भर्खरै :

इजरायलले क्रूर यातना दिएको रिहा भएका गाजावासीको आरोप

इजरायलले क्रूर यातना दिएको रिहा भएका गाजावासीको आरोप

जेरूसेलम, २१ असार (एएफपी) । इजरायल–हमास युद्धमा इजरायलद्वारा नियन्त्रणमा लिइएका प्यालेस्टिनीहरूलाई इजरायलले आँखामा पट्टी बाँधेर कुटपिट गरेको र कहिलेकाहीँ कुकुरले समेत टोकाएर यातना दिएको आरोप इजरायली जेलबाट रिहा भएका गाजावासीले लगाएका छन् ।
गाजाको सबैभन्दा ठुलो अस्पताल अल–सिफाका पूर्वनिर्देशक मोहम्मद अबु सलमियाले इजरायलले बन्दीहरूलाई दुव्र्यवहार गरेको बताउनुभएको छ ।
इजरायली जेलबाट सोमबार रिहा गरिएका दर्जनौँ कैदीहरूमध्ये एक साल्मियाले ‘धेरै कैदीहरूको सोधपुछ केन्द्रमा मृत्यु भएको र खाना र औषधिबाट वञ्चित रहेको’ बताउनुभयो ।
इजरायली सेना र शिन बेट गुप्तचर सेवाले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि, उनीहरूले विगतमा यस्ता आरोपहरू अस्वीकार गर्दै आएका छन् ।
संयुक्त राष्ट्र सङ्घलगायतका संस्थाले लामो समयदेखि इजरायली जेलमा प्यालेस्टिनी कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका थिए ।
जून ११ मा इजरायलले रिहा गरेपछि गाजापट्टीको कमल अदवान अस्पतालमा लगिएका ५० कैदीहरूमध्ये केहीको एएफपीले अन्तर्वार्ता लिएको थियो ।
रिहा भएका बन्दीमध्ये एक ३७ वर्षीय महमुद अल–जानिनले आफ्नो अस्पतालको ओछ्यानको यातनाको स्मरण गर्दै भन्नुभयो, “मलाई दिनरात कुटपिट गरिएको थियो । हाम्रो आँखामा पट्टी बाँधिएको थियो, हाम्रो हातखुट्टा बाँधिएका थिए र कुकुरले समेत टोकाइएको थियो ।”
संयुक्त राष्ट्र सङ्घले कैदीहरूसँगको इजरायली दुव्र्यवहार ‘अस्वीकार्य’ रहेको बताएको छ ।
“हामीले यातना, दुव्र्यवहार, हतकडी, खाना, औषधि, पानीबाट कैदीहरू वञ्चित भएको रिपोर्टहरू प्राप्त गरेका छौँ र यो धेरै चिन्ताजनक विषय हो । हामीले यो विषय इजरायली अधिकारीसमक्ष उठाएका छौँ र पारदर्शी अनुसन्धानका लागि आग्रह गरेका छौँ,” संयुक्त राष्ट्र मानव अधिकार आयुक्तकी प्रवक्ता रविना शामदासानीले भन्नुभयो ।
मे महिनामा, इजरायली सेनाले सोधपुछको क्रममा बन्दीहरूलाई निर्वस्त्र गर्ने, यौन दुव्र्यवहार गर्ने र बिजुली प्रहार गरेको आरोप ‘स्पष्टरूपमा अस्वीकार’ गरेको अमेरिकी सञ्चारमाध्यमको प्रतिवेदनले जनाएको थियो ।
हमासको आक्रमणपछि इजरायली संसद्ले नजरबन्दसम्बन्धी नियमहरू संशोधन गरेको हो ।
डिसेम्बरमा गैरकानुनी लडाकुसम्बन्धी कानुनमा परिवर्तन ल्याएपछि प्यालेस्टिनीहरूलाई विशेष शिविरहरूमा हिरासतमा राख्न प्रयोग गरिएको छ ।
कानुनमा परिवर्तन ल्याएपछि इजरायलले अब प्रशासनिक प्रक्रियाबिना ४५ दिनका लागि कैदीहरूलाई हिरासतमा राख्न सक्छ । कैदीहरूलाई अदालतको सुनुवाइबिना ७५ दिनको लागि हिरासतमा राख्न सकिन्छ र न्यायाधीशले बन्दीसँग वकिलले सम्पर्क गर्नबाट रोक्न सक्नेछन् ।
“केही बन्दीले आठ महिनाभन्दा बढी समयदेखि वकिलसँग भेटेका छैनन् र अदालतमा उपस्थित नगराई वकिलबिना जूममार्फत मुद्दा चलाइएको छ,” इजरायलमा यातनाविरुद्धको सार्वजनिक समितिका निर्देशक ताल स्टेनरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *