पास्ताः फासीवादविरुद्धको एक हतियार
- असार ३१, २०८३
(नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को संस्मरणका केही पृष्ठ यहाँ प्रस्तुत छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका यी सङ्क्षिप्त संस्मरणात्मक लेखहरू हुन् –सं)
प्रधानमन्त्री चाउ एन–लाइको सौहार्दपूर्ण व्यवहार
सन् १९५९–६० मा म एसियाली अफ्रिकी युवा तथा विद्यार्थीहरूको स्वास्थ्य निवासमा थिएँ । पेइचिङको २० किलोमिटर उत्तरतिर पाताचु भन्ने ठाउँमा स्वास्थ्य निवास थियो । स्वास्थ्य निवास बसेको २–४ महिनापछि पेइचिङको पार्क र अन्य ऐतिहासिक सङ्ग्रहालयहरूमा घुमाउन लगियो । ५–६ महिनापछि अन्य सभा समारोहहरूमा समेत सहभागी गराइएँ ।
त्यसबेला चीनमा एसियाली र अफ्रिकी ठुला र साना देशका राष्ट्रपति र प्रधानमन्त्रीहरूको भ्रमण भइरहन्थ्यो । अतिथिहरूका स्वागत समारोह र रात्रिभोजहरूमा म पनि सहभागी हुन्थेँ । ती समारोहहरू धेरैजसो जनप्रतिनिधि सभा भवनमै हुन्थे । सयौँ सहभागी हुने ती समारोहहरूमा आ–आफ्नो स्थान नामसहित निश्चित टेबुलको बन्दोबस्त गरिएको हुन्थ्यो ।
म बस्ने टेबुलमा सधैँ चीन–नेपाल मैत्री सङ्घका एक पाको चिनियाँ मित्र हुन्थे । साथै चिकित्सक र दोभाषे पनि हुन्थे । विदेशी पाहुना र चिनियाँ नेताहरूको औपचारिक भाषणपछि चिनियाँ प्रधानमन्त्री चाउ एन लाई विभिन्न टेबुलमा पुगी सहभागीहरूसँग भलाकुसारी गर्नुहुन्थ्यो । म सधैँ नेपाली पोशाक र भादगाउँले कालो टोपी लगाएको हुन्थेँ । प्रधानमन्त्री चाउ एन लाई हरेक पटक हामी बसेको स्थानमा पुग्नुहुन्थ्यो† मेरो स्वास्थ्यबारे चिकित्सकहरूसँग सोध्नुहुन्थ्यो र दोभाषेले मलाई अनुवाद गर्थे । प्रधानमन्त्री चाउ एन लाईले मेरो शीघ्र स्वास्थ्यलाभको कामनाका साथै घरबाट चिठीपत्र आउने नआउने विषय र माता–पिताबारे पनि सोधपुछ गर्नुहुन्थ्यो ।
नेपालका प्रधानमन्त्री बीपी कोइरालाको स्वागत समारोहको दिन औपचारिक समारोहपछिको भेटघाटमा बीपी कोइरालालाई स्वास्थ्य निवासमा साथीहरूले भेटघाटका लागि आग्रह गर्दा उहाँले चाउ एन लाईलाई आफू विद्यार्थीहरूसँग भेट्न चाहेको बताउनुभयो । चाउ एन लाईले आफ्ना सहयोगीलाई कार्यक्रम मिलाउन भन्नुभयो ।
अहिले ५९–६० वर्षपछि म प्रम चाउ एन लाईको नेपाल र नेपाली जनताप्रतिको सद्भाव सम्झिरहन्छु । त्यसबेला म २० वर्षको थिएँ । स्वास्थ्य लाभपछि नेपाल फर्केँ । पछि समारोहहरूमा एउटै टेबुलमा बरोबर भेटघाट हुने पाको चिनियाँ मित्रलाई नेपालमा पहिलो राजदूतको रूपमा भेट भयो । उहाँले भन्नुभयो, “चिन्नु भयो ?” “अँ मैले चिनेँ, महामहिमलाई हाम्रो देश नेपालमा स्वागत छ,” मैले भनेँ । “हामी पुराना मित्र हौँ,” उहाँले भन्नुभयो । मैले भनेँ, “अवश्य, नेपाली र चिनियाँ जनता पुराना र असल मित्र हौँ ।”
युवावस्थाको चिनियाँ बसाइँ, चिनियाँ जनता र नेताहरूको नेपालप्रतिको सौहार्दता र उहाँहरूको नेपाल भ्रमणहरूको सम्झना आज पनि मलाई ताजा लागिरहेको छ ।
चिनियाँ नापित मित्रसँग
स्वास्थ्य निवासमा एक जना विद्यार्थीको कपाल काट्न एक घण्टाको पास दिइन्थ्यो । म कपाल काट्न ठीक समयमा पुग्दा नापित मित्र एकजना सेवाग्राहीलाई बिदा दिई चुरोट खाइरहेका थिए । चुरोट खाँदासम्म पुरानो चीनमा उनको स्थानबारे मैले सोधेँ, “क्रान्तिभन्दा पहिले तपाईँ के गर्नुहुन्थ्यो ?”
“म एक जमिनदार थिएँ,” उनले जवाफ दिए ।
“तपाईँको खेतमा अब कसले काम गर्छ ?”
“सबै खेत किसानहरूलाई बाँडेँ ।”
“किन ?” मैले प्रश्न गरेँ ।
“भूमिसुधारमा, खेत जोत्ने किसानले पाउँछ ।”
“तपाईँले किन आफ्नो खेत जोत्नुभएन ?”
“म आफ्नो खेत जोत्न सक्दिनथेँ । मैले यही पेसा रोजेँ ।”
उनीसँगको कुराकानीअनुसार आफ्नो नयाँ पेसाबाट उनी सन्तुष्ट थिए । सरकारबाट कर्मचारीसरह तलब पाउँथे ।
मन्दिर र विहारको बन्दोबस्त
स्वास्थ्य निवासमा बस्दा समय–समयमा निवासबाट बिदा लिएर चीनका विभिन्न प्रान्तका मन्दिर र विहारहरूको भ्रमण गर्दा सबै ठाउँ सा¥है सफा देखिन्थे । धार्मिक दृष्टिकोणले आउने मानिसहरू सा¥है कम देख्थेँ । तर, घुम्न र बुझ्न आउने मानिसहरू बढी देखिन्थे ।
त्यहाँ सेवा गर्ने पुजारी वा भिक्षुहरूसँगको कुराकानीमा २–४ वटा प्रश्न गरेँ । यो मन्दिर र विहारको निर्माण कसले गरेको ? यसको जग्गा वा गुठी के भयो ? अब यहाँको खर्च र मर्मत सम्भार कसले गर्छ ? पुजारी वा भिक्षुको बन्दोबस्त कसरी हुन्छ ?
यी सबै प्रश्नहरूको उत्तर सबैबाट एउटै किसिमको आउँथ्यो । यो प्राचीन मठमन्दिर र विहार हो । क्रान्तिपछि यसको पुनः निर्माण भएको हो । यस मन्दिरको पुनः निर्माण प्रधानमन्त्री चाउ एन लाईको निर्देशनमा भएको थियो । यसको जग्गा भूमिसुधारको बेला जोताहा किसानहरूमा वितरण भयो । त्यसपछि सबै आवश्यक खर्च सरकारले गर्छ । पुजारी र भिक्षुहरूको बन्दोबस्त पनि सरकारबाटै हुन्छ । चीनका यी सबै बन्दोबस्तहरूजस्तै नेपालका मठ मन्दिरहरूको बन्दोबस्त पनि सरकारबाट हुनुपर्ने हो । सङ्घ राज्यको बन्दोबस्त भइसकेको हुँदा मध्यमस्तरको मठमन्दिरको बन्दोबस्त प्रदेशको रेखदेखमा, स–साना मन्दिर वा स्मारकहरू क्षमताअनुसारको स्थानीय निकायलाई दिनु उचित हुन्छ । स्थानीय निकाय र प्रदेशले नसक्ने सबै मठ–मन्दिर र सांस्कृतिक धरोहरहरूको मर्मत सम्भार र पुनः निर्माण केन्द्रले बेहोर्नुपर्ने हुन्छ । तर, भौगोलिक हिसाबले अहिलेसम्मको स्थिति हेर्दा केन्द्र वा पुरातत्व विभाग र गुठीले २० प्रतिशतमात्र काम गर्न सकेको हुँदा स्थानीय निकाय र प्रदेशलाई समेत जिम्मा दिइनु व्यावहारिक हुने देखिन्छ ।
पत्रकारिता र लेखनमा मेरो झुकाउ
पञ्चायतकालमा शिक्षण पेसा स्वतन्त्र विचार राख्ने व्यक्तिहरूको निम्ति सुरक्षित पेसाको रूपमा लिइन्थ्यो । सबैजसो विद्यालयहरू सरकारी थिए र एक दुई विद्यालय आजको भाषामा निजी वा अर्धसरकारी थिए ।
यसकारण, पत्रकारिता र लेखन पेसामा मैले आफूलाई समर्पित गर्ने विचार गरेँ । भक्तपुरमा त्यसबेला माध्यमिक विद्यालयहरूमा गोरखापत्र र हालखबरजस्ता एक दुई वटा पत्रिका नियमित आउँथे । त्यसबेला शिक्षकहरूसमेत पत्र–पत्रिकामा बिदा, राशीफल या हास्यव्यङ्ग्यका स्तम्भ हेर्थे । एकाध शिक्षकहरू देश–विदेशका समाचार, सरकारी सूचना र चिठीपत्र स्तम्भ हेर्थे । निजी विद्यालयहरूका युवा शिक्षकहरू मात्रै टीकाटिप्पणी गर्थे र अन्य पत्रपत्रिका हेर्थे ।
गौर बस्दा पत्रपत्रिका हेर्ने बानी बसेको थियो । बौद्धिक विकास मण्डल (चोछेँको पुस्तकालय) र नासमनास्थित जनज्योति पुस्तकालयमा देशी र विदेशी दैनिक तथा अन्य पत्रपत्रिका हेर्ने दैनिकीले आफ्नो झुकाव र जनतालाई संसारको वास्तविक स्थितिबारे सूचना प्रवाह गर्न तथा सचेत गराउन पत्रकारिताको ठुलो हात हुने सम्झेँ । त्यही समझदारीको कारण साप्ताहिक समीक्षाको फसिकिवा वा रञ्जना सिनेमा हलको दक्षिण पश्चिम कुनाको कार्यालयमा पुगेँ । तुलनात्मक रूपले मोटो चस्मा लगाएका सम्पादक मदनमणिजीले हप्ताको एउटा लेख बजारभाउबारे वा अन्य विषयमा लेख भन्नुभयो ।
त्यसबेला भक्तपुरमा किसान कार्यकर्ताहरूको मोहियानी हक जोगाउने, बाली बुझाएर भर्पाई किसानलाई दिलाउने अभियान, बाली काट्ने आन्दोलन र भ्रष्टाचारविरोधी गतिविधिहरू निरन्तर चल्दै थिए । त्यस्ता समाचारहरू नयाँ साथीहरूमार्फत घण्टाघरनिरको ‘मातृभूमि’ साप्ताहिकमा पठाउने गरेँ । रञ्जना सिनेमा हलकै पूर्वी लाममा ‘नयाँ समाज’ साप्ताहिकको कार्यालय थियो । पशुपतिदेव पाण्डे सम्पादक र बाल मुकुन्ददेव पाण्डे सह–सम्पादक थिए । तर, मलाई उहाँहरूको राजनैतिक पृष्ठभूमि थाहा थिएन । ती पत्रिकामा चीनका बारेमा लामा लामा लेखहरू छापिन्थे । धेरैजसो चीनको कृषि, उद्योग, शिक्षा आदिबारे नेपाली अनुवाद छापिन्थ्यो । त्यसमा म पनि नेपाल–चीन मैत्री सम्बन्ध र साम्राज्यवादविरोधी लेख तथा समाचारहरू पठाउँथेँ । तर, कार्यालयमा कहिल्यै पशुपतिदेव पाण्डेसँग भेट भएन ।
‘मातृभूमि’ प्रेसमा म ‘भियतनाम परिचय’ शीर्षकको सानो पुस्तिका छपाउन गएको थिएँ । पुस्तिकामा स्वाभाविक हिसाबले भूमिकामा भियतनामी जनताको समर्थन र अमेरिकी आक्रमणको विरोध गरिएको थियो । भक्तपुरमा त्यसबेला गाईजात्रा, गठेमुङ्गल (गाठामोगचरे) जस्ता जात्रामा अमेरिकी राष्ट्रपतिहरूप्रति व्यङ्ग्य गरिएका प्रहसनहरू पनि देखाइन्थे र त्यस्ता कार्यक्रमहरू दबाउन प्रहरी गतिविधिहरू बढ्दै थिए । त्यही सिलसिलामा सहअञ्चलाधीश र त्यसबेलाका परराष्ट्र सचिवले मित्रराष्ट्र अमेरिकाको राष्ट्रपतिको नाम नै किटेर आलोचना गरिएको हुँदा पुस्तिका स्वीकृति नहुने भनी जफत गरे ।
झण्डै एक–दुई वर्षपछि २०२४ सालमा ‘चीन–भ्रमण’ छपाउन मातृभूमि प्रेस पुगेँ । पुस्तक तयार भयो, त्यो पुस्तक पनि स्वीकृत भएन र जफत गरी जलाइदिएको कुरा सुनेँ । काका मदनकृष्ण हाडाले “तिमीले पत्रिका चलाउने हो भने प्रेस र कागज सरकारबाटै आउँछ, एउटा साप्ताहिक चलाउनु” भने । मलाई सरकारी सहयोगमा पत्रिका चलाउने इच्छा लागेन ।
त्यसैबेला भक्तपुरमा एकपछि अर्को किसान आन्दोलनले निरन्तरता पायो, म पनि भक्तपुर नगरको ८ वार्डबाट निर्वाचित सदस्य थिएँ । मेयर (प्रधानपञ्च) र साथीहरू कार्यालयमै पक्राउमा परे । साथीहरूको निर्णयले म भूमिगत भएँ । साथीहरू छुटेपछि म पुनः अध्ययनलाई चालू राख्न चाहन्थेँ । तर, एकजना छुट्थ्यो र दुईजना नयाँ साथी पक्राउ पर्थे । यो क्रमले निरन्तरता पायो र मेरो अध्ययन चालू राख्ने तथा पत्रकारिता वा लेखनी पेसाको सपना एक राजनीतिक कार्यकर्ताको रूपमा परिणत भयो ।
भूमिगतकालमा साथीहरूलाई राजनीतिकरूपले सचेत पार्न एक गेस्नर (लिथो मेसिन) को बन्दोबस्त गरी ‘लाल झन्डा’ नामको २–४ पृष्ठको पत्रिका प्रकाशन गर्न उत्साहित गरेँ । विद्यार्थीहरूलाई ‘विद्यार्थी बुलेटिन’ प्रकाशन गराई ‘अखिल’ को ‘स्वतन्त्र विद्यार्थी युनियन’ बारेको दृष्टिकोणको सैद्धान्तिकरूपले खण्डन सुरु भयो । त्यसबेला अन्तर्राष्ट्रिय क्षेत्रमा रूसी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक सङ्घर्षपछि ‘विद्यार्थी फेडरेसन’ निष्क्रिय भयो र अमेरिकी समर्थनमा ‘फ्री वल्र्ड’ को शैलीले ‘फ्री स्टुडेन्ट युनियन’ (स्वतन्त्र विद्यार्थी युनियन) को सिलसिला देखियो । त्यसबेला पाटनबाट एक गुप्त पत्रिका ‘जनसङ्घर्ष’ लिथो गरी प्रकाशित हुन्थ्यो ।
भारत प्रवासको सुरुमा मैथिली भाषामा एक प्रगतिशील बुलेटिन प्रकाशित गर्ने सोच थियो । तर, दरभङ्गा जिल्लाकै केही साहित्यकार साथीहरूसँगको सल्लाहमा ‘आधार’ भन्ने ८ पृष्ठको हिन्दी बुलेटिन सुरू गरियो । त्यसले भारतका केही क्षेत्र र नेपालको तराईमा परिवर्तनवादी दृष्टिकोणको प्रचारको काम गर्यो । २–४ महिनामै भारतीय गुप्तचर विभागले नेपालको तराईबाटै थाहा पाई अग्नी पुष्प, डण्डवी रोडको ठेगाना पत्ता लगाएर प्रेसलाई धम्की दियो र ‘आधार’ बुलेटिन बन्द भयो । अग्नी पुष्प पटनामा अर्को पत्रिकामा पुगे ।
केही दिनपछि ‘समाचार–सन्देश’ हिन्दीमै प्रकाशित गरियो । विहारका नक्सलवादी हाम्रो दृष्टिकोण थाहा पाएर सम्पर्कमा आए । तिनीहरूसँग हाम्रो दृष्टिकोण मेल खाएन ।
तिनीहरू हामीलाई र तत्कालीन ‘झापा गुट’ लाई ‘समान दूरी’ मा राख्न चाहन्थे, हामीले एउटा देशमा एउटामात्र ‘कम्युनिस्ट’ पार्टी रहन्छ तर विदेशी हस्तक्षेप उपयुक्त नभएको बताएपछि त्यो कुरा अगाडि बढेन । त्यसै सिलसिलामा ‘समाचार – सन्देश’ पनि केही अङ्क छापिएपछि प्रेसले छाप्न मानेन, भारतीय मित्रहरू पनि पछि हटे ।
पाकिस्तानमा भुट्टोको हत्यापछि काठमाडौँमा विद्यार्थी आन्दोलन अगाडि बढ्यो र दरभङ्गामा ‘ध्रुवतारा’ भन्ने नयाँ हिन्दी बुलेटिन साथी अवधेशको सहयोगमा सुरू भयो । नेपालमा वामपन्थी आन्दोलन पनि अगाडि बढ्यो, जनमतसङ्ग्रहको घोषणा भयो, पञ्चायती सरकारले राजनीतिक व्यक्तिहरूको पक्राउ आदेश फिर्ता लियो र आममाफीको घोषणा भयो । ‘जनताको साहित्य’ ६ अङ्कसम्म भारतमै प्रकाशित भयो र हामी काठमाडौँ पुग्यौँ ।
काठमाडौँमा सबै कम्युनिस्ट भनिने दलहरूको पत्रिका प्रकाशित हुन्थ्यो तर नेमकिपालाई स्वीकृति दिइएन । त्यही विषयलाई लिएर एकजना साथीले राजाको सचिवसँग पक्षपात भएको व्यहोरा राख्दा उनले भनेछन्, “दिल्लीभन्दा पेइचिङ धेरै टाढा छ ।” हामीले ‘आधार’ नामको एउटा साप्ताहिक बुलेटिन प्रकाशित गर्यौँ, पाटनको एक प्रेसबाट । प्रेसवालाले भन्न सुरू ग¥यो, “खालि भेरी, कर्णालीको समाचार छापिन्छ, अञ्चलाधीश कार्यालयले हामीसँग सोधपुछ गर्दै छ ।” अनेक पटकको चेतावनीपछि ठीक एक वर्षमा ‘आधार’ बन्द भयो ।
बनेपाका साथीहरूको सहयोगले हामीले ‘साकार’ चलाउन सुरू ग¥यौँ । ठीक एक वर्षपछि नाम वालाले पत्रिका बन्द गर्ने जनाउ दियो । ‘साकार’ पनि बन्द भयो । २०५०/५१ मा ’साप्ताहिक श्रमिक’ ले दर्ता पायो र २६ वर्षदेखि लगातार प्रकाशित हुँदै छ । त्यस्तै ’मजदुर’ दैनिक २०५५–५६ सालमा दर्ता भयो । २१ वर्षदेखि निरन्तर चालू छ । त्यसपछिका हाम्रा साथीहरूको पत्रकारिताका गतिविधिबारे सबै साथीहरू अवगत हुनुहुन्छ ।
रामहरि जोशीको सम्झनामा !
२००७ सालभन्दा पहिले नै पूर्णबहादुर एम.ए. र अरूसँग मिलेर कलकत्तामा अङ्ग्रेजीमा पत्रिका प्रकाशित गरी राणाविरोधी सङ्घर्षमा लागेका रामहरि जोशी २९ असार २०७४ मा बित्नुभयो । ४ जनवरी १९२८ मा सर्लाहीको सदरमुकाम मलङ्गवामा जन्मनुभएका जोशीले विद्यार्थीकालदेखि नै नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाली काङ्ग्रेसमा रही राणाविरोधी सङ्घर्षमा निरन्तर लाग्नुभयो । अङ्ग्रेजी साहित्यमा सन् १९५७ मा एम.ए. गर्नुभयो र अनेक आन्दोलन, सङ्घर्ष एवम् जेलजीवन बिताउँदै उहाँ आफ्नै जिल्लामा शिक्षक बनेर नयाँ पुस्ता तयार गर्न लाग्नुभयो ।
जनता, हिमाल, हिमाल सन्देश (साप्ताहिक), राष्ट्र पुकार र नेकाको मुखपत्र ‘नेपाल पुकार’ को बनारस र काठमाडौँमा उहाँले सहसम्पादक, सञ्चालक समिति, आजीवन सदस्य र सम्पादकको रूपमा काम गर्नुभयो । (हिमाल, साप्ताहिक, १–७ साउन २०७४)
निरन्तर काम गर्न चाहनु हुने तर आत्म–प्रशंसाबाट टाढा र कर्तव्यलाई प्राथमिकता दिनुहुने रामहरि जोशीले दुइटा कवितासङ्ग्रह, नेपालको नोभेम्बर क्रान्ति, २०४६ सालको आन्दोलन : विश्वको आँखी झ्यालबाट, अतीतका केही सम्झनाहरू, आत्मकथा तथा नेपाली काङ्ग्रेस र अँध्यारोबाट उज्यालोतिर (२०७१) का साथै एक अनुवाद साहित्य र केही बाल विज्ञान परिचयजस्ता पाठ्यपुस्तकसमेत लेख्नुभयो । उहाँले राजनीतिमा आफू प्रकाशमा आउनेबाहेक सबै काम गर्नुभयो ।
नेपालका कति इमानदार राजनीतिक नेता र कार्यकर्ताहरूमा विचारको स्पष्टताको अभाव देखिन्थ्यो, त्यसमा जोशीजी पनि अपवाद हुनुहुन्न । भारतमा बसेर राणाविरोधी सङ्घर्षमा लागेका एक पुस्ता गान्धीवाद र समाजवादी चिन्तनबाट प्रभावित भए भने दोस्रो पुस्ता ‘गान्धीवादको शव परीक्षा’, ‘गान्धी र उनका वाद’ र ‘वैज्ञानिक समाजवाद’ का प्रवर्तक बने । पुरानो पुस्तामा सैद्धान्तिक र राजनैतिक स्पष्टताको अभाव उहाँहरूका पछिल्ला अभिव्यक्तिहरूबाट थाहा हुन्छ ।
बारम्बार नेपाली काङ्ग्रेस सरकारमा गयो, खुसामदी र चिप्लो घस्ने कति कार्यकर्ता मन्त्री, राजदूत र अनेक पदहरूमा पुगे तर तिनीहरूबाट देश र जनताको यथोचित सेवा भएको अनुभूति गरिएन । जीवनको अन्ततिर जोशीजीले प्रस्ट गर्नुभयो – “सबै पैसाकै पछाडि दौडिएका छन् । मेरो किताबका लागि समय दिने फुर्सद कसलाई छ र ?!” (नेपाल साप्ताहिक, ८ साउन २०७४)
तर, उहाँलाई थाहा भएन – नेहरूको आलोचना गरिएको ‘पुस्तकको विमोचन प्रम सुशील कोइरालाले कसरी गर्न सक्थे ! जीवनभर तराईको निम्ति आन्दोलन गर्नुभयो, उहाँकै घरमा आगो लाग्यो तर गृहमन्त्री सिटौलाले वास्तै गरेनन् । सायद, यी सबै देखेर उहाँलाई कहिलेकाहीँ पश्चाताप हुँदो हो र ‘कन्फेसन’ लेख्नुभयो ¤ सायद प्रकाशित भएको छैन । ‘अहिले काङ्ग्रेसमा जुझारूपन नै भएन, पैसा र पावरको प्यादामात्र बने’ ‘…आफ्नो रोगभन्दा काङ्ग्रेसमा लागेको रोग’ बारे चिन्तित हुनुहुन्थ्यो जोशी । सोचेको र सम्झेको भन्दा फरक परिणामले उहाँको आँखामा पानी भरिनु स्वाभाविक हो । निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्नेहरूको यही अनुभव छ । नेपाली काङ्ग्रेस वा एमाले र जनतामा पनि आलोचनात्मक दृष्टिकोणको विकास र सूक्ष्म रूपले अध्ययन गर्ने परम्परा भइदिएको भए सायद त्यसो नहुँदो हो ।
उहाँले शिक्षामन्त्री छोड्नुभयो र संस्कृतिमन्त्री हुनुभयो, कारण थियो शिक्षा अधिकारी । शिक्षक र अन्य नियुक्ति हुनेहरूसँग उहाँले रकम उठाउन सक्नुभएन । यी सबैले निष्ठा र सरलताभन्दा सैद्धान्तिक सङ्घर्षशीलता आवश्यक भएको स्पष्ट छ । हो त ‘सोझो हुनु भनेको बेबकुफ हुनु हो, जसले पनि ठग्छन् मात्रै !’ एक फ्रान्सेली भनाइ छ – “आतङ्कबिनाको सहयोग मूर्खता हो र सहयोगबिनाको आतङ्क डकैती हो ।” यस्तो यथार्थ जीवनबाट जोशीजी माथि हुनुहुन्थ्यो । उहाँलाई इमानदार नेपालीहरूले सम्झिरहनेछन् – उहाँको नेपाली काङ्ग्रेससँग फरक मत राखेर पनि ¤
साहित्यकार बालकृष्ण पोखरेलको सम्झना
साहित्यकार बालकृष्ण पोखरेललाई मैले उहाँको साहित्यिक रचनाहरूबाट एक प्रगतिशील व्यक्तित्वको रूपमा २०१९–२० साल अगाडिदेखि नै थाहा पाउँदै आएको थिएँ । बालकृष्ण पोखरेलजीसँग मेरो पहिलो परिचय काठमाडौँमा नेपाल–रूस मैत्री सङ्घमा भएको थियो । भाषाकै सम्बन्धमा एक अनौपचारिक कुराकानीको बेला नेपाल–रूस मैत्री सङ्घका अध्यक्ष कृष्णप्रसाद भण्डारीले परिचय गराई दिनुभएको थियो । विभिन्न नाउँमा उहाँका रचनाहरू पढेको थिएँ तर लेखक बालकृष्ण पोखरेल हुनुहुन्छ भन्ने थाहा थिएन । कुराकानीमा नेपालमा नेपालभाषा, तामाङ, नेपाली, भोजपुरी र अन्य विदेशी भाषा र प्रगतिशील साहित्यबारे छलफल भएको थियो ।
बालकृष्ण पोखरेलजीका रचनाहरूको सम्झना हुँदा बल्लभमणि दाहालबारे पनि सम्झना हुन्थ्यो । २०४५ सालको ‘भक्तपुर काण्ड’ को सिलसिलामा हामी जेलमा हुँदा बल्लभमणि दाहालको याद आयो र हाम्रा साहित्यहरू उहाँसम्म साथीहरूले पु¥याउनुभयो । जेलबाट छुटेपछि दाहालजीसँग बरोबर औपचारिक र अनौपचारिक भेटघाट हुन्थ्यो । एक पटक चीनमा पनि उहाँसँग भेट भयो ।
नेपाल मजदुर किसान पार्टीको एउटा कार्यक्रमको सिलसिलामा विराटनगर बसाइँमा बालकृष्ण पोखरेलको याद आयो । साथी नरेन्द्र हुमागाईंसँग पोखरेलजी भेट्ने कार्यक्रम राख्ने विचार राखेँ । नरेन्द्रजीले फोन नम्बर दिनुभयो र मैले सम्पर्क राखेँ । बालकृष्णजी खुसी भएर नरेन्द्रजीकहाँ आफै आउने बताउनुभयो र एक छिनपछि एकठेली आफ्ना पुस्तकहरू लिएर पुग्नुभयो ।
लामो समयदेखि साहित्यबारे बालकृष्णजीको प्रगतिशील साहित्य र कम्युनिस्ट आन्दोलनबारे भइरहेको सैद्धान्तिक पक्षधरता कता हो भन्नेबारे जिज्ञासा राखेँ । आफ्नो बनारस बसाइँकै बेला नेपालका एक चर्चित र तत्कालीन मुख्य नेताबाट नेपालको राष्ट्रिय भाषा नै हिन्दी भाषा हुनुपर्छ भन्ने सुनेपछि नेपालको कम्युनिस्ट आन्दोलनप्रति विरक्त भएर राजीनामा दिएको बताउनुभयो । आफू भाषा र साहित्यमै समर्पित भइसकेको हुँदा नेपाल कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक सङ्घर्षमा लागेर पार नपाउने देख्नुभयो र वाम–राजनीतिमा पछि फर्केर पनि हेर्नु भएन, त्यो भेटघाटबारे सम्झिरहन्थेँ । तर, अचानक बालकृष्ण पोखरेलको असामयिक निधन भएको समाचारले म र हाम्रा साथीहरूलाई स्तब्ध पार्यो । नेपाली भाषा र साहित्यमार्फत उहाँले गर्नुभएको सेवाका कारण नेपाली सचेत जनताले बालकृष्ण पोखरेल एक प्रगतिशील साहित्यकारको रूपमा सम्झिरहनेछन् ।
मेरो आँखामा वियोगीजी
वरिष्ठ पत्रकार तथा सम्पादक समाजका अध्यक्ष गोविन्द वियोगीजीसँग मेरो प्रत्यक्ष सम्बन्ध २०२२/२३ सालमा भएको थियो । म उहाँको साप्ताहिक ‘मातृभूमि’ को एक पाठक थिएँ । ‘मातृभूमि’ को अन्तर्राष्ट्रिय घटनाबारेको दृष्टिकोण र विश्लेषण अन्य साप्ताहिकको तुलनामा प्रगतिशील थियो ।
भियतनाम युद्धको समय थियो । नेपाली युवा–विद्यार्थीहरूमा भियतनामको परिचय र युद्धको बारेमा जानकारी दिनु मैले आफ्नो कर्तव्य सम्झेँ । यसकारण, उहाँको प्रेसमा ‘भियतनाम एक परिचय’ भन्ने पुस्तिका छपाउने सिलसिलामा म मातृभूमि प्रेस पुगेको थिएँ ।
पुस्तिकाको गुरूकपी वियोगीजीलाई देखाएँ । उहाँले पुस्तिकाको आकार, पाना र अक्षरको बारेमा पनि सोध्नुभयो । म पुस्तक छपाइमा नौलो मानिस हुँदा उहाँकै सल्लाह मागेँ र सोअनुसार छाप्ने र प्रुफ आफैले हेर्ने बताएँ । हुन त गुरूकपीको अक्षर, शुद्धाशुद्धी र अन्य धेरै कुरामा कमी–कमजोरीहरू थिए । उहाँले एक ग्राहकलाई अप्ठेरो हुने कुनै वाक्य वा व्यवहार प्रकट गर्नु भएन । प्रुफ हेर्दा पनि धेरै त्रुटीहरू भए । उहाँले जस्ताको तस्तै छपाउनुभयो ।
झण्डै २८/२९ पेजको एक हजार (१,०००) प्रतिको रु.३००/जति लाग्यो । मैले पैसा बुझाएँ तर अञ्चलाधीश कार्यालयले पुस्तिकालाई प्रकाशन गर्ने स्वीकृति दिएन र केही दिन पछि पुस्तिका सबै अञ्चलाधीशले प्रेसबाटै उठाएर लगेको थाहा पाएँ ।
त्यस घटनाको केही महिनापछि मैले ‘चीन भ्रमण’ छपाउन उहाँसँग भेटेँ । पहिलेजस्तै पुस्तकको आकार–प्रकारबारे छलफल भयो र कम्पोज सुरू भयो । एक–डेढ महिनामा पुस्तक छापियो । २२५ पृष्ठ जतिको पुस्तक तयार भयो । एक हजारप्रतिको रू.१८००/– पर्ने उहाँले बताउनुभयो ।
पञ्चायती सरकारको तर्फबाट एउटा पत्रिका चलाउन एउटा प्रेस दिने अनि मात्रै पुस्तकलाई स्वीकृति दिने कुरा आएको थियो, त्यो प्रस्ताव स्वीकार भएन ।
केही दिनपछि थाहा भयो – ‘चीन भ्रमण’ पनि अञ्चलाधीश कार्यालयका मानिसहरूले प्रेसबाटै उठाएर लगे, सम्भवतः पुस्तक जलाइयो । तर, गोविन्द वियोगीजीले पुस्तकको रकमबारे पछि कहिल्यै कुरा उठाउनुभएन ।
ती घटनाहरू पछि वियोगीजीसँग मेरो बरोबर भेटघाट हुन्थ्यो र सामान्य कुराकानी भई नै रहन्थ्यो । पछि म कारागार, भूमिगत र भारत प्रवासमा गएँ । नेपाल फर्केपछि उहाँसँगको मेरो सम्बन्ध सदाझैँ एकैनासको रह्यो । पहिलो भेटघाटमा उहाँको सरलता मैले जस्तो पाएँ, उहाँसँगको अन्तिम भेटसम्म पनि एउटै रह्यो । उहाँले कहिल्यै आफ्नो विचारबाट प्रभाव पार्ने वा लामा लामा कुरा गर्ने गर्नुभएन । उहाँ आफू छोटो बोल्नुहुन्थ्यो र अरूको कुरा सुन्नुहुन्थ्यो ।
सुरूदेखि अन्तसम्म उहाँलाई मैले त्यही सरल र मित्रवत देखेँ, आफूभन्दा कम उमेरको व्यक्तिलाई समेत उहाँ समानता र सम्मानको व्यवहार गर्नुहुन्थ्यो । उहाँबाट कसैमाथि कटु वचन प्रयोग भएको र अरूप्रति शत्रुवत् अभिव्यक्ति दिनुभएको मलाई थाहा छैन । आफ्नो असहमति र अस्वीकृति उहाँ शिष्टता र विनम्रतापूर्वक नै राख्नुहुन्थ्यो । म उहाँलाई सुसंस्कृत नेवार समुदायको प्रतीकको रूपमा लिने गर्छु ।
व्यापक रूपमा हेर्दा म उहाँलाई एक सन्तुलित र स्पष्ट दृष्टिकोण भएको वरिष्ठ पत्रकारको रूपमा लिन्छु । उत्तेजना फैलाउने, अश्लील कथा र तस्बिर छाप्ने तथा झूटा समाचारहरू प्रकाशित गरेर दङ्गा–फसाद मच्चाउनेजस्ता पीतपत्रकारिताभन्दा उहाँ सदा धेरै माथि रहनुभयो ।
यस अर्थमा नेपालको पत्रकारिता जगत्मा उहाँको योगदान सा¥है सकारात्मक, जानकारीमूलक र समाजप्रति उत्तरदायित्वपूर्ण छ ।
अनुवाद र आलोचनाका प्रखर व्यक्तित्व गोविन्द भट्ट
समालोचक गोविन्द भट्ट बीपी कोइरालाको ‘तीन घुम्ती’ को आलोचना र पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’ को आलोचनाबाट प्रकाशमा आउनुभएको थियो ।
२०२३/२४ सालमा मेरो ‘चीन यात्रा’ पुस्तकको भूमिकाका निम्ति म नेपाल–चीन मैत्री सङ्घका अध्यक्ष पूर्णबहादुर एमए र राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य सिद्धिचरण श्रेष्ठकहाँ पुगेको थिएँ । उहाँहरूकै सल्लाहबमोजिम म पहिलोपटक गोविन्द भट्ट र नेपाल–चीन मैत्री सङ्घका सदस्य श्यामप्रसादजीकहाँ पुगेको थिएँ ।
अध्यक्ष पूर्णबहादुर एमएले ‘दुई शब्द’ लेखिदिनुभयो र कवि सिद्धिचरण श्रेष्ठले भूमिका लेखिदिनुभयो । समालोचक गोविन्द भट्टले मन्तव्य लेखिदिनुभयो र साहित्यकार श्यामप्रसादले परिचय लेखिदिनुभयो ।
बरोबर म उहाँहरूसँगको भेटघाट र कुराकानीलाई सम्झने गर्छु । नेपाल–चीन मैत्री सङ्घको नयाँ सडकस्थित कार्यालयमा एकपटक अध्यक्ष पूर्णबहादुर एमए र कविवर सिद्धिचरण श्रेष्ठ बस्नुभएको थियो । म पुगेको एकैछिनमा गोविन्द भट्टजी पनि आइपुग्नुभयो ।
कुराकानीका सिलसिलामा गोविन्द भट्टजीले कवि केदारमान व्यथित नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको कुलपति बन्नुभएकोमा सिद्धिचरणजीसँग जिज्ञासा राख्नुभयो । एकछिन सोचेर सिद्धिचरणजीले भन्नुभयो, “हिजोसम्म राजा नै कुलपति भएको संस्थामा एकजना नागरिकको छोरो पुग्नु स्वागतयोग्य विषय हो ।”
जापानी पत्रकारहरूलाई भक्तपुरमा एक स्वागत कार्यक्रम आयोजना गरिएको थियो । जापानी पत्रकारहरूले अङ्ग्रेजीमा दिएको मन्तव्यलाई गोविन्द भट्टले अत्यन्त राम्रो नेपाली शैलीमा अनुवाद गर्नुभएको अहिले पनि मलाई सम्झना छ । मलाई पछि थाहा भयो – उहाँ एकजना राम्रो अनुवादक पनि हुनुहुन्छ । साथै, उहाँ एक स्पष्ट वक्ता र देशको एक प्रगतिशील साहित्यकार हुनुहुन्छ ।
गोविन्द भट्टजीले चर्चित जीवनी लेखक नरेन्द्र प्रसाईंले लेख्नुभएको ‘रोहितको आकृति’ पुस्तकमा ‘राजनीति, साहित्य र सङ्घर्षको कथा’ शीर्षकको एक अत्यन्त सन्तुलित परिचय लेखेर मलाई पनि उहाँलाई सधैँ सम्झिरहने गुण लगाउनुभएको छ । उहाँप्रति मेरो सादर सम्झना !
स्रोत : जनताको साहित्य, वर्ष ४६, अङ्क १२, चैत/वैशाख २०७६÷०७७
Leave a Reply