भर्खरै :

घिउ खाने बा

घिउ खाने बा

समयलाई किन यति हतार छ हँ ? हाम्रा बा (पत्रकार भैरव रिसाल) लाई ९६ वर्षको शुभकामना चढाएको भर्खरैजस्तो लाग्छ, वर्षदिन पो बितिसकेछ त । आजको दिनबाट ९७ वर्षमा प्रवेश गरेका हाम्रा बालाई जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्यसहित दीर्घ जीवनको हार्दिक र मङ्गलमय शुभकामना अर्पण गर्दछु ।
हाम्रा बाको जीवन पद्धतिलाई दार्शनिक चार्वाकको एउटा प्रसिद्ध भनाइसँग जोडेर हेर्न सकिन्छ ः यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिबेत् (जति बाँच्छौ, सुखले बाँच, ऋण लिएर घिउ पिऊ) । ‘जति बाँच्छौ सुखसँग बाँच’ भन्ने भनाइसँग कसैको विमति नहोला, सबैको जीवन दर्शन यही होला तर सुखसँग बाँच्न केही आधारहरू आवश्यक पर्छन् जुन व्यक्तिपिच्छे फरक फरक हुन्छन् । कसैको आर्थिक आर्जनमा रुचि हुन्छ भने कसैको भौतिक सम्पत्ति आर्जनमा र कसैको विद्या आर्जनमा । तिनले त्यसैबाट सुख र खुसी प्राप्त गर्छन् । हाम्रा बालाई भने आफूले गरेका सत्कर्महरूको स्मरणले आनन्द र सुख प्राप्त हुन्छ । सकुञ्जेल उहाँको प्रयास पनि यही रह्यो ।
चार्वाकको ‘ऋण लिएर घिउ पिऊ’ भन्ने भनाइलाई भने अभिधा र व्यञ्जना गरी दुई अर्थमा बुझ्न सकिन्छ । सोझो अर्थमा यस भनाइले ‘सामथ्र्यले भ्याएसम्म मीठो खाऊ, राम्रो लगाऊ, मोज गर, सामथ्र्यले नभ्याए ऋण लिएर भए पनि मीठो मसिनो खाऊ, राम्रो लगाऊ, रमाइलो गर किनभने भोलि के हुन्छ ? कसैले जान्दैन । जति मोजमस्ती गर्नु छ, अहिल्यै गर’ भन्ने अर्थ बुझाउँछ ।
यो भनाइको व्यञ्जना अर्थात् चमत्कारपूर्ण अर्थ खोज्दा भने अलि गहिरिएर जानुपर्ने हुन्छ । मोजमस्ती गर्न स्रोत चाहिन्छ । छैन भने बनाउनुपर्छ । ऋण लिएर बजार गएर घिउ किनेर ल्याएर खाने गर्न थाल्यो भने त कालान्तरमा ऋण दिने पनि भेटिँदैनन् । तसर्थ, यो भनाइको गहिरो अर्थ हुन्छ, ‘ऋण लिऊ, उद्यम गर, स्रोत बनाऊ, बलियो स्रोत भएपछि स्वतः घिउ खान सक्ने बन्छौ । अनि जति खाऊ न घिउ ।’
यही अभ्यास हाम्रा बाले गर्नुभयो, व्यक्तिगत जीवनमा पनि समाज र राष्ट्रमा पनि । उहाँ न ऋण लिन डराउनुभयो, न घिउ पिउन । घर बनाउने बेलामा, राम्रो जग्गा भेटिएको बेलामा ‘अहिले पैसा छैन, भएपछि बनाउँला, किनौँला’ भनेर बस्नुभएन । आफूसँग भएको स्रोतले नभ्याएको हदसम्म ऋण लिनुभयो र सही ठाउँमा लगानी गर्नुभयो । भाइबहिनी र छोराछोरीलाई अलि खर्चिलो पढाइ तथा बिहेबारी सम्पन्न गर्नका लागि पनि ऋण लिन हिच्किचाउनुभएन । यी सबै उहाँले सही ठाउँमा गरेका लगानी थिए जसले उहाँलाई घिउ खाने स्रोत, आधार तयार गरायो ।
मानिसलाई यो कुराको विश्वास दिलाउन सकिन्छ कि सकिन्न कुन्नि तर यथार्थ के हो भने जबसम्म उहाँ ऋणमा हुनुहुन्थ्यो उहाँलाई पूरा हिसाबकिताब कण्ठै थियो । यसलाई यति तिर्नुपर्छ, यसलाई यति दिनुपर्छ भन्ने एक एक सम्झना थियो । जब लिएका सबै ऋण चुक्ता गरेर ऋणमुक्त हुनुभयो अथवा उहाँसँग केही धन रहन थाल्यो त्यसपछि उहाँले मतलब राख्नै छाड्नुभयो । न बैङ्कमा उहाँको नाममा खाता थियो न त घरमा पैसा छ कि छैन भन्नेमा वास्ता नै हुन्थ्यो । उहाँको प्राथमिकता ऋण तिर्नमा मात्र रह्यो, धन कमाउने जोगाउनमा उहाँ खासै उत्साहित हुनुभएन ।
हाम्रा बाले निर्धक्कसँग लिएका ऋण, गरेका लगानी, परिणामतः त्यसबाट तयार भएका घिउ खाने आधारहरू निकै महत्वपूर्ण मात्र र उल्लेखनीय छन् । यसको सानो चर्चा हुनु सान्दर्भिक नै हुनेछ किनभने उहाँले समाज र राष्ट्रका लागि व्यक्तिगत प्रयासमा जति काम गर्नुभएको छ त्यो अविश्वसनीय लाग्छ । एक्लो प्रयासबाट आफ्नै गाउँ दधिकोट, केही छिमेकी गाउँहरूमा विकास निर्माणका धेरै योजनाहरू पार्न सफल हुनुभयो जबकि उहाँ न योजना आयोगमा हुनुहुन्थ्यो न उच्च तहको राजनीतिक पदमा न महत्वपूर्ण प्रशासनिक पदमा । एक्लै गर्न सम्भव नभएका काममा सहयोग जुटाउनमा पनि उहाँ निकै हदसम्म सफल हुनुभयो ।
राष्ट्रिय समाचार समितिको प्रमुख समाचारदाताजस्तो हतारको साहित्य लेखन विधामा कार्यरत उहाँले सो पदलाई विकास निर्माणका लागि हरसम्भव प्रयोग गर्नुभयो र धेरैमा सफलता पनि पाउनुभयो । उहाँलाई जब त्यो संस्थामा रहेरभन्दा बाहिरबाट नै आफ्नो कार्यक्षमता बढाउन सकिन्छ भन्ने बोध भयो तब उहाँले त्यो जागिरबाट राजीनामा दिएर सामाजिक रूपान्तरणलाई आफ्नो कार्यक्षेत्र बनाउनुभयो । अनि उहाँ मुलुकका दुर्गम स्थानहरूमा गएर त्यही बसेर त्यहाँको आवश्यकता पहिचान गरेर व्यक्तिगत, सामूहिक वा सरकारी तहबाट सहयोग जुटाउन कम्मर कसेर लाग्नुभयो । कतिमा सफल हुनुभयो, कतिमा हुनुभएन, तर उहाँको भगीरथ प्रयास भने भइरह्यो ।
दधिकोट एक समय ‘विकासको नमुना गाउँ’ मानिन्थ्यो जसमा हाम्रा बाको निकै योगदान रह्यो । उहाँको सक्रियताले यो गाउँले खानेपानी, बिजुली बत्ती, मोटरको बाटो, हेल्थपोस्ट, स्वास्थ्य शिविर, स्वास्थ्य प्रयोगशाला, कृषि विकास बैङ्कको सुविधा निकै पहिले नै उपयोग गर्न पाएको हो । हाम्रा बाले सामाजिक कार्यको थालनी गर्नुपूर्व नै दधिकोटमा हेल्थपोस्ट बन्न थालिसकेको थियो । वि.सं. २०१३ सालमा राजा महेन्द्रले सो पोस्ट उद्घाटन गर्दाको कार्यक्रमको उद्घोषण उहाँले गर्नुभएको थियो । पछि त्यसको स्तरोन्नति गर्नमा उहाँको निरन्तर प्रयास रहिरह्यो ।
दधिकोट गाउँको शिक्षाको आधार अरनिको विद्यालयमा कक्षा ७ सम्म पढाइ भइरहेकोमा त्यसमाथिका कक्षाहरू थप्न उहाँले नेतृत्व मात्र लिएको होइन थपिएका कक्षाहरूको व्यतर सरकारले नबेहोरेसम्मका लागि निजी खर्चमा सञ्चालन गर्ने सल्लाहबमोजिम आफैँले मासिक १५ रुपियाँ दिने निर्णय गरेर सो रकम तबसम्म दिइरहनुभयो जबसम्म सरकारले नै कक्षा १० सम्म सञ्चालनको स्वीकृति दिएर दरबन्दीसमेत थप्ने काम गरेन । उहाँसँग औलादौला भएर सहयोग गर्नुभएको थिएन मात्र होइन त्यो बेला त्यति रकमले हाम्रो गृहस्थीमा निकै अर्थसमेत राख्थ्यो । उहाँले रकम दिने भएपछि अन्य केहीले पनि आर्थिक सहयोग गरे र दरबन्दी नथपिएसम्म यही प्रक्रियाबाट कक्षा सञ्चालन भयो । अरनिको स्कूलको अहिलेको भव्य नयाँ भवन निर्माण गर्ने स्रोत जुटाउन पनि उहाँले निकै मेहनत गर्नुभएको छ ।
अरनिको राजमार्गमा पर्ने नयाँ थिमि (हाल शङ्खधर चोक) बाट दधिकोट हुँदै तर्खगालसम्म पुग्ने मुख्य सडक चौडा पार्ने बेलामा पनि उहाँले निकै पसिना बगाउनुभएको छ । चौडा पार्दा सडकमा जग्गा पर्नेहरूले गर्नसम्म विरोध गरे । बाटो बढाउनै दिएनन् । त्यो विरोधको सामना गर्न सजिलो थिएन तर उहाँले अलिकति बल र अलिकति बुद्धि प्रयोग गर्दै ‘बाटो चौडा भएपछि जग्गाको भाउ ह्वात्तै बढ्छ । बाटोले काटेका जग्गाको पैसा त्यसै पनि उठिहाल्छ नि’ भन्ने तर्क प्रयोग गरेर जग्गावालाको चित्त बुझाउनुभएको थियो । त्यो बाटोमा ग्राभेलिङ्ग गर्नेदेखि बेला बेलामा त्यसको स्तरोन्नति गर्नेसम्मको काममा उहाँको योगदान रहेको छ ।
दधिकोट गाउँको धार्मिक र सांस्कृतिक चिनारी पाएको चर्खण्डी तीर्थस्थलका सम्पदा संरक्षण गर्ने विषयमा पनि उहाँले निकै प्रयास गर्नुभयो । स–साना दुई खोलाको दोभान त्यो ठाउँसँग धार्मिक विश्वास जोडिएको कारण नयाँ वर्षको पहिलो दिन भव्य मेला लाग्छ । हजारौँको सङ्ख्यामा मानिसहरू मेला भर्न आउँछन् । त्यही चर्खण्डीको धार्मिक, सांस्कृतिक तथा भौगोलिक चिनारी कायम राख्न स्थानीयहरूसँगको सहकार्यमा उहाँले निकै काम गर्ने जमर्को गर्नुभएको थियो । फलस्वरूप अहिले चर्खण्डीले चिनारी कायम राखेको मात्र होइन झन्झन् महत्व बढाउनसमेत सफल भएको छ ।
दधिकोट जाने बाटोमा क्वाछेँ भन्ने ठाउँ पर्छ । त्यो मध्यपुुर थिमिका बासिन्दाको विवाह, व्रतबन्ध गर्ने ठाउँ हुनाका साथै उनीहरूको श्मशान घाट पनि हो । गाउँबस्तीबाट अलिक टाढा पर्ने भएकोले पानी परेको बेलामा दाहसंस्कार गर्न, राति हिँड्न त्यहाँ निकै असुविधा थियो । क्वाछेमा थिमिदेखि खम्बा गाडेर बिजुलीबत्ती बाल्ने, श्मशानमाथि टिनको छानो हाल्ने काम उहाँले लागिपरेर सरकारी तवरबाट गराउनुभयो । त्यसको नजिकै, अहिले काठमाण्डु स्कूल अफ ल जाने बाटोमा पर्ने बलौटे ढिस्कोमा वृक्षरोपण गराएर त्यो ठाउँ लघुवनको रूपमा परिवर्तित भएको देखेपछि उहाँलाई जीवनभर कति आनन्दको अनुभव भयो होला ।
ग्रामीण अर्थतन्त्रलाई टेवा पुग्ने आधारभूत योजनाहरू उहाँकै माध्यमबाट अन्य गाउँभन्दा पहिले दधिकोटमा पुगेका थिए । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले उन्नत जातका तरकारी, फलफूल तथा अन्नका बीउ, विशेषगरी मूलाको बीउ उत्पादन गर्ने कार्यक्रममा पु¥याउन सकेको कारण प्रत्यक्षरूपमा निकै किसानहरूको जीवनस्तर उकासिएको थियो । गाउँमा मोटर चल्ने बाटो भइसकेकोले उत्पादनले बजारको पहुँच पायो । पशुपालन तथा उत्पादन वृद्धि गर्नका लागि आवश्यक ऋण दिने कृषि विकास बैङ्कको शाखा कार्यालय दधिकोटमा पु¥याउन सकेकोले पनि गाउँमा लगानी गर्न चाहनेले सरकारी सुविधामा ऋण पाउन थाले । यसले पनि धेरै किसानको जीवनमा सुधार आयो । कृषि विकास बैङ्कको शाखा गाउँमा खोज्न उहाँले गर्नुभएको दौडधुप परिवारका सदस्यले अहिले पनि बिर्सेका छैनन् ।
कटुञ्जे दधिकोट खानेपानी योजना, हनुमन्ते खोलामा पुल निर्माण, स्वास्थ्य शिविर सञ्चालन, क्षयरोग निको पार्ने अभियान, घरघरमा सुलभ शौचालय तथा धुँवारहित चुलो बनाउन प्राविधिक सहयोग, सिरीको पसलमा मन्दिर निर्माणजस्ता कार्यका लागि सरकारी निकाय, गैरसरकारी संस्था वा सम्बन्धित व्यक्तिसम्म कुरा पु¥याएर दबाबै दिएर बजेट विनियोजन गराउनमा उहाँको जति श्रम प्रयोग भयो त्यो जो कोहीबाट सम्भव नै देखिँदैन । उहाँको यो क्रियाशीलताको केही लाभ छिमेकी गाउँहरू कटुञ्जे, थिमि, लुभु, सिरुटार, गुण्डु, बालकोट आदिले पनि प्राप्त गरेका छन् ।

हाम्रा बाको काम लिने, बनाउने र सहयोग गर्ने तरिका पनि अनौठो र अविश्वसनीय छ । सानोतिनो खर्चको कारण कसैलाई सा¥है समस्या परेको छ भन्ने थाहा पाउनेबित्तिकै सबैभन्दा उहाँ आफैँ केही पैसा दिन अघि सर्नुहुन्थ्यो । त्यो देखेपछि अरू पनि केही न केही दिन खोज्थे र गर्जो टथ्र्यो । यस्ता सहयोगको आवश्यकता परेकाहरू देशभर कति थिए कति तर उहाँको सामु देखापरको समस्याप्रति भने उहाँ देखेको नदेख्यै गर्नै सक्नुहुन्नथ्यो । यसले कहिलेकहीँ उहाँका सहकर्मीहरूलाई अप्ठ्यारो पनि पर्दो हो । एक समय त उहाँको हात परेको पारिश्रमिक वा पुरस्कारको रकम घर नै आइपुग्दैनथ्यो, कतै न कतै सहयोग गरेर आउने बानी नै परिसकेको थियो । उहाँबाट यस्ता पटके सहयोग कति भएका छन् भन्ने कुराको अभिलेखसमेत कतै राखिएको छैन ।
अरूबाट सहयोग प्राप्त गर्न र चन्दा उठाउन पनि उहाँ सजिलैसँग सक्नुहुन्थ्यो । कतै आर्थिक सहयोग आवश्यक देख्नेबित्तिकै उहाँ ‘यो ठाउँमा यस्तो कामका लागि रुपियाँ आवश्यक छ, दिन सकिन्छ ?’ भनेर सोध्नुहुन्थ्यो । मन लाग्नेले दिइहाल्थे, मन नलाग्नेलाई कर पनि थिएन । यही प्रक्रियाबाट उहाँले हुम्लामा उज्यालो, चेपाङलाई रेडियो, बाजुरामा शब्दकोश, गुण्डुका एउटा विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक, मुसहरलाई सुङ्गुरको पाठो, आगलागीले ध्वस्त भएको गोरखाको प्रोक गाविसको क्वाक गाउँमा जस्तापाताले घर छाउने कामका लागि आवश्यक रकम जुटाउनुभएको हो ।
उहाँले गरेका काममध्ये ‘हुम्लामा उज्यालो’ कार्यक्रमको सफलता अविश्वसनीय लाग्छ । हुम्ला जिल्लाको प्रत्येक घरमा सोलार बत्ती बाल्न रकम जुटाउन उहाँ एक्लै कस्सिएर लाग्नुभएको थियो । एउटा घरमा सोलार शक्तिबाट बत्ती बाल्न सरकारी अनुदानबाहेक घर धनीले ४ हजार रुपियाँ झिक्नुपथ्र्यो । त्यति रकम झिक्न नसक्ने वा नचाहने हुम्लावासीका लागि उहाँले हुम्ला बाहिरका व्यक्तिहरूसँग सहयोगको आग्रह गर्दा एक वर्षभित्र नमुनाको रूपमा २५ घरमा बत्ती बाल्न पुग्ने रकम जम्मा भयो । त्यसको सफलताले हौसिएर उहाँले धेरैतिर हारगुहार गर्नुभयो । फलस्वरूप ४ वर्षभित्र उहाँले २२ लाख रुपियाँ जम्मा गरेर ५५० घरलाई उज्यालो पार्नुभयो । त्यसपछि सरकारको ध्यान पनि त्यता गएछ । ‘कर्णाली उज्यालो’ नाम दिएर सरकारले कर्णाली अञ्चलमा प्रत्येक घरमा बिजुली पु¥याउने योजना नै तर्जुमा ग¥यो । यसबाट उहाँको अभियान कति सार्थक र आवश्यक थियो भन्ने प्रस्ट हुन्छ ।
उहाँको कर्मथलो कर्णाली अञ्चल, त्यसमा पनि विशेषगरी हुम्ला र जुम्ला रह्यो । हुम्लाकी एउटी चेलीलाई नर्सको तालिम लिन आवश्यक खर्च उहाँले व्यक्तिगत तवरबाट नै उपलब्ध गराइदिनुभएको थियो । मुगुकी अर्की चेलीलाई ओभरसियर पढ्न पनि यसैगरी खर्च जुटाइदिनुभएको थियो । कर्णाली अञ्चलका अन्य जिल्लामा पनि उहाँले केही न केही काम गर्नुभएको छ । पाल्पा, इलाम र गोरखा उहाँको प्राथमिकतामा परेका कार्यक्षेत्र हुन् भने सिन्धुपाल्चोक, दोलखा, सिराहा, सप्तरीमा पनि उहाँले विकासको केही न केही बीउ छर्नुभएको छ । माथि उल्लेख गरिएका कुराहरू नमुना मात्र हुन्, उहाँले यो भन्दा धेरै काम गर्नुभएको छ । कति देखिएका छन्, कति थाहा पाइएका छन्, कति त रेकर्डमा मात्र होइन स्मरणमा पनि छ्रैनन् ।
यसबाट के प्रस्ट हुन्छ भने एउटा व्यक्तिको प्रयासले पनि धेरै काम हुँदो रहेछ । हुन त यी सबै काम उहाँ एक्लैले गरेको भने होइन । कतिमा उहाँको विचारले काम गरेको थियो, कति काम उहाँले आरम्भमात्र गर्नुभएको भने कति कामको सम्पूर्ण जस उहाँलाई दिँदा पनि फरक पर्दैन । एक व्यक्तिले अलिकति आँट झिकेर अघि लागिदिँदा र अरूले त्यसको अनुकरण गर्दा कामले स्वतस्पूmर्तरूपमा सामुदायिकताको स्वरूप लिन जान्थ्यो । सामुदायिक बन्ने बित्तिकै कार्य सम्पादन गर्न सजिलो हुने नै भयो ।
उहाँमा जस्तोसुकै सामाजिक परिवेशमा पनि आफूलाई समायोजित गर्नसक्ने विशिष्ट गुण थियो । जहाँ पुग्नुभयो त्यहीको परिवेश, खानपिन र जीवनस्तर अपनाएर स्थानीयलाई सफाइ, शिक्षाजस्ता कुरामा चेतना फैलाउने सानोतिनो प्रयास पनि गर्नुभयो । उहाँले साबिकका पचहत्तरै जिल्ला टेक्नुभएको छ । हरेक खालका मानिसको सङ्गत गर्नुभएको छ । उहाँको परिचयको दायरा पनि विश्वास नै गर्न नसकिने गरी फैलिएको छ । जहाँ गए पनि उहाँले आफ्नो कुनै न कुनै सद्गुणको छाप छाडेर आउनुभएको छ ।
यस्तै यस्तै सत्कार्यहरूका कारण उहाँले धेरैको मनमा स्थान बनाउनुभएको छ । त्योबाहेक एउटा रमाइलो प्रसङ्गको कारण पनि उहाँलाई धेरैले सम्झँदा रहेछन् । हाम्रा बा जहाँ जाँदा पनि त्यो ठाउँमा जे पाइन्छ त्यही खाना स्वादले खानुहुन्थ्यो भन्ने त थाहा थियो तर आफू बसेको घरबेटीको आँगनमा वा गोठमा गाईभैँसी बाँधिएका छन् भने खाना खाने बेलामा तीनवटा औँलाले गोलोगोलो आकार बनाएर ‘अलिकति घिउ होला ?’ भनेर मुखै फोरेर घिउ मागेर खानुहुन्थ्यो रे भन्ने रहस्य परिवारका सदस्यलाई धेरै पछिमात्र खुलेको हो ।
घरमा त घरमा अन्त पनि ‘अलिकति घिउ होला ?’ भनेर मुखै फोरेर घिउ खाने हाम्रा बालाई आफूले मात्र घिउ खाएर कहाँ चित्त बुझ्यो र ? अरूलाई पनि घिउ खाने बनाउनमा नै उहाँका ९६ रमणीय वसन्त र शरद्, निर्मम शिशिर र हेमन्त, शुष्क गृष्म र आद्र वर्षा व्यतित भए ।
अतः ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिबेत्, जति बाँच्छौ, सुखले बाँच, ऋण लिएर घिउ पिऊ’ दर्शनमा अलिकति थपेर ‘अरूलाई पनि घिउ पिउने बनाऊ’ भन्ने भावले बनाएको उहाँको पहिचान नै उहाँको वास्तविक सम्पत्ति हो जसको ब्याज परिवारलाई, स्याज समाजलाई र घिउ खाने राष्ट्रलाई उपलब्ध छ, पछिसम्म हुनेछ । गर्वले शिर उठ्न यति कारण पर्याप्त हुँदैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *