भर्खरै :

चीनमा नेपाली वैज्ञानिकको ख्याति

चीनमा नेपाली वैज्ञानिकको ख्याति

पेइचिङ डायरी
केही दिनदेखि नेपाली सञ्चार क्षेत्रमा हिउँबिनाको माछापुच्छ्रे हिमालको फोटो भाइरल बनेको छ । जलवायु परिवर्तनको असरको रूपमा रहेको नेपालका हिमाल कालापहाडमा रूपान्तरण हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
चिन्ता हुनु स्वाभाविक हो । रेमिटेन्सपछिको सबभन्दा ठुलो वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै पर्यटन उद्योग हो ।
नेपालमा आउने विदेशी पर्यटकको मुख्य रोजाइ र प्राथमिकतामा हिमाल नै पर्छ । वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोतका रूपमा रहेका हिमाल नै हिउँविहीन हुनु निराशाजनक हो । यो निराशा नेपाल र नेपालीका लागि मात्र होइन, विश्वकै लागि पनि हो ।
नेपालका हिमालहरू तिब्बती पठारमा छन् । तिब्बती पठारलाई एसियाकै जलाधार मानिन्छ । अर्थात्, तिब्बती पठारअन्तर्गत रहेका हिमाल नै एसियाका मुख्य पानीका स्रोत हुन् । यदि यहाँका हिमालहरू कालापहाडमा परिणत भए भने यसले विश्वकै पर्यावरण असन्तुलित बनाउँछ ।
जलवायु परिवर्तनबाट नेपालमा डरलाग्दा अन्य सङ्केतहरू पनि देखा पर्न थालेका छन् । गत असोज १० देखि १२ गतेसम्म भएको अतिवृष्टिलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ । मनसुन सकिएपछिको उक्त वर्षाले अकल्पनीय क्षति पु¥याएको थियो । त्यसैगरी हिमाली क्षेत्रका हिमतालहरू विस्फोट हुने घटना पनि केही वर्षदेखि नेपालमा हुँदै आएका छन् । यस्ता प्रकोप हुँदा तटवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई चेतावनी दिने संयन्त्र नहुँदा आकस्मिक क्षति बेहोर्नुपरिरहेको छ ।
जलवायु परिवर्तन हुँदा प्रकोपको केन्द्रमा रहेर पनि नेपालले उल्लेख्य रूपमा खोज अनुसन्धान गरेको देखिँदैन । नेपालका विश्वविद्यालय र सरकारी क्षेत्रबाट भन्दा गैरसरकारी क्षेत्रबाट केही काम भएको छ । तर, जति हुनुपर्ने हो, त्यति भएको छैन । कहीँकतै जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सभा–सम्मेलन हुने भए नेताहरू र असम्बन्धित व्यक्तिको ताँती लाग्नु लज्जाजनक विषय हो । त्यसरी जाने व्यक्तिहरूमा विषयको गाम्भीर्य र प्रस्तुत गर्नुपर्ने सामग्रीबारे सतही ज्ञान पनि हुँदैन ।
उदाहरणको रूपमा, केही महिनाअगाडि अजरबैजानको राजधानी बाकुमा सम्पन्न जलवायु परिवर्तनको सम्मेलनलाई लिन सकिन्छ । नेपालबाट सम्बन्धितभन्दा बढी असम्बन्धित व्यक्तिको लर्को लागेको समाचार जताततै प्रकाशन भएको थियो ।
विदेश जाने सरकारी प्रतिनिधिमण्डलको तयारी पनि झाराटार्ने खालको देखिन्छ । विशेष ज्ञान प्राप्त गरेका र सोही क्षेत्रमा कार्यरत व्यक्तिका विचार तथा सुझाव ग्रहण गर्ने चासो सरकारलाई हुँदैन । वैज्ञानिकहरू रातदिन खटेर खोज अनुसन्धान गरिरहेका छन् । उनीहरूको लगन र मेहनतबाट राज्यले भरपुर फाइदा लिनुपर्ने हो । तर, सरकारसँग कुन व्यक्तिले कहाँ कस्तो काम गरिरहेको छ भन्नेबारे सूचना पनि नहुन सक्छ ।
बाकुमा जलवायु परिवर्तनको सम्मेलन हुँदै गर्दा नेपालका एक जना वैज्ञानिकको अनुसन्धान लेख ‘नेचर जर्नल’ मा प्रकाशन भयो । नेचरलाई विज्ञान क्षेत्रमा उच्चस्तरीय जर्नल मानिन्छ । यसमा प्रकाशित अनुसन्धान रिपोर्ट पनि गहन र उच्चस्तरीय नै हुन्छ । अहिलेसम्म नेचरमा सीमित नेपाली वैज्ञानिकको अनुसन्धान मात्र प्रकाशित भएको छ ।
संयोग कस्तो भने, बाकुमा जलवायु परिवर्तनमा विश्वभरका प्रतिष्ठित र सरोकारवालाहरू (नेपालबाट चाहिँ नेताहरूको बोलवाला) भेला भएर गम्भीर बहस गर्दै गर्दा, नेपाली वैज्ञानिकको अनुसन्धान पत्र नेचरमा प्रकाशन भएको हो । अनुसन्धान पत्रको मुख्य विषय पनि जलवायु परिवर्तनकै विषयमा केन्द्रित थियो ।
चिनियाँ विज्ञान प्रतिष्ठानमा कार्यरत शालिकराम सिग्देलको नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले वनस्पतिमा पारेको प्रभावबारे गहन अनुसन्धान लेख नेचर प्रकाशनकै ‘नेचर प्लान्ट्स’ मा प्रकाशन भएको हो । सिग्देलको अनुसन्धान जर्नल वनस्पति जगतको भएकोले नेचर प्लान्ट्समा प्रकाशन भएको हो ।
स्याङ्जाका शालिकराम सिग्देल विद्यावारिधि गर्न सन् २०१३ मा चीनको पेइचिङ आएका थिए । उनले चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) बाट सन् २०१७ मा वनस्पति विज्ञानमा विद्यावारिधि (पीएचडी) गरे । पीएचडीको क्रममा उनले अनुसन्धान गरेको विषय उच्च पहाडी र हिमाली क्षेत्रका वनस्पतिको अवस्थाबारे थियो ।
सिग्देलले नेपालका ६ वटा हिमाली क्षेत्रमा वनस्पतिहरू माथिल्लो भागतिर सर्ने क्रमको अध्ययन गरेका थिए । उनले छानेका क्षेत्रहरूमा कञ्चनजंघा, सगरमाथा, लाङटाङ, मनाङ, जुम्ला र हुम्ला थिए । सिग्देलको अनुसन्धानभन्दा अगाडि, चिसो क्षेत्रका वनस्पति जलवायु परिवर्तनसँगै देखिएको तापमानको वृद्धिले उचाइतिर सर्छन् भन्ने भनाइ स्थापित थियो ।
सिग्देलको फरक क्षेत्रका अनुसन्धानले तापमान वृद्धिले वनस्पतिहरू माथिल्लो भेगतिर सर्छन् भन्ने कुरासँगै वर्षाको मात्राले पनि सर्ने क्रमलाई असर पार्ने तथ्य प्राप्त भयो । नेपालको पूर्वी क्षेत्रमा बढी वर्षा हुने भएकाले वनस्पतिहरू चाँडो माथिल्लो भेगतिर सर्छन् । नेपालको पश्चिमतिर कम वर्षा हुने भएकोले सो क्षेत्रका वनस्पतिहरू तुलनात्मकरूपमा ढिलो माथिल्लो भेगतिर सर्छन् ।
सन् २०१७ मा चिनियाँ विज्ञान प्रतिष्ठानबाट पीएचडी गरेपछि सोही शैक्षिक संस्थानमा सिग्देलले स्पेसल रिसर्च एसिस्टेन्ट (विशेष अनुसन्धान सहयोगी) काम गर्न थाले । उनी सन् २०२३ अक्टोबरदेखि त्यहीँ एसोसिएट प्रोफेसर (सहप्राध्यापक) पदमा कार्यरत छन् ।
सिग्देलले सन् २०१९ मा सगरमाथाका दुइटा क्षेत्रमा तीन सातासम्म गोब्रेसल्ला र भोजपत्रको अवस्थाबारे खोज तथा अनुसन्धान गरेका थिए । त्यसै गरी सन् २०२२ मा मनाङको एउटा क्षेत्रमा दुई साता लगाएर तिनै दुई वनस्पति अर्थात् गोब्रेसल्ला र भोजपत्रबारे अनुसन्धान गरे। उनको यही दुई क्षेत्रको अनुसन्धानलाई नेचर प्लान्ट्सले प्रकाशन गरेको हो ।
सिग्देलले गरेको खोज तथा अनुसन्धानको नतिजा निकै रोचक र उपलब्धिपूर्ण छ ।
समुद्री सतहदेखि ४०००–४१०० सय मिटर उचाइमा रहेका यी दुई वनस्पतिले जलवायु परिवर्तनमा आफ्नो अवस्था कसरी परिवर्तन गरिरहेका छन् भन्ने पुष्टि गरेको सिग्देलको अनुसन्धानले देखाउँछ ।
केही सय वर्ष अगाडिसम्म गोब्रेसल्ला पाइने भूभागभन्दा बढी उचाइमा भोजपत्र पाइन्थ्यो । जलवायु परिवर्तनले तापक्रमको वृद्धिसँगै यी दुवै वनस्पति भूसतहको उचाइतिर बढ्न थाले । अर्थात् जुन उचाइमा यी पाइन्थे, बिस्तारै त्योभन्दा अलि माथिल्लो उचाइमा पनि पाइन थाले ।
अनौठो कुरा, अहिले भोजपत्र पाइनेभन्दा माथिल्लो उचाइमा गोब्रेसल्ला पाइन थालेको छ ।
यसको अर्थ के हो भने, विश्व तापमान वृद्धिसँगै माथिल्लो भेगतिर सर्ने क्रममा भोजपत्रभन्दा गोब्रेसल्लाको गति तीव्र छ ।
सिग्देलको अनुसन्धानअनुसार भोजपत्र प्रत्येक वर्ष ६ सेन्टिमिटर र गोब्रेसल्ला ११ सेन्टिमिटर उचाइतिर सर्दै गएको छ । यसको मतलब, गोब्रेसल्लो भोजपत्रभन्दा दोब्बर गतिमा माथिल्लो भेगतिर सरिरहेको छ ।
तापमानको वृद्धिले गर्दा वनस्पति उचाइतिर सर्ने क्रमले सो क्षेत्रको जीवनचक्रलाई असर पार्छ । भोजपत्र पतझर वनस्पति हो भने गोब्रेसल्ला कोणधारी । भोजपत्रको पात भुइँमा झरेपछि त्यसबाट मल उत्पादन भएर अन्य वनस्पतिको जीवनलाई सहज बनाउँछ । तर गोब्रेसल्लाको पात नझर्ने र झरेका केही पात पनि हत्तपत्त नकुहिने भएकाले सो क्षेत्रमा अन्य वनस्पति उम्री बढ्न नसक्ने अवस्था हुन सक्छ ।
पर्यावरणको प्रणालीमा यसले गम्भीर असर पार्ने र कुनै जीवको प्रजाति लोप हुने अवस्था पनि आउन सक्ने भएकोले सिग्देलको अनुसन्धानको नतिजा महत्वपूर्ण छ । त्यसैले ख्यातिप्राप्त वैज्ञानिक जर्नल प्रकाशक नेचर प्लान्ट्सले सिग्देलको अनुसन्धान गत नोभेम्बर १८ मा प्रकाशन गरेको हो ।
नेचर प्लान्ट्समा प्रकाशित सिग्देलको अनुसन्धानात्मक लेखको शीर्षक छ, ‘तापक्रम वृद्धिले उच्च हिमाली भेगका रूखहरू द्रुत गतिमा उचाइतिर सर्दै (Accelerated succession in Himalayan alpine treelines under climatic warming) ।
सिग्देलको यही अनुसन्धानबारे अमेरिकाबाट प्रकाशन हुने साइन्स मिडियामा समाचार पनि प्रकाशन भइसकेको छ । उनको यो अनुसन्धानात्मक जर्नलबारे प्रायः सबै चिनियाँ सञ्चार माध्यममा समाचार प्रकाशन भएका छन् ।
एक जना नेपाली वैज्ञानिकको यो स्तरको उपलब्धिलाई चीन र विश्वले प्रशंसा गर्नु शालिकराम सिग्देल व्यक्तिका लागि मात्र नभएर नेपालकै गौरवको कुरा हो । नेपालले यस्ता वैज्ञानिकलाई स्वदेशमा पनि काम गर्ने वातावरण मिलाउनुपर्छ ।
जलवायु परिवर्तनका अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागी हुँदा नेपालले आफ्ना वैज्ञानिकका खोज तथा अनुसन्धानबाट प्राप्त उपलब्धि टेबलमा राखेर तथ्यगत कुरा गर्नुपर्छ । जलवायु परिवर्तनबाट पर्यावरण, जीवहरूमा कस्तो असर परेको छ, आगामी एक सय वा दुई सय वर्षमा केकस्तो अवस्था सिर्जना हुन्छ भन्ने कुरा वैज्ञानिक दृष्टिबाट प्रस्तुत गरेमा सबैको चासो नेपालप्रति हुन्छ । नेपालका मुद्दाहरू पनि स्थापित हुन सक्छन् ।
नेपालले व्यक्तिभित्रको क्षमता पहिचान गरेर उचित अवसर दिँदै उसलाई विदेश पलायन हुनबाट रोक्न सक्नुपर्छ ।

– सीआरआई नेपाली सेवाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *