भर्खरै :

पश्चिमा विचारधारामा माओले के सोच्नुभयो ?

पश्चिमा विचारधारामा माओले के सोच्नुभयो ?

जब १७ वर्षीय माओ त्सेतुङ प्रान्तीय राजधानी छाङ्शा आउनुभयो उहाँले सहरमा जहाँतहीँ क्रान्तिकारी भावना देख्नुभयो । प्रवासी चिनियाँ श्रमिक युनियन तथा भूमिगत विद्यार्थी समाज सबैतिरबाट अगाडि आए र यी समूहबिच आफ्नो आवाज बुलन्द पार्न होडबाजी नै चल्यो ।
पूर्णतया राजनीतिक विचार समेटिएका समाचारपत्र र पर्चा भूमिगत प्रिन्टिङ प्रेस (छापाखाना) मा छापेर व्यापकरूपमा वितरण गर्न थालियो । केहीले सुझाव पनि दिए, पेइचिङमा छिङ राजसभामा क्रमिक सुधार चीनका लागि राम्रो हुनेछ । अन्यले भने, तत्काल र स्थायीरूपमा राजतन्त्र तथा ‘स्वर्गको जनादेश’ समाप्त गर्नेबाहेक अरू विकल्प हुँदैन ।
कैयौँ क्रान्तिकारीले शास्त्रीय उदारवादको पश्चिमा मोडेललाई स्थगन गरेर आफ्नो अवस्थितिको औचित्य पुष्टि गरे । दुई शताब्दीदेखिको राजनीतिक परिवर्तनबाट युरोपमा उत्पत्ति भएको विचारधारा उदारवादले निजी सम्पत्ति, कानुनी राज्य र वाक् स्वतन्त्रतालाई अँगीकार गर्दथ्यो । सिद्धान्ततः उदारवाद नीति सार्वभौमिक थियो ।
यस सिद्धान्तलाई कुनै वा सबै समाजमा लागु गर्न सकिन्छ । फ्रान्सेली र अमेरिकी क्रान्तिको उदाहरण प्रस्तुत गर्दै कट्टरपन्थी बुद्धिजीवीहरूले चीनको राजतन्त्रलाई पनि गणतान्त्रिक सरकारमार्फत प्रतिस्थापन गर्न सकिने तर्क राखेका थिए । गणतान्त्रिक शासन व्यवस्थामा जनताको प्रतिनिधित्व गर्ने निर्वाचित व्यक्तिमा शक्ति निहित रहन्छ र उसले कानुनी व्यवस्था अनुरूप शासन सञ्चालन गर्दछ । तर, वंशवादी चीनमा गणतन्त्रले कसरी काम गर्न सक्छ र सम्पत्ति र शिक्षा सीमित भएको तथा जहाँ सधैँ स्वेच्छाचारीले कानुन तयार पार्ने समाजलाई कसरी उदारवादी सुरक्षाको प्रत्याभूति गर्न सकिन्छ ? ठुलो सङ्ख्यामा अशिक्षित तथा निर्वाचित प्रतिनिधित्वको अवधारणासँग अपरिचित चीनका जनतालाई कसरी गणतान्त्रिक राज्यका नागरिकको भूमिका खेल्नसक्ने गरी गणना गर्न सकिन्छ ? ‘स्वर्गको जनादेश’ मा विश्वास गर्ने समाजले उदारवादी विचारधारको सरकार स्वीकार गर्न सक्छ ?
पश्चिमा अर्थशास्त्र र दर्शनशास्त्रको सहारामा माओले छोटो समयमै आफ्नो बेग्लै राजनीतिक अवस्था प्रस्ट पार्ने विचार गर्नुभयो । ६ महिना उहाँले छाङ्शाको पुस्तकालयमा समय व्यतीत गर्नुभयो । त्यहाँ उहाँले एडम स्मिथ, जाँ ज्याक रुसो र अन्य ख्यातिप्राप्त पश्चिमा उदारवादी विचारकका रचना अध्ययन गर्नुभएको थियो । स्मिथको ‘वेल्थ अफ नेसन्स’ रचनामा मानिसले राज्यको हस्तक्षेप वा सहयोगबिना आफ्नै आर्थिक स्वार्थलाई पछ्याउनुपर्ने चर्चा गर्दै समाजमा कारोबारी सङ्गठनहरूको भूमिकालाई महत्व दिइएको छ ।
यसविपरीत रुसोको लेखनमा मानिसको उत्तरदायित्वलाई ‘समग्रको हिस्सा’ तथा ‘आम जीवनप्रति जागरुक’ हुनुपर्नेमा जोड दिइएको छ । रुसोले समाजमा राजनीतिक सङ्गठनहरू, अझ प्रजातान्त्रिकरूपमा निर्वाचित सरकारको भूमिकालाई ठुलो महत्व दिनुभएको छ ।
युरोप औद्योगिक क्रान्तिमा अगाडि बढ्नु केही दशक पहिलेमात्र ब्रिटेनका एडम स्मिथ र फ्रान्सका रुसो दुवैले १८ औँ शताब्दीमा आफ्ना विचार लेख्नुभएको थियो, जुन क्रान्तिले चिनियाँ साम्राज्यले कहिल्यै नचिताएको जसरी युरोपेली समाजमा आधुनिकता र रूपान्तरण ल्यायो । यसले माओ त्सेतुङलाई हैरान पारेन । उहाँ प्रायः पुस्तकालयको प्रवेशद्वारमा रोकिएर त्यहाँ भित्तामा झुन्ड्याइएका विश्वका कैयौँ नक्साको अध्ययन र जहाँतहीँ मानिसका पीडाका बारेमा चिन्तन गर्नुहुन्थ्यो ।
धेरै वर्षपछि अध्यक्ष माओले आफ्नो स्वध्याय र त्यस केन्द्रमा राखिएको नक्सालाई सम्झनुभयो, “मानिसै मानिस भएको विश्व यति ठुलो छ । कस्तो खालको जीवन उनीहरू अगाडि बढाउँछन्, के यो हाम्रो चासोको विषय होइन ? मेरो गृहनगरका अधिकांश मानिस दुरूह जीवन जिउँदै छन्, चिसो वा भोकले सताइएका छन् । मानिसहरू रोगले मर्छन् किनभने उनीहरू चिकित्सकको खर्च बेहोर्न सक्दैनन्, कारागारमा मानिसहरूमाथि अत्याचार भइरहेको छ किनभने आफूले बालीनाली लगाएको जमीनको भाडा उनीहरू तिर्न सक्दैनन् … आफ्नो जीवनपर्यन्त अशिक्षित रहने मानिसको के कुरा गर्नु ¤ मैले कहिल्यै पनि वास्तविक सन्तोषी जीवन त्यहाँ देखिनँ । मलाई डर छ, यस्तो समान अवस्था पूरै जिल्ला (काउन्टी), पूरै हुनान प्रान्त, पूरै चीनमा होला ¤ के हामी दुःखदायी जीवन जिउनका लागि अभिशप्त छौँ ? होइन । कहिल्यै होइन ¤ संसार पूर्णतया परास्त हुने र नयाँ बन्ने छ । मैले ठुलो जिम्मेवारी विचार गरेको छु र लामो बाटो तय गर्नुपर्नेछ । प्रताडित चिनियाँ जनताका लागि मैले आफ्नो बलबुत्ताले भ्याएसम्म योगदान गर्ने प्रतिबद्धता गरेँ …. ।”
माओ त्सेतुङ, सन् १९५१
माओको विकासशील बौद्धिकता र राजनीतिक धुन विशिष्ट तवरले आपसमा समाहित भए । सरकारको भूमिकाप्रति उहाँको दृष्टिकोण तीक्ष्ण पार्न पश्चिमा उदारवादी सिद्धान्त उपयोगी भयो नै सामान्यरूपमा उहाँ बौद्धिक विचारको कमीप्रति उत्तिकै जागरूक पनि हुनुहुन्थ्यो ।
धेरैजसो चिनियाँ विद्वान् र महान् विचारकहरू समस्याको वास्तविकतासँग परिचित नभइकन आफ्ना सिद्धान्तको विश्लेषणमै अलगअलग रहेको माओलाई महसुस भयो । उनीहरू आफ्नै किसिमले ज्ञानको खोजीमा थिए र चिनियाँ जनताको वास्तविकताबाट अलग थिए । उनीहरूले प्रवाहित गरिरहेको परम्परागत चिनियाँ ज्ञानले बढ्दो औद्योगिकीकरण, व्यापारीकरण तथा सैन्यवादी समाजको सामना गर्न चिनियाँ जनतालाई सक्षम बनाउन सकिरहेको थिएन । बढीभन्दा बढी चिनियाँ विद्यार्थीले आफ्नो अध्ययनमा विवेचनात्मक दृष्टिकोण अपनाऊन् र परिवर्तनगामी प्रभावका लागि हिम्मत देखाऊन् भन्ने माओले चाहनुभएको थियो ।
माओका अनुयायी विद्यार्थीहरूमाझ लोकप्रिय पश्चिमा सिद्धान्त भनेको चाल्र्स डार्विनको मानव जीव विज्ञान र उद्विकास थियो । डार्विन ब्रिटेनका प्रकृतिवादी हुनुहुन्थ्यो । उहाँको ‘ओरिजिन अफ दी स्पेसिस’ मा सबै जीवित प्राणी एउटै पुर्खाबाट विकास भएका हुन् भन्ने विवादास्पद सिद्धान्तमा बहस गरिएको छ । डार्विनको विश्वासमा केही प्रजाति बाँच्छन् र प्राकृतिक छनोटको प्रक्रियाका आधारमा तिनले अन्य प्रजातिको विकास अवरुद्ध गर्छन् । यो परिवर्तित वासस्थान र सिकारीअनुसार आफूलाई अनुकूल बनाउने क्षमता ‘सर्भात्ल अफ दी फिटेस्ट’ कहलिन्छ ।
त्यसबेला डार्विनको उद्विकासवादी सिद्धान्तमा चर्को बहस हुन्थ्यो र त्यसको वैज्ञानिक आधारलाई अस्वीकार गर्ने पक्षद्वारा बहस जारी नै रहन्थ्यो । माओले त्यसको गुणमा ध्यान दिनुभयो । उहाँलाई पनि त्यसमा सन्देह थियो । उद्विकासवादी विज्ञानले मात्र होइन, पशु र मानिसमा कुनै स्पष्ट भिन्नता नभएको त्यसको सुझाव माओलाई चित्त बुझिरहेको थिएन । यो विचार पूर्णतया माओले प्राप्त गरेको परम्परागत शिक्षाको विपरीत थियो । साथै आफ्नी आमाबाट उहाँले ग्रहण गरेको आध्यात्मिक लालनपालनका कुरासँग पनि त्यसले मेल खाएन ।
मानिसको पुर्खा बाँदर भएको कुरालाई माओले ‘चैतन्य र इच्छाले मानव आत्मा निर्देशित हुने’ आफ्नो कल्पनासँग सामञ्जस्य मिलाउन सक्नुभएको थिएन । कसरी आफूले मानव इच्छाको उत्कृष्ट परिभाषा दिन सक्छु भनी उहाँ आफैलाई प्रश्न गर्नुहुन्थ्यो । ‘परिवर्तनतर्फ मानिसको सकारात्मक दृष्टिकोण’ नै त्यो तत्व हो जसले मानिसलाई पशुबाट भिन्न बनाउँछ भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो । एकपटक फेरि माओ मानव क्रियाशीलता, प्रतिरोध र ‘परिवर्तनका लागि पराक्रम’ को महत्वबाट पछाडि हट्नुभयो ।
मानिसमा क्रमागत र अञ्जानमा परिवर्तन हुने सुझाव दिने डार्विनवाद माओलाई ठीक लागेन । यथार्थमा युवा मानिसका लागि सङ्कट हुने प्राकृतिक छनोटको सिद्धान्तका कारण पश्चिमा बौद्धिक विचारधाराका अधिकांश नियम अन्ततः उहाँले अस्वीकार गर्नुभयो ।
तर, जस्तो कि, हामीले देख्ने छौँ, माओले एउटा महत्वपूर्ण अपवाद स्वीकार गर्नुभयो । त्यो थियो, जर्मनीका सामाजिक इतिहासकार, क्रान्तिकारी र कम्युनिस्ट घोषणापत्रका जनक कार्ल माक्र्सको सिद्धान्त !
पुँजीवादले ल्याउने असमानताको विरोध गर्दै सामाजिकवर्गको अन्त्यको आह्वान गर्ने सो ग्रन्थ त्यसबेलाको सर्वाधिक प्रभावशाली दस्ताबेज थियो । यसले क्रान्तिको खाका तथा समान स्वार्थ, साझा सम्पत्ति र सामूहिक सरकारका आधारमा समाजवादी समाजको सिर्जनाको आधार तयार पार्यो ।
जब माओ माक्र्सवादी विचारधाराका एक अनुयायी हुनुभयो, उहाँले महाशक्तिका रूपमा चीनको भविष्यको ढोका खोलिदिनुभयो । विडम्बना नै भन्नुपर्छ, जसै ढोका खुल्यो, अध्यक्षले चाल्र्स डार्विनको विचारधाराप्रति आफ्नो स्थिति पुनर्विचार गर्न थाल्नुभयो । उहाँद्वारा सुनिश्चित जनवादी गणतन्त्र चीनको विजयले ‘समाजवाद, वैचारिक सङ्घर्षमा… योग्यतमको जीत !’ प्रमाणित भयो ।

साभार : माओ त्सेतुङबारे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *