भर्खरै :

सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता तथा नवीकरणको लागि बायोमेट्रिक भेरिफिकेसनबारे अभिमुखीकरण कार्यक्रम

सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता तथा नवीकरणको लागि बायोमेट्रिक भेरिफिकेसनबारे अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २१ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएसँगै ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूले दुःख पाएको भन्दै वडास्तरमै घुम्ती शिविर सञ्चालनले नागरिकहरूलाई सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता तथा नवीकरणको लागि बायोमेट्रिक भेरिफिकेसनबारे अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले समयमै राष्ट्रिय परिचयपत्र बनेन भने भत्ता पाइँदैन भन्ने गलत सूचनाका कारण नागरिकहरूमा अन्योलता छाएको बताउनुभयो ।
उहाँले त्रुटीरहित ढङ्गले सेवा प्रवाहमा कर्मचारीहरूलाई काम गर्न मार्गनिर्देश गर्दै स–सानो गल्तीले सेवाग्राहीलाई समस्या हुनेतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज, सुलभ र आत्मीय तरिकाले सेवा गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् महिला बालबालिका समाज कल्याण समितिका संयोजक रोशनमैँया सुवालले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्नुभयो भने समितिका सदस्य भूपाल मूलले स्वागत मन्तव्य राख्नुभएको थियो । एम.आई.एस. अपरेटर न्हुज किजुले बायोमेट्रिक भेरिफिकेसनबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
भक्तपुर नपाले २०८१ साउन महिनाभरि सबै वडाहरूमा घुम्ती तालिका सार्वजनिक गरी घुम्ती नवीकरण शिविरमार्फत परिचयपत्र नवीकरण गर्ने व्यवस्था गरेको छ । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव र कर्मचारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *