वाग्मती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग नगर प्रमुख प्रजापतिको भेट
- कार्तिक २६, २०८२

भक्तपुर, १५ मङ्सिर । आस्था बचत तथा ऋण सहकारी संस्था लि. को सत्रौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गोसाईले सहकारी संस्थाहरूले बैङ्कजस्तो पैसाको कारोबारमा मात्र सीमित नभएर सामाजिक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो । उहाँले निःस्वार्थ भावले समुदायको विकासमा लाग्न सकेमात्र सहकारी भावना सफल हुने कुरा स्पष्ट गर्नुभयो । अतिथि गोसाईले सहकारी अभियन्ताहरूले आफ्नो संस्थाबाट कति स्वरोजगार भए, घरेलु उद्योगको विकास कति भयो, जीवनस्तरमा कतिको सुधार भयो, सदस्यहरूलाई चरित्रवान तथा सामाजिक बनाउन कति काम गरियो भन्ने स्वमूल्याङ्कन गर्नुपर्ने समय आएको भनाइ राख्नुभयो ।
उहाँले भक्तपुरका केही सहकारी संस्थाले आदर निकेतन, सहकारी खेती, स्वास्थ्यसेवा केन्द्र, फिजियोथेरापी केन्द्र, सहकारी सुपथ मूल्य पसल सञ्चालन गरेको उदाहरण राख्दै सहकारी गतिविधिले नागरिकको सेवा पुग्नुपर्ने विचार राख्नुभयो ।
भनपा–४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नगरपालिकाले सहकारीहरूको सघन अनुगमन र पृष्ठपोषण गरिरहेको भन्दै नगरभित्रका सांस्कृतिक सम्पदाहरूको सरसफाइ तथा संरक्षणमा पनि हरेक सङ्घ–संस्थाले योगदान गर्नुपर्ने औँल्याउनुभयो ।
जिल्ला बचत सहकारी सङ्घ, भक्तपुरका लेखा सुपरिवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातले पल्र्स मापदण्डलाई मान्ने समुदायमा आधारित सहकारीहरू हाल समस्याग्रस्त सहकारीभन्दा फरक रहेको कुरा जनमानसमा प्रचार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यवस्थापक जीवन सुवालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा एन्जल तुल्सीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बन्दसत्रमा संस्थाका निर्वाचन उपसमितिका संयोजक विश्वनाथ प्रजापति, सचिव कृष्णराम कोजू, कोषाध्यक्ष रुकेश त्वायना, लेखा सदस्य रुपेश जाकिबञ्जारले पनि बोल्नुभएको थियो । साधारणसभाबाट विभिन्न प्रतिवेदन, नीतिनियम तथा प्रस्तावहरू पारित गरिएको थियो ।
सभाले कृष्णप्रसाद सुवालको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति तथा रुपेश जाकिबञ्जारको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो । कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक मोहनबेती प्रजापति, उत्कृष्ट बचतकर्ता शिवराम प्रजापति तथा उत्कृष्ट ऋणी सुनिल कपालीलाई सम्मान गरिएको थियो ।
Leave a Reply