भर्खरै :

दसैँको समय रचनात्मक कार्यमा केन्द्रित हुनुपर्छ

दसैँको समय रचनात्मक कार्यमा केन्द्रित हुनुपर्छ

काठमाडौँ, २१ असोज । दसैँ नजिकिएसँगै जनजीवनमा चहलपहल बढ्नु स्वाभाविक हो । घर, कार्यालय, कारखाना सफा गरी सिङ्गार्ने, मर्मत सम्भार गर्ने, राम्रो लुगा लगाउने, गहना किन्ने र लाउने काममा पनि मानिसहरू क्रियाशील हुन थालेका छन् । मानिसहरू व्यस्त र क्रियाशील भइरहेकै समयमा महँगी मात्र होइन चोरीचकारी पनि बढेको छ । सजाउने नाउँमा गहना लाएर भिडमा जाँदा गहना चोर्ने धेरै सम्भावना हुन्छ । यतातर्फ हरेक नागरिक सचेत हुनुपर्छ ।
चाडमा तुलनात्मक रूपमा किनमेल बढेको हुन्छ । पसलेहरूले बिकाउने नाममा कुहेको, म्याद नाघेको या गुणस्तरहीन खाद्यान्न तथा अन्य वस्तुहरू बिक्री गर्ने सम्भावना हुन्छ । यसतर्फ उपभोक्ताहरू पनि सचेत हुनुपर्छ । चाडपर्वमा मनोरञ्जन गर्नुपर्छ; प्रतिस्पर्धा गर्नुपर्छ† अरुको अगाडि इज्जत राख्नुपर्छ भनेर अनावश्यक खर्च गर्नु बुद्धिमानी होइन । चाडपर्व मनाउँदा आम्दानीअनुसारको योजना बनाएर खर्च गर्नुपर्छ । घाँटी हेरी हाड निल्नुपर्छ । देखासिकी र प्रतिस्पर्धाको लागि ऋण लिएर अनावश्यक खर्च गर्नु पनि उचित होइन । आफूलाई आवश्यकताअनुसार मात्र सरसामान खरिद गर्ने बानी बसाल्नुपर्छ ।
चाडपर्वमा रामाइलो गर्नुपर्छ† रसरङ्ग गर्नुपर्छ भनेर अनावश्यक भड्किलो गर्ने र खर्चिलो बनाउने काम नगर्दा उचित हुन्छ । मितव्ययिता अपनाई परिवारको आर्थिक स्थायित्व कायम गर्नुपर्छ । सामान खरिद गर्दा स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ । मोजमजा गर्ने, रमाउने, खाने यही मौका हो भनेर हरेक दिन मासु खाँदा चिल्लो र प्रोटिन बढ्न सक्छ । दिमाग फेस गर्नुपर्छ, दुःख बिर्सनुपर्छ भनेर अत्यधिक जाँड रक्सी सेवन गर्ने काम रोक्नुपर्छ ।
दसैँमा मनोरञ्जन गर्नुपर्छ; साथी भाइ खेल्नुपर्छ भनेर जुवा तास खेल्ने युवाहरूको सङ्ख्या पनि कम छैन । जुवा तास खेलेरै वर्षदिनको आम्दानी सकाउने युवाहरूकै कारण घरमा झगडा भएको, परिवारका सदस्याहरूबिच सम्बन्ध विच्छेद भएको घटना पनि बेलाबखत सुनिएको छ । जुवा तास खेलिरहेकै ठाउँमा प्रहरी पुगेर पक्राउ परेको र भएभरको पैसा प्रहरीले जफत गरेको घटना पनि विगतमा भएको थियो । चाडपर्वको खुसी खर्चको प्रतिस्पर्धा होइन आत्मीयता र सद्भावमा बाँड्नुपर्छ ।
दसैँमा रचनात्मक काममा समय बिताउनुपर्छ । सफाइ अभियान, पुस्तकबारे अन्तरक्रिया, देश विदेशको विषयमा छलफल गरेर आफ्नो व्यक्तित्व विकास गर्ने, सांस्कृतिक स्तर उठाउने, जनताको समस्या बुझ्ने र साथ दिने काममा समाजसेवी, राजनीतिक कार्यकर्ता, युवाहरू सक्रिय हुनुपर्छ । युवाहरू रचनात्मक कार्यमा जनचासोका साथ अघि बढ्नु राम्रो हो । तर, उनीहरूको विचार खोटो भयो भने जनताले दुःख पाउँछन् । युवाहरू गलत बाटोमा लागे समाज नै पछि पर्छ । यसकारण, युवाहरू सिद्धान्त र विचारको आधारमा सक्रिय हुनुपर्छ । सिद्धान्त र विचार पन्छाएर युवाहरू जोशिला, जाँगरिला हुन्छन् भनेर अन्ध समर्थन गर्दै हिँड्नु राम्रो होइन । कति पढे लेखेकाहरू पनि कुनै दलले बहुमत पाएको आधारमा त्यो दल नै ठीक छ भनी लागेका छन् । कुनै दल बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्दैमा त्यो दल सही हुने र हारेको दल गलत हुने भाष्य कसैले तय गर्नु हुँदैन । दलले प्राप्त गर्ने मत समयअनुसार थपघट हुन सक्छ; भइरहेको छ । मतको आधारमा त्यही दल कहिले सही र कहिले गलत हुन सक्दैन । कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गरेर राजनीति गरेको छ, त्यसमा भरपर्छ ।
युवा, विद्यार्थीहरू दलको सिद्धान्त र विचार राम्रोसँग बुझेर मात्र लाग्नुपर्छ । कसैको लहैलहैमा आँखा चिम्लेर राजनीतिमा हामफाल्नु उचित होइन । दलको नेतृत्व युवाले भन्दा विचारले गर्ने हो । युवाहरूले देश बुझ्नुपर्छ; उनीहरू बाटो देखाउने अगुवा हुनुपर्छ; विकृति, विसङ्गति हटाउन अग्रसर हुनुपर्छ† समाज सेवामा लाग्ने र कुनै पनि सङ्कटको बेला अघि सर्नुपर्छ । कुनै देशमाथि हुने आक्रमण, हस्तक्षेप, दबाबको विरोधमा उत्रनुपर्छ । यो चाडलाई यसरी एकले अर्कोलाई सिकाउने, सिक्ने अवसरको रूपमा उपयोग गर्नुपर्छ ।
दसैँ परिवारका सदस्यहरूबिच भेटघाट हुने; साथीभाइबिच शुभकामना आदान–प्रदान गर्ने पर्व पनि हो । आफ्नो संस्कृति मान्ने, बचाउने र नयाँ पुस्तामाझ अवगत गराउने समय पनि हो दसैँ । यो दसैँमा आ–आफ्नो स्थानमा विभिन्न मेला र उत्सव हुन्छ । दसैँमा हुने उत्सव र मेलालाई विज्ञान सम्मत ढङ्गले मनाउनुपर्छ । देखासिकी गर्ने, उत्पात मच्चाउने, झैझगडा गरेर शान्ति बिथोल्ने, अनुशासन भङ्ग गर्दै उपद्रो गर्ने काम गर्नु हुँदैन । आतङ्क फैलाएर, दङ्गा मच्चाएर संस्कृतिले जीवन्तता पाउँदैन । दसैँ कसैको दशा नहोस् । दसैँमा सबैको शुभ होस् आफूले गरेको रचनात्मक काममा सफलता मिलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *