वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, १९ मङ्सिर । भक्तपुर नगरपालिका ४ नं वडा कार्यालयको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवबारे वडावासीहरूसँग छलफल कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको महत्वबारे प्रकाश पार्दै नगरपालिकाले आयोजना गरेको उक्त महोत्सव सफल पार्न नगरवासी र वडावासीहरूले सक्रिय साथ र सहयोग गर्न आग्रह गर्नुभयो । विश्वभरका मानिसको लागि खुला सङ्ग्रहालयको रूपमा रहेको कला, संस्कृति र सम्पदाले भरिएको ऐतिहासिक नगरी भक्तपुर आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बनिरहेको बताउनुभयो ।
परम्परागत तथा सांस्कृतिक बाजा गाजा, नृत्य, नेवारी पोशाक, नेवारी परिकार, परम्परागत खेलहरू, पौभा तस्बिर, परम्परागत वाद्यवादन सामग्री तथा शैक्षिक प्रदर्शनीमा नयाँ पुस्ताले पनि धेरै कुरा सिक्ने अवसर मिल्ने विश्वास व्यक्त गर्दै उहाँले पुरातात्विक महत्वका सम्पदाबारे अध्ययन र अनुसन्धानमा अगाडि बढ्न सके भविष्यमा समृद्ध नगरका नागरिकको रूपमा स्थापित हुन सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भ.न.पा. ४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालले वडाका विभिन्न स्थानहरूमा सांस्कृतिक जात्रा पर्व, नमुना प्रदर्शनी, परम्परागत खेल कसिमला पाँय्, नेवार जनजीवनका गतिविधि प्रदर्शनीका लागि राखिने स्टलहरूबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा वडा सदस्य कृष्णसुन्दर प्रजापति, पूर्वजनप्रतिनिधि पशुपति प्रजापति राजेन्द्र माक, न्हुछेराम भेले, हाकुज्या प्रजापति समाजका प्रतिनिधि बालकृष्ण प्रजापति, वडा सचिव इन्द्र मचामसीलगायतले महोत्सव व्यवस्थापनका लागि आवश्यक तयारीबारे बोल्नुभयो ।
यसैगरी, भ.न.पा.–४ दुमलाचा टोलमा मङ्गलबार भेला तथा छलफल कार्यक्रम भयो । मङ्गलाछेँ, दुमलाचा परिवार भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा भ.न.पा. वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नगरलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित आयोजना हुन लागेको भक्तपुर महोत्सवले भक्तपुरमा पर्यटन उद्योगको विकास गरी यहाँको मौलिक घरेलु तथा साना उद्योग, व्यापार व्यवसायको आर्थिक गतिविधि बढ्न गई स्थानीय जनताको आर्थिक स्तर उकास्न महत्वपूर्ण योगदान हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा ‘लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका ४ वडा कार्यालयले सञ्चालन गरेको लैङ्गिक हिंसासम्बन्धी १६ दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रमबारे पनि जानकारी दिनुभएको थियो ।
महोत्सव तयारी समिति भ.न.पा.४ बोलाछेँका संयोजक हरिसुन्दर सुवालले महोत्सवको अवलोकन विश्वका पर्यटकहरूबाट समेत हुने भएकोले सबै व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका पञ्चरत्न सैँजुले विगतको अनुभवबाट शिक्षा लिँदै अहिले महोत्सवलाई उत्कृष्ट गन्तव्यस्थलको रूपमा परिणत गर्ने अवसर भएकोले सामूहिक भावनाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका राजेन्द्र माकले ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ भन्ने भक्तपुर नगरपालिकाको नारालाई सार्थक बनाउने क्रममा पुर्खादेखि चलिआएको हस्तकलासम्बन्धी सीपलाई शिक्षासँग जोडेर व्यवसायिकरूपमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके नयाँ पुस्ताको आर्थिक समस्या समाधान गर्न टेवा पुग्ने बताउनुभयो ।
उक्त कार्यक्रम पुरुषोत्तम जाकिबंजारको सभापतित्वमा भएको थियो ।
Leave a Reply