भर्खरै :

भ्रष्टाचारीहरूको फाइल कहिलेदेखि खोल्ने ?

भ्रष्टाचारीहरूको फाइल कहिलेदेखि खोल्ने ?

हरेक सरकारले जनताको प्रतिबद्धता पूरा गर्ने बाचा गर्छ । तर, बाचा पूरा नहुँदै नयाँ सरकार गठन हुन्छ । कहिले सरकारको समयावधि पूरा नहुँदै सरकार फेरिएको हुन्छ भने कहिले निर्वाचनपछि अर्को सरकार बन्छ । सरकारको नेतृत्व जति फेरिए पनि जनताको चाहना पूरा हुँदैन या जनताको समस्या समाधान हुँदैन । जनतालाई आशा मात्र देखाएर सत्तारुढ दलले सरकारको नेतृत्व गर्ने भर्याङ मात्र बनाएर आफ्नो दलगत स्वार्थ पूरा गरिरहे ।
सरकारले सार्वजनिक गरेको वाचा पूरा गर्ला भन्ने विश्वास जनतामा थियो । सरकार जनताको इच्छा पूरा गर्ने आशाको केन्द्र त बन्यो । तर, त्यो आशा ‘आकाशको फल आँखा तरी मर’ जस्तै भइरह्यो । सारमा, जनमतको अपमान र विश्वासघात भयो । प्रतिनिधिसभाको निर्वाचनताका र निर्वाचनपछि बनेको रास्वपाका नेता र मन्त्रीहरूले देशका सबै भ्रष्टाचारीको फाइल एक एक गरी खोल्ने र भ्रष्टाचारीमाथि कारबाही गर्ने बाचा गरेका थिए । नेता र मन्त्रीहरूको बाचा सुन्दा साँच्चै रास्वपाको सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ला भन्ने जनताले विश्वास गरेका थिए । तर, सरकारको त्यो विश्वास बाचामा मात्र सीमित भयो । सत्तारुढ दलका नेताहरूले बाचा गरेर पूरा नगरेका कारण जनता आजित भइसकेका छन् । जति जोगी आए पनि कानै चिरेको जस्तो सरकार देखेर जनता वाक्कदिक्क भइसकेका छन् ।
जनताले प्रश्न गर्न थालेका छन्, सरकारमा गएर भ्रष्टाचारीलाई छानीछानी समातेर जेल कोच्ने सरकारको बाचा खोइ ? उनीहरूको सम्पत्ति जफत गरेर देश र जनताको हितमा लगाउने सरकारी बाचा कसले उडायो ? भ्रष्टाचारीहरूको फाइल कहिलेदेखि खोल्ने हो ? राजनीति गरेर सत्तामा जाने, सत्तामा गइसकेपछि राजनीति गर्न नपाइने या राजनीति गरेमा कारबाहीमा पर्ला भनेर चेतावनी दिने कस्तो द्वैधचरित्र ? रोजगारीका लागि विदेसिने युवाहरूको सङ्ख्या कम छैन । युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना खोइ ? सरकारले सन्तुलित विकासको अवधारणा ल्याएर के रोजगारीको बन्दोबस्त गर्नु पर्दैन ? आवश्यकताअनुसार उद्योग, कलकारखाना खोलेर, बन्द भएका उद्योग सञ्चालन गरेर स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नुपर्दैन ? के जनतालाई सधैँ भोट बैङ्क मात्र बनाउने ? देशको ठुलो दक्ष जनशक्ति बाहिरिनु राम्रो होइन । देशका दक्ष, प्राविधिक, प्राज्ञिक व्यक्तिहरू किन बिदेसिरहेका छन् ? डाक्टर, नर्स, इन्जिनियर तथा अन्य विज्ञहरू किन बाहिरिएका हुन् ? लाखौँ रकम खर्च गरेर कुनै न कुनै विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू विदेश पठाएर के नेपाल र नेपालीको सेवा हुन्छ ? नेपालमा पढेर विदेशमा सेवा गर्ने प्रवृत्तिलाई हतोत्साही गर्नुपर्छ । यसको निम्ति विदेशमा सेवा गरिरहेका व्यक्तिहरूलाई नेपालमै सेवा गर्ने सुनिश्चित अवसर प्रदान गरेर स्वदेशमा फर्कने वातावरण तयार गर्नुपर्छ । सरकारको अदूरदर्शी नीति, निर्णय र बेवास्ताको कारण देशको जनशक्ति बाहिरिएको हो । हिजो सरकारको यस्तै कमजोरी र गलत निर्णयप्रति असन्तुष्ट भएरै भदौ २३ र २४ गतेको घटना भएको हो । पुरानो सरकार फेरिएर नयाँ सरकार बनेपछि फेरि त्यही कमजोरी र गल्ती दोहोरिरह्यो भने देशले विकासमा कसरी फड्को मार्छ ? यसकारण, शासकहरूको सोच र प्रवृत्तिमा परिवर्तन हुनुपर्छ । अनि मात्रै जनताले सुखको श्वास फेर्न पाउँछन् । पहिलेझैँ सरकारले दम्भ देखाएर, बहुमतको अहङ्कार गरेर दलगत र व्यक्तिगत स्वार्थमा सरकार र सत्तासीन दल केन्द्रित भयो भने माछा माछा भ्यागुतोबाहेक अर्को हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *