भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
प्राचीनकालमा दक्षिण भारतका तुङभद्रा नदीको तटमा एउटा सहर थियो । त्यो सहरमा आत्मदेव नामका एक ब्राह्मण थिए । उनी वैदिक सनातन धर्मसम्बन्धी वेद, नीतिशास्त्र, स्मृति ग्रन्थ र पुराणहरूका ज्ञाता थिए । उनी निकै सरल, गुणी एवम् परोपकारी स्वभावका थिए । उनको धन र सम्पत्ति धेरै थियो । समाजमा उनको मान प्रतिष्ठा राम्रै थियो । त्यो आत्मदेव ब्राह्मणको धुन्धली नामकी एक पत्नी थियो । उनकी पत्नी धुन्धलीको स्वभाव भने उनको भन्दा ठीकविपरीत थियो । उनी एक झगडालु, घमण्डी, इष्र्यालु, अति दुष्ट एवम् जिद्दी खालकी थिइन् । हरेक दिन उनको एक न एक व्यक्तिसित झगडा वा लफडा भइहाल्थ्यो । अरूको कुरा काट्न पाएपछि, अरूलाई खिसीटिउरी गर्न पाएपछि वा अरूलाई दुःख लिएर रुवाएपछि उनलाई अति आनन्द हुन्थ्यो । आफ्नी पत्नीको यस्तो दुष्ट स्वभावबाट आत्मदेव ब्राह्मण सा¥है दिक्क मान्थे । यतिमात्र कहाँ हो र ? विवाह गरेको धेरै वर्ष बितेपछि पनि आफू अपुतो भएर बस्न परेकोमा उनी धेरै चिन्तित एवम् दुःखित थिए । सन्तान प्राप्तिका लागि उनले अनेकौँ उपायहरू गरे । तर, उनलाई पत्नीले खासै साथ नदिँदा उनका प्रयासहरू सबै विफल भए । भनेको कुरा मान्ने खालको त उनी पटक्कै थिएनन् । यस्तैमा आत्मदेव ब्राह्मण अति दुःखित भई आत्महत्या गर्छु भनी वनमा पुगे । वनमा रहेको तलाउमा आत्महत्या गर्न उनी हामफाल्नै लागेका थिए । दैव संयोगले त्यो वनमा उनी नजिकै एक ऋषि आइपुगे । आत्मदेवलाई आत्महत्या गर्नबाट रोक्दै उनलाई सम्झाईबुझाई ऋषिले आत्महत्याको कारण सोधे । के कस्तो पिर, दुःख र कष्ट भयो भनी ठुलो आत्मीय भावले ऋषिले सम्झाए । आत्मीयताले भरेको ऋषिको व्यवहारबाट आत्मदेव भावविभोर हुँदै भक्कानो छोडेर रुन थाले । आफू सन्तानहीन भएकोमा सा¥है दुःखित भएको भनी उनले ऋषिलाई बताए । ऋषिलाई पनि दया लाग्यो । उनले आफ्नो झोलाबाट एउटा फल निकाली आत्मदेवलाई दिँदै उक्त फल उनकी पत्नी धुन्धलीलाई ख्वाउनु, यसबाट धुन्धलीको गर्भबाट एक पुत्र जन्मिने छ भनी आत्मदेवलाई सान्त्वना दिँदै भने । अब उनलाई के चाहियो र ? आत्मदेव बहुतै हर्षविभोर भई ऋषिप्रति ठुलो आभार व्यक्त गर्दै आफ्नो घरतिर दौडी हाले । घरमा पुगी आफ्नी पत्नी धुन्धलीलाई उक्त फल खाउ भनी दिँदै ऋषिले भनेका सबै कुराहरू पनि बताए । पत्नीले उक्त फल त लिइन् तर तत्कालै नखाई पछि खान्छु भनी राखे । आत्मदेवले पत्नीलाई तत्कालै उक्त फल खान दबाब पनि दिन सकेनन् । त्यसैले पछि खालिन् भनी अर्कैतिर लागे । कसैले त के कुरा आफ्नै पतिले भनेको कुरा पनि नमान्ने उनको स्वभावै थियो । उनले मनमनै सोच्न थालिन् कि फल खाएपछि बच्चा भइहाल्यो भने अनेकौँ कष्ट र झन्झट आइपर्नेछ र आफ्नो रूपरङ्ग पनि बिग्रिने छ । त्यसैले, फल खानु उचित छैन तर पतिदेवलाई के भन्ने ? यस्तै कुराहरू सोच्दै थिइन्, धुन्धली । यस्तैमा उनकी दिदी उनलाई भेट्न आइछन् । दुवै दिदीबहिनी त्यहीँ फल र बच्चाको बारे कुराकानी गर्न थाले । दिदी भनाउँदीले धुन्धलीलाई साथ दिँदै षड्यन्त्रले भरिएको एक योजना बताइन् । जसअनुसार त्यतिखेर गर्भवती भएकी दिदीले आफूले पाएको बच्चा बहिनीलाई दिने र बहिनीले आफ्नो पतिदेवलाई सोही बच्चा आफूले जन्माएको भनी बताउने र शिशुको जन्म नहुञ्जेल आफू गर्भवती भएको जस्तो अभिनय गरी पतिलाई झुक्याइराख्ने योजना बनाइन् । ऋषिले दिएको फल धुन्धलीले नखाई तल गोठमा आफूले पालिराखेको गाईलाई ख्वाउने र पतिलाई यो कुराको थाहा नदिने योजना बनेको थियो । विचरा सोझो आत्मदेवलाई के थाहा ? धुन्धलीले पनि त्यो योजना तुरुन्तै स्वीकारी दिदीलाई धेरै धन्यवाद दिँदै थोरै धनदौलत दिए । दिदी भनाउँदी पनि पैसाको पोको बोक्दै खुसीसाथ आफ्नो घरतर्फ लागिन् ।
दिन, हप्ता, महिना बित्दै गए । धुन्धलीकी दिदीलाई सुत्केरी व्यथाले च्याप्यो र एक बालकको जन्म भयो । त्यसको लगतै पछि उक्त नवजात शिशुलाई गोप्य ढङ्गबाट धुन्धलीको घरमा पु¥याइयो । धुन्धलीले पनि आफू सुत्केरी भएकी र एक पुत्र जन्माएको अभिनय गर्दै आफ्नो पतिलाई विश्वास दिलाइन् । आत्मदेवको खुसीको ठेगाना रहेन । उनलाई आफ्नी पत्नीको चर्तिकलाको बारे केही पनि थाहा थिएन । नामकरणको दिन आयो र उक्त पुत्रको नाम धुन्धकारी भनी राखियो । धुन्धलीको छोरो धुन्धकारी आफ्नी आमाको साथ सङ्गतमा हुर्किँदै गयो । धुन्धकारी भन्ने शब्दको अर्थ निर्दयी, बेसोमति, दुराचारी, अशिष्ट, अपराधी आदि अर्थ राख्दछ ।
धुन्धकारी जन्मेको एक दुई महिनापछि एक दिन आत्मदेव आफूले पालेको गाईलाई घाँस ख्वाउन गोठमा जोडा गाईसँग एउटा दुधेबालक पनि पल्टिराखेको देख्दा आश्चर्य मानी त्यो बालकलाई पनि आफैले पाल्न थाले । गाईको जस्तो कान भएकोले त्यस बालकलाई गोकर्ण भनियो । यसरी धुन्धकारी र गोकर्ण सँगसँगै हुर्किँदै गए । सङ्गत गुनाको फल भनेजस्तै धुन्धकारीमा आफ्नो आमाको जस्तै स्वभावहरू देखिन थाल्यो । आमाले पनि उनलाई भनेजस्तो गर्न दिइराखेको थियो । विस्तारै अब धुन्धकारीले मनपरी गर्दै गइन् । कसैलाई पनि टेर्न छोडिन् । अब उनी दुष्ट, गुण्डा, चोर, घमण्डी, स्वार्थी, निर्दयी, व्यभिचारी, अपराधी बन्न थालिन् । चोर्नु, पिट्नु, झगडा गर्नु, व्यभिचार गर्नु, निर्दयी व्यवहार गर्नु मात्र होइन, कसैको पनि हत्या गर्नु उनको लागि सामान्य थियो । उनको कुकीर्ति फैलिँदै गयो । उनको बदनाम हुँदै गयो । तर, उनको आपराधिक प्रवृत्ति, बल र धनको अगाडि कसैले बोल्न सकिरहेको थिएन । समाजमा भने दुष्ट, विध्वंसकारी, निर्दयी, अत्याचारीको उपमाको रूपमा उनको नाम धुन्धकारीलाई लिइन थाल्यो ।
पहिले धुन्धलीको पतिले आफूलाई खान दिएको फल नखाई आफूले पाली राखेको गाईलाई खान दिएको थियो । त्यसैले गर्दा गाईले गोकर्णलाई जन्माएकी थिइन् । ऋषिले दिएको फलको प्रभावबाट गाईले गोकर्णलाई जन्माएको र गाईसित नै गोकर्णको केही समय बितेकोले गोकर्ण गाईजस्तै सोझी, सरल र परोपकारी स्वभावका भए । वास्तवमा, धुन्धकारी र गोकर्ण आत्मदेव र उनकी पत्नी धुन्धलीका आफ्नै सन्तान नभए तापनि परिवन्दले गर्दा उनीहरू दुवै दाजुभाइ र आत्मदेव र धुन्धलीका छोराहरूको रूपमा समाजमा परिचित भए । तर, धुन्धकारीलाई जसरी पुलपुल्याएर धुन्धलीले पालेकी थिइन् त्यसको ठीक उल्टो व्यवहार गोकर्णलाई गर्दथिन् । तैपनि, गोकर्णले आमा धुन्धलीप्रति कुनै दुव्र्यवहार गर्दैनथ्यो । उनको सरलता, शिष्टता र परोपकारी स्वभावमा कुनै असर परेको थिएन ।
समय बित्दै गयो । धुन्धकारी र गोकर्ण दुवै दाजुभाइ जवान भए । धुन्धकारी दुष्टता, अपराधी र विध्वंसकारी कार्य गर्नमा खुब आनन्द मान्दथे । उनी अरूलाई अलिकति पनि गन्दैनथे । उनले भने जस्तो नगर्ने मानिसलाई मारी हाल्न पनि पछि पर्दैनथे । कसैको पनि अङ्गभङ्ग गर्नु उनको बायाँ हातको खेल थियो । उनले भने जति खर्च आमा धुन्धली दिने गर्थिन् । उनले केही पनि नभनी मनोमानी गर्न छुट दिइराखेकी थिइन् । त्यसले गर्दा बाबु आत्मदेवको कुनै पनि कुरालाई नजरअन्दाज गर्नु धुन्धकारीको आदत बनिसकेको थियो । यस्तोमा भाइ गोकर्णलाई उनी के ग¥थे र ? उसको दुष्टता र आपराधिक गतिविधिले त हरेक सीमा पार ग¥यो । एक दिन त आफूले भनेको नमान्दा आफ्नै आमाबाबुलाई नै हातपात ग¥यो । यस्तो परिस्थिति ६० वर्ष नाघिसकेको बिचरो बुढो आत्मदेवले आफ्नो घर परिवार सबै त्यागी बाहिर गए । कता गए थाहा नै भएन । दाइ भनाउँदाको दुव्र्यवहारलाई गोकर्णले पनि सहन सकेनन् । उनीले पनि गृहत्याग गरी अन्तै लागे । पछि त आमालाई पनि मार्न खोज्दा विगतमा विचारै नगरी छोरालाई पुलपुल्याई हुर्काएको पश्चाताप गर्दै रुन कराउन थालिन् धुन्धली । अन्ततः धुन्धली आत्महत्या गरी मर्न बाध्य भइन् । अब धुन्धकारीलाई के चाहियो । कुकर्म गर्नलाई उनलाई बाटो एकदमै साफ भयो ।
धुन्धकारीले विभिन्न चोरी, डकैती र हत्याहिंसा गरी प्रशस्त्र धन कमाए । आफ्नो घरैमा रण्डीहरू राख्न थाले । उनको यस्तो व्यवहारले टोल छिमेकीलाई हेरिसक्नुभएन । तर, के गर्ने उनको अगाडि कसैले चुँ गर्न सक्दैन । किनभने, उनलाई केही भने फेरि आफूमा के आपत् आइपर्ने हो भन्ने डरले तिनीहरू चुप लागिरहेका थिए । चोरी, डकैती, लुटपात, हिंसा आदि गरेर कमाएको पैसा घरमा राखिराखेका रण्डीहरूलाई दिइराखे धुन्धकारीले । यसरी नै उनका दिनहरू बित्दै थिए । तर, सधैँभरि एकनासको समय कहाँ हुन्छ र ? धेरै धन सम्पत्ति जम्मा भएपछि रण्डीहरूले सोच्न थाले कि धुन्धकारीको यस्तो अमानवीय एवम् आपराधिक गतिविधिको कारणले गर्दा केही गरी धुन्धकारीलाई राजाका प्रहरीहरूले पक्रेर सजाय दिए भने आफूहरूलाई पनि आपराधिक गतिविधिमा साझेदारी गरेको भनी सजाय दिनेछन् । त्यसैले, धुन्धकारीलाई गोप्य ढङ्गबाट मारी कतै पुरिदियो भने उसलाई सम्पत्ति पनि दिन नपर्ने र राजाको सजायबाट पनि बच्नेछ । यस्तै षड्यन्त्रमूलक योजनाअनुरूप रण्डीहरूले एकदिन धुन्धकारीको हत्या गरी गोप्य ढङ्गबाट उनको लासलाई कतै दबाइदिए । धुन्धकारीलाई नदेख्दा छरछिमेकीहरू पनि खुसी भए । पाप भनेको धुरीबाट कराउँछ भनेको यहीँ हो ।
धुन्धकारीको लास पनि कहीँ पाइएन । उनलाई सतिगति गर्ने पनि कोही भएन । उनको मृत्यु भएपछि उनको आत्मा नर्क, स्वर्ग, मत्र्यमण्डल (पृथ्वीलोक) मा कहीँ जान पाएन† कहीँ बस्न पाएन । उनले कतै बास पाएनन् । प्रेत भई खुब कष्ट भोगी हावामा बसी समय बिताउन प¥यो । उनले न त खान पाए न त पिउन पाए । अति पीडादायी जीवन प्रेत भई बिताउन प¥यो । प्रेतरूपी धुन्धकारीले यतिखेर अरूलाई रुवाएको, कष्ट दिएको र अत्याचार गरेको अनेकौँ कुकर्महरूलाई सम्झी सम्झी रुँदै गए । वन जङ्गल, बस्ती, डाँडाकाँडा आदिको विनाश गरी कमाएको सम्पत्ति आज उसको लागि कुनै काम लागेन । कुकर्मी विध्वंसकारी शब्दको पर्यायवाची शब्दको रूपमा मानिसहरूले आफ्नो नाम धुन्धकारीलाई लिन थालेकोमा उनी धेरै पछुटाउँथे । तर, के गर्ने ? समयमा होस पु¥याइएन ।
दुष्टले जतिसुकै दुस्टयाइँ गरे पनि सज्जन मानिसमा सज्जनता हुन्छ नै । जसमा जे छ त्यसले त्यहीँ त देखाउँछ । धेरै दिनपछि दाजु धुन्धकारीको मृत्युको खबर सुनेर दाजुको वार्षिकी श्राद्ध गरिदिन भाइ गोकर्ण आफ्नो पुरानो घरमा आइबसेका थिए । यस्तैमा राती प्रेतरूपी धुन्धकारी र गोकर्णबिच कुराकानी हुँदा दाजुबाट जिउँदो बेला गरेका कुकर्म गरेको सम्झी सम्झी पश्चाताप गरेको सुनी गोकर्ण अति दुःखित भए । दाजुको प्रेतयोनीबाट मुक्ति दिलाउन उनले श्रीमद् भागवत पुराणको एक सप्ताहव्यापी अनुष्ठान गरे । सप्ताहभरि त्यो पुराण श्रवण गर्न प्रेतरूपी धुन्धकारी पनि आइबसिन् । सप्ताह सम्पन्न भएपछि त्यसैको प्रभावले प्रेत भई बसेका धुन्धकारी त्यसबाट मुक्ति पाई स्वर्गमा गई बस्ने अवसर पाए । अर्थात्, जतिसुकै खराब कार्य गरे पनि अन्ततः सत्कर्मबाट नै मुक्ति पाउँछ । यो त एक खलपात्रको पौराणिक कथामात्र हो ।
आज हाम्रो समाज र देशमा यस्ता खलपात्रहरू अर्थात् धुन्धकारीहरूको कमी छैन । तिनीहरूको कुकृत्यले गर्दा आदर्श, सदाचार, अनुशासन, नैतिकता, मानव सेवाजस्ता क्रियाकलापहरू आज अस्तित्वविहीन हुँदै गएको छ । सत्ता र शक्ति पाएपछि जे गरे पनि हुन्छ भन्ने सोच विस्तारै मौलाउँदै छ । समाजमा आपराधिक प्रवृत्ति हाबी हुँदै छ । दिनहुँजस्तो उच्च पदाधिकारीहरू ठुलठुला नेता र मन्त्रीहरू विभिन्न काण्डहरूमा मुछिएका समाचारहरू हेर्न सुन्न पाइरहेको छ । नीति, नियम, जनहित, कर्तव्य आदि पन्छाएर जताततै बिचौलियाहरूको बिगबिगी रहेका तथ्यहरू सार्वजनिक हुँदै छ । देश र जनताको हितलाई भन्दा व्यक्तिगत स्वार्थलाई बढावा दिँदै गरेको पाइन्छ । देश नदी, नाला, गिट्टी बालुवा, वन जङ्गल आदि प्राकृतिक स्रोतहरू व्यापार र विकासको नाममा विदेशीलाई सुम्पिने क्रम बढ्दो छ । आफूले उत्पादन गरेका उखु, धान, दूध आदिको मूल्य नपाएर किसानहरू आजित छन् । समयमा मल र बीउ नपाउने किसानको समस्या ज्यूँका त्यूँ छ । जसले गर्दा कृषि उत्पादनमा ¥हास आएको छ । भएका कैयौँ सरकारी कल कारखानाहरू बेचेर स्वाहा पारिसकेको छ । डोजर विकास गरी जथाभावी सडक बनाउँदा स–साना ग्रामीण बस्तीहरूको उठिबास भएको छ । धुन्धकारीको कुकृत्यले गर्दा उनका बाबु, दाजु बेपत्ता भए । आमाले आत्महत्या गरी मर्नुप¥यो । यहाँको अपर्याप्त रोजगारी र बेहाल देखेर लाखौँ युवाहरू काम र अध्ययनको नाममा बिदेसिएका छन् । यो क्रम जारी नै छ । भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि स्टेट काण्ड, गोकर्ण रिसोर्ट काण्ड, ललिता निवास काण्ड, सहकारी ठगी आदि काण्डहरू थपिँदै छन् । देश र देशवासीमाथि ऋण थपिँदै छ । आखिर यी सब कुकर्म गरेर पाउने के त ? केका लागि गर्ने त ? पाउने त खालि पैसा न हो । यो कति चाहिने ? कति भए पुग्ने ? हामीलाई थाहा छ, दुई छाक खाने, एउटा कोठामा सुत्ने, एक जोर लुगा लगाउने । भविष्यको लागि केही सञ्चय गर्ने यति नै हो । राजा महेन्द्रले आफ्नो छोरा युवराज वीरेन्द्रलाई देश, दरबार, सत्ता, धन, सम्पत्ति सारा छोडेर गए । आखिर छोरा वीरेन्द्र राजा भएर पनि अन्तमा के पाए ? राणा प्रधानमन्त्री चन्द्र शमशेरले फ्रान्सको भर्सेलिज दरबारको कल्पना गर्दै सिंहदरबार बनाउन लगाए । आज त्यहीँ दरबारमा को को बसे ? के उसका सन्तानहरूले वा राणाहरू सदैव त्यहाँ बस्न पाए त ? राणा प्रधानमन्त्री जङ्गबहादुरका नाति पनाति, खनाति भनाउँदाहरू आज मनोहराको कतैतिर गाई गोरु चराउँदै छन् भन्ने सुनिन्छ । थुप्रैले विदेशी बैङ्कमा पैसा राखे जसले पहिला राणा प्रधानमन्त्री वीर शमशेरबाट विदेशी बैङ्कमा पैसा राख्ने क्रम चल्यो भनी उनलाई खुबै आलोचना गर्ने गर्थे । आज त्यस्ताहरूको कर्तुत छर्लङ्ग हुँदै छ । के ती विदेशी बैङ्कहरूमा राखेको धन पछि आफूले वा आफ्ना सन्तानले उपभोग गर्न पाउँला वा सक्ला अचेलका धुन्धकारीहरूले एकचोटि सोचे बेस होला । प्रस्तुत पौराणिक कथाका पात्र धुन्धकारीले पनि कैयौँ कुकर्महरू गरेर धन दौलत जम्मा गरेका थिए । तर, उनले प्रयोग गर्न पाए त ? उसको अन्त्य कस्तो भयो ? अचेलका धुन्धकारीहरूले यसबाट पाठ सिक्नुपर्छ । सबैलाई थाहा छ, दिन सधैँ एकनाशको हुँदैन । भनिन्छ, बा¥ह वर्षपछि नदी पनि फर्किन्छ । प्रस्तुत कथामा वर्णन गरेअनुसार प्रेत भएर पनि सज्जन भाइ गोकर्णको प्रयासले गर्दा धुन्धकारीले भागवत् कथा सुन्ने अर्थात् सत्कर्म गर्ने अवसर पाइन् र मुक्ति पनि पाइन् ।
यो त केबल कथा हो । हाम्रो समाज र देशका धुन्धकारीहरू अहिले पनि नसच्चिने हो, देश र जनहितको लागि सत्कर्म नगर्ने हो भने तिनीहरूले ठुलो दुर्गति भोग्नुपर्नेछ । अब यहाँ गोकर्णजस्ता भाइ छैन । जनता धेरै सहन सक्दैनन् । जसरी धुन्धकारी आफ्नै हितैषी भनाउँदा रण्डीहरूबाट मारिए । ख्याल राख्नु । यो घटना वास्तविकरूपमा दोहोरिन सक्छ । सैले बेलैमा सोच आत्मआलोचना गरी आफै सच्चिने प्रयत्न गरे बेस होला । सत्मार्गमा लागी देश र जनताको भलाइमा लाग्दै शोषण, दमन, असमान व्यवहार, भ्रष्टाचार, व्यक्तिगत स्वार्थ आदिलाई तिलाञ्जली दिए बेस होला ।
Leave a Reply