत्रछायामा ङातापोल्हँ र ङातापोल्हँको काखमा बाल विकास परिवारको आवरण तस्वीरले पक्कै पनि मन नलोभ्याउने कम होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *