चे, फिडेलको संस्मरणमा – १३
- कार्तिक ६, २०८२
प्रिय भाइ भरत,
सम्झना !
केही वर्षअगाडि तिमीलाई जनताले निर्वाचनमा अत्यधिक मत दिएर निर्वाचित हुँदा मलाई अपार खुसीको अनुभव भयो । दुई–तीन दिनपछि मलाई एक प्रकारको नजानिँदो डर, त्रास र दुःख पनि लाग्यो । त्यसबेला मैले तिमीलाई विजयमा उत्साहित भएर जनताको सेवा गर्ने भावनाको निम्ति बधाई पत्र पठाएको थिएँ ।
केही दिनपछि भारतकै गाउँपालिकादेखि सङ्घीय संसद् र राष्ट्रपतिको निर्वाचनको समेत जानकारी पाउँदा भाइ भरत कुनै ठुलै भड्खालोमा फस्दै जाने हो कि भन्ने डर, वर्गशत्रुहरूको अनावश्यक वचन र भौतिक हमला पो हुने हो कि भन्ने त्रास एवं अनेक मुद्दा मामला एवम् लाञ्छनामा फस्ने पो हो कि भनी दुःख पनि लाग्यो । भारत संसारको सबभन्दा ठुलो जनसङ्ख्या भएको एक पुँजीवादी देश हो । सबै प्रान्त र राज्यका अपराधीहरू मात्रै हिसाब लगाउने हो भने करोड नाघ्नेछन् । ठग र बगलीमाराहरू मात्रै जोड्ने हो भने करोड नाघ्नेछन् । सङ्घीय संसद् र राज्य विधानसभाका बहुमत सदस्यहरू अपराधमा मुछेका बताइन्छ । संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान आदि सबै पुँजीवादी देशहरूको हालत त्यही थियो ।
भाइ भरत, तिमी आश्चर्य नमान्नु । ती देशमा जति ठुलो ओहदाका नेता हुन्छन् त्यति नै ठुलठुला अपराधीहरूका संरक्षकको रूपमा काम गरिरहेका हुन्छन् किनभने तिनीहरूलाई यी सबै अपराध र अपराधीहरूको परिवेश चुरोट र पान खानेजस्तै सामान्य भइसकेको हुन्छ । तिनीहरू त्यही परिवेशमा जन्मेका र हुर्केका हुन्छन्, त्यही परिस्थितिमा रमाएका हुन्छन् ।
तर, भाइ भरत, ‘हरेक कालो बादलको चारैतिर चाँदीको घेरा हुन्छ’ भनेजस्तै भारतमा होस् या संयुक्त राज्य अमेरिकामा जहाँ पनि राम्रा–राम्रा आदर्श व्यक्ति र बुद्धिजीवी र सज्जनहरू पनि हुन्छन् । अत्यन्त बहुमत जनता सरल र इमानदार हुन्छन् । ती पनि दुःखी र गरिब हुन्छन् । वर्षको लाखौँ किसानहरू भारतमा ऋण तिर्न नसकेर आत्महत्या गर्छन्, परिवारलाई हलुका बनाउन । प्रहरीको गोली र लाठी प्रहार एवं हात हालाहाल, कुटपिट र झै–झगडामा वर्षको लाखौँ मर्छन् । वर्षको लाखौँ जनता खान नपाएर तथा उपचारबिना मर्छन् । छोरीको विवाहको निम्ति दहेज वा दाइजो स्वरूप ज्वाइँलाई दिनुपर्ने रकम दिन नसकेर जन्तीले गर्ने उपद्रव र विवाहपछि बुहारीले सो रकम बुझाउन नसक्दा सासू–ससुरा र ज्वाइँहरू मिलेर जिउमा मट्टीतेल खन्याएर मार्ने वा आत्मदाह गर्ने छोरी–बुहारी पनि लाखौँ पुग्छन् हरेक साल । तर, यो खराब परम्परालाई पुँजीवादी प्रजातन्त्रले स्वतन्त्रता प्राप्त गरेको १०० वर्षमा पनि रोक्न सकेको छैन । ती सबै सरकारहरू जनताकै मत लिएर निर्वाचित भएका हुन्छन् ।
यसकारण, भरत भाइ, एसिया, अफ्रिका, ल्याटिन अर्थात् दक्षिण अफ्रिकी देशहरूमा झण्डै ८० प्रतिशतभन्दा बढी जनता र बुद्धिजीवीहरू पुँजीवादी संसदीय व्यवस्था र पुँजीवादी व्यवस्थाप्रति विश्वास गर्दैनन् । भारत र अन्य युरोपेली वा हरेक ठाउँको पुँजीवादी देशहरूमा पनि केही विकास र निर्माण कार्य सडक, ढल, खानेपानी, नहर, स्कूल, कार्यालय, अस्पताल आदि बनाउने कार्यमा ‘मेरो गाउँ’ र ‘तेरो गाउँ’, ‘मेरो जिल्ला’ र ‘तेरो जिल्ला’, ‘मेरो टोल’ र ‘उसको वडा’ भनी झगडा गरेको सुन्न र हेर्न पाइन्छ । त्यस्तै हाम्रो नेपालकै गाउँ, नगर, टोल र वडाहरूमा पनि त्यस्ता घटना भइरहेको छापामा हेर्न र सुन्नमा आउँछ ।
त्यस्तो अवस्थामा, भाइ भरतलाई पनि समस्या हुन सक्छ । त्यस्तो अवस्थामा भाइले आफ्नो टोल, वडा र नगरको पक्षमा अरु ठाउँका प्रतिनिधि साथीहरूसँग पनि बाझाबाझ र कटु शब्द प्रकट गर्ने हौलाऊ – त्यसबेला अर्को गाउँ र टोलका जनप्रतिनिधिको चित्त भाइको सानो कटु वचनले दुखाएर बैठकबाट बाहिर जानेछन्, त्यसबेला बल, धम्की र ठुलो आवाजले होइन बरु सम्झाउने–बुझाउने र पालैपालो छिमेकी गाउँ र वडामा निर्माण गर्नेजस्ता विषय प्रस्तुत गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ आफ्नो टोल र गाउँले दुई चार महिनाको निम्ति पालो कुर्न आफ्ना मतदाताहरूलाई सम्झाउनुपर्ने स्थिति आउँछ । यो धैर्य र समन्वयको दुई कारण छन् – एक, गाउँपालिका वा नगरपालिका हरेक बस्ती, टोल र वडाका जनतासँग जनप्रतिनिधिको परिचय, विचारको आदानप्रदान र भविष्यमा समन्वयको निम्ति पूर्व तयारी हुनेछ । दुई, उमेर र अनुभव बढ्दै गएका जनप्रतिनिधिहरू सदा एउटै ठाउँ वा वडा एवं नगरमा मात्रै कुन्जिएमा अन्य निर्वाचन क्षेत्र र जिल्लाहरूमा योग्य नेतृत्वको निम्ति पूर्व अभ्यास हुनेछ ।
अनुभवी र धेरै छरछिमेकीका वडा, गाउँ र नगरका जनतासँग सम्पर्क भएका जनप्रतिनिधिहरू नै पछि प्रदेश र सङ्घीय संसद् एवम् राष्ट्रिय जनप्रतिनिधिहरूको रूपमा वा राजनीतिक व्यक्तित्वको रूपमा देखिएमा अभावलाई पूर्ति गर्ने उपाय हुन सक्छ । यसकारण, वडा र नगरस्तरका जनप्रतिनिधि र राजनैतिक कार्यकर्ताहरूले बैठकमा आ–आफ्नो विचार प्रस्तुत गर्दा र प्रतिवाद गर्दा सदाचारलाई समेत ध्यान दिनु आवश्यक छ, जति ठुलो पदमा पुगेको हुन्छ, त्यति धेरै संयम र व्यवहारिक हुनु आवश्यक हुन्छ । सभालाई सञ्चालन गर्न नजान्ने सभापति निश्चय पनि असफल गनिने छन् ।
केही इटिकेसी वा सदाचारका उदाहरण ?
(क) बैठकमा भाग लिँदा वा आ–आफ्नो दृष्टिकोण प्रस्तुत गर्दा हात उठाएर अध्यक्षको स्वीकृतिपछि मात्रै बोल्ने र आफ्नो पालो आएपछि मात्रै बोल्ने भलाद्मीपन हो ।
(ख) बोल्नुभन्दा पहिले अध्यक्ष वा सभापतिलाई उचित आदर प्रकट गर्दै बैठकका सबै सहभागीहरूलाई पनि उचित, प्रिय र मित्रवत् शब्दहरूबाट सम्बोधनपछि बुँदागतरूपले आफ्ना विचारहरू अभिव्यक्ति प्रकट गर्नु सदाचार भित्र पर्दछ,
(ग) पहिलेका वक्ताहरूले आफ्नो दल, आफ्नो संस्था एवं उद्देश्यलाई नै कटाक्ष, व्यङ्ग्य वा हाँसोमा उडाउने ढङ्गको अभिव्यक्तिमार्फत निन्दा र विरोध गरेमा सभापतिको ध्यानाकर्षित गर्दै आफ्नो असहमति र त्यसबारे स्पष्टीकरण वा उत्तर दिने समयको आवश्यकतालाई बोध गराउनु समीचीन हुन्छ । सभापतिले ‘आपत्ति’ जनाउने सदस्यलाई समय दिनैपर्ने हुन्छ । यो बैठकको सदाचारभित्रकै विषय हो ।
(घ) सभाको सभापतिले आफूलाई बोल्न समय दिएपछि उत्तर दिनुपर्ने वक्ताको नाउँ नदिई ‘पूर्ववक्ता साथी’, ‘…. मित्र’ वा फलाना भनी सम्बोधन गर्दै ‘विरोध र खण्डन’ शब्द प्रयोग नगर्दै पनि उहाँको अभिव्यक्तिले मैले केही स्पष्टीकरण दिने उत्साह जगाइदिनुभएकोमा धन्यवाद दिँदै आफ्नो स्पष्टीकरण र मान्यतालाई छोटोमा स्थापित गर्नु सदाचारभित्रै पर्छ र उत्तेजना वा रिस एवं विवादको शब्द सकेसम्म मत्थर गर्नु आवश्यक छ । बरु उहाँको अभिव्यक्तिबाट हामीले आफ्नो स्पष्टीकरण दिन पाएकोमा पुनः ‘उहाँको सदासयतालाई धन्यवाद’ दिने परम्परा बसाल्नु पनि राम्रै हुनेछ ।
यस प्रक्रियाबाट विवाद र उत्तेजनालाई ठाउँ नदिई पुनः भेटेर छलफल गर्ने अवसर मिलाई दिन पनि अनुरोध गर्दै साथीहरू परिचित हुने, सिक्ने र जान्ने समय पनि मिल्ने आशा व्यक्त गर्दा थप आफ्नो कुरा अलग बसेर बताउने समय मिल्नेछ ।
आफ्नो तर्क अत्यन्त उपयुक्त हुँदाहुँदै र विषयवस्तु व्यवस्थित राख्दा राख्दै अर्को पक्षले अशिष्ट र शत्रुवत् व्यवहार गर्दा पनि हामीले ‘जस्तालाई तस्तै’ नभनी अझ नरम र राम्रा शब्दहरूमार्फत आफ्नो रक्षा गर्दै प्रतिपक्षलाई बौद्धिक विषयमा छलफल गर्न उत्साहित गर्न पाए हामी धन्य हुनेछौँ भन्ने खालका वाक्य प्रकट गर्दै अहिले आफ्नो भनाइ अन्त गर्ने अनुमति माग्दै धन्यवाद दिँदा अन्य सहभागीहरूलाई ठीक र बेठीक छुट्याउने अवसर दिनेछौँ ।
छलफल र सभाहलमा हामीले हाम्रा विषय जति राम्रो हुनेछ त्यस्तै अभिव्यक्ति पनि राम्रै र अरुलाई आदर र इज्जत गर्दै आफ्नो मन्तव्य दिँदा हाम्रा प्रतिपक्ष र प्रतिद्वन्द्वीहरूको तर्क, उत्तर दिने शैली र सदाचारको अभावबाट तिनीहरू सहभागीहरूको आँखामा अलि कडा र कमजोर प्रस्तुतिप्रति सबैको ध्यान जानेछ । त्यसबाट हाम्रा प्रतिपक्षीहरू लज्जित हुनेछन् ।
यसरी हाम्रा आजका प्रारम्भिक स्तरका जनप्रतिनिधिहरू र कार्यकर्ताहरूको स्तरबाट माथि उठाउँदै लान सकिने सम्भावना देख्छु ।
भाइ भरत, मेरो अनुभवमा विभिन्न देशका कार्यकर्ता र जनप्रतिनिधि, नेता र कार्यकर्ताहरूको सुरुका दिनका जीवन र व्यवहारबारे अध्ययनले भाइलाई केही जानकारी मात्र दिएको हुँ – यो दबाब वा शिक्षा दिएको रूपमा नलिन पनि सम्झाउन चाहन्छु । आजलाई यति नै भयो, बिदा !
माया गर्ने दाजु
राम
Leave a Reply