भर्खरै :

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ५६

कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ५६

जिल्ला प्रशासन कार्यालय, झापा :
२०८२।०५।२३ गते अन्दाजी १०ः३५ बजे करिब २०० जनाको सङ्ख्यामा रहेको भिडले राजमार्गको दुईतर्फ बाटो अवरोध नहुने गरी प्लेकार्ड बोकेर विरोध कार्यक्रम गरेको थियो । आयोजकले कार्यक्रम समापनको घोषणा गरे पनि भिडले नाराबाजी गर्दै बजार परिक्रमा ग¥योे । प्रदर्शनकारीहरूको भिडले दमक नगरपालिकाअगाडि नाराबाजी गर्नुका साथै नगरपालिकाको गेट तथा गेटमा रहेको सी.सी.टीभी तोडफोड गरे । उनीहरूले कार्यालय परिसरमा रहेका केही सवारीसाधन गेटबाहिर निकालेर आगजनी गरे । त्यसपछि प्रहरीले सामान्य बल प्रयोग गरी थप क्षति हुन नदिएको हो ।
त्यसैगरी सोही दिन अन्दाजी ११ः३० बजेको समयमा करिब ५,००० को हाराहारीमा रहेको प्रदर्शनकारीको समूहले मुक्ति चोकबाट बिर्तामोड नगरपालिका बाहिर पुगेर नाराबाजी गरे । केही उग्रव्यक्तिहरूले नगरपालिकाको कार्यालयतर्फ ढुङ्गा हानी नगरपालिकाको अगाडिपट्टिको झ्यालका सिसा फुटाउनुका साथै उपमेयर तथा कर्मचारीहरूलाई बाहिर निस्किन दिएनन् ।
दमकमा पनि नगर परिक्रमापश्चात् उत्तेजक भिडले नगरपालिका कार्यालयमा ढुङ्गामुढा र आगजनी सुरु गरेका थिए । दमक तथा बिर्तामोडको घटनापश्चात् अराजक समूहले गौरादह, कन्काई, अर्जुनधारा, मेची, भद्रपुर नगरपालिका तथा बाह्रदशी, बुधशान्ति, कचनाकवल तथा झापा गाउँपालिकाका प्रशासनिक भवन तथा वडा कार्यालयहरू, मेची भन्सार कार्यालय, भद्रपुर भन्सार कार्यालयलगायत केही सरकारी कार्यालय र केही राजनैतिक दलका पार्टी कार्यालयहरूमा समेत तोडफोड र आगजनी गरे । आन्दोलनकारीहरूले ग्रामीण क्षेत्रमा रहेका वा अन्यत्र रहेका प्रहरी युनिटहरूमा पनि राति २१ः०० बजेसम्म आगजनी तथा तोडफोड गरे ।
लागूऔषध सेवनकर्ता, सहचालक, पहाडतिरबाट झरेर सानोतिनो काममा, जागिरमा संलग्न/बेरोजगार व्यक्ति, प्रहरी, ट्राफिक प्रहरी कारबाहीमा परेका व्यक्ति तथा अन्य सरकारी कार्यालयहरूबाट असन्तुष्ट बिचौलियाहरू, केन्द्रीय सरकार तथा स्थानीय सरकारमा सहभागी नभएका/अवसर नपाएका राजनीतिक दलका कार्यकर्ताहरू पनि प्रदर्शनमा संलग्न भएको देखिन्छ ।
भदौ २४ गते बिहान ०५ः०० बजेसम्म बिर्तामोड नगरपालिका क्षेत्रमा कफ्र्यु आदेश जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *