भर्खरै :

चिनियाँ समाजप्रति माओ त्सेतुङको प्रारम्भिक धारणा के थियो

चिनियाँ समाजप्रति माओ त्सेतुङको प्रारम्भिक धारणा के थियो

हुनान प्रान्तको शाओशान गाउँमा आफ्नो परिवारको गोठमा सन् १८९३, डिसेम्बर २६ मा परिवारको पहिलो जीवित बच्चाका रूपमा माओ त्सेतुङको जन्म भएको थियो । उहाँका पिता एक सफल तथा परिश्रमी किसान हुनुहुन्थ्यो । सम्भवतः अधिकांश छिमेकी घरभन्दा माओको घर ठुलो थियो । किशोर माओको आफ्नै शयनकक्ष थियो । उहाँको गाउँको ठुलो परिवारमा यसरी बेग्लै सुत्ने कोठा हुनु दुर्लभ नै भन्न सकिन्छ ।
पछि उहाँ क्रान्तिकारी हुनुभयो । माओले आफ्ना क्रान्तिकारी साथीहरूसँगै बस्न र सुत्नमा धेरै वर्ष व्यतीत गर्नुभयो । तथापि ती मानिस, जसको अभियानले लाखौँको जीवन रूपान्तरित गरिदियो, ‘आफैले गर्ने हो’ भनी नियमितजसो जनताबाट परै रहनुभयो । उहाँलाई एउटा नेताको रूपमा स्थापित गराउनमा लामो समय एकान्तवासको बिम्ब प्रायः निर्णायक भयो ।
आफ्नो परिवारको सापेक्ष समृद्धिको अर्थबाट माओ वास्तवमा किसान हुनुहुन्थेन तथापि उहाँलाई सधैँ किसानवर्गको पहिचान मिल्यो । पछि अध्यक्ष माओका रूपमा विश्वको एउटा विशाल देशको सर्वोच्च नेताले आफ्नो नम्र सुरुआतको सम्झना गर्दै भन्नुभयो, “म पृथ्वीको एउटा मानिस हुँ मात्र, जहाँ हामी उभिएका छौँ ।”
१९ औँ शताब्दीको अन्तसम्म चीनमा लगभग तीन शताब्दी (२७० वर्ष) देखि शक्तिमा रहेको राजसंस्थाको विशाल साम्राज्य थियो । छिङ राजवंशका बेला एक करोड ४७ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तीन गुणा ठुलो चीन विश्वको इतिहासमा सबैभन्दा ठुलो साम्राज्य थियो । त्यहाँ गैरहान अल्पसङ्ख्यकसहित ४५ लाख मानिसको बसोबास थियो ।
साम्राज्यको जुन आकार थियो, त्यसले त्यहाँका धेरै कमजोरी लुकेका थिए । युरोप र पश्चिममा औद्योगिक क्रान्तिले ल्याएको व्यापक प्रविधि विकासको लहरले चीनलाई छोएको थिएन । श्रमिकहरूप्रति चीनका कुलीनवर्गको घृणाले औद्योगिक प्रगतिमा मलजल गर्न उत्पादनमूलक प्रविधिका लागि सैद्धान्तिक ज्ञान हस्तान्तरणमा अवरोध भइरहेको थियो ।
आफ्नो प्रसिद्ध पर्खालले गर्दा नचाहेर पनि चीन पृथक नै रह्यो । शासकवर्गले देशभित्र सम्पत्तिको समान वितरण गर्ने विश्वको मान्यता अनुशरण गरिरहेको थिएन । जसको परिणाम साम्राज्यको सम्पत्ति सानो कुलीनवर्गमा सञ्चित हुन पुग्यो भने किसान जनता गरिबीमा बाँच्न बाध्य भए । अशिक्षा, शिशु मृत्युदर तथा कुपोषण दर धेरै उच्च भयो भने राजधानी पेइचिङ बाहिर लगानी र पूर्वाधार विकासको अवस्था अत्यन्त न्यून हुन पुग्यो ।
कुनै बेला शक्तिशाली छिङ राजवंशका अन्तिम उत्तराधिकारी ६ वर्षीय सम्राट फुईलाई ‘फर्बिडन सिटी’ भित्र राजगद्दीमा राख्ने काम भयो । बालक सम्राटको प्रतिनिधिका रूपमा राज्याधिकारीले शासन व्यवस्था समाले तर जनताले उनीहरूलाई भ्रष्ट र असक्षम माने । ती शासकमाथिको आक्रोस बढ्दै गयो र सार्वजनिकरूपमा त्यसको विरोध हुन थाल्यो ।
सो आन्तरिक अशान्तिमा व्यस्त शाही सेना विदेशी सेनाको अगाडि कमजोर पर्न गयो । जापान, अमेरिका तथा युरोपेली शक्तिसँगको युद्ध चीनको पराजयसँगै समाप्त भयो । सन् १८४१ मा ब्रिटेनसँग दुईपटक भएको अफिम युद्धबाट चीनले आफ्नो सहर हङकङ ब्रिटेनलाई सुम्पनु पर्यो । सन् १८८५ मा चीनले दक्षिणपूर्वी एसियाको आफ्नो क्षेत्र फ्रान्सलाई सुम्पियो र सन् १८९५ मा जापानले ताइवान लियो । आर्थिक स्रोतको कमी तथा क्षमता विस्तारित नहुँदा साम्राज्यको केन्द्रीय राजसभाले हरेक क्षेत्रलाई आफ्नो सुरक्षा आफै गर भन्यो । जसको परिणाम साम्राज्यको बाँकी रहेका अधिकांश क्षेत्र क्षेत्रीय सरदारहरूको नियन्त्रणमा गयो । तीमध्ये केहीले मात्र आफूलाई छिङ राजवंशप्रति बफादार मानेका थिए ।
यसैबिच प्रकृतिले साम्राज्यमा निर्दयी व्यवहार देखायो । दुई भयङ्कर बाढीले १० लाखभन्दा बढी चिनियाँको ज्यान लियो । भूकम्प र अकालले थप दसौँ हजार परिवारलाई घरबारविहीन बनायो । तथापि २० औँ शताब्दीको बिहानीमा समेत चीनका सम्राटले परम्परागतरूपमा आफूलाई शासन गर्न ‘स्वर्गको जनादेश’ मिलेको विश्वास गर्न नछाडेपछि चिनियाँ जनताले आफ्ना दिव्य शासकप्रति आस्था राख्न छाड्न थाले । चीन यस्तो भूमि हो जसलाई असन्तोष, विद्रोह र विप्लवले हल्लाएको छ ।
‘फर्बिडन सिटी’ बाट १५ सय किलोमिटर टाढा हुनानको ग्रामीण क्षेत्रमा रहेका युवा माओलाई साम्राज्यको अस्थिरताको जानकारी थियो । चीनको दक्षिणी क्षेत्रमा रहेको हुनान प्रान्त नदी उपत्यका तथा धान खेत भएका गाउँ, पहाडी क्षेत्रले ढाकेको छ । भोक र पीडाले आक्रोशित किसानहरूको ठुलो सङ्ख्यामा त्यहाँ बसोबास थियो । आफूलाई सहयोग नगर्ने सरकारी अधिकारीका कट्टर आलोचक थिए उनीहरू । हुनानमा किसानको अशान्ति जीवनको नियमित अङ्गझैँ थियो । माओ किशोरावस्थामा हुँदासम्म हल्लिरहेको साम्राज्यमा क्रान्तिकारी क्रियाकलापको मुख्य थलो भएको थियो यो प्रान्त । १७ वर्षको उमेरमा माओले नजिकैको प्रान्तीय राजधानी चाङसामा अध्ययन गर्न आफ्नो गाउँ साओसान छाड्ने विचार गर्नुभयो । उहाँले एउटा जापानी कवितामा आधारित आफ्नो लेखोटमा यसरी आमाबुबालाई आफ्नो निर्णय बारेमा सम्झाउनुभएको थियो :
मेरो महान् अभिलाषाले घर छाड्नुपरेको
सच्चा विद्वान् बन्ने वा कहिल्यै नफर्कने
किन आफ्नै गृहनगरमा सीमित रहन हठ गरिन्छ
जीवनमा सबैतिर हरिया पहाड छन् !
हामीले हेर्यौँ भने क्रान्तिकारी चीनमा भइरहेको राजनीतिक उथलपुथलमा उहाँको संलग्नताले एक सच्चा विद्वान् बन्ने माओको अभिलाषामाथि कुठाराघात भएको देखिन्छ । उहाँले आफ्नो विरासतका रूपमा छाडेर गएको लेखन तथा शिक्षणले चीन र विश्वको इतिहास परिवर्तन गरेको छ तर ती विद्वत्तापूर्णभन्दा पनि वैचारिक तथा अनुसन्धानभन्दा पनि अवलोकन र सङ्घर्षमा आधारित थिए ।
पुरानो साम्राज्यवादी शक्तिदेखि नयाँ क्रान्तिकारी सम्भ्रान्तवर्गजस्ता आफू असहमत रहेका गुटबाट जीवनपर्यन्त घेरिनुभएका माओले आफूलाई विद्वान्मा सीमित गर्नुभन्दा परिवर्तनका संवाहकरूपमा स्थापित गर्नुभयो ।
माओको परिवार कस्तो थियो : कसरी उनीहरूले समाजप्रति आफ्नो छोराको दृष्टिकोणलाई प्रभावित पारे ?
माओ यिचाङ नामका बुढा (पिता) माओ अल्पव्ययी किसान हुनुहुन्थ्यो । उहाँबाट माओले कडा परिश्रम गर्दाको महत्व बुझ्नुभयो । सन् १९३० को दशकमा माओले आफ्नो ‘अन प्राक्टिस’ ग्रन्थमा पुरुष र महिलाको क्रियाकलापले इतिहास निर्धारण हुने तथा मानव क्रिया सर्वज्ञानमा आधारित रहने चर्चा गर्नुभएको छ । यो सकभर माओ यिचाङको दृष्टिकोण हुनसक्छ ।
तर, माओ र उहाँका पिताबिच पनि वैचारिक मतभिन्नता थियो । किशोरावस्थामा माओले आफ्नो विवाहका लागि पिताले रोजेकी महिलालाई पत्नी स्वीकार गर्न मान्नुभएन तथा आफूले पारिवारिक फार्महाउसको जिम्मेवारी लिइदिनुपर्ने पिता माओ यिचाङको इच्छाको प्रतिरोध गर्नुभयो । उहाँको अर्को महत्वपूर्ण देन ‘अन कन्ट्राडिक्सन’ मा जनता र उनीहरूको अभिप्रेरणाबिच प्राकृतिक भिन्नताको विश्लेषण गरिएको छ । सम्भवतः माओलाई प्रारम्भिक असहमतिहरूको स्मरण हुन्थ्यो । जसले सर्वप्रथम उहाँलाई व्यक्तित्व वृद्धि र नेतृत्वमा आफ्नो बाटो आफैँ तय गर्न प्रेरित गर्यो ।
माओकी आमा बेन सछिन औधि सुन्दर तथा बौद्ध भक्तालु हुनुहुन्थ्यो । उहाँको छोरामा उहाँको सुन्दर अनुहार र भक्तिगुण जन्मजात आएको भनिन्छ । वेनले आफ्ना चार सन्तानलाई नव–कन्फुसियसको नैतिक शिक्षाग्रहणमा जोड दिनुभएको थियो ।
माओका बालबच्चाले ग्रहण गरेको प्राचीन धर्म कन्फुसियसमा आधारित यस नवज्ञानको धाराले अवसर र विवेकमा समानताको कुरामा बल दिएको छ । यसले सबै मानिसलाई शिक्षा र ज्ञानका आधारमा आफ्नो जीवन अगाडि बढाउन समान अवसर प्राप्त छ तथा आध्यात्मिक विश्वास र अभ्यासबाट नैतिकता र ज्ञानको विकास गर्न समान क्षमता पनि छ भन्ने मान्यता राख्दछ ।
वास्तवमा नव–कन्फुसियनले आत्मप्रतिबिम्बमा दिएको जोडले यसलाई एक दर्शन बनाएको छ, जो वर्ग र शिक्षाको स्तरभन्दा पर छ । युवा माओ त्सेतुङका लागि आफूले धेरै माया गर्ने आफ्नी आमाको ब्रह्मज्ञानको रूपमा यो निकै प्रासाङ्गिक भयो । मूलभूतरूपमा आफ्नी आमाले तल्लो वर्गप्रति देखाएको सद्भावले नै माओको ध्यान समाजका कुलीनवर्गबाट हटेर तल्लोवर्गका श्रमिकहरूमाथि केन्द्रित भएको थियो ।
जब वेन सकिन बिरामी हुनुभयो, माओले आफ्नो देशको एउटा सबैभन्दा पवित्र पहाडमा चढेर उहाँको सुस्वास्थ्यका लागि कामना गर्नुभएको थियो ।
आमाको निधन भएपछि २५ वर्षीय माओले एउटा कविता लेख्नुभयो :
बिरामी हुँदा आफ्नो गम्भीर अवस्थामा,
उहाँले मप्रति सद्भावको वर्षा ल्याउनुभयो,
म कसरी आफ्नो अनन्त अफसोस जाहेर गरूँ
म नयाँ बौद्धमार्गी भए पनि,
तिम्रो मधुर मुस्कान म कहाँ खोजुँ,
नश्वर संसारमा बुद्ध छैन ।
केही विद्वान्को मतअनुसार माओ क्रान्तिकारीका रूपमा विकसित हुनुमा उहाँको पिताका कर्मयोगी उदाहरण जत्तिकै योगदान आमा वेन सकिनको विश्वासको पनि छ । पक्कै पनि आफ्नो परिवारको घरपरिसर बाहिर हुनानका सङ्घर्षरत किसानको चित्कारले भावी अध्यक्षका लागि दीर्घकालीन ठुलो प्रभाव पारेको थियो, जसले आफू मृत्यु शøयामा पुग्दासम्म आफूलाई ‘हुनानको एउटा कर्मशील सेवक’ मान्नुभयो ।

स्रोत : माओ त्सेतुङबारे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *