भर्खरै :

किन हुन्छ युरिक एसिड बाथ ? रोकथामका उपाय के ?

किन हुन्छ युरिक एसिड बाथ ? रोकथामका उपाय के ?

युरिक एसिड मानिसको रगतमा पाइने महत्वपूर्ण पदार्थ हो, जुन प्रोटिन र प्युरिन मेटोबोलिजमको बाइप्रोडक्ट हो । यो पिसाबको माध्यमबाट बाहिर निस्किरहेको हुन्छ । तर, कहिलेकाहीँ मिर्गौलाले युरिक एसिडलाई बाहिर फ्याँक्न सक्दैन, जसका कारण यो शरीरभित्रै जम्मा हुन्छ र जोर्नीमा समस्या ल्याउँछ, जसलाई हामी युरिक एसिड बाथ भन्छौँ । तर, १५ प्रतिशत समस्याचाहिँ युरिक एसिडको बढी उत्पादनले हुन्छ । धेरै प्युरिन भएको खाना खाँदा या कुनै रोगका कारण पनि शरीरमा युरिक एसिड बढ्छ ।
शरीरमा युरिक एसिड उच्च हुनुलाई मेडिकल भाषामा ‘हाइपरयुरिसेमिया’ भनिन्छ, जसको मापदण्ड महिला र पुरुषमा फरक–फरक तय गरिएको छ । पुरुषमा ७ एमजी/डीएल भन्दा बढी र महिलामा ६ भन्दा बढी भयो भने युरिक एसिड बढी भएको मानिन्छ । युरिक एसिड बढी भयो भने जोर्नी, जोर्नी वरपर या तन्तुहरूमा जम्मा हुन्छ, जसले पीडा तथा दुखाइ दिन्छ ।
लक्षण
खासगरी युरिक एसिड बाथका चार वटा क्लिनिकल चरण हुन्छ ।
पहिलो चरण : यो चरणमा युरिक एसिड एकदम बढेको हुन्छ । तर, कुनै क्लिनिकल लक्षण या समस्या देखाउँदैन । यो चरणमा युरिक एसिड धेरै भए पनि उपचार आवश्यक हुँदैन ।
दोस्रो चरण : यो चरणलाई एक्युट गाउट आर्थराइटिस भनिन्छ । यसबेला जोर्नीहरूमा एकदम पीडा हुन्छ । रातिको समयमा असह्य दुख्ने हुन्छ । यसको मुख्य लक्षण भनेको खुट्टाको बुढीऔँला एकदम सुन्निने हुन्छ । यस्तै, जोर्नी, घुँडा तथा हातको जोर्नीमा एकदम पीडा हुने हुन्छ ।
यसलाई बढाउने विभिन्न कारण छन् । रातोमासु खाँदा, रक्सी–बियर धेरै खाँदा, शरीरमा पानीको मात्रा कम हुँदा, लामो समय भोको बस्दा, अपरेसनपछिको तनावजस्ता कारण एक्युट अट्याक हुन्छ ।
तेस्रो चरण : यो चरणमा दुखाइ हुँदैन । पहिलो चरणको युरिक एसिड भए पनि त्यसपछि कहिल्यै नहुन पनि सक्छ या हप्ता, महिला या वर्षौँपछि हुन सक्छ ।
चौथो चरण : यो अन्तिम चरण हो, जसलाई क्रोनिक टोफासिस गाउट भनिन्छ । यो लामो समयदेखि अनियन्त्रित हाइपरयुरिसेमिया भएको मानिसमा देखिन्छ । यो अवस्थामा शरीरका विभिन्न भागमा टोफाइ (गाँठागुँठी) विकसित हुन्छ । युरेक्रिस्टलहरू शरीरका विभिन्न भागमा जम्मा भएर जोर्नी, सतह र कानका तन्तुहरूमा विकसित भएको पाइन्छ ।
युरिक एसिड बाथले गर्ने असर
युरिक एसिड बाथले शरीरको मिर्गौलालाई विभिन्न तरिकाले असर गर्छ । मिर्गौलाको विभिन्न स्थानमा जम्मा भएर मिर्गौलामा क्रिस्टल जम्मा भएर नेफ्रोप्याथी गराउन सक्छ । अर्को असर गर्ने भनेको युरिक एसिड स्टोन हो । यस्तै, दुखाइको बेला धेरै पेनकिलर खाने बानी भएकाहरूलाई त्यसको साइडइफेक्टले पनि अप्रत्यक्षरूपमा मिर्गौलालाई असर पु¥याइरहेको हुन्छ ।
कस्ता मानिसलाई युरिक एसिड बाथको जोखिम हुन्छ ?
मानिसमा किशोरावस्थाभन्दा अगाडि (प्रि–प्युबर्टल स्टेज) युरिक एसिड ३.५ एमजी/डीएल हुनुपर्छ । वयस्क उमेरमा पुग्दा पुरुषमा युरिक एसिडको लेभलमा तीव्र वृद्धि हुन्छ । यस्तै, महिलामा महिनावारी रोकिएपछि युरिक एसिड एकदम बढ्ने हुन्छ, बाथ रोग प्रायः पुरुषमा बढी हुन्छ । ४० वर्षभन्दा बढी उमेरका, मोटोपना भएका, हाइपरटेन्सन भएका, मिर्गौलाका रोग भएका, मदिरा सेवन गर्ने तथा उच्च प्युरिन डाइट गर्नेहरूमा बाथ रोगको जोखिम बढी हुन्छ ।
अर्को भनेको क्यान्सर तथा रगतका बिरामीहरू र छालाको सोरियासिस भएकाहरूमा बाथ रोग हुने सम्भावना हुन्छ भने कम डोजका एस्पिरिन तथा पिसाब लगाउने औषधि खानेहरू पनि बाथ रोगको जोखिममा हुन्छन् ।
रोकथाम के ?
बाथ रोग निम्तन नदिने महत्वपूर्ण कुरा त स्वस्थ जीवनशैली अपनाउनु हो भने खानपानको पनि भूमिका हुन्छ । मोटो छ भने तौल नियन्त्रण गर्ने, स्वस्थ खाना खाने, नियमित अभ्यास गर्ने, धूमपान नगर्ने, मदिरा सेवन नगर्ने तथा प्रशस्त पानी पिउने गर्नाले बाथ रोगबाट बच्न सकिन्छ ।
खानपानको कुरा गर्दा दुखाइका बेला रक्सी, बियर वाइन, अङ्गहरूको मासु (फोक्सो, कलेजो, फियो) खानुहुन्न भने रातोमासु पनि सीमित गर्नुपर्छ । यस्तै, चिनी बढी भएका पेय पदार्थहरू जस्तो, कोक, फ्यान्टा, स्प्राइट, रियल जुस खानुहुन्न ।
तर, जोर्नी दुख्यो, युरिक एसिड बाथ भयो भने गेडागुडी, दही, तामा खानै हुन्न भनिन्छ । तर, त्यसो होइन, सीमित मात्रामा यस्ता चिज खान सकिन्छ ।
उपचार विधि
युरिक एसिड बाथको उपचारलाई एक्युट दुखाइ कम गर्ने र दीर्घकालीन उच्च युरिक एसिड नियन्त्रण गर्ने गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।
सहनै नसक्ने गरी दुख्ने, सुन्निने छ भने दुखाइ कम गर्ने औषधि लिएर, आइसप्याक लगाएर कम गर्न सकिन्छ । पेन किलरहरू लिन नमिल्ने अवस्था छ भने छोटो अवधिका स्टेरोइड दिएर दुखाइ कम गर्न सकिन्छ । तर यो समाधान होइन, हाइपरयुरिसेमियाको दीर्घकालीन व्यवस्थापन महत्वपूर्ण हो । हामीले युरिक एसिड कम गराउने औषधि दिने गर्छौँ, जुन विभिन्न प्रकारमा उपलब्ध छ ।
कुन बेला औषधि सुरु गर्ने ?
युरिक एसिड बाथ हुनेबित्तिकै औषधि खाइहाल्ने भन्ने हुँदैन । सहनै नसक्ने पीडा वर्षको ३ पटकभन्दा बढी भयो भने, शरीरका विभिन्न भागमा टोफाइ (गाँठागुँठी आउने) हुने र किड्नीमा पत्थरी छ भने र मिर्गौलाका दीर्घकालीन बिरामी भएको अवस्था छ भने औषधि सुरु गरिन्छ ।
औषधि सुरु गर्नुको उद्देश्य सेरम युरिक एसिडको लेभल घट्नुपर्छ भन्ने हो, जुन ७ एमडी/डीएल भन्दा कम हुनुपर्छ । यस्तै, टोफाइ अर्थात् विकास भएको गाँठागुँठी घट्नुपर्छ र बारम्बारको दुखाइ कम हुनुपर्छ । त्यसका लागि हरेक ३ देखि ६ महिना रगत परीक्षणमार्फत नियमित अनुगमन गर्नुपर्छ ।
(डा. श्रेष्ठ नर्भिक इन्टरनेसनल हस्पिटलकी कन्सल्टेन्ट ¥युमटोलोजिस्ट हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *