भर्खरै :

राजनीतिक छनोटका कारण अझै विश्वमा भोकमरी छ

राजनीतिक छनोटका कारण अझै विश्वमा भोकमरी छ

भोकमरी न त मानवजातिको प्राकृतिक अवस्था हो, न त पन्छाउनै नसकिने त्रासदी । यो त असमानताप्रति आँखा चिम्लिने र अझ त्यसलाई प्रवद्र्धन गर्ने सरकारको निर्णय र असमान आर्थिक प्रणालीले निम्त्याएको परिणाम हो । यस्तो विश्व व्यवस्थाले आज विश्वका ६७ करोड ३० लाख मानिसलाई पर्याप्त खानबाट वञ्चित बनाएको छ । जबकि, यही व्यवस्थाले झन्डै तीन हजार अर्बपतिको विशेषाधिकार प्राप्त समूहलाई विश्वको ‘कुल गार्हस्थ उत्पादन (जिडिपी)’ को योगको १४.६ प्रतिशत हिस्सा ओगट्न सक्षम बनाएको छ ।
एकातिर करोडौँ मानिस भोकभौकै सुत्न बाध्य हुँदा सैन्य खर्चमा ठुलो वृद्धि भइरहेको छ । जस्तो, सन् २०२४ मा विश्वका सम्पन्न राष्ट्रहरूले शीतयुद्धको अन्त्यपछिकै ठुलो वृद्धि गरेसँगै सैन्य खर्च २.७ ट्रिलियन डलर पुगेको छ । जबकि उनीहरूले त्यस अवधिमा गरिब देशको विकासमा तिनको जिडिपीको ०.७ प्रशित लगानी गर्ने भन्ने आफ्नै प्रवद्र्धन पूरा गर्न असफल भए ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि भोकमरीको समस्या सम्बोधन गर्न भन्दै संयुक्त राष्ट्र सङ्घको ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ)’ गठन भएको थियो । ८० वर्षअघि गठन भएको सङ्गठन मात्र आजका चुनौतीलाई सम्बोधन गर्न पर्याप्त छैन । अब विश्वव्यापी शासन संयन्त्रमा सुधार नगरी सुख छैन । यसका लागि हामीले बहुपक्षीयतालाई सुदृढ पार्नुपर्छ । दिगो विकास प्रवद्र्धन गर्ने गरी लगानी सिर्जना गर्नुपर्छ । त्यस्तै हरेक राज्यसँग भोकमरी र गरिबीसँग लड्न सुसङ्गत सार्वजनिक नीति लागु गर्ने क्षमता भएको सुनिश्चित गर्नुपर्छ ।
भोकमरी असमानताप्रति आँखा चिम्लिने र अझ त्यसलाई प्रवद्र्धन गर्ने सरकारको निर्णय र असमान आर्थिक प्रणालीले निम्त्याएको परिणाम हो ।
अब सार्वजनिक बजेटमा गरिबहरूको विषय नछुट्ने र कर आधारमा धनीहरू नछुट्ने अवस्था सुनिश्चित गर्न आवश्यक छ । यसका लागि कर न्याय र अति धनाढ्यमाथि अतिरिक्त कर लगाउन आवश्यक छ । यो विषयलाई हामीले नोभेम्बर २०२४ मा ब्राजिलमा आयोजित जी–२० शिखर सम्मेलनको अन्तिम घोषणामा पहिलोपटक समावेश गर्न सफल भयौँ । यो आफँैमा एक प्रतीकात्मक तर ऐतिहासिक परिवर्तन हो । यसलाई हामी आफ्नो देशमा लागु गर्दै छौँ भने यो अभ्यास विश्वभर लागू होस् भन्ने पक्षमा पनि वकालत गर्छौं ।
यसै परिप्रेक्ष्यमा ब्राजिलको संसद्ले करमा उल्लेख्य सुधार समेटिएको कानुन पारित गर्न लागेको छ । कानुन पारित भएपछि देशमा पहिलोपटक अति धनाढ्य व्यक्तिहरूको आयमा न्यूनतम कर लाग्नेछ भने लाखौँ न्यून आय भएकाहरूलाई भने आयकर तिर्नबाट छुट दिइनेछ । यो उपलब्धि हासिल गर्न धेरै मोर्चामा समन्वित कदम उठाइएको भने बिर्सिनुहुँदैन । जस्तो, ब्राजिलमा हामीले राष्ट्रिय आय हस्तान्तरण कार्यक्रमलाई सुदृढ र विस्तार गरेका छौँ, जुन अहिले दुई करोड घरपरिवारसम्म पुग्छ । आठ वर्ष र सोभन्दा कम उमेरका ८५ लाख बालबालिका यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।
हामीले सार्वजनिक विद्यालयमा निःशुल्क खानाका लागि कोष बढाएका छौँ, जुन कार्यक्रमबाट चार करोड विद्यार्थी लाभान्वित भएका छन् । सार्वजनिक खाद्य खरिदमार्फत हामीले सानो आकारका परिवार भएका किसानका लागि आय सुरक्षित गरेका छौँ भने साँच्चै आवश्यक पर्नेहरूलाई निःशुल्क, पौष्टिक खाना प्रदान गर्दै छौँ । त्यसअतिरिक्त, हामीले न्यून आय भएका घरपरिवारलाई खाना पकाउने ग्यास र बिजुलीको निःशुल्क आपूर्ति विस्तार गरेका छौँ । यसले गर्दा परिवारको बजेट खाद्य सुरक्षालाई बलियो बनाउने दिशामा प्रयोग गर्न सम्भव हुन्छ ।
तथापि, यीमध्ये कुनै पनि नीति तिनलाई भरथेग गर्ने आर्थिक वातावरणविना दिगो हुन सक्दैन । रोजगारी र आम्दानी बढेपछि वास्तविक रूपमा भोकमरी हट्छ । त्यसैले, हामीले ज्याला वृद्धिलाई प्राथमिकता दिने आर्थिक नीति अपनाएका छौँ । यसले गर्दा ब्राजिलमा अहिलेसम्मकै सबैभन्दा न्यून बेरोजगारी दर रेकर्ड भएको छ । त्यस्तै, प्रतिघरपरिवार आय असमानताको हिसाबमा यहाँ सबैभन्दा न्यून असमता रेकर्ड गरिएको छ ।
ब्राजिलले आफ्नो सम्पूर्ण जनसङ्ख्याका लागि पूर्ण खाद्य सुरक्षा दिलाउने दिशामा अझै लामो बाटो तय गर्न बाँकी छ । तर, हालसम्मको कामका नतिजाले पुष्टि गर्छन् कि राज्यले उपयुक्त कदममार्फत वास्तवमै भोकमरीको प्रकोपलाई सम्बोधन गर्न सक्छ । तथापि, हाम्रा पहलहरू विश्वव्यापी प्राथमिकतामा ठोस परिवर्तनमाथि समेत निर्भर छन् । त्यसअन्तर्गत युद्धमा भन्दा विकासमा लगानी बढाउने कुरा दशकौँदेखि चल्दै आएको साँघुरो आर्थिक नीतिमार्फत धन थोरै व्यक्तिका हातमा अति केन्द्रीकरण गर्ने अवस्था त्यागेर असमानताविरुद्धको लडाइँलाई प्राथमिकता दिने कुरा, जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने र यी सबमा आममानिसलाई केन्द्रमा राख्ने कुरा पर्छन् ।
अर्को महिना अमेजन क्षेत्रमा कोप–३० आयोजना गरेर हामी ब्राजिलियनले जलवायु परिवर्तन र भोकमरीविरुद्धको लडाइँ सँगसँगै जानुपर्छ भनेर देखाउन खोज्दै छौँ । ब्राजिलको उत्तरमा अवस्थित बेलेम सहरबाट भोकमरी, गरिबी र जलवायुसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ । त्यसले जलवायु परिवर्तनको गहिरो असमान प्रभाव र विश्वका केही भाग भोकमरी बढाउने यसको भूमिकालाई स्वीकार गर्छ । विगतमा हामी मानवले नै आफ्नै जातिविरुद्ध भोकमरीको विष सिर्जना ग¥यौँ, अब यसको औषधि बनाउने बेला आएको छ र हामी यसमा सक्षम पनि छौँ ।
(लुला ब्राजिलका राष्ट्रपति हुनुहुन्छ ।)

– अल जजिराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *