भर्खरै :

प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा

  • मंसिर २०, २०८१
  • श्याममदन केसी
  • विचार
प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्राचीनकालीन इतिहासमा टोखा प्रख्यात सहरका रूपमा रहेको तथ्यलाई त्यहाँ प्राप्त भएको संवत् ५१९ शिवदेव–अंशुवर्माको अभिलेखबाट स्पष्ट हुन्छ । यस अभिलेखको अध्ययनले प्राचीनकालमा यो स्थान एक व्यवस्थित सहरको रूपमा विकसित भएको देखिन्छ । धनवज्र बज्राचार्यले उतार गर्नुभएको अभिलेखमा शिवदेव र अंशुवर्माले टोखामा राखेको अभिलेखमा काठमाडौँ–उपत्यकाको उत्तरी भेगमा धर्मस्थलीको हाराहारी टोखा नामक प्रसिद्ध बस्ती रहेको विश्लेषण गरिएको पाइन्छ । यस सन्दर्भले लिच्छविकालमा सहरलाई टोखा नामले पुकारिन्थ्यो भन्ने पुष्टि गर्छ । यस अभिलेखमा ‘तिलमक’ र ‘गुल्म’ जस्ता शब्द प्रयोग गरिएको छ । बज्राचार्यले तिलमक शब्दलाई किरातकालीन शब्द भएको उल्लेख गर्नुभएको छ । यसले त्यसताका टोखाले कृषि क्षेत्रमा निकै अन्न उत्पादन गर्ने गरेको देखिन्छ । त्यसैगरी, अर्को शब्द गुल्मले त्यस समयमा टोखा एउटा किल्लाको रूपमा रहेको पाइन्छ ।
त्यतिबेला उत्तरतिरबाट भइरहने आक्रमणबाट कान्तिपुरलाई सुरक्षित राख्नका लागि टोखालाई चारैतिरबाट पर्खालले घेरी बलियो किल्ला बनाएको देखिन्छ । प्रताप मल्लले भीम मल्ललाई टोखाको बाटो गरी तिब्बत क्षेत्रको राज्य विस्तार गर्न पठाएको चर्चा पाइन्छ । यसले आफ्नो पराक्रमले तिब्बतलाई कान्तिपुरी राज्यको अगाडि झुकाएर नेपालको हितमा महत्वपूर्ण सन्धि गरेका थिए । स्थानीयका भनाइअनुसार टोखाको बाटो हुँदै प्राचीनकालमा व्यापारीहरू टोखा, नुवाकोट, रसुवा हुँदै केरुङ जाने गरेको बताइन्छ ।
टोखा प्राचीनकालमा चाकुका लागि निकै प्रसिद्ध रहेको थियो । नेपालभाषामा ‘तु’ को अर्थ उखु, ‘ख्य’ को अर्थ फल्ने स्थानका रूपमा परिभाषित गरिएको छ । आजसम्म टोखाको चाकुलाई मौलिक र विशिष्ट चाकुका रूपमा लिने गरिएको देखिन्छ । यसअनुसार यो क्षेत्रको नामकरणको ‘तुख्य’ बाट अपभ्रंश हुँदै टोखा रहन गएको विश्वास अझै ताजा छ । लिच्छविकालमा ‘खा’ प्रत्यय लागेका स्थाननाम शब्दहरू पाइन्छन् ती ‘खा’ संस्कृत भाषा नभएर तिब्बती वर्मन हुन् । यस्ता प्रत्यय नेवारी भाषामा अहिले पनि प्रयोग हुने गर्दछ ।
उपत्यकामा अरू पनि ‘खा’ प्रत्यय लागेका स्थाननाम शब्दहरू छन् । यट्खा, प्युखा आदि अझै पनि प्रचलित स्थानका रूपमा रहेका छन् । कतिपय संस्कृतिविद्ले यस स्थानमा प्राचीनकालमा अत्यधिकरूपमा उखु पाइने हुनाले त्यसको नाम ‘तुखा’ रहेको र नेवारहरूले आफ्नो बोलीचालीको उच्चारणमा ‘त’ लाई ‘ट’ भन्ने गरेको हुँदा उच्चारण गर्न सजिलोका लागि तोखाबाट पछि अपभ्रंश भएर टोखा हुन गएको भन्ने चर्चा पनि पाइन्छ । यहाँ उखु उत्पादन हुने भएकोले नेवारी भाषामा यसको नाम ‘तुखा’ बाट पछि गएर ‘टोखा’ रहन गएको भन्ने भनाइ छ ।
एक अर्को किंवदन्तीअनुसार प्राचीनकालमा यो गाउँ एक सहरका रूपमा रहेको हुँदा त्यस समयमा ‘टो’ नाम गरेको एउटा ‘ख्याक’ (राक्षस) ले मानिसलाई दुःख दिई हैरान बनाएको थियो । एक तान्त्रिकको सहयोगमा त्यो दुष्ट ख्याकलाई मारिएको हुँदा त्यही ‘टो’ शब्द पछि गएर टोखा हुन गएको भन्ने जनश्रुति छ । त्यसैगरी, मध्यकालमै टोखालाई लक्ष्मीपुर पनि भनिएको पाइन्छ । मध्यकालमा टोखा एउटा सामरिक स्थलका रूपमा पनि प्रसिद्धि पाएको देखिन्छ । यसको उल्लेख सर्वप्रथम नेपाल संवत् ३७५ मा गरिएको छ ।
त्यहाँ जयदेवले किल्लामा रहेको सुन लुटेको हुँदा टोखा र नेपी किल्लाहरूले विद्रोह गरेको समेत उल्लेख गरिएको पाइन्छ । यसबाट मध्यकालको पूर्वाद्र्धमा टोखा एउटा बलियो किल्लाका रूपमा प्रतिस्थापित भएको देखिन्छ । उपत्यकाका चारैतिर होचा पहाडमा किल्लाका अवशेष भएको र ती किल्लाका चारैतिर खाई र ढिस्का देखेको कुराको वर्णन गरिएको छ । उपत्यकाका चाँगुनारायण, स्वयम्भू, बज्रयोगिनी, पशुपतिनाथ आदि देवस्थलहरू वनगढका रूपमा प्राचीनकालदेखि नै रहेका छन् । यी तथ्यहरूबाट टोखाको बस्ती मध्यकालको पूर्वाद्र्धभन्दा अगाडि नै बसेको कुरालाई पुष्टि गर्दछ । गोपाल वंशावलीमा नेपाल संवत् ३७४ आश्विनमा जयदेवले टोखाको किल्लाको सुन लुट्न आउँदा नेपी क्वाठ र टोखा क्वाठ किल्लाहरूले विद्रोह गरी धपाएको उल्लेख छ । त्यसैगरी, नेपाल संवत् ४४६ मा पशुपति मल्ल टोखामा गएर बसेका थिए भनिन्छ । त्यसैगरी, नेपाल संवत् ४६० पुसमा भएको विद्रोहमा गोपालदेवको हत्या गरिएको थियो । नेपाल संवत् ४७८ मङ्सिरमा नुवाकोटका एक प्रसिद्ध भारदार जुतपाल त्यहाँबाट निष्कासित हुँदा टोखामै शरण पर्न आएको देखिन्छ ।
टोखाले विसं १८२२ जेठमा कुनै प्रतिकार नगरी पृथ्वीनारायण शाहसँग मिल्न गएकाले कान्तिपुर राज्यअन्तर्गतको टोखा प्रदेश गोरखा अधिराज्यमा विलीन भएको ऐतिहासिक तथ्य पाइन्छ । मध्यकालको पूर्वाद्र्धका समयमा घटेका विभिन्न घटनाले टोखा विद्रोहीहरूको शरणस्थलका रूपमा चर्चित मानिन्थ्यो । लिच्छविकालमा नै टोखाका रूपमा प्रसिद्ध कमाएको टोखालाई मध्यकालको उत्तराद्र्धका प्राप्त भएका दुई दर्जनभन्दा बढी अभिलेखमा ‘तोखा देश’, ‘टोखा ग्राम’ ‘जयपुरी देश’, ‘जयपुरी नगर’ र ‘लक्ष्मीपुर’ भनेर उल्लेख गरिएको देखिन्छ ।
मध्यकालमा कुनै एउटा प्रदेशको नाम जनभाषा र संस्कृत भाषामा बेग्लाबेग्लै राखिने प्रचलन रहेको थियो । त्यसको आधारमा टोखाको नामकरण जनभाषामा टोखा र संस्कृतिमा जयपुर रहेको भनी ऐतिहासविद् टेकबहादुर श्रेष्ठले विश्लेषण गर्नुभएको छ । प्रचलित किंवदन्तीअनुसार एक दिन एक भिक्षु भिक्षा माग्दै हिँड्ने क्रममा उनले अपेक्षा गरेको भन्दा अधिक अन्न यहाँका बासिन्दाले दान दिएछन् । यसबाट अत्यन्त खुसी भएका भिक्षुले यस गाउँका सम्पूर्ण मानिसको निवासमा लक्ष्मीले बास गरून् भनेर सदिच्छा व्यक्त गरेका हुनाले यसै समयदेखि यस गाउँलाई ‘लक्ष्मीपुर’ नाउँले चिन्न थालिएको हो भन्ने भनाइ पनि पाइन्छ । शाहकालमा आउँदासमेत टोखाले महत्वपूर्ण स्थलको रूपमा रहेको देखिन्छ ।
टोखाका अमूल्य सम्पदाहरू : टोखा सरस्वती र टोखा चण्डेश्वरीमा लिच्छविकालीन, मध्यकालीन र शाहकालीन समयमा समेत महत्वपूर्ण राजनीतिक भूमिका निर्वाह गरेको देखिन्छ । यसरी नै विभिन्न समयमा मानव निर्मित सांस्कृतिक सम्पदाहरूको निर्माण यहाँ भएको पाइन्छ । यहाँ विशेषगरी शैव, शाक्त, वैष्णव र बौद्धलगायतका विभिन्न धार्मिक सम्प्रदायअन्तर्गतका मठमन्दिर, ढुङ्गेधारा, पाटीपौवा, डबली, विभिन्न अभिलेखलगायत भौतिक सांस्कृतिक सम्पदाहरू रहेका छन् । यहाँ नेपालको सनातन धार्मिक एवं बौद्ध परम्परामा स्थान, सम्मान र महत्व पाएका ३३ कोटी देवीदेवतासँग गाँसिएको धार्मिकस्थलहरू रहेका छन् । त्यसरी नै नेपालमा मण्डलका चौसठी शिवलिङ्गमध्ये चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णेश्वर यसै क्षेत्रमा पर्ने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । वर्तमान अवस्थामा धर्मेश्वर बुढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर गोकर्णमा क्षेत्रमा रहेको छ । यी दुवै शिवलिङ्गलाई टोखाको सुप्रसिद्ध तीर्थका रूपमा नेपाल महात्म्यले चिनाएको देखिन्छ । हिमालयको पुत्री पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न टोखाको पिण्डारक तीर्थमा नुहाई चण्डिकेश्वर महादेवको पूजा तथा आराधना गरेको स्वस्थानी व्रतकथामा चर्चा गरिएको छ ।
टोखा प्रशासनिक एकाइका रूपमा रहेकाले जीवित गणेश–कुमारी, तलेजु भवानी, चण्डेश्वरी भगवती, सपनतीर्थ, सङ्कटामाई (मसानकाली), माथिल्लो सिद्धि गणेश, तल्लो क्वोथु गणेश रहेका छन् । त्यसैगरी, नारायणको मन्दिर, सरस्वती मन्दिर, रुद्रेश्वर महादेव, नाटेश्वरी, तलेजु भवानीको मन्दिर, भीमसेनको मूर्ति, बज्रयोगीनी देवी, लल बुद्धको मूर्ति र पच्चबुद्धका मूर्तिहरू रहेका छन् । यसरी नै थनेलाछीको डबली, कोनेलाछीको डबली, ढुङ्गेधाराहरू, जलद्रोणी, गणेश पोखरी, नारायण पोखरी, इनार, कुवा, पाटी, पौवाहरू अझै अस्तित्वमा छन् । यहाँ प्राचीनकालीन प्रवेशद्वारलगायत टोखाको चारैतर्फ अन्य पाँचवटा प्रवेशद्वार रहेका छन् । यहाँ किराती राजा यलम्बरको पूजा गर्ने परम्परा अझै कायम रहेको पाइन्छ । यहाँको मौलिक सांस्कृतिक सम्पदाका रूपमा चाकु उत्पादन अझै प्रसिद्ध रहेको छ ।
यहाँ रहेका अभौतिक सम्पदाहरूमा घण्टाकर्ण जात्रा, चाकु निर्माण प्रविधि, गाईजात्रा, नागपञ्चमी, कृष्णाष्टमी, इन्द्रजात्रा, दसैँ, तिहार, तलेजुको पूजा, बालाचतुर्दशी, योःमरी पुन्ही, माघेसङ्क्रान्ति, स्वस्थानी व्रत, शिवरात्रि, फागु पूर्णिमा, लिङ्गो गाड्ने, बिस्केट जात्रा, लाखे नाच, बाँदर नाच, मयूर नाच, नाग–नागिनी नाच, कुमारी जात्रा तथा नेपाल संवत् उत्सवका रूपमा मनाउने गरिएको छ । यहाँको प्रसिद्ध जात्राका रूपमा बिस्केट जात्रालाई लिइने गरिएको देखिन्छ । वैशाख १ देखि ५ गतेसम्म सातवटा देवीदेवतालाई खटमा राखी टोखा नगर परिक्रमा गराउने परम्परा अहिले पनि छ ।

सङ्कटापन्न सांस्कृतिक सम्पदाहरूको संरक्षण
टोखामा रहेका भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरू सङ्कटापन्न स्थितिमा रहेका छन् । कतिपय सम्पदाहरू संरक्षणको अभावमा लोप हुने स्थितिमा पुगेका छन् । नयाँ पुस्ता आफ्नो भाषा तथा जातीय संस्कृतिबाट टाढिँदै गएको अवस्था छ । आज जीवितरूपमा सांस्कृतिक परम्पराहरू भविष्यमा हराएर जाने सम्भावना देखिन्छ । टोखा क्षेत्रमा रहेका परम्परागत शिल्पकलासम्बन्धी ज्ञानलाई एकपछि अर्को पुस्तासम्म हस्तान्तरण गर्दै जाने चलन हराउन थालेको छ । युवा पुस्तामा आफ्नो पुख्र्यौली पेसालाई चटक्कै छोडेर पलायन हुने क्रम बढेको छ ।
यस्ता सम्पदाहरूको संरक्षणका लागि नेपाल सरकारले संस्कृति नीति, २०६७ लागु गरी भौतिक तथा अभौतिक सम्पदाको परम्परागत भौतिक लोककला, शिल्पकला उत्पादन गर्ने, सीप संरक्षणका लागि देशभित्र रहेका सबै जाति र समुदायको संस्कृतिको सूचीकरण गर्नुपर्नेमा जोड दिएको देखिन्छ । नेपालको संविधानमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्ना भाषा, लिपि, संस्कृति, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । अमूर्त सांस्कृतिक सम्पदा महासन्धि २००३ ले समेत सांस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।
टोखा क्षेत्रमा रहेको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि गुठीको अहम् भूमिका रहेको देखिन्छ । यिनीहरूले जात्रा पर्व सञ्चालन, मठमन्दिरको संरक्षण चाडपर्व रीतिरिवाज संस्कार, संस्कृति सञ्चालन गर्न विभिन्न गुठीहरू सक्रिय रहेका छन् । भौतिक सांस्कृतिक सम्पदाअन्तर्गत रहेका मठमन्दिर, इनार, पाटी–पौवाको पुनःनिर्माण, जीर्णोद्धार गर्दै आएका छन् । अभौतिक सांस्कृतिक सम्पदामा मानिसहरूको मुत्यु संस्कारसँग सम्बन्धित सना र सी गुठी, कुल देवताको पूजासँग देवाली गुठी, नाचगान नास द्यः गुठी, सरस्वतीको पूजाको सु गुठी र वर्षभरि नै सञ्चालन भइरहने जात्रा, चाडपर्व, देवी नाच, सङ्गीत सञ्चालन गर्न, मठ मन्दिर विशार चैत्यको संवद्र्धन गर्न, दैनिक, वार्षिक तथा अर्धवार्षिकरूपमा पूजाआजा गर्न विभिन्न धार्मिक गुठीहरू बन्दोबस्त गरेको देखिन्छ ।
(लेखक त्रिविको विद्यावारिधिका शोधार्थी हुनुहुन्छ) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *