भर्खरै :

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – २

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – २

(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)

  • १६. (सोभियत सङ्घको इतिहास लगायत) इतिहासको वर्गीय विश्लेषणलाई अघि बढाउनमा रुचि लिने सबैका लागि महत्वपूर्ण हुने गरी यस आलेखमा सम्बन्धित अनुसन्धानहरूको सार–सङ्क्षेप खिचिएको छ ।
  • १७. जे. आर्क गेट्टी सोभियत सङ्घमा स्तालिनको अवधिबारे अनुसन्धान गर्ने अमेरिकाका अग्रणी अध्येता हुन् । उनले शीतयुद्धताका भएका ऐतिहासिक खोजबिनलाई ‘प्रचारबाजीको उपज’ भनेका छन् । यी ‘अनुसन्धान’ लाई आलोचना गर्नु वा सच्याउनुको कुनै अर्थ छैन बरु तिनलाई नयाँ सिराबाट पुनः अध्ययन गरिनुपर्ने गेट्टीको सुझाव थियो । यसमा म उनीसँग सहमत छु । तर, यो पक्षपातपूर्ण, राजनीतिप्रेरित र बेइमान ‘अनुसन्धान’ आजका मितिमा पनि दोहो¥याइँदै छ ।
    (टिपोट ४  : गेट्टीको भनाइ युरी झुकोभको रचना ‘झुपेल स्तालिना’ बाट लिइएको हो । सो रचना २००२ नोभेम्बर ५ मा ‘कोम्सोमोलस्काया प्राभ्दा’ मा प्रकाशित भएको थियो । मलाई एक इमेल लेखी स्वयम् गेट्टीले यो कुराको पुष्टि गर्नुभएको थियो ।)
  • १८. शीतयुद्धकालीन र ख्रुश्चेभपन्थी दृष्टिकोण नै ‘स्तालिन युग’ को इतिहासबारे चल्तीको कोण रहिआएको छ । यस अध्ययनले ‘त्यो भुइँ सफा गर्ने’ र ‘नयाँ सिराबाट पुनः सुरु गर्ने’ दिशामा योगदान गर्न सक्छ । यहाँ उल्लेख सत्यले संसार फेर्नका निम्ति संसारलाई बुझ्ने माक्र्सवादी यात्रामा ठूलो अर्थ राख्नेछ । सामाजिक तथा आर्थिक न्याययुक्त वर्गविहीन समाजको निर्माणमा यस अध्ययनले टेवा दिनेछ ।
  • १९. यस निबन्धको निष्कर्ष खण्डमा हाम्रो अध्ययनले सुझाएका थप अनुसन्धानका केही पाटातिर औँल्याएको छु ।

नयाँ समाजवादी संविधान

  • २०. सन् १९३६ डिसेम्बरमा सोभियतहरूको आठौँ विशेष अधिवेशनले सोभियत सङ्घको नयाँ संविधानको मस्यौदा पारित ग¥यो । संविधानमा गोप्य मतदान र प्रतिस्पर्धात्मक निर्वाचनको आह्वान गरिएको थियो । (झुकोभ, इनोय, पेज ३०७–९)
    २१. त्यसबेला बोल्शेभिक पार्टीलाई ‘अखिल युनियन कम्युनिस्ट पार्टी (बोल्शेभिक)’ भनिन्थ्यो र उम्मेदवारहरू केवल यही पार्टीबाट हुनुपर्छ भन्ने थिएन । टोल समिति, (धार्मिक समूह लगायत) विशेष संस्थान अथवा पेसागत सङ्गठनजस्ता अन्य नागरिक समूहबाट पनि उम्मेदवारी दिन मिल्थ्यो । यो अन्तिम बन्दोबस्त कहिल्यै लागु हुन पाएन । प्रतिस्पर्धात्मक निर्वाचन कहिल्यै भएन ।
    (टिपोट ५ : सन् १९५२ मात्र बोल्शेभिक पार्टीको नाम फेरेर सोभियत सङ्घको कम्युनिस्ट पार्टी राखिएको थियो ।)
  • २२. जोसेफ स्तालिनको जोडबलकै कारण संविधानमा प्रजातान्त्रिक बुँदाहरू समावेश गरिएको थियो । बोल्शेभिक पार्टीको पोलिब्युरोमा रहेका आफ्ना निकटस्थ सहयोगीहरूसँगै स्तालिनले यी प्रावधानहरूलाई समावेश गर्न दृढतापूर्वक सङ्घर्ष गर्नुभएको थियो । (गेट्टी, ‘राज्य’) पार्टीको केन्द्रीय समितिले पूर्णतः मनाही गर्दा मात्र उहाँहरू चुप बस्नुभयो । सोभियत सरकार ढाल्न जापान र जर्मन फासीवादको साँठगाँठमा भएका गम्भीर षड्यन्त्रहरू पत्ता लागेको सन्त्रासपूर्ण माहोलमा उहाँहरूले केन्द्रीय समितिसामु हार मान्नुभयो ।
  • २३. सन् १९३५ को जनवरी महिनामा पोलिटब्युरोले नयाँ संविधानका विषयवस्तुको खाका कोर्ने जिम्मा आभेल यनुकिद्जलाई सुम्पियो । केही महिनापछि उनी खुला र प्रतिस्पर्धात्मक निर्वाचनको सुझावसाथ फर्किए । लगत्तै सन् १९३५ जनवरी २५ का दिन स्तालिनले यनुकिद्जको प्रस्तावमा विमति जनाउनुभयो । त्यसको साटो उहाँले गोप्य निर्वाचनमा जोड दिनुभयो । (झुकोभ, इनोय, पेज ११६–२१)
    (टिपोट ६ : यनुकिद्ज पुराना क्रान्तिकारी हुनुका साथै स्तालिनका मित्र तथा जर्जियाका स्वदेशी बन्धु थिए । उनी सोभियत सरकारको उच्च पदमा थिए । सन् १९२० को दशकमा बनेका विरोधी गुटहरूमध्ये उनी कुनैमा पनि थिएनन् । त्यति बेला उनी क्रेमलिन रक्षा दलका इन्चार्ज पनि थिए । तर, केही महिनामै उनी स्तालिनको नेतृत्वविरुद्ध बुनिएको ‘दरबारी षड्यन्त्र’ का सदस्य रहेको खुलासा भयो । त्यसरी खुलासा हुनेमा उनी पहिलो व्यक्ति थिए । यसले स्तालिनलाई अत्यन्त क्षुब्ध बनाएको झुकोभ लेख्छन् । (झुकोभ, कोम्सोमोलस्काया प्राभ्दा, २००२ नोभेम्बर १४)
  • २४. स्तालिनले आफ्नो असहमति सार्वजनिक रूपमै व्यक्त गर्नुभयो । सन् १९३६ को मार्च महिनामा अमेरिकाका चर्चित्र पत्रकार रोय हावर्डसँगको अन्तर्वार्तामा उहाँले आफ्नो विमति जाहेर गर्नुभएको थियो । सोभियत सङ्घको संविधानमा सबै मतदातालाई गोप्य मतदानको अधिकार सुनिश्चित गरिने उहाँले उद्घोष गर्नुभयो ।
    मतदानमा सबैको हैसियत समान हुने, मजदुर–किसान दुवैको मत बराबर मानिने पश्चिममा जस्तै भौगोलिक तथा पदीय हैसियत (जारको शासनकालमा पदअनुसार मतको अलग हैसियत हुन्थ्यो) एवम् रोजगार क्षेत्रका हिसाबले पनि सबैको हैसियत समान हुने सम्पूर्ण सोभियत समितिलाई जनप्रतिनिधिले छनोट नगरी नागरिक आफैले प्रत्यक्ष चुन्ने व्यवस्था गरिएको थियो । (स्तालिन–हावर्ड अन्तर्वार्ता, झुकोभ, ‘रिप्रेस्सी’, पेज ५–६)
    (टिपोट ७ : त्यसबेला लागु भइरहेको सन् १९२४ को सोभियत संविधानको भाग ३, अध्याय ३, दफा ९ ले समाजमा सहरियाहरूलाई बढी महत्व दिएको थियो । एकजना सोभियत प्रतिनिधिको मत सहरका २५ हजार मतदाता बराबर मानिन्थ्यो भने गाउँका १ लाख २५ हजार मतदाता बराबर मानिन्थ्यो । सर्वहारा अधिनायकत्वको माक्र्सवादी अवधारणाअनुरूप यो प्रावधान राखिएको थियो । समाजवादप्रति बहुमत मजदुरहरूको समर्थन थियो । सहरिया मजदुरलाई यसकारण प्राथमिकता दिइएको थियो ।)
    स्तालिन : हाम्रो नयाँ संविधान सम्भवतः हामी यो वर्षको अन्त्यतिर लागु गर्नेछौँ । संविधानको मस्यौदा गर्न नियुक्त गरिएको आयोगले आफ्नो काम गर्दै छ र चाँडै उसले आफ्नो जिम्मेवारी पूरा गर्नेछ । अघि नै जानकारी गराएझैँ नयाँ संविधानअनुसार मताधिकार बालिग, समान, प्रत्यक्ष र गोप्य हुनेछ । (स्तालिन–हावर्ड अन्तर्वार्ता, पेज १३)
  • २५. सबैभन्दा महत्वको कुरा के भने स्तालिनले निर्वाचन प्रतिस्पर्धात्मक हुने घोषणा गर्नुभयो ।
    निर्वाचनमा एउटा मात्र दलले भाग लिने होला भनी तपार्इँ अलमलमा पर्नुभयो होला । यस्तो अवस्थामा निर्वाचन प्रतिस्पर्धात्मक हुन नसक्ने अनुमान पनि गर्नुभयो होला । निश्चय नै उम्मेदवारहरू कम्युनिस्ट पार्टीका मात्र हुने छैनन् । बरु जनताका सबै तह र तप्काबाट, पार्टीइतरका सङ्घ–सङ्गठनबाट उम्मेदवार आउनेछन् । हामीकहाँ यस्ता सयौँ सङ्गठन छन् । हामीकहाँ कुनै प्रतिस्पर्धी दल छैनन् । न त श्रमजीवीवर्गविरुद्ध प्रतिस्पर्धा गर्ने पुँजीपति वर्ग नै छ । श्रमजीवीवर्गको शोषण गर्ने पुँजीपति हामीकहाँ छैनन् । हाम्रो समाज मजदुर, किसान र बुद्धिजीवी जस्ता गाउँ र सहरका उन्मुक्त श्रमजीवीले भरिएको छ । यी सबै तह र तप्काका आआफ्नै विशेष स्वार्थ हुन सक्छन् र देशभरि बनेका विभिन्न सङ्घ–सङ्गठनमार्फत यिनले आफ्नो स्वार्थ अभिव्यक्त गर्छन् । (स्तालिन–हावर्ड अन्तर्वार्ता, पेज १३–१४)
    विभिन्न नागरिक सङ्गठनले कम्युनिस्ट पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिन सक्ने प्रावधान थियो । मतदाताले आफूले जिताउन चाहेको उम्मेदवारको बाहेक बाँकी सबैको नाम काटेर मत दिन सक्ने स्तालिनले हावर्डलाई बताउनुभयो ।
  • २६. स्तालिनले जोड दिँदै कर्मचारीतन्त्रविरुद्ध लड्न प्रतिस्पर्धात्मक निर्वाचन निकै महत्वपूर्ण हुने बताउनुभयो ।
    तपार्इँलाई प्रतिस्पर्धात्मक निर्वाचन नहोला भन्ने लाग्छ होला । तर निर्वाचन हुनेछ । म त निकै जीवन्त चुनावी अभियान देख्दै छु । हाम्रो देशमा झूर पाराले काम गर्ने सरकारी सङ्घ–संस्थानको कमी छैन । गाउँ र सहरका श्रमजीवी जनताका आवश्यकता विविध र वृद्धि हुँदै छन् । कहिले यो त कहिले त्यो सरकारी संस्थाले तीमध्ये निश्चित आवश्यकता पूरा गर्न नसकेको खबर आइरहन्छ । तपार्इँले गतिलो पाठशाला बनाउनुभयो कि भएन ? के आवासको अवस्था सुधार्नुभयो ? के तपार्इँ कर्मचारी हो ? के हाम्रो श्रमलाई थप प्रभावकारी बनाउन तपार्इँले सघाउनुभयो ? हाम्रो जीवन थप संस्कारी बनाउन सघाउनुभयो ? यी लाखौँ मापदण्ड लगाएर मतदाताले आफ्ना उम्मेदवारहरूको योग्यता नाप्नेछन् । उपयुक्त नलागेका उम्मेदवारलाई अस्वीकार गर्नेछन् । त्यस्ता उम्मेदवारको नाम उम्मेदवारको सूचीमा काट्नेछन् । उत्कृष्ट उम्मेदवारलाई मलजल गर्नेछन्, जिताउनेछन् । साँच्चै निर्वाचन अभियान जीवन्त हुनेछन् । अनगिन्ती गम्भीर मुद्दावरिपरि चुनावी प्रक्रिया चल्नेछ । मूलतः व्यवहारिक प्रकृतिका, जनतालाई नभई नहुने लागेका समस्याउपर निर्वाचन हुनेछ । हाम्रो नौलो निर्वाचन प्रणालीका कारण सम्पूर्ण सरकारी संस्थान तथा सङ्घ–सङ्गठन मजबुत बन्नेछन् र तिनलाई आफ्नो कार्यसम्पादन सुधार्न कर लाग्नेछ । सोभियत सङ्घमा बालिग, समान, प्रत्यक्ष तथा गोप्य निर्वाचनको प्रबन्ध फितलो काम गर्ने सरकारी निकायलाई डाम्ने जनताको हातको कोर्रा बन्नेछ । मेरो विचारमा हाम्रो नौलो सोभियत संविधान विश्वकै सबैभन्दा प्रजातान्त्रिक संविधान बन्नेछ । (स्तालिन–हावर्ड अन्तर्वार्ता, पेज १५)
  • २७. यसपछि स्तालिन र पोलिटब्युरोमा उहाँका निकट मित्र भ्याचेस्लाभ मोलोतोभ र आन्द्रेइ ज्दानोभले पार्टीको नेतृत्व वृत्तमा हुने सबै छलफलमा गोप्य र प्रतिस्पर्धात्मक निर्वाचनको पक्षमा आवाज उठाउँदै जानुभयो । (झुकोभ, इनोय, पेज २०७–१०; स्तालिन–हावर्ड अन्तर्वार्ता)
  • २८. मताधिकारबाट वञ्चित धेरै सोभियत नागरिकहरूको अधिकार पुनःस्थापित हुनेमा पनि स्तालिनले जोड दिनुभयो । वञ्चित हुनेहरूमा पहिलेका जमिनदारलगायत पूर्व शोसक र उत्पीडकवर्गका व्यक्ति पर्थे । सन् १९१८–१९२१ को गृहयुद्धताका बोल्शेभिकहरूविरुद्ध लड्ने ‘श्वेत गार्ड’ का साथै विभिन्न अपराधका कसुरवारहरू यसबाट वञ्चित थिए । वञ्चितहरूमध्ये ठुलो सङ्ख्यामा र सबैभन्दा महत्वपूर्ण दुईथरी थिए । पहिलोमा पर्थे ‘कुलाकहरू’ । केही वर्षअघि यिनीहरूले राज्यले सुरु गरेको सामूहिकीकरण आन्दोलनमा भाँजो हालेका थिए । दोस्रोमा पर्थे, सन् १९३२ को ‘तीनकाने कानुन’ मिच्नेहरू । यिनीहरूले (यदाकदा भोकमरी छल्न) अन्नपात लगायत राज्यको सम्पत्ति चोरिरहन्थे । (झुकोभ, इनोय, पेज १८७)
    (टिपोट ८ : ‘तीनकाने कानुन’ खासमा कानुन थिएन । यो ‘केन्द्रीय कार्यकारी समिति तथा जनकमिसार परिषद्को निर्णय थियो’ । त्यसकारण, यो सरकारको विधानपालिका र कार्यपालिकाको निर्णय थियो । यस निर्णयलाई सामान्यतः ‘कानुन’ भनिन्थ्यो । विद्वानहरूले समेत त्यही भनेबाट तिनीहरूले त्यो निर्णय नपढेको पुष्टि हुन्छ । यसलाई त्राजेदिया सोभेत्स्कोय देरेभ्नीमा छापिएको छ । शीर्षक छ – कोलेक्तिभिजेत्सिया इ रास्कुलाचिभानी । दोकुमेन्ती १ मतेरिले । सन् १९२७–१९३९ । तोम ३ । कोनेत्स १९३०–१९३३ । (मस्को : रोस्सेपेन, २००१), १६० नम्बर, पेज ४५३–४ । त्यसैगरी सोब्रानी जाकोनोभ इ रास्पोरियाजेनी राबोचे–क्रेस्तइयान्सकोगो प्राभितेलस्ताभा एसएसएसआरमा पनि छापिएको छ । चास्त इ, १९३२, पेज ५८३–५८४ । यो उद्धरणका लागि म डा. जिबोर टी रिटेस्पोर्नप्रति आभारी छु ।)
  • २९. स्तालिनको अगुवा टोलीले सोभियत सङ्घको शासन व्यवस्थामा परिवर्तन ल्याउन नचाहेको भए यी चुनावी सुधार अनावश्यक नै हुने थिए । उहाँहरू सोभियत सङ्घमाथि प्रत्यक्ष शासन गर्ने भारबाट कम्युनिस्ट पार्टीलाई पर राख्न चाहनुहुन्थ्यो ।
  • ३०. रुसी क्रान्ति र त्यसपछिका सङ्कटपूर्ण वर्षहरूमा सोभियत सङ्घलाई कानुनतः सोभियतहरू (‘परिषद्हरू’) को निर्वाचित तहगत समितिले शासन गथ्र्यो । स्थानीयदेखि राष्ट्रिय स्तरसम्मै यसको शासन थियो । सबैभन्दा माथि राष्ट्रिय विधानपालिकाको रूपमा सर्वोच्च सोभियत हुन्थ्यो, कार्यपालिकाको रूपमा जनकमिसार परिषद् (सोभियत) हुन्थ्यो र राज्य प्रमुखको रूपमा यसै परिषद्का अध्यक्ष हुन्थे । तर, वास्तवमा सम्पूर्ण तहमा यी अधिकारीहरूको छनोट गर्ने अधिकार सधैँ बोल्शेभिक पार्टीको हातमा रहिआएको थियो । निर्वाचन त हुन्थ्यो तर पार्टी नेताहरूले ठाडै ‘जिम्मा दिने’ (वा ‘मान्छे तोक्ने’) चलन सामान्य थियो । निर्वाचनसमेत पार्टीकै नियन्त्रणमा हुन्थ्यो । पार्टी नेताहरूको स्वीकृतिबेगर कोही पनि पदमा आसीन हुन सक्दैनथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *