अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
फासीवाद विरोधी आन्दोलनलाई एक भाँडो बढी पाकेको पास्तासँग पनि पस्कन सकिन्छ ।
२५ जुलाई १९४३ मा, एक्काइस वर्षको तानाशाहीपछि बेनिटो मुसोलिनीलाई पदच्युत गरी पक्राउ गरियो । दोस्रो विश्वयुद्धमा इटालीको खस्किँदो अवस्थाकाबिच, फासिस्ट ग्राण्ड काउन्सिलले रातीको समयमा मुसोलिनीको विरोधमा उत्रियो र मार्सल पिएत्रो बाडोग्लियोलाई सरकारको प्रमुख नियुक्त ग¥यो । अफवाह र अविश्वासकाबिच, यो समाचार मौखिक रूपमा बिस्तारै र असमान रूपमा पूरै इटालीभरि फैलियो । धेरैले फासीवादको अन्त्य मात्र भएको ठानेका थिएनन्, बरु युद्ध नै अन्ततः समाप्त हुन लागेको विश्वास गरेका थिए ।
उत्तरी इटालीको एमिलिया–रोमान्या क्षेत्रमा पर्ने रेजियो एमिलिया वरपरको ग्रामीण भेगमा, चेर्भी परिवारले खेतको कामबाट फर्केपछि यो समाचार सुने । अल्साइडे चेर्भी, उनकी श्रीमती जेनोएफ्फा र उनीहरूका सात छोरा र दुई छोरीहरू क्याम्पेजिने नजिकैको गात्तातिकोका किसान थिए । तिनीहरू एक क्याथोलिक कृषक परिवार थिए, जसले १९३० को दशकमा नयाँ कृषि प्रविधिहरू विकास गरेका थिए र आफूलाई अधिया खेतीबाट मुक्त गर्न सफल भएका थिए ।
तर उनीहरूमा फासीवादविरोधी चेतना पनि विकास भइसकेको थियो । उनीहरूको राजनीति एमिलिया–रोमान्याको लोकतान्त्रिक र समाजवादी परम्पराबाट प्रेरित थियो, जुन कामिल्लो प्राम्पोलिनीसँग जोडिएको मानवतावादी र सुधारवादी समाजवादको नजिक थियो । क्याम्पेजिनेमा, उनीहरूले भूमिगत गतिविधिहरू सङ्गठन गर्न मद्दत गरे, जसमा दिदिमो फेरारी (जसलाई पछि प्रतिरोधी आन्दोलनमा ‘कमिसार इरोस’ भनेर चिनिन्थ्यो) सँग मिलेर एउटा सानो घुम्ती पुस्तकालय चलाउने काम पनि सामेल थियो ।
कतिपय दाजुभाइहरूको राजनीतिक चेतना सैन्य सेवाको क्रममा अझ प्रगाढ बनेको थियो । विशेषगरी आल्दो चेर्भी, फासीवादविरोधी रङ्गमञ्चकी अभिनेत्री लुचिया सार्जीमार्फत कम्युनिस्ट वृत्तको सम्पर्कमा आएका थिए । सन् १९४३ को गर्मीयाममा, सार्जीले भविष्यका प्रमुख कम्युनिस्ट नेता जर्जियो अमेन्डोलासँग मिलेर कोरेजियो नजिकैको ग्रामीण भेगमा लुकाइएको छापाखानामा पार्टीको भूमिगत पत्रिका लुनितो (l‘Unit’’) का प्रतिहरू पुनः प्रकाशन गर्ने काम गरेकी थिइन् । चेर्भी दाजुभाइहरू पछि जर्मन कब्जाको समयमा छापामार आन्दोलनमा सक्रिय रूपमा संलग्न भएका थिए ।
तैपनि, चेर्भी परिवारलाई जुन कार्यका लागि सबैभन्दा बढी सम्झिने गरिन्छ, त्यो एक छाक खाना थियो ।
चेर्भी परिवारले बटर र चिज हालेको पास्ता पकाएर क्याम्पेजिनेका जनतालाई निःशुल्क बाँड्दै मुसोलिनीको पतनको उत्सव मनाउने निर्णय ग¥यो । त्यो पास्ता गात्तातिकोमा पकाइयो र गाउँको चोकसम्म ओसारियो । जुलाई २७ का दिन जब त्यो त्यहाँ आइपुग्यो, पास्ता निकै बढी पाकेर गलिसकेको थियो । कति परिमाणमा बाँडियो भन्ने कुराले खासै महत्व राख्दैन । महत्व यस कुराको छ कि त्यो प्रचुर मात्रामा तयार पारिएको थियो र कुनै भेदभावबिना सबैलाई बाँडिएको थियो ।
यो एक साधारण कार्य थियो, तर तटस्थ भने थिएन । यो तानाशाही, भोक, युद्ध र डरका विरुद्धको एक सामूहिक भोज थियो । आफ्ना सातै जना छोराहरूको सामूहिक हत्याबाट जीवित रहेका बुबा अल्साइडे चेर्भीले पछि जसलाई ‘फासिस्ट क्यान्सर’ भनी सम्बोधन गरे, त्यसका विरुद्धको यो एउटा सामुदायिक उत्सव थियो । यो ऐक्यबद्धता र भोजनका माध्यमबाट व्यक्त गरिएको भुइँतहको फासीवादविरोधी आन्दोलन थियो । ‘नयाँ इटालियन’ को फासिस्ट आदर्श अनुशासित, ग्रामीण, पुरुषत्वले भरिएको र सैन्यकृत हुनु थियो । पास्तालाई ग¥हौँ, शिथिल बनाउने र निन्द्रा जगाउने खानाको रूपमा आलोचना गरिन्थ्यो । यसलाई आधुनिकताविरोधी खानेकुरा ठानिन्थ्यो, जसले कथित रूपमा राष्ट्रको मनोबल कमजोर बनाउँछ भन्ने दाबी गरिन्थ्यो ।
तर त्यो आशा लामो समय टिकेन । जुलाई २८ मा, रेजियो एमिलियाको ‘ओफिसिने मेकानिके रेजियाने’ मा सैनिकहरूले मजदुरहरूमाथि गोली चलाए, जसमा नौ जनाको मृत्यु भयो । अनि बाडोग्लियोको सरकारले पनि शान्ति ल्याउन सकेन । सन् १९४३ सेप्टेम्बरको सुरुमा यसले मित्रराष्ट्रहरूसँग युद्धविरामको सम्झौता गरेपछि, नाजी जर्मनीले उत्तरी–मध्य इटालीमा कब्जा जमायो । चेर्भी दाजुभाइहरूले त्यस क्षेत्रमा पहिलो छापामार दस्ता स्थापना गरे । पक्राउ हुनबाट जोगिन उनीहरू पहाडतिर लागे र पछि पो उपत्यकाको तल्लो तटीय क्षेत्रमा फर्केर काम गर्न थाले, जहाँ उनीहरूले नजिकैका शिविरहरूबाट भागेका भूतपूर्व कैदीहरूलाई लुकाउने र सहयोग गर्ने गर्थे ।
सेप्टेम्बर २३, १९४३ मा नाम मात्रको लागि मुसोलिनीलाई पुनः सत्तामा फर्काउँदै नाजीहरूको कठपुतली सरकार ‘रेपुब्लिका सोसियाले इतालियाना’ (इटालेली सामाजिक गणतन्त्र) को गठन भएपछि, दमन तीव्र रूपमा बढ्यो । डिसेम्बर २८ मा, जेलिन्दो, आन्तेनोरे, आल्दो, फेर्दिनान्दो, आगोस्तिनो, ओभिदियो र एत्तोरे गरी सात चेर्भी दाजुभाइहरूलाई फासिस्टहरूले छापामार क्वार्तो काम्रीसँगै गोली हानी हत्या गरे ।
यसैले गर्दा यो पास्ता भोज (पास्तासियुत्ता) को महत्व छ । यो अँध्यारो समयका ‘असल इटालियनहरू’ को बारेमा सुनाइने कुनै भावुक कथामात्र होइन । यो त फासीवादविरोधी आन्दोलन किसान, मजदुर, महिला, पुस्तक र रोटीका तस्कर, भूमिगत पाठक र ती सर्वसाधारण मानिसहरूद्वारा निर्माण गरिएको थियो भनी एउटा स्मरण गराउने कडी हो । जसले दैनिक जीवनका सामान्य कार्यहरूलाई राजनीतिक आन्दोलनमा परिणत गरिदिए ।
पास्ताको महत्व हुनुको पछाडि अर्को एउटा विशेष कारण पनि छ । आज पास्तालाई इटालियन पहिचानको सबैभन्दा स्पष्ट प्रतीकको रूपमा लिइन्छ । तर सधैँ परिस्थिति यस्तो थिएन । दोस्रो विश्वयुद्धपछि खाद्य उत्पादनको औद्योगिकीकरण हुनुअघि, इटालीको सबै ठाउँमा पास्तालाई एउटै तरिकाले उपभोग गरिँदैनथ्यो । उत्तरको अधिकांश भागमा ‘पोलेन्टा’ (मकैको च्याख्लाको खोले जस्तो परिकार) नै मुख्य खाना थियो भने दक्षिणमा अक्सर रोटी बढी महत्वपूर्ण थियो ।
फासीवादको पास्तासँगको सम्बन्ध द्विविधापूर्ण र अक्सर शत्रुतापूर्ण थियो । आत्मनिर्भरताको सन्दर्भमा, यो शासन व्यवस्था आयातित गहुँमाथिको निर्भरता कम गर्न चाहन्थ्यो । ‘नयाँ इटालियन’ को फासिस्ट आदर्श अनुशासित, ग्रामीण, पुरुषत्वले भरिएको र सैन्यकृत हुनु थियो । विशेष गरी भविष्यवादी वक्तव्यबाजीहरूमा, पास्तालाई ग¥हौँ, शरीर गलाउने र निन्द्रा जगाउने खानाको रूपमा आलोचना गरिन्थ्यो । एक आधुनिकताविरोधी खाना जसले राष्ट्रिय भावनालाई कमजोर बनाउँछ भन्ने ठानिन्थ्यो । पास्ताको विरुद्धमा फिलिप्पो तोम्मासो मारिनेत्तीको उग्र तर्कले मानिसका शरीर, रुचि, बानी र दैनिक जीवनलाई नियन्त्रण गर्ने फासीवादको चाहनाको वास्तविक रूपलाई उजागर गथ्र्यो ।
त्यस पृष्ठभूमिमा, पास्ताको सार्वजनिक वितरण केवल एक छाक भोजन मात्र नभएर फासिस्ट अनुशासनप्रति एक चुनौती थियो । दैनिक जीवनलाई नियन्त्रण गर्ने राज्यको प्रयासविरुद्ध नागरिक समाजले चालेको यो एउटा कदम थियो । यो एउटा राजनीतिक उपहार थियो, यसो भन्ने माध्यम थियो किः ‘हामी अझै यहाँ छौँ; हामी अझै पनि एक ठाउँमा भेला हुन सक्छौँ† हामी अझै बाँडेर खान सक्छौँ; हामी अझै फासीवादपछिको जीवनको परिकल्पना गर्न सक्छौँ ।’
एमिलिया–रोमान्यामा, पास्ताले एउटा फरक र मौन तर व्यवस्थाविरोधी महत्व बोकेको थियो । धेरै समाजवादी परिवारहरूमा, परम्परागत रूपमा मे १ (मई दिवस) का दिन खाइने ’काप्प्रेलेत्ती इन ब्रोद’ (cappelletti in brood) समुदाय र राजनीतिक आबद्धताको प्रतीक बन्यो । काप्प्रेलेत्तीमाथि कहिल्यै प्रतिबन्ध लगाइएको थिएन । बरु, फासिस्ट शासनले सन् १९२३ मा मई दिवसलाई नै खारेज गरिदियो, जसले मजदुरहरूको बिदालाई नामेट पार्यो र यसका रीतिरिवाजहरूलाई दबायो । तैपनि यो परम्परा बन्द कोठाहरूभित्र जीवितै रह्यो । मे १ का दिन काप्प्रेलेत्ती तयार पार्नु र बाँडेर खानु प्रतिरोधको एउटा सुक्ष्म कार्य बन्यो, जुन शासनले मेटाउन चाहेको स्मृतिलाई जीवित राख्ने माध्यम थियो । मोदेना प्रान्तको कार्पीमा रहेको मेरो परिवारमा, हामीले त्यसबेलादेखि नै प्रत्येक मे १ का दिन ‘काप्प्रेलेत्ती इन ब्रोदो’ खाने चलनलाई निरन्तरता दिँदै आएका छौँ ।
युद्धपछि, नवगठित इटालेली गणतन्त्रमा चेर्भी परिवारको सम्झना राजनीतिक रूपमा तटस्थ रहेन । इटालेली कम्युनिस्ट पार्टी (पार्तितो कमुनिस्ता इतालियाना) ले ती सात दाजुभाइहरूलाई प्रतिरोधी आन्दोलनको एउटा ठुलो लोकप्रिय मिथकमा रूपान्तरण गरिदियो । यदि एन्टोनियो ग्राम्सी कुनै अर्थमा इटाली र विश्वको फासिवादविरोधी आन्दोलनका प्रमुख बौद्धिक किंवदन्ती बने भने, चेर्भी परिवार किसान, शहीद, दाजुभाइ र जनताका सन्तानका रूपमा त्यस आन्दोलनको जनस्तरमा स्थापित एउटा अमर मिथक बन्यो ।
धेरै वर्षसम्म, चेर्भी परिवारको पास्ता भोज रेजियो एमिलियामा मुख्य रूपमा एक स्थानीय स्मृतिका रूपमा मात्र सीमित रह्यो । शीतयुद्धको अन्त्यपछि मात्र यसलाई व्यापक फासीवादविरोधी उत्सवको रूपमा पुनर्जीवित गर्न थालियो । सन् १९७४ देखि सङ्ग्रहालयको रूपमा रहेको गात्तातिकोस्थित चेर्भी घर सङ्ग्रहालयका स्वयंसेवकहरूले सन् १९८८ मा, जुलाई २५ का दिन पास्ताका परिकारहरू पस्कँदै एक नयाँ फासीवादविरोधी पास्ता भोजको आयोजना गरे । सन् १९९० को दशकको मध्यदेखि यता, यो एक नियमित कार्यक्रमको रूपमा स्थापित भएको छ ।
आज यो इटालीका धेरै सहरहरूमा र विदेशमा पनि आयोजना गरिन्छ । जहाँ–जहाँ आप्रवासी, विभिन्न सङ्घ–संस्था, विद्यार्थी, श्रमिक, राजनीतिक समुदाय र म जस्ता विश्वविद्यालयका प्राध्यापकहरूमार्फत इटालीको फासिवादविरोधी स्मृति पुग्छ । पास्ताको एक प्लेट र र लाम्ब्रुस्कोको एक गिलासका साथ इतिहास र स्मृतिबारे केहीबेर छलफल आयोजना गर्ने म पनि त्यसैको एउटा उदाहरण हुँ । यस अर्थमा, यो पास्ता भोज (पास्तासियुत्ता) एक अन्तर्राष्ट्रिय फासीवादविरोधी अनुष्ठान बनेको छ ।
तर आजको समयमा फासीवादविरोधी पास्ता उत्सव मनाउनुको अर्थ के हो ?
स्मृतिले महत्व राख्छ र यो नागरिक जीवनको एउटा हिस्सा हो । तर इतिहास त्योभन्दा बढी केही हो । ऐतिहासिक रूपमा सोच्नुको अर्थ कारणहरू, रूपान्तरणहरू, संस्थाहरू, वर्गीय सम्बन्धहरू, राजनीतिक भाषाहरू, सांस्कृतिक पदानुक्रमहरू र प्रभुत्वका स्वरूपहरूका बारेमा प्रश्न उठाउनु हो । यदि स्मृतिले संरक्षण गर्न सक्छ भने, इतिहासले तरङ्गित पनि बनाउनुपर्छ । स्मृतिले भन्छः ‘नबिर्स ।’ इतिहासले सोध्छः ‘त्यो कसरी सम्भव भयो, त्यो किन भयो, के परिवर्तन भयो र के भएन ?’
त्यो भिन्नता महत्वपूर्ण छ किनभने आज फासीवादको प्रश्नलाई अक्सर गलत ढङ्गले प्रस्तुत गरिन्छ । यदि स्मृति इतिहासबाट अलग भयो भने, फासीवादविरोधी आन्दोलन केवल एक कर्मकाण्ड मात्र बन्न सक्छ । आज फासीवादविरोधी आन्दोलन फेरि ‘आधुनिक र आकर्षक’ जस्तो देखिन सक्छ । यसका प्रतीकहरू सजिलैसँग फैलिन्छन्ः गीतहरू, नाराहरू, टिसर्टहरू, पोस्टरहरू, सामाजिक सञ्जालका पोस्टहरू, राता सलहरू, पुराना चित्रहरू र छापामार शैलीहरू । यो नराम्रो कुरा होइन । राजनीतिक संस्कृतिहरूलाई आफ्ना अनुष्ठान र भावनात्मक गहिराइको आवश्यकता पर्छ । तर फासीवादविरोधी प्रतीकहरूलाई तिनीहरूको सन्दर्भ र राजनीतिक सारतत्वबाट रित्तो पारेर, केवल एक नैतिक सजावटको रूपमा प्रयोग गरिने जोखिम पनि रहन्छ । फासीवादविरोधी आन्दोलन वास्तवमै व्यवहारमा उतारिनुको सट्टा एउटा फितलो ‘ब्रान्ड’, जीवनशैली वा सांस्कृतिक विशिष्टता देखाउने माध्यममा मात्र सीमित हुने जोखिम हुन्छ ।
फासीवादको सबैभन्दा सटिक परिभाषाहरूमध्ये एक भित्तोरियो फोआले दिएका थिए, जो एक समाजवादी छापामार थिए र पछि इटालीको युद्ध पछिको गणतन्त्रमा सांसद बने । उत्तर–फासिस्ट मुभिमन्तो सोसियाले इतालियाना (Movimento Sociale Italiano) बाट निर्वाचित एक सिनेटरलाई जवाफ दिँदै फोआले भनेका थिएः ‘यदि तपाईंहरूले जितेको भए म जेलमा हुने थिएँ । किनकि हामीले जित्यौँ, त्यसैले तपाईं सिनेटर हुनुहुन्छ ।’ उनले यो सङ्केत गरेका थिए कि फासीवादविरोधी आन्दोलन असहमतिलाई दबाउनु होइन, बल्कि लोकतान्त्रिक असहमतिलाई सम्भव बनाउने परिस्थिति हो ।
निस्सन्देह, विशेष गरी इटालीमा अझै पनि फासिवादप्रतिको एक प्रकारको अतित मोह बाँकी छः मुसोलिनीको जन्मथलो प्रेदाप्पियोको तीर्थयात्रा, रोमन शैलीका सलामीहरू, फासिस्टकालीन स्मृतिचिह्नहरूको सङ्ग्रह, र ‘दुचे’ प्रतिको विकृत व्यक्तिपूजा ।
तैपनि, योभन्दा गम्भीर खतरा लोकतन्त्रको खोक्रोपन, अधिकारहरूको क्षयीकरण, राजनीतिक हिंसाको सामान्यीकरण र सामाजिक समस्याहरूलाई धपाउनुपर्ने शत्रुमा परिणत गर्ने राजनीतिक भाषाहरूको पुनरागमनमा निहित छ । यो सधैँ फासीवादजस्तो नदेखिन सक्छ, यसले उदारवादी लोकतन्त्रको औपचारिक दायराभित्रै रहेर काम गर्न सक्छ । यसले सुरक्षा, परम्परा, राष्ट्र, धर्म, प्राकृतिक परिवार, वा व्यावहारिक ज्ञानको भाषा बोल्न सक्छ । यसले आफैलाई तानाशाहीको रूपमा प्रस्तुत नगर्न सक्छ; यसले आफैलाई र आफ्ना विरोधीहरू, चाहे ती प्रवासी, कलाकार, महिलावादी, मजदुर, बुद्धिजीवी, न्यायाधीश, एलजीबीटीक्यू (LGBTQ) आन्दोलन वा पत्रकार नै किन नहून्का विरुद्ध आफूलाई ‘जनता’ को रूपमा प्रस्तुत गर्न सक्छ ।
वास्तविक खतरा फासीवाद फर्कदैछ भन्ने होइन । बल्कि, आजको खतरा के हो भने फासीवादलाई इतिहासविहीन बनाइँदैछ, यसलाई अन्य मतहरू जस्तै एउटा सामान्य मतमा परिणत गरिँदैछ र राष्ट्रिय इतिहासको कथित अनन्त विभाजनको एउटा पाटो मात्र मानिँदैछ । अक्सर, फासीवादलाई यसका कारणहरू, संस्थाहरू, हिंसा, वर्गीय गठबन्धन, औपनिवेशिक युद्धहरू र जातीय कानुनहरू भएको एक क्रुर शासन व्यवस्थाको रूपमा नभई, ‘इटालेली संस्कृति’ को एउटा स्वभावगत अभिव्यक्तिका रूपमा मात्र प्रस्तुत गरिन्छ । फासीवाद राष्ट्रिय फोटो एल्बमको एउटा अर्को कथा र राजनीतिक नाटकका लागि उपलब्ध एउटा अर्को कथित पहिचान मात्र बन्न पुग्छ ।
फासीवादविरोधी पास्ता भोजले यसै कुराको प्रतिरोध गर्छ । यसले हामीलाई इतिहासलाई फेरि सार्वजनिक बहसमा ल्याउन, र मानिसहरूलाई केवल उत्सव मनाउन मात्र नभएर छलफल गर्न, तर्क गर्न, बुझ्न र सङ्गठित हुनका लागि एकजुट हुन आह्वान गर्दछ । यसको उद्देश्य दोस्रो विश्वयुद्धको प्रतिरोधी आन्दोलनप्रति अतीतमोह राख्नु होइन, बल्कि फासीवादविरोधी आन्दोलनको जनप्रिय, भौतिक र सामूहिक आयामलाई पुनर्जीवित गर्नु हो ।
स्पष्ट छ, एक प्लेट बढी पाकेको पास्ताले मात्र फासीवादलाई परास्त गरेको थिएन । तर यसले सार्वजनिक र सामूहिक रूपमा यो घोषणा गरेको थियो कि फासीवादलाई परास्त गर्न सकिन्छ । यसले एउटा तानाशाही शासनको अन्त्यलाई अथवा मानिसहरूले जुन अन्त्यको आशा गरेका थिए त्यसलाई मुक्तिको एक साझा उत्सवमा परिणत गरिदियो ।
यसै कारणले गर्दा, फासीवादविरोधी पास्ता भोजको आज पनि महत्व छ । हामीलाई सँगै मिलेर ऐतिहासिक रूपमा सोच्ने अवसरहरूको खाँचो छ । चेर्भी परिवारलाई सम्झनुको अर्थ उनीहरू फासिस्टहरूद्वारा मारिएका थिए भन्नु मात्र होइन । बरु यो सोध्नु हो कि कस्तो प्रकारको संसारले फासीवादलाई सम्भव बनायो, कस्तो प्रकारको ऐक्यबद्धताले प्रतिरोधलाई सम्भव बनायो र कस्तो प्रकारको उदासीनताले अधिनायकवादलाई फेरि सम्भव बनाउन सक्छ ?
आखिर, फासीवादविरोधी आन्दोलन केवल ज्यान गुमाउनेहरूको सम्झना मात्र होइन । यो जीवित रहेकाहरूले निरन्तर व्यवहारमा उतार्ने कर्म हो ।
– ज्याकोविन डटकम/दायित्वबोध डटकमबाट
Leave a Reply