दौड प्रतियोगिता सम्पन्न : फूटसल सुरू
- आश्विन २१, २०८३
बीसौँ शताब्दी विश्व इतिहासमा यस्तो युग बन्यो जहाँ उत्पीडित सर्वहारावर्गले सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्दै पुँजीवादी तथा सामन्ती सत्ताका विरुद्ध सशस्त्र विद्रोह र क्रान्तिको शङ्खनाद गरे ।
यद्यपि, समाजवादी आन्दोलन एकरेखीय मार्गमा अगाडि बढेको छैन; यसमा असाधारण विजय, युगान्तकारी रूपान्तरण, भयानक प्रतिक्रान्ति र जटिल पुनर्संरचनाका घुम्तीहरू विद्यमान छन् । पेरिस कम्युनको पहिलो भ्रुणदेखि अक्टोबर क्रान्तिको विस्फोट हुँदै आजसम्म आइपुग्दा विश्व समाजवादका तीन स्पष्ट ऐतिहासिक धाराहरू देखा पर्दछन् : पहिलो, क्रान्ति सम्पन्न गरी पुँजीवादी घेराबन्दीका बिच हालसम्म टिकिरहेका देशहरू; दोस्रो, समाजवादको सफल अभ्यास गरेर पनि संशोधनवाद र बाह्य षड्यन्त्रका कारण पुँजीवादी पुनस्र्थापना भोग्न बाध्य भएका देशहरू र तेस्रो, समाजवादी यात्रा प्रारम्भ गरे पनि साम्राज्यवादी बर्बरता, सैनिक कू र आन्तरिक सीमाका कारण छोटो समयमै उल्ट्याइएका ऐतिहासिक प्रयासहरू ।
यहाँ विश्वका केही त्यस्ता देशहरूको बारे चर्चा गरिएको छ जहाँ समाजवादको अभ्यास भइरहेको छ वा विगतमा त्यस्तो अभ्यास भएर अहिले प्रतिक्रान्तिमा बदलिएको छ ।
(क) समाजवादी देशहरू
बीसौँ शताब्दीको उत्तराद्र्धमा सोभियत सङ्घको विघटनपछि पुँजीवादी सिद्धान्तकारहरूले ‘इतिहासको अन्त्य’ भएको र पुँजीवाद नै अन्तिम व्यवस्था भएको घोषणा गरेका थिए । तर, विश्वका कति मुलुकहरूले साम्राज्यवादी नाकाबन्दी, वैचारिक आक्रमण र आन्तरिक चुनौतीहरूको सामना गर्दै कम्युनिस्ट पार्टीको अग्रगामी भूमिका र माक्र्सवाद–लेनिनवादको मार्गदर्शक सिद्धान्तलाई आजपर्यन्त जीवन्त राखेका छन् ।
१. जनगणतन्त्र चीन
सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिले अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चीनलाई मुक्त ग¥यो । करिब एक शताब्दी लामो साम्राज्यवादी अपमान र आन्तरिक लुट अन्त्य गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले श्रमिक जनताको अधिनायकत्व स्थापित ग¥यो ।
माओकालीन चरणमा भूमिसुधार, कृषि सहकारीकरण, आधारभूत भारी उद्योगहरूको निर्माण र समाजवादी सांस्कृतिक रूपान्तरणको जग बसालियो । सन् १९७८ पछि देङ सियाओपिङको नेतृत्वमा सुरु भएको ‘सुधार र खुलापन’ ले समाजवादको प्राथमिक चरणको अवधारणा अघि सार्दै उत्पादक शक्तिहरूको विकासबिना गरिबी बाँड्नु समाजवाद हुन नसक्ने निष्कर्ष निकाल्यो ।
वर्तमानमा सी चीनफिङको नेतृत्वमा चीनले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ अङ्गीकार गर्दै करिब ८० करोड जनतालाई निरपेक्ष गरिबीबाट बाहिर निकालेको छ । बैङ्किङ, ऊर्जा, दूरसञ्चार, यातायात र भारी उद्योगजस्ता रणनीतिक क्षेत्रमा सार्वजनिक तथा राज्य स्वामित्व कायम राख्दै उच्च प्रविधिको विकास गरेर चीन आज अमेरिकी साम्राज्यवादी एकध्रुवीय प्रभुत्वलाई चुनौती दिने समाजवादी शक्तिका रूपमा उभिएको छ ।
२. क्युवा
सन् १९५९ मा फिडेल क्यास्ट्रो, चे ग्वेभारा र राउल क्यास्ट्रोको नेतृत्वमा सम्पन्न क्युवाली क्रान्तिले अमेरिकी साम्राज्यवादको नव–औपनिवेशिक क्रीडास्थल बनेको बातिस्ताको तानाशाही सत्तालाई चकनाचुर बनायो । अमेरिकाको समुद्री तटबाट मात्र ९० माइल टाढा रहेको क्युवाले छ दशकभन्दा लामो समयदेखि क्रूर आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीको सामना गरिरहेको छ ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित क्युवाली समाजवादले शिक्षा र स्वास्थ्यलाई नाफामूलक बजारबाट पूर्ण रूपमा मुक्त गरी निःशुल्क, सर्वसुलभ र विश्वस्तरीय बनायो । क्युवाको स्वास्थ्य प्रणाली आज विश्वमै उदाहरणीय मानिन्छ, जसले ‘चिकित्सा अन्तर्राष्ट्रतावाद’ मार्फत विश्वका विपन्न मुलुकहरूमा लाखौँ नागरिकलाई निःस्वार्थ सेवा दिँदै आएको छ ।
सोभियत सङ्घको विघटनपछि उत्पन्न भीषण ‘विशेष अवधि’ को भोकमरी र अभावलाई क्युवाली जनताले समाजवादी चेतना र दृढताका आधारमा परास्त गरे । स्थानीय जनशक्ति, जनशक्तिको प्रत्यक्ष सहभागिता र जैविक कृषिको विकास गर्दै क्युवा आज पनि ल्याटिन अमेरिकामा साम्राज्यवादविरोधी प्रतिरोधको मुख्य प्रेरणास्रोत बनिरहेको छ ।
३. भियतनाम
भियतनामको समाजवादी इतिहास हो–चि मिन्हको नेतृत्वमा सञ्चालित साम्राज्यवादविरोधी सशस्त्र जनयुद्धको गौरवशाली गाथा हो । भियतनामी जनताले पहिले फ्रान्सेली औपनिवेशिक सेनालाई सन् १९५४ को डिएन बिएन फुको लडाइँमा पराजित गरे र पछि सन् १९७५ सम्म चलेको युद्धमा अमेरिकी साम्राज्यवादी बर्बरता, रासायनिक हतियार (एजेन्ट ओरेन्ज) र लाखौँ टन बमको वर्षालाई परास्त गर्दै देश एकीकृत गरी समाजवाद स्थापना गरे ।
युद्धले ध्वस्त पारेको अर्थतन्त्रको पुनरुत्थानका लागि भियतनामी कम्युनिस्ट पार्टीले सन् १९८६ मा ‘दोई मोई’ (आर्थिक नवीकरण) नीति अघि सा¥यो । यसले रणनीतिक क्षेत्रहरूमा राज्य नियन्त्रण कायम राख्दै बजार संयन्त्रलाई समाजवाद निर्माणको सेवामा परिचालन गरेको छ ।
भियतनामले आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र कम्युनिस्ट पार्टीको नेतृत्वलाई अक्षुण्ण राख्दै उच्च आर्थिक वृद्धि, सामाजिक सुरक्षा र गरिबी निवारणमा व्यापक प्रगति हासिल गरेको छ ।
४. लाओस
इन्डो–चाइना प्रायःद्वीपमा अमेरिकी गुप्त युद्धको सर्वाधिक मार खेपेको देश लाओस हो, जहाँ प्रतिव्यक्ति अनुपातमा इतिहासकै सबैभन्दा धेरै बम खसालिएको थियो । काइसोन फोमविहानेको नेतृत्वमा रहेको ‘पाथेत लाओ’ आन्दोलनले सन् १९७५ मा सामन्ती राजतन्त्र र अमेरिकी कठपुतली सत्तालाई परास्त गरी लाओ जनवादी लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो ।
लाओ पिपुल्स रिभोल्युसनरी पार्टीले सन् १९८६ देखि ‘नयाँ आर्थिक संयन्त्र’ लागू ग¥यो । भूपरिवेष्ठित र भौगोलिक रूपमा विकट रहेको लाओसले प्राकृतिक स्रोत, जलविद्युत् र क्षेत्रीय पूर्वाधारको विकास गर्दै समाजवादी रूपान्तरणको बाटो तय गरिरहेको छ, जहाँ राज्यले रणनीतिक क्षेत्रको नियन्त्रण आफ्नै हातमा राखेर ग्रामीण गरिबी न्यूनीकरण र साक्षरता विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ ।
५. उत्तर कोरिया
सन् १९४८ मा किम इल सङको नेतृत्वमा स्थापित उत्तर कोरियाले जापानी औपनिवेशिक दासता र सन् १९५०–५३ को अमेरिकी आक्रमणको विरुद्ध भिषण लडाइँ लड्यो । कोरियाली प्रायःद्वीपको विभाजनपछि उत्तर कोरियाले उत्पादनका साधनमाथि पूर्ण सामाजिकीकरण गर्दै निःशुल्क आवास, शिक्षा र स्वास्थ्यको व्यवस्था ग¥यो ।
उत्तर कोरियाले माक्र्सवाद–लेनिनवादसँगै आत्मनिर्भरताको ‘जुछे’ र ‘सोङगुन’ (सैन्य–प्रथम) विचारका आधारमा आफ्नो सार्वभौमसत्ता र समाजवादको रक्षा गर्दै आएको छ । पश्चिमी साम्राज्यवादको निरन्तर आणविक धम्की र नाकाबन्दीका बिच यसले आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षाका निम्ति बलियो प्राविधिक तथा प्रतिरक्षा क्षमता सुदृढ गरेको छ र पुँजीवादी पुनस्र्थापनालाई अस्वीकार गर्दै साम्राज्यवादविरोधी मोर्चामा दृढतापूर्वक उभिएको छ ।
(ख) समाजवादी सत्तामा प्रतिक्रान्ति भएका देशहरू
विश्व कम्युनिस्ट आन्दोलनको दोस्रो आयाम भनेको समाजवाद स्थापना भएर पनि कालान्तरमा भयानक प्रतिक्रान्ति र पुँजीवादी पुनस्र्थापना भोग्न बाध्य भएका देशहरूको इतिहास हो । यो वैज्ञानिक समाजवादको असफलता थिएन, बरु पार्टीभित्र हुर्किएको संशोधनवाद, नोकरशाहीकरण, उत्पादन सम्बन्धको जडता र साम्राज्यवादी वैचारिक विध्वंसको दुष्परिणाम थियो ।
१. सोभियत समाजवादी गणतन्त्र सङ्घ
सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिले भ्लादिमिर लेनिनको नेतृत्वमा इतिहासमै पहिलोपटक सर्वहारा अधिनायकत्व स्थापित गरेको थियो । सोभियत सङ्घले इतिहासमै पहिलोपटक आठघण्टे कार्यदिन, महिलाको समान अधिकार, निःशुल्क शिक्षा, स्वास्थ्य, पूर्ण रोजगारी र योजनाबद्ध औद्योगीकरणको कार्यान्वयन ग¥यो । जोसेफ स्तालिनको नेतृत्वमा सोभियत सङ्घले सामन्ती कृषिप्रधान देशलाई आणविक र अन्तरिक्ष युगको महाशक्तिमा रूपान्तरण ग¥यो र नाजी फासीवादलाई परास्त गर्न २ करोड ७० लाख नागरिकको बलिदान दिएर निर्णायक भूमिका खेल्यो ।
तर, सन् १९५३ मा स्तालिनको मृत्युपछि निकिता ख्रुश्चेभको आगमनसँगै सोभियत पार्टीमा आधुनिक संशोधनवादले प्रवेश पायो । ख्रुश्चेभले अघि सारेको ‘सम्पूर्ण जनताको राज्य’ र ‘शान्तिपूर्ण सह–अस्तित्व’ को गैर–माक्र्सवादी सिद्धान्तले वर्गसङ्घर्षको मर्ममाथि प्रहार ग¥यो र नोकरशाही अहङ्कारले पार्टीलाई मजदुरवर्गबाट विमुख बनायो ।
सन् १९८० को दशकमा मिखाइल गोर्बाचोभले अगाडि सारेको ‘ग्लासनोस्त’ र ‘पेरेस्त्रोइका’ ले पुँजीवादी बजार अराजकता र बुर्जुवा बहुलवादलाई वैधता दियो । अन्ततः सन् १९९१ डिसेम्बरमा पार्टीभित्रै हुर्किएको नोकरशाही पुँजीपतिवर्ग र साम्राज्यवादी शक्तिहरूको मिलेमतोमा सोभियत सङ्घको विघटन गरियो र रुससहित १५ गणतन्त्रहरूमा ‘शक थेरापी’ मार्फत सार्वजनिक सम्पत्ति निजीकरण गरी ओलिगार्कहरूको उदय गराइयो ।
२. जर्मन जनवादी गणतन्त्र
सन् १९४९ मा स्थापित पूर्वी जर्मनी समाजवादी शिविरको पश्चिमी सिमाना थियो । यसले युद्धको भग्नावशेषबाट उठेर उच्च औद्योगिक आधार, पूर्ण रोजगारी, निःशुल्क आवास र सामाजिक सुरक्षाको उदाहरणीय ढाँचा निर्माण ग¥यो ।
यद्यपि, पश्चिमी पुँजीवादको निरन्तर उपभोगवादी प्रचार, मनोवैज्ञानिक युद्ध र आन्तरिक उत्पादनमा उपभोग्य वस्तुहरूको अभावलाई जनवादी तवरले सम्बोधन गर्न नसक्दा असन्तुष्टि बढ्यो । सन् १९८९ मा बर्लिनको पर्खाल ढालिएपछि साम्राज्यवादी पश्चिम जर्मनीले यसलाई वस्तुतः निलेर पुँजीवादी पुनस्र्थापना ग¥यो, जसले पूर्वी भागमा व्यापक बेरोजगारी र उद्योगहरूको विनाश निम्त्यायो ।
३. पोल्यान्ड
दोस्रो विश्वयुद्धपछि सन् १९४७ मा पोल्यान्डमा समाजवादी सत्ता स्थापना भयो । पोल्यान्डले द्रुत औद्योगीकरण र युद्धपछिको पुनर्निर्माणमा ठुलो सफलता हासिल गरे पनि त्यहाँ क्याथोलिक चर्च र परम्परागत भूस्वामित्वको प्रभाव पूर्ण रूपमा रूपान्तरण हुन सकेको थिएन ।
सन् १९८० को दशकमा अमेरिकी गुप्तचर संस्था सीआईए र भ्याटिकनको प्रत्यक्ष आर्थिक तथा राजनीतिक सहयोगमा ‘सोलिडारिटी’ ट्रेड युनियनमार्फत प्रतिक्रान्ति सञ्चालन गरियो । आर्थिक सङ्कट र विदेशी ऋणको दबाबमा परेर सन् १९८९ मा पार्टीले सम्झौता ग¥यो र पोल्यान्ड पूर्वी युरोपमा समाजवाद त्याग्ने पहिलो देश बन्यो ।
४. हङ्गेरी
सन् १९४९ मा जनगणतन्त्र बनेको हङ्गेरीमा सन् १९५६ मै पश्चिमी गुप्तचर संस्थाहरूको आडमा प्रतिक्रान्तिकारी विद्रोह भएको थियो, जसलाई सोभियत सहयोगमा नियन्त्रण गरियो । त्यसपछि जानोस कादारको नेतृत्वमा ‘गुलास समाजवाद’ को नाममा व्यापक बजार सुधार, निजी नाफा र पश्चिमा ऋणहरू भित्याइयो ।
यस बजारमुखी नीतिले समाजवादी योजना प्रणालीलाई भित्रैबाट कमजोर बनायो । परिणामस्वरूप सन् १९८९ सम्म पुग्दा पार्टीभित्रैका सुधारवादी पुँजीवादी धारले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्दै पुँजीवादलाई पुनस्र्थापित ग¥यो ।
५. चेकोस्लोभाकिया
सन् १९४८ मा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेपछि चेकोस्लोभाकिया प्राविधिक र औद्योगिक रूपमा पूर्वी युरोपको सबैभन्दा उन्नत समाजवादी मुलुक बन्यो । सन् १९६८ मा अलेक्ज्यान्डर दुब्चेकको नेतृत्वमा ‘मानवीय अनुहारसहितको समाजवाद’ को नाममा बुर्जुवा उदारीकरण (प्राग स्प्रिङ) सुरु भयो, जसलाई वार्सा प्याक्टका सेनाले हस्तक्षेप ग¥यो ।
तर, वैचारिक शुद्धीकरण र जनसहभागिताको अभावका कारण सन् १९८९ को तथाकथित ‘भेल्भेट रिभोल्युसन’ मार्फत पुँजीवाद पुनस्र्थापना भयो र पछि साम्राज्यवादी दबाबमै देश चेक गणतन्त्र र स्लोभाकियामा विभाजित हुन पुग्यो ।
६. रोमानिया
निकोलाई चाउचेस्कुको नेतृत्वमा रहेको रोमानियाले सुरूमा तीव्र औद्योगीकरण गरे पनि पछि सोभियत सङ्घबाट अलग देखिने नाममा सङ्कीर्ण राष्ट्रवाद र पश्चिमा वित्तीय संस्थाहरू (आईएमएफ र विश्व बैङ्क) बाट चर्को ब्याजमा ऋण लिने नीति लियो । विदेशी ऋण तिर्न चाउचेस्कुले जनताको आधारभूत उपभोगमा चरम कटौती गरेपछि व्यापक जनआक्रोश फैलियो ।
सन् १९८९ डिसेम्बरमा पश्चिमी गुप्तचरहरूको सहयोग र सेनाको एक गुटको षड्यन्त्रमार्फत रक्तपातपूर्ण विद्रोह गराई चाउचेस्कु दम्पतीलाई तत्काल गोली हानी हत्या गरियो र समाजवादी राज्य संरचना ध्वस्त पारियो ।
७. बुल्गेरिया
बुल्गेरिया दोस्रो विश्वयुद्धपछि जारशाही अन्त्य गरी सन् १९४६ मा जर्ज दिमित्रोभको नेतृत्वमा समाजवादी गणतन्त्र बनेको थियो । यसले कृषिप्रधान देशलाई आधुनिक कृषि–औद्योगिक अर्थतन्त्रमा बदलेको थियो र यो सोभियत सङ्घको सबैभन्दा भरपर्दो साझेदार थियो । तर, सोभियत सङ्घमा गोर्बाचोभको आत्मसमर्पणवादी नीति हाबी भएपछि सन् १९८९ मा बुल्गेरियाली कम्युनिस्ट पार्टीको नेतृत्वले दबाब झेल्न सकेन र बहुदलीय पुँजीवादी प्रणालीसामु आत्मसमर्पण ग¥यो ।
८. अल्बानिया
एन्भर होक्जाको नेतृत्वमा अल्बानियाले फासीवादी इटालियन र जर्मन सेनालाई कुनै विदेशी सेनाको प्रत्यक्ष उपस्थितिबिना पराजित गरी सन् १९४६ मा समाजवाद स्थापना ग¥यो । अल्बानियाले पहिले युगोस्लाभ, पछि सोभियत र अन्ततः चिनियाँ संशोधनवादको समेत विरोध गर्दै कट्टर माक्र्सवादी–लेनिनवादी धार समात्यो । तर, चरम बाह्य अलगाव, आर्थिक जडता र होक्जाको निधनपछि आन्तरिक सङ्कट गहिरियो र अन्ततः सन् १९९१–९२ मा त्यहाँ पनि पुँजीवादी बहुदलीय व्यवस्था पुनस्र्थापना भयो ।
९. युगोस्लाभिया
मार्शल जोसिप ब्रोज टिटोको नेतृत्वमा नाजीहरूलाई आफैँ लडेर परास्त गरेको युगोस्लाभियाले सोभियत ढाँचाभन्दा फरक ‘श्रमिक स्व–व्यवस्थापन’ को मौलिक बाटो रोज्यो । टिटोले असंलग्न आन्दोलनको नेतृत्व गरे पनि अर्थतन्त्रमा पश्चिमा वित्तीय संस्थाहरूको ऋण र बजार विकृति भित्रियो, जसले विभिन्न गणतन्त्रहरूबिच आर्थिक असमानता जन्मायो ।
टिटोको मृत्युपछि साम्राज्यवादी शक्तिहरू (विशेष गरी जर्मनी र अमेरिका) ले जातीय र धार्मिक द्वेष भड्काए । सन् १९९० को दशकमा भयानक गृहयुद्ध र नाटोको बर्बर बमबारीमार्फत युगोस्लाभियालाई सर्बिया, क्रोएसिया, बोस्निया, स्लोभेनियाजस्ता टुक्रामा विभाजित गरी समाजवाद नामेट पारियो ।
१०. मङ्गोलिया
सन् १९२४ मा दामदिन सुख्बातारको नेतृत्वमा सामन्ती धार्मिक सत्तालाई परास्त गरी सोभियत सङ्घपछिको विश्वको दोस्रो समाजवादी राज्य बनेको मङ्गोलिया जनगणतन्त्रले फिरन्ते पशुपालक समाजबाट आधुनिक शिक्षा, स्वास्थ्य र उद्योगको विकास ग¥यो ।
मङ्गोलियाको अर्थतन्त्र र राजनीति सोभियत सङ्घसँग गहिरो रूपमा जोडिएको थियो । त्यसैले सन् १९९० मा सोभियत सङ्घमा आएको राजनीतिक भूकम्पको प्रत्यक्ष प्रभाव मङ्गोलियामा प¥यो र शान्तिपूर्ण प्रदर्शनहरूको दबाबमा परेर पार्टीले समाजवाद त्यागी पुँजीवादी बजार व्यवस्था अपनायो ।
११. अफगानिस्तान
सन् १९७८ को ‘सौर क्रान्ति’ मार्फत पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तानले सत्ता लिएर प्रजातान्त्रिक गणतन्त्र स्थापना ग¥यो । नूर मोहम्मद ताराकी र पछि नजिबुल्लाहको नेतृत्वमा सामन्ती भूस्वामित्व अन्त्य, महिला अधिकार, निःशुल्क शिक्षा र साक्षरताको ऐतिहासिक अभियान सुरु गरियो ।
तर, अमेरिकी साम्राज्यवादले साउदी अरब र पाकिस्तानसँग मिलेर सामन्ती र धार्मिक अतिवादी ‘मुजाहिद्दीन’ हरूलाई अर्बौँ डलरका हतियार दियो । सोभियत सेनाको फिर्तीपछि पनि नजिबुल्लाह सरकारले केही वर्ष वीरतापूर्वक प्रतिरोध ग¥यो, तर सन् १९९२ मा सरकार ढालियो र अफगानिस्तानलाई भयानक गृहयुद्ध तथा धार्मिक अन्धकारमा धकेलियो ।
१२. दक्षिण येमेन
अरब प्रायःद्वीपको एकमात्र माक्र्सवादी–लेनिनवादी राज्यका रूपमा सन् १९६७ मा बेलायती उपनिवेशवाद र सामन्ती सुल्तानहरूलाई परास्त गरी दक्षिण येमेनको जन्म भयो । यसले कट्टरपन्थी अरब संसारको बिचमा रहेर महिला मुक्ति, धर्मनिरपेक्षता, निःशुल्क शिक्षा र स्वास्थ्य तथा भूमिसुधारको ऐतिहासिक काम ग¥यो । तर, सोभियत सङ्घको पतनसँगै आर्थिक सहारा गुम्नु र आन्तरिक गुटबन्दीका कारण सन् १९९० मा यसले पुँजीवादी उत्तर येमेनसँग एकीकरण ग¥यो, जसको परिणामस्वरूप त्यसपछि भएका गृहयुद्धहरूमा समाजवादी उपलब्धिहरू पूर्ण रूपमा मेटाइए ।
१३. इथियोपिया
सन् १९७४ मा सम्राट हेल सेलासीको शताब्दीयौँ पुरानो सामन्ती शासन अन्त्य गरी मेंगिस्तु हेइले मारियामको नेतृत्वमा ‘डर्ग’ सैन्य परिषद्ले माक्र्सवादी–लेनिनवादी जनगणतन्त्र घोषणा ग¥यो । यसले जमिनको राष्ट्रियकरण र साक्षरतामा ठुलो प्रगति गरे पनि लामो समय चलेको खडेरी, सोमालियासँगको युद्ध र एरिट्रियाली पृथकतावादी द्वन्द्वका कारण देश आर्थिक रूपमा जर्जर बन्यो । सन् १९९१ मा सोभियत सहयोग रोकिएपछि पश्चिमा समर्थित विद्रोही गठबन्धनले मेंगिस्तु सरकारलाई अपदस्थ ग¥यो ।
१४. अङ्गोला
पोर्चुगाली उपनिवेशवादविरूद्ध लामो सशस्त्र सङ्घर्ष गरेर अगस्टिनो नेटोको नेतृत्वमा : एी ले सन् १९७५ मा अङ्गोलालाई स्वतन्त्र बनाई माक्र्सवादी–लेनिनवादी राज्य घोषणा ग¥यो । तर, अमेरिकी साम्राज्यवाद र दक्षिण अफ्रिकाको रङ्गभेदी सत्ताले जोनास साविम्बीको रुयुनिटा’ विद्रोही समूहलाई प्रयोग गरी भयानक गृहयुद्ध थोप¥यो ।
क्युवाली सेनाको ऐतिहासिक सहयोगमा अङ्गोलाले रङ्गभेदी सेनालाई पराजित गरे पनि दशकौँ लामो युद्धले अर्थतन्त्र ध्वस्त बनायो । अन्ततः सन् १९९२ MPL ले बहुदलीय चुनाव स्वीकार गर्दै समाजवाद परित्याग ग¥यो ।
१५. मोजाम्बिक
सन् १९७५ मा समोरा मासेलको नेतृत्वमा FRELIMO ले पोर्चुगालबाट स्वतन्त्रता प्राप्त गरी वैज्ञानिक समाजवादको बाटो लियो । मोजाम्बिकले शिक्षा, स्वास्थ्य र कृषिको सामाजिकीकरणमा तीव्रता दियो र जिम्बाब्वे तथा दक्षिण अफ्रिकाका मुक्ति आन्दोलनहरूलाई आश्रय दियो ।
यसको बदला लिन रोडिसिया र दक्षिण अफ्रिकाको गोरा शासकहरूले रिनामो नामक आतङ्कवादी समूह खडा गरी देशमा बर्बर गृहयुद्ध चलाए । सन् १९८६ मा समोरा मासेलको रहस्यमय विमान दुर्घटनामा मृत्यु भएपछि आर्थिक सङ्कटका कारण सन् १९९० मा मोजाम्बिकले माक्र्सवाद–लेनिनवाद परित्याग ग¥यो ।
१६. कम्बोडिया
सन् १९७५ मा पोल पोलको नेतृत्वमा रहेको खमेर रुजले अमेरिकी समर्थित लोन नोल सत्तालाई परास्त गरी सत्ता कब्जा ग¥यो । तर, पोल पोल गुटले माक्र्सवादको घोर विकृत, गैर–भौतिकवादी र अतिवादी रूप (‘कृषि काल्पनिक समाजवाद’) लागू ग¥यो, जसले सहरहरू खाली गराउने र लाखौँ नागरिकको संहार गर्ने त्रासदी निम्त्यायो ।
सन् १९७९ मा भियतनामी सेनाको सहयोगमा बनेको जनगणतन्त्र कम्बोडियाले देशलाई नरसंहारबाट मुक्त गरी समाजवादी पुनर्संरचनाको प्रयास ग¥यो, तर पश्चिमी शक्तिहरूले खमेर रुजलाई नै समर्थन गरेर गृहयुद्ध लम्ब्याए । सन् १९८९ मा भियतनामी सेना फर्केपछि शान्ति सम्झौतामार्फत राजतन्त्र र पुँजीवाद पुनस्र्थापना भयो ।
(ग) अपदस्थ समाजवादी प्रयासहरू
विश्व इतिहासमा त्यस्ता क्रान्तिकारी उभारहरू पनि रहे, जसले लामो समय राज्य सञ्चालन गर्न नपाए पनि सर्वहारावर्गको मुक्ति आन्दोलनलाई अमूल्य सैद्धान्तिक तथा व्यावहारिक पाठहरू प्रदान गरे । यी प्रयासहरू साम्राज्यवादी क्रूरता र सैनिक कूपमार्फत रक्तपातपूर्ण ढङ्गले दबाइए ।
१. पेरिस कम्युन (फ्रान्स, १८७१)
पेरिस कम्युन मजदुरवर्गले आफ्नै राज्यसत्ता स्थापना गरेको मानव इतिहासकै पहिलो गौरवशाली अनुभव थियो । फ्रान्स–प्रसिया युद्धको सङ्कटका बिच पेरिसका मजदुरहरूले सत्ता हातमा लिएर ७२ दिनसम्म संसारकै पहिलो सर्वहारा राज्य सञ्चालन गरे । कम्युनले स्थायी सेनाको खारेजी, जनताद्वारा निर्वाचित प्रतिनिधिहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन पाउने अधिकार, मजदुरको औसत ज्याला बराबर अधिकारीहरूको तलब र धर्म निरपेक्षताजस्ता नियमहरू लागू ग¥यो ।
कार्ल माक्र्सले ‘फ्रान्समा गृहयुद्ध’ मा विश्लेषण गरेझैँ, कम्युनले पुरानो बुर्जुवा राज्य संयन्त्रलाई जस्ताको तस्तै कब्जा गरेर आफ्नो हितमा चलाउन सकिँदैन, बरु त्यसलाई चकनाचुर पार्नुपर्छ भन्ने पाठ सिकायो । कम्युनले फ्रान्सको केन्द्रीय बैङ्क कब्जा नगर्नु र भर्साइल्समा रहेका प्रतिक्रान्तिकारीहरूमाथि तुरुन्तै निर्णायक सैन्य हमला नगर्नु रणनीतिक कमजोरी बन्यो, जसको फाइदा उठाएर बुर्जुवा सेनाले ३० हजारभन्दा बढी कम्युनार्डहरूको कत्लेआम गरी कम्युनलाई रगतमा डुबायो ।
२. हङ्गेरियन सोभियत गणतन्त्र (१९१९)
प्रथम विश्वयुद्धको अन्त्य र अक्टोबर क्रान्तिको लहरका बिच सन् १९१९ मार्चमा बेला कुनको नेतृत्वमा हङ्गेरीमा सोभियत गणतन्त्र घोषणा गरियो । यो सोभियत सङ्घबाहिर युरोपमा स्थापित पहिलो कम्युनिस्ट सत्ता थियो । यसले उद्योग, बैङ्क र ठुला जमिनहरूको राष्ट्रियकरण ग¥यो र आठघण्टे कार्यदिन लागू ग¥यो ।
तर, सामाजिक–प्रजातान्त्रिकहरूसँग गरिएको अराजनीतिक सम्झौता, किसानहरूलाई जमिन वितरण नगरी सिधै राज्य नियन्त्रणमा लैजाने सैद्धान्तिक त्रुटि र रोमानियाली साम्राज्यवादी सेनाको प्रत्यक्ष आक्रमणका कारण यो क्रान्तिकारी सत्ता १३३ दिनमै ढल्यो र हङ्गेरीमा श्वेत आतङ्क सुरु भयो ।
३. चिली (१९७०–१९७३)
ल्याटिन अमेरिकामा निर्वाचनको माध्यमबाट शान्तिपूर्ण रूपमा समाजवाद निर्माण गर्ने ऐतिहासिक प्रयोग साल्भाडोर एलेन्डेको नेतृत्वमा भएको थियो । ‘पपुलर युनिटी’ गठबन्धनमार्फत राष्ट्रपति बनेका एलेन्डेले तामा खानीहरूको राष्ट्रियकरण, भूमिसुधार र मजदुरहरूको तलब वृद्धि गरे ।
तर, यो समाजवादी प्रयोगलाई अमेरिकी एकाधिकार पुँजी र बहुराष्ट्रिय कम्पनीहरूले स्वीकार गरेनन् । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र हेनरी किसिन्जरको प्रत्यक्ष निर्देशनमा सीआईएले चिलीको अर्थतन्त्र अस्तव्यस्त बनायो र सेप्टेम्बर ११, १९७३ मा जनरल अगस्टो पिनोसेको नेतृत्वमा फासीवादी सैनिक कूप गरायो ।
एलेन्डे राष्ट्रपतीय भवनको रक्षा गर्दै सहिद भए । त्यसपछि हजारौँ कम्युनिस्टहरूको हत्या गरियो र चिलीलाई नवउदारवादी पुँजीवादको क्रूर प्रयोगशाला बनाइयो, जसले बुर्जुवा राज्यको सेना र न्यायालयलाई नभत्काई समाजवाद सुरक्षित हुन सक्दैन भन्ने लेनिनवादी निष्कर्षलाई पुनः पुष्टि ग¥यो ।
४. निकारागुआ (१९७९–१९९०)
सन् १९७९ मा अगस्टो सेसार सान्दिनोको विचारबाट प्रेरित ‘सान्दिनिस्टा राष्ट्रिय मुक्ति मोर्चा’ ले अमेरिका समर्थित सोमोजाको क्रूर पारिवारिक तानाशाहीलाई सशस्त्र क्रान्तिमार्फत उखेलेर फाल्यो । सान्दिनिस्टाहरूले साक्षरता अभियान, निःशुल्क स्वास्थ्य र जमिनको पुनर्वितरणमा अभूतपूर्व काम गरे ।
तर, अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले निकारागुआको समाजवादी सत्तालाई ध्वस्त पार्न ‘कन्ट्रा’ नामक भाडाका आतङ्कवादीहरूलाई आर्थिक र सैन्य सहयोग दिएर रक्तपातपूर्ण युद्ध थोपरे । एक दशक लामो नाकाबन्दी, युद्ध र आर्थिक क्षतविक्षतका बिच सन् १९९० को आम निर्वाचनमा जनता युद्धको अन्त्य चाहँदै दक्षिणपन्थी गठबन्धनतर्फ आकर्षित भए र सान्दिनिस्टाहरू पराजित भए । यद्यपि पछि उनीहरू शान्तिपूर्ण राजनीतिबाट पुनः सत्तामा फर्किए ।
५. ग्रेनाडा (१९७९–१९८३)
क्यारेबियन टापु ग्रेनाडामा सन् १९७९ मा मौरिस बिशपको नेतृत्वमा ‘न्यू ज्वेल मुभमेन्ट’ ले रक्तपातहीन क्रान्तिमार्फत समाजवादी जनक्रान्तिकारी सरकार स्थापना ग¥यो । बिशप सरकारले क्युवाको सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थल, निःशुल्क स्वास्थ्य, शिक्षा र महिला अधिकारका क्षेत्रमा ठुलो फड्को मा¥यो ।
तर, पार्टीभित्र बिशप र उपप्रधानमन्त्री बर्नार्ड कोर्ड गुटबिच चरम वैचारिक तथा व्यक्तिगत विवाद चर्कियो, जसको परिणामस्वरूप सन् १९८३ अक्टोबरमा बिशपको हत्या भयो । यो आन्तरिक विभाजनको फाइदा उठाउँदै अमेरिकी सेनाले ‘अपरेसन अर्जेन्ट फ्युरी’ मार्फत ग्रेनाडामाथि प्रत्यक्ष सैन्य आक्रमण ग¥यो र समाजवादी प्रयोगलाई पूर्ण रूपमा समाप्त पारिदियो ।
६. बुर्किना फासो (१९८३–१९८७)
‘अफ्रिकाका चे ग्वेभारा’ मानिने थोमस साङ्काराको नेतृत्वमा सन् १९८३ मा पश्चिम अफ्रिकी मुलुक अपर भोल्टामा क्रान्ति भयो, जसको नाम बदलेर ‘इमानदार मानिसहरूको देश’ (बुर्किना फासो) राखियो । साङ्काराले साम्राज्यवादी ऋण र सहायता बहिष्कार गर्दै चार वर्षभित्रै खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाए, २५ लाख बालबालिकालाई एकै हप्तामा खोप लगाए, महिला हिंसा र बहुविवाहविरुद्ध कडा कानुन बनाए तथा सहारा मरुभूमिको विस्तार रोक्न १ करोड रुख रोपे । उनले मन्त्रीहरूका विलासी गाडी खोसेर सबैभन्दा सस्तो गाडी चढ्न बाध्य पारे ।
तर साङ्काराको यो क्रान्तिकारी उभार फ्रान्सेली नव–उपनिवेशवाद र स्थानीय दलाल पुँजीपतिहरूका लागि सह्य भएन । सन् १९८७ मा फ्रान्सको समर्थनमा उनकै निकट सहयोगी ब्लेज कम्पाओरेले साङ्काराको निर्मम हत्या गरी सैनिक कूपमार्फत प्रतिक्रान्ति सम्पन्न ग¥यो ।
७. कङ्गो जनगणतन्त्र (१९६९–१९९२)
अफ्रिकाको कङ्गोमा मारिएन न्गुआबीको नेतृत्वमा सन् १९६९ मा माक्र्सवादी–लेनिनवादी जनगणतन्त्र घोषणा गरियो । कङ्गोली लेबर पार्टीको नेतृत्वमा उत्पादनका साधनको राष्ट्रियकरण र सोभियत सङ्घ तथा चीनसँग घनिष्ठ सम्बन्ध कायम गरियो ।
सन् १९७७ मा न्गुआबीको हत्यापछि पनि व्यवस्था जोगिए तापनि कच्चा तेलको मूल्यमा आएको गिरावट, फ्रान्सेली एकाधिकार पुँजीको निरन्तर आर्थिक दबाब र सोभियत विघटनको प्रभावले गर्दा सन् १९९२ मा देशले माक्र्सवाद परित्याग गरी बहुदलीय पुँजीवादी प्रणाली अङ्गीकार ग¥यो ।
८. बेनिन जनगणतन्त्र (१९७५–१९९०)
सन् १९७२ मा सत्तामा आएका म्याथ्यु केरेकुले सन् १९७५ मा बेनिनलाई माक्र्सवादी–लेनिनवादी जनगणतन्त्र घोषणा गरे । बैङ्किङ र तेल उद्योगहरूको राष्ट्रियकरण गरियो भने विद्यालयहरूमा माक्र्सवादी शिक्षा अनिवार्य गरियो ।
तर, पश्चिमी अफ्रिकामा फ्रान्सेली मुद्रा नियन्त्रण, कमजोर औद्योगिक आधार र सन् १९८० को दशकको उत्तराद्र्धमा आएको गम्भीर बैङ्किङ सङ्कटले गर्दा सरकार टाट पल्टियो । अन्ततः कर्मचारीलाई तलब खुवाउन नसक्ने स्थिति आएपछि फ्रान्स र विश्व बैङ्कको दबाबमा सन् १९९० मा केरेकुले समाजवाद त्यागेर पुँजीवादी व्यवस्था पुनस्र्थापित गरे ।
विश्वमा समाजवादको उदय, पतन र निरन्तरताको यो समग्र द्वन्द्वात्मक इतिहासले अन्तर्राष्ट्रिय सर्वहारावर्गलाई केही आधारभूत सैद्धान्तिक शिक्षाहरू प्रदान गरेको छ ।
पहिलो, समाजवाद केवल वितरणको समानतामा टिक्न सक्दैन; जबसम्म उत्पादक शक्तिहरूको द्रुत विकास गरेर जनताको भौतिक तथा सांस्कृतिक जीवनस्तर उकासिँदैन तबसम्म पुँजीवादी उपभोक्तावादको खतरा रहिरहन्छ । चीन र भियतनामले यही ऐतिहासिक नियम आत्मसात् गरी बजार संयन्त्रलाई राज्यको कडा नियन्त्रणमा परिचालन गरेर समाजवादलाई बचाइराखे ।
दोस्रो, समाजवादी राज्यको पतन बाह्य सेनाभन्दा बढी पार्टीभित्र हुर्किने नोकरशाहीकरण र संशोधनवादबाट हुन्छ । लेनिनवादी जनवादी केन्द्रीयता कमजोर हुँदा पार्टी जनताबाट काटिन्छ र बुर्जुवा वर्ग पार्टीभित्रै जन्मन्छ ।
तेस्रो, प्रतिक्रियावादी शासकवर्गले स्वेच्छाले सत्ता कहिल्यै छोड्दैन; चिली र पेरिस कम्युनको अनुभवले बुर्जुवा राज्य संयन्त्रलाई नभत्काई र सर्वहारावर्गको दृढ प्रतिरक्षा प्रणाली निर्माण नगरी समाजवाद सुरक्षित हुन सक्दैन भन्ने पाठ सिकाएको छ ।
आज पुँजीवाद पुनः भयानक संरचनात्मक सङ्कट, वातावरणीय विनाश, चरम असमानता र साम्राज्यवादी युद्धहरूको चक्रव्युहमा फसेको बेला बीसौँ शताब्दीका यी ऐतिहासिक अनुभवहरू एक्काइसौँ शताब्दीको वैज्ञानिक समाजवाद निर्माणका लागि अपरिहार्य मार्गदर्शक हुन् ।
– लोकपाटी
Leave a Reply