भर्खरै :

इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पारेको छ : मलाला युसुफजाई

इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पारेको छ : मलाला युसुफजाई

इस्लामाबाद, २८ पुस (एएफपी) । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताउनुभएको छ ।
“गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली नै नष्ट गरेको छ”,पाकिस्तानले आयोजना गरेको र दर्जनौँदेशका प्रतिनिधिहरूले भाग लिएको मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षा सम्बन्धी विश्वव्यापी शिखर सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “उनीहरूले सबै विश्वविद्यालयमा बमबारी गरेका छन्, ९० प्रतिशतभन्दा बढी विद्यालय ध्वस्त पारेका छन् र विद्यालय भवनहरूमा आश्रय लिइरहेका नागरिकहरूलाई अन्धाधुन्ध आक्रमण गरेका छन् । म इजरायलले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै निरन्तर आवाज उठाउनेछु ।”
शिक्षा अभियानका कारण आक्रोशित पाकिस्तानी उग्रवादीहरूले १५ वर्षकी विद्यार्थी हुँदा युसुफजाइमाथि गोली प्रहार गरेका थिए । बेलायत लगिएपछि उहाँले उल्लेखनीय स्वास्थ्यलाभ गर्नुभयो र १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता बन्नुभयो ।
“प्यालेस्टिनी बालबालिकाहरूले आफ्नो जीवन र भविष्य गुमाएका छन् । यदि एक प्यालेस्टिनी बालिकाको विद्यालयमा बमबारी गरिन्छ र उनको परिवार मारिन्छ भने उनले आफूले पाउनुपर्ने भविष्य पाउन सक्दिनन्”, उहाँले भन्नुयो ।
गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरू भएको थियो । आक्रमणमा इजरायली पक्षका अधिकांश सर्वसाधारणसहित एक हजार २०८ जनाको मृत्यु भएको थियो ।
आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए । तीमध्ये ९४ जना अझै गाजा पट्टीमा छन् र त्यसमा पनि इजरायली सेनाले ३४ जनालाई मृत घोषित गरेको छ । गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ४६ हजार ५३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश नागरिक छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मानेको छ ।
मलाला युसुफजाईद्वारा तालिबानलाई ‘वैधता’ नदिन मुस्लिम नेताहरूसँग आग्रह
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले आइतबार मुस्लिम नेताहरूसमक्ष अफगान तालिबान सरकारलाई ‘वैधता’ नदिन र महिला तथा बालिकाको शिक्षामाथिको प्रतिबन्धको विरोध गर्दै ‘वास्तविक नेतृत्व’ देखाउन आग्रह गर्नुभएको छ ।
“उनीहरूलाई वैधता नदिनुहोस्”, पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षासम्बन्धी शिखर सम्मेलनमा शिक्षा अधिकारीहरूलाई सम्बोधन गर्दै २७ वर्षीया युसुफजाईले भन्नुभयो, “मुस्लिम नेताहरूका रूपमा अब आफ्नो आवाज उठाउने र आफ्नो शक्ति प्रयोग गर्ने समय हो । तपाईँहरूले वास्तविक नेतृत्व देखाउन सक्नुहुन्छ ।”
पाकिस्तानका शिक्षामन्त्री खालिद मकबुल सिद्दिकीले शनिबार एएफपीलाई बताए अनुसार निमन्त्रणा गरिए पनि अफगान तालिबान सरकारका प्रतिनिधिहरू दुईदिने कार्यक्रममा उपस्थित भएनन् ।
“सरल भाषामा भन्नुपर्दा तालिबानले महिलाहरूलाई मानव प्राणीका रूपमा हेर्दैन”, युसुफजाईले सम्मेलनमा भन्नुभयो, “उनीहरूले आफ्नो अपराधलाई सांस्कृतिक र धार्मिक औचित्यमा लुकाउँछन् ।”
महिला शिक्षा अधिकारका लागि अभियान चलाउँदै गर्दा सन् २०१२ मा १५ वर्षीया स्कुलकी छात्रा हुँदा पाकिस्तानी तालिबानले युसुफजाईको अनुहारमा गोली हानेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *