चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
कम्युनिस्टको हृदय विशाल हुनुपर्छ, ऊ इमानदार र सक्रिय हुनुपर्छ भन्नेमा शङ्का छैन । उनीहरू बढ्ता दूरदर्शी हुन्छन्, सबभन्दा बढी दृढ हुनुपर्छ । देश र जनताको स्थिति बुझ्न उनीहरू विनम्र, शिष्ट हुनुपर्छ र बहुसङ्ख्यक जनताको पक्षमा उभेको हुनुपर्छ । चिनियाँ नेता माओ त्सेतुङले भन्नुभएको थियो, “कम्युनिस्टहरू बीउ र जनता माटोझैँ हुनुपर्छ ।” कम्युनिस्टहरू त्यो देशका जनतासँग एक हुनुपर्छ; जनतामा जरा हाल्नुपर्छ र जनतामै फुल्नुपर्छ । राजनीतिक र वैचारिकरूपले पछि परेकाहरूको हकमा कम्युनिस्टहरूले उनीहरूलाई हेला वा घृणा गर्न हुँदैन; बरू उनीहरूसँग मिल्नुपर्छ, उनीहरूको चित्त बुझाउने प्रयास गर्नुपर्छ, अगाडि बढ्न र बढाउन उनीहरूलाई अभिप्रेरित गर्नुपर्छ । आफूले जनतासमक्ष राखेको विचार वास्तविकतासित मेल खान्छ, खाँदैन; तर्कयुक्त हो होइन भनी होसियारीपूर्वक विचार गर्नुपर्छ । कसैको दबाबमा उनीहरूले आँखा चिम्लेर पछि लाग्नु हुँदैन, समर्थन गर्नु हुँदैन । कम्युनिस्टहरू सधैँ सत्यको पक्षमा लड्न तयार हुनुपर्छ । सत्य जनताको हित अनुकूल हुन्छ र कम्युनिस्टहरूले सधैँ आफ्नो गल्ती समयमैै सुधार्नुपर्छ ।
आफूलाई कम्युनिस्ट भनिने ठुला र सत्तामा गइसकेका कम्युनिस्टहरूमा कम्युनिस्टमा हुनुपर्ने गुण देखिँदैन । हुन त उनीहरू कहिलेकाहीँ समाजवादी मोर्चाको बखान गर्छन्; समाजवादी क्रान्तिको कुरा फुक्छन् । छिनछिनमै उनीहरू कहिले कम्युनिस्ट पार्टीको एकता कुरा गर्छन् त कहिले कम्युनिस्ट एकता अहिले सम्भव छैन पनि भन्छन् । पुस २८ गते प्रकाशित ‘नयाँ पत्रिका’ मा ‘माओवादी, एकीकृत समाजवादी नेकपा र नेसपाबिचको एकता अन्योलमा’ शीर्षकको समाचार छापियो । सोही दिनको ‘अन्नपूर्ण’ दैनिकमा ‘कम्युनिस्ट नेता, आफैलाई वैरी’ शीर्षकको समाचार छापियो । समाचारमा लेखियो, चारै दलले एकताको सैद्धान्तिक निर्णय गरेको ६ महिना बित्न लाग्दा पनि एकताका प्रक्रिया अघि बढ्न सकेन । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित ४ असार ०८० मा गठन भएको प्रमुख प्रतिपक्ष दल माओवादीसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चाको बैठक फेरि बसेको छ । विगतमा एमाले, माओवादी, एकीकृत समाजवादी र जसपा सत्ता गठबन्धन भएपछि मोर्चा सङ्कटमा परेको थियो । त्यसबेला जसपा नेपाल विभाजन भएको थियो । काङ्ग्रेस–एमाले सत्ता गठबन्धन बनेपछि १ साउनमा मोर्चाको बैठक बसेको थियो । सो बैठकले राजनीतिक घटनाक्रमको समीक्षा र भावी योजनासहित राजनीतिक दस्ताबेज तयार पार्न कार्य दल गठन गरिएको थियो । समाजवादी क्रान्तिको निम्ति गठन गरिएको मोर्चा अहिले अन्योलमै छ । एकताको निम्ति भनी माओवादीले यसअघि वार्ता समिति गठन गरेको थियो, त्यस्तै टोली एकीकृत समाजवादीले पनि गठन गरेको थियो । तर, वार्ता टोली कागजमा मात्र सीमित रह्यो ।
सिद्धान्त र विचार नमिलिकन एकता लामो समयसम्म टिक्दैन; नटिकेको उदाहरण यहाँ नभएको होइन । पार्टी एकता गर्ने र समाजवादी क्रान्ति गर्ने कुरा सत्तामा रहुञ्जेल चुइँक्क नबोल्ने र सत्तामा नरहेपछि बोल्ने होइन । कम्युनिस्ट पार्टी जहिल्यै समाजवादी पक्षधर हुन्छ । समाजवादी गणतन्त्रको पक्षमा हुन्छ र समाजवादी क्रान्तिको निम्ति वातावरण तयार गरिएको हुन्छ । माक्र्सले ‘सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो’ त्यसै भनेका होइनन् । पुँजीवादी सरकारमा सामेल भएपछि समाजवादको ‘स’ पनि उच्चारण नगर्ने माओवादी र एकीकृत समाजवादीले देशमा समाजवादी क्रान्ति गर्लान् ? समाजवादी क्रान्तिको बाटो तयार गर्लान् ? समाजवादी क्रान्ति गरेर बहुसङ्ख्यक जनताको हितमा सरकार गठन गर्ने हो भने ती दलहरू पुँजीवादी समाजमा भुल्नु हुँदैन । नेकाजस्तो पुँजीवादी दलसँग निर्वाचन र सरकारमा गठबन्धन गर्नुहुँदैन । आ–आफ्नो सिद्धान्त र विचारअनुसार राजनीति नगर्ने, सरकारमा जान पाएपछि निर्वाचनमा मिलेर लड्न पाएपछि, सिद्धान्त र विचार बन्धक राख्ने दलका नेताहरूले समाजवादी क्रान्ति गर्लान् ?
समाजवादी क्रान्तिको निम्ति ढिलो चाँडो पार्टी एकता हुन्छ, हुनुपर्छ, त्यो आफ्नो ठाउँमा छ । तर, त्यो मनको धोको मात्र हुनुहुँदैन । समाजवादी क्रान्तिकै निम्ति ती समाजवादी मोर्चामा सामेल कम्युनिस्ट पार्टीहरू लागेका हुन् भने कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्छ† जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपले सुसूचित पार्नुपर्छ; समाजवादी जागरण अभियान अघि बढाउनुपर्छ । पुँजीवादी व्यवस्थाको सरकारमा सामेल हुने आशा र भरोसा बोकेर कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । हाल सरकारमा रहेका र गइसकेका कम्युनिस्ट भनिने दलका नेताहरू त्यो अभियानमा लागेको देखिँदैन । आमूल परिवर्तनको निम्ति अघि बढेका कम्युनिस्ट पार्टीहरूले आमूल परिवर्तनको निम्ति लागेका अरू दलको विरोध गर्दैनन्, पार्टी तोडफोड गर्दैनन्; सङ्गठन बिगार्दैनन् । सत्तामा गइसकेका कम्युनिस्ट पार्टीभित्रै गुट उपगुटहरू छन् । एउटै पार्टीका ती नेताहरूको मत फरक फरक हुन्छ । त्यस्तो अन्तरविरोध एमालेमा मात्र होइन माओवादी केन्द्र र एकीकृत समाजवादीमा पनि देखिएको छ । एकले अर्कोलाई तुच्छ व्यवहार गर्ने, असभ्य गाली गलौज गर्ने र निकृष्ट लाञ्छना लगाउने बानी अहिले पनि हटेको छैन । ती कम्युनिस्ट पार्टीका नेताहरूमा सत्ताको मोहमात्र होइन पार्टीमा नेतृत्वको भोको पनि रहेको छ । तुरून्तै पार्टी एकता गर्ने र तुरून्तै पार्टी टुक्राउन पछि नपर्ने ती दलका नेताहरू बेलाबखत पार्टी एकताको बखान गरे पनि आखिरमा तिनीहरू मिल्दैनन् । अहिले बलियो र स्थिर सरकारको बखान गर्ने नेका र एमालेको संयुक्त सरकारको पनि जग बलियो नभएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
आज देशमा हल्लाको राजनीतिले ठाउँ पाइरहेको छ । हल्लाको राजनीति गर्ने दलहरूमा सत्तामा गइसकेका कम्युनिस्टहरू पनि परेका छन् । सिद्धान्त र विचार एकातिर थन्काएर हल्लाको राजनीतिक गरेर जनता तताउने, झूटको राजनीति गरेर भ्रम फैलाउने, कम्युनिस्ट पार्टीको उद्देश्य छोडेर पुँजीवादी दलहरूसँग साँठगाँठ गर्ने, सत्तामा जान पाएपछि साम्राज्यवादी देश र विस्तारवादी देशको पछि लाग्ने र नेपाल र नेपालीको हितभन्दा विदेशी शक्ति राष्ट्रहरूको पछि दगुर्ने राजनीतिले देशमा आमूल परिवर्तन सम्भव छैन । समाजवादी मोर्चामा सामेल दल र सरकारमा रहेका कम्युनिस्ट पार्टीहरू माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्ग निर्देशक मानी देश, काल र परिस्थितिअनुसार लागु गर्नेतर्फ लाग्नु नै बुद्धिमानी हुनेछ ।
Leave a Reply