भर्खरै :

वडाध्यक्षको डायरीबाट – आफ्नो आमालाई पाल्नु हामी सबैको कर्तव्य हो

वडाध्यक्षको डायरीबाट – आफ्नो आमालाई पाल्नु हामी सबैको कर्तव्य हो

अरू बेलाजस्तै आज पनि म समयमै वडा कार्यालय पुगेको थिएँ । भर्खरमात्र वडा कार्यालय खोलेको हुँदा सेवाग्राही खासै थिएन । तर, वडा कार्यालय छिर्न लाग्दा एक जना परिचित बुढी आमा वडा कार्यालयको ढोकामा आरामसाथ बसिरहनुभएको थियो । मैले आमा नमस्कार भनी अभिवादन गरेँ र वडा कार्यालय अगाडि बसिरहनुको कारण सोधेँ । आमाको अनुहार अलि अँध्यारो र मलिन थियो । उहाँको पुरानो घर मेरै घर अगाडि थियो । तर, २०७२ सालको भूकम्पले गर्दा उहाँ विस्थापित हुनुभयो । हाल अर्कै नगरपालिकाको एउटा वडामा टहरा बनाएर बसिरहनुभएको थियो । उहाँले आफ्नो दुखेसो पोख्दै भन्नुभयो, “बाबुलाई भेट्न खोजेको धेरै दिन भयो । म हाम्रो वडा छोडेर अर्कै वडामा बस्न थालेको पनि धेरै भयो । त्यहीँ भएर मलाई वडा कार्यालय पनि चाहिएको थिएन; नगरपालिका पनि चाहिएको थिएन । तर, अहिले उमेर पनि हुँदै आयो । कमजोर पनि भइयो । दुई जना छोरा भएर पनि म बुढीलाई वास्ता नै गर्दैनन् । बुहारीहरू झनै काम नलाग्ने खालकी छिन् । त्यहीँ भएर म एक्लै एउटा सानो टहरामा बसिरहेकी छु । जेठो छोराले मलाई सानो टहरा बनाइदिएको थियो । त्यहीँ टहरामा धेरै वर्षदेखि बस्दै छु । अहिले मलाई धेरै गा¥हो भएको छ । पानी लिन पनि आफैले खान नसक्ने भएकी छु । खाना पकाएर खान पनि नसक्ने भएकी छु । बिरामी भएर मलाई धेरै गा¥हो छ । औषधि पनि छोरीले किनेर ल्याएमात्र खान पाउँछ; नत्र औषधि पनि खान पाउँदिन । मेरी दुइटी छोरी भएको बाबुलाई थाहा नै छ । कहिले जेठी छोरी आउँछिन् त कहिले कान्छी छोरी आउँछिन् । अनि मात्र मैले तातो भात र औषधि खान पाउँछ । सँगै बसेको जेठो छोरो र बुहारीले पनि हेरेको छैन । कान्छा छोरा त भाडामा कोठा लिएर बसिरहेको छ । उसले त मतलब नै गरेको छैन । त्यहीँ भएर दुवै छोरालाई वडामा बोलाएर सम्झाई दिनुप¥यो । आज म सकी नसकी जेठी छोरीसँग आएकी हुँ ।” जेठी छोरी पनि टुप्लुक त्यहाँ आइपुगिन् । मैले जेठी छोरीलाई पनि नमस्कार गरेँ ।
मैले आमा र छोरी दुवैलाई माथि वडा कार्यालयमा गएर आरामले कुरा गरौँला भनी माथि सोफामा बस्न अनुरोध गरेँ । सोफामा बस्ने बित्तिकै छोरीले गुनासो पोख्दै भन्नुभयो, “मेरो भाइ दुवै जना त मरिसके बराबरको छ बाबु । आमाको टहरासँगै बसेको जेठो छोराले ज्वरोको एउटा सिटामोल र एक गिलास पानीसमेत दिँदैन । कोठा भाडामा लिएर बस्ने कान्छा छोराको त के आशा गर्नु र ? लक्का जवान नाति नातिनीहरू छन् । तर, उनीहरू पनि वास्ता गर्दैनन् । अनि बुहारी छिन् । उनलाई सासू आमाको केही मतलब छैन बाबु । मेरी आमा जिउँदै मर्ने भयो । के गर्ने होला ? बाबुले दुवै छोरा बुहारीलाई बोलाएर सम्झाउनुप¥यो । होइन भने आमाको नामको सम्पत्ति बेच्न सिफारिस दिनुप¥यो । त्यहीँ पैसाले कि त आमालाई वृद्धाश्रममा लानुप¥यो कि त छोराहरू वडामा बोलाउनुप¥यो । होइन भने आमालाई जग्गा बेच्न सिफारिस दिनुप¥यो ।”
उहाँ उमेरको हिसाबले छिमेकी दिदी पर्दछ । तर, विवाहित भइसकेको हुँदा पहिले जस्तै भेटघाट त्यत्ति नहुने स्वाभाविक भयो । उहाँ दिदीलाई म सानैदेखि नै चिन्दथेँ । मैले बुढी आमालाई सोधँे, “वडा कार्यालय आउनुको मुख्य कारण के हो ? वडाध्यक्षले के गरिदेओस् भन्ने चाहनुहुन्छ ?” प्रतिउत्तरमा बुढी आमाले भन्नुभयो, “छोराहरू दुवैलाई वडा कार्यालयमा बोलाइदिनुप¥यो । म केही गर्न नसक्ने भएँ । जेठो छोराले मलाई वास्ता गरेन । कान्छा छोराकहाँ बस्न पाए हुन्छ । बाबुले कान्छा छोरालाई बोलाएर मनाउनुप¥यो ।” बुढी आमाको चुरो कुरो बुझेपछि मैले जेठो र कान्छा दुवैलाई फोन गरेर वडा कार्यालय तत्काल आउन अनुरोध गरेँ । सानो छोरा त मेरै उमेर सरहको पहिलाको बालसखा नै थियो । तर, परिस्थितिले आफ्नो बाटोमा लाग्दा समयक्रममा भेटघाट नहुनु स्वाभाविक हो । मैले दुवै जनालाई फोन गरेर वडामा आउन अनुरोध गरेँ र उहाँहरू पनि तत्काल वडामा आइपुग्दा मलाई खुसी लाग्यो ।
मैले दुवै छोरालाई नम्र भाषामा आमाको अनुरोधबारे जानकारी गराएँ । आमा सानो छोरासँग बस्न चाहेको र जेठो छोराले नहेरेको कारण सोधेँ । प्रतिउत्तरमा जेठा छोराले भन्नुभयो, “आमा र मेरो परिवार सँगै बस्छौँ सर । आमालाई मैले नै सानो टहरा बनाइदिएको हुँ । मेरो श्रीमतीसँग कुरा नमिलेपछि अलग्गै भए पनि आमा बसून् भनेर मैले आमालाई टहरा बनाइदिएको हुँ । आमा बुहारीसँग मिलेर बस्न सक्नुहुन्न । मेरो छोरा पनि छ । छोरासँग पनि आमाको कुरा मिल्दैन । खोइ म त कुरै बुझ्दिनँ । श्रीमतीलाई पनि कति सम्झाएँ । हामीले आमालाई ठीक समयमा खाना बनाइदिएर खुवाएकै हो । आमाको खेत भाग हामीले गरिरहेका छौँ । दुवै दाजुभाइले आमालाई समयमै बाली दिइरहेकै हो । श्रीमतीले आमाको लुगा धोइदिएकै हो । हेरविचार गरेको जस्तो लाग्छ । आमालाई के कुरामा चित्त बुझेन खोइ । घरमा पनि साना साना कुरामा श्रीमती र आमाबिच मुनमुताव भएपछि आमालाई टहरा बनाइदिएको हुँ । अब सानो छोरासँग बस्न जान्छ भने मलाई भन्नु केही छैन । मबाट केही गल्ती भए सुधार गर्न तयार छु । मेरो विचारमा सानो छोरा भाडामा बस्ने भएकोले अलि गा¥हो होला कि जस्तो लाग्छ ।”
त्यसपछि सानो छोरोले आफ्नो कुरा राखे, “आमा मकहाँ बस्न आउने भनेपछि मैले नलाने कसरी भन्ने र ? तर, भाडामा बसेको हुँदा मकहाँ आमालाई अलि गा¥हो हुन्छ । छोरीलाई सुताउने ठाउँ नभएर भान्छा कोठामा सुताएको छु । कक्षा सातमा पढ्ने छोरा हामीसँग सुत्छ । आमा मकहाँ आउने भए भान्छामा छोरीसँग सुत्नुपर्छ । आमालाई अलग्ग कोठा लिएर म कसरी सुताउन सक्छु सर ? एउटा कोठाको भाडा पाँच हजार तिर्नुपर्छ । छोरालाई महिनाको तीन हजार जान्छ । छोरी कक्षा १२ मा पढ्छिन् । उनलाई पनि खर्च गर्नैप¥यो । त्यहीँ भएर हामीसँग मिलेर आमा बस्नुहुन्छ भने मलाई आमासँग लान केही समस्या छैन । तर, आमा बुहारीसँग मिलेर बस्नुप¥यो । यस वडा कार्यालयमै दिदीहरू भएको ठाउँमा आमाले सँगै मिलेर बस्छु भन्नुप¥यो । आमासँग बस्न आएपछि मैले अलग्गै खेतको बाली दिन्न नि । आमा पनि पाल्ने बाली पनि दिन मिल्दैन ।”
त्यसपछि आमालाई बोल्न अनुरोध गरेँ, “म एकदमै कमजोर भएँ । एक्लै टहरामा बस्न सक्दिनँ । टहरामा धारा छैन । कुवा टाढा छ । कुवासम्म गएर पानी लिन जान सक्दिनँ । औषधि खानुपर्छ । आफै औषधिसमेत खान नसक्ने भएँ । छोरीहरू मकहाँ सधैँ आउन सक्दैनन् । म जिउँदै मर्ने भएँ । मलाई जेठो छोरा र बुहारीको अनुहार पनि हेर्न मन छैन । त्यसैले सानो छोरा र बुहारीसँग मिलेर बस्छु । आज बाबुले मिलाइदिनुप¥यो ।”
दुवै छोरा र छोरीको कुरा सुनेर उनीहरूको भावनालाई मैले बुझेँ । त्यसपछि मैले थोरै कुरा राख्न अनुरोध गर्दै भनेँ, “हेर्नुस् तपाईँहरू सबैलाई म राम्ररी चिन्छु । तपाईँहरूको पुरानो घर मेरै घर अगाडि हो । बुढी आमा पहिले उमेर हुँदा कति काम गर्नुहुन्थ्यो मलाई राम्ररी थाहा छ । मेरो खेत र तपार्इँहरूको खेत पनि सँगसँगै भएकोले मलाई आमाको बारेमा राम्रो जानकारी छ । त्यसैले अहिले बुढी भयो भनेर आफ्नो आमालाई हेप्न पाइँदैन । घरमा जवान नाति नातिनाहरू छन् । बुहारीहरू छन् । छोरा छ । खेत त्यत्रो छ । आमाको भागमा परेको खेतमात्र गर्दा पनि आमालाई लाउन खान मज्जाले पुग्छ । तपाईँहरूले आमाको चित्त बुझाएर आमालाई पाल्नुपर्छ । यो तपाईँको मात्र कर्तव्य नभएर हामी सबैको कर्तव्य हो । आफूलाई जन्म दिने आफ्नै आमालाई पानी पनि नदिने छोरा बुहारीको के महत्व रह्यो र ? हामी आफै पनि एक दिन आमाको उमेरको हुनेछौँ । अनि अहिले आमाले भोगेको समस्या हामीले भोग्नेछौँ । त्यहीँ भएर आमालाई सकभर टेन्सन दिनुको सट्टा आमालाई सजिलो बनाउन प्रयास गरौँ । आमाको भागको सम्पत्तिमात्र बेच्दा पनि दसौँ करोड हुन्छ । तपाईँहरू दुवै जनाले आमालाई चित्त बुझाएर नहेर्ने भए म हाम्रो टोलको कक्षपति बुढीलाई वडाले आश्रममा राखेजस्तै आमालाई पनि राख्न लानुपर्ने हुन्छ । आमाको भागको सम्पत्ति बेच्नलाई सिफारिस दिनुपर्ने बाध्यता हुन्छ । टोलवासी बोलाएर बैठक राखी आमालाई आश्रममा लाने दिन नआओस् । दुवै छोराले त्यसबारे विचार गर्नुहोला । आजबाट सानो छोराले आमालाई लानुस् । आमालाई सकभर खुसी पार्ने प्रयास गर्नुस् । परिवारका अन्य सदस्यलाई पनि आमालाई आदर गर्न सिकाउनु अन्यथा अर्को विकल्पमा जानुपर्ने हुन्छ ।” मेरो कुराले दुवै छोराको अनुहार रातो देखियो । दुवै छोराहरू चुपचाप केही नबोली सुनिमात्र रहे भने छोरी र आमाको अनुहारमा अलि हाँसो छायो । त्यसपछि बुढी आमाले हँसिलो र सजिलो मानेर भन्न थालिन्, “बाबुको गुणलाई म कहिले बिर्सिन्नँ । मेरो आशिष बाबुलाई लागोस् । म बुढी मान्छेको कुरा धैर्य गरेर सुनिदिएको र छोराहरू दुवैलाई सम्झाइदिएकोमा धेरै धन्यवाद छ ।”
त्यसपछि मैले बैठक समापन गरेँ । सानो छोराले आमालाई समाएर बिस्तारै वडाबाट बाहिर लगे । छोरीहरू क्षमा याचना गर्दै बिदा भए । जेठो छोरा आफ्नो गल्ती भए माफ पाऊँ भन्दै बिदा भए ।
करिब एक महिनापछि म बिहान एक जना सहकर्मी साथी साथमा लिएर सानो छोराको कोठामा गएँ । बुढी आमा कोठामा आरामसाथ बसिरहेको थियो भने नाति खातमा बसेर पढिरहेको थियो । बुहारी भान्छामा कोठामा खाना बनाउन लागिरहेको थियो । मैले आमालाई देख्ने बित्तिकै नमस्कार गरेँ । उहाँको अनुहार चम्किलो र हँसिलो पाएँ । बुहारीको अनुहार पनि हँसिलो देखियो । नाति पढ्नमा मस्त थियो । उनीहरूको अनुहारबाट नै मैले बुढी आमाको अवस्था राम्रो भएको महसुस भयो । छोरा बाहिर काममा गइसकेका थिए भने कक्षा १२ पढ्ने नातिनी कलेज गएकी रहेछन् । हामी दुवै जना एक एक कप चिया खाएर हालचाल सोधेर फक्र्यौँ । बुढी आमाले फर्कने बेला हामी दुवैलाई दीर्घजीवनको आशीर्वाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *