भर्खरै :

जनताप्रति समर्पित बनाइएन भने देशमा उपद्रव भइरहने

जनताप्रति समर्पित बनाइएन भने देशमा उपद्रव भइरहने

काठमाडौँ, ३१ भदौ । जेन–जीहरूको आन्दोलनको पूर्व तयारी जतिसुकै पहिलेदेखि भए पनि आन्दोलन गत वर्ष भदौ २३ र २४ गते भएको हो । पहिलो दिनको आन्दोलनमै युवा – विद्यार्थीहरूको हत्या भयो या टाउको र छातीमा ताकी ताकी गोली ठोकी हत्या गरियो । दोस्रो दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, नेताहरूको भवन र सयौँ सरकारी भवनमा आगजनी गरियो । पहिलो दिनको आन्दोलनमा युवा विद्यार्थीलाई हत्या गरिनु जसरी गलत थियो त्यस्तै दोस्रो दिन भवनहरूमा आगजनी गर्नु पनि गलतै थियो । सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारको पालामा गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गते घटेको घटनाबारे प्रतिवेदन तयार गर्नुपर्ने हो† प्रतिवेदनमा उल्लेख भएअनुसार कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने हो । तर, प्रतिवेदन पहिलो दिनको मात्र तयार गरियो । यसले सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार पूर्वाग्रही भएको प्रमाणित ग¥यो । सरकारले विभेद गरेको प्रस्ट देखियो ।
फागुन २१ गतेको निर्वाचनपछि गठन भएको बालेन्द्र साहको नेतृत्वमा गठित सरकारको त्यसतर्फ ध्यानै गएन । दोस्रो दिन भएको घटनाबारे चासो नराख्नुको अर्थ सरकार पनि उही ड्याङको मूला भएको दर्शाउँछ । पहिलो दिनको आन्दोलनमा हत्या गरेकाहरूमाथि मात्र होइन दोस्रो दिन आगजनी गर्ने विध्वंसकारीहरूमाथि पनि कारबाही गर्नु जरुरी छ । दोस्रो दिनको घटनाबारे प्रतिवेदन तयार नगर्नु, नगराउनुको अर्थ त्यो आन्दोलनमा नेतृत्व गर्ने युवाहरू अहिलेको सरकारमा हुनु पनि हो । अहिले सरकारको नेतृत्व गर्ने मन्त्री र सांसदहरू पनि उक्त आन्दोलनमा सरिक भएका थिए । ती युवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थामा आबद्ध छन् । यसले पनि जेन–जी आन्दोलनमा विदेशी शक्तिराष्ट्र र विदेशी दलालहरूको हात रहेको प्रस्ट हुन्छ । यो कुरा घटनाक्रमसँगै समयले पुस्टि गर्दै छ ।
जेनजीहरूको आन्दोलनलाई मोड्ने, उत्तेजित पार्ने र आगजनी गर्ने काममा विदेशी दलालहरूको हात भएकोमा शङ्का छैन । ती विदेशी दलालहरूकै कारण देशको अरबौँ – खरबौँ रकम बराबरको धनमाल क्षति भयो । जसले देशको धनसम्पत्ति ध्वस्त ग¥यो, आज तिनै युवाहरूको नेतृत्वमा सरकार छ । देशको सम्पत्तिमा तोडफोड र आगजनी गरेर देश कसरी विकास हुन्छ ? नेपाल समृद्ध र नेपाली कसरी सुखी हुन्छ ? नयाँ सरकारको यस्तै यस्तै कार्यशैलीले विगतको सरकारभन्दा यो सरकार झन् बेकाम्मे भएको थाहा हुन्छ । घटनाक्रमले वर्तमान सरकार संयुक्त राज्य अमेरिकाजस्ता विदेशी शक्ति राष्ट्रको उठबस या इसारामा चलिरहेको पुस्टि हुँदै छ । अरु देशको इसारामा चल्ने सरकारले देशलाई कहिल्यै आत्मनिर्भर बन्न अघि बढाउँदैन ।
सिंहदरबार, संसद् भवन आगजनी गरेको कुरा के सरकारलाई थाहा नहोला ? थाहा भएर पनि किन मौन ? जेनजी आन्दोलनपछि देशमा अराजक र उच्छृङ्खल गतिविधि बढेको देखिन्छ । हिंसात्मक अर्थात् आत्महत्या र आत्मदाहका प्रयासका गतिविधि बढेको देखिन्छ । युवा युवा र युवती युवती बिच कुटपिट, लुछालुछ भएको घटना हरेक दिनझैँ घटिरहेका छन् । चोरी चकारी बढेको देखिन्छ । कुटपिट र आत्मदाह र आत्महत्याका प्रयासले देशमा नकारात्मक सन्देश छरेको छ । यस्तो नकारात्मक सन्देशले अशान्ति बढाउँछ† बेमेल बढाउँछ । आखिर यसले आपराधिक गतिविधि बढाउँछ । यो देश र जनताको निम्ति राम्रो लक्षण होइन । यसतर्फ सरकारको ध्यान जानुपर्ने हो । यसरी नै अराजक, उच्छृङ्खल र हिंसात्मक गतिविधिले स्थान पाउँदै गयो भने भोलिको समाज कस्तो होला ? यहाँका जनता कसरी सुरक्षित होलान् ?
युवा – विद्यार्थीहरूलाई राजनीतिक प्रशिक्षण दिइएन, देशभक्त बनाइएन, देश र जनताप्रति समर्पित बनाइएन भने देशमा बरोबर उपद्रव भइरहन्छ† देशको सम्पत्ति नोक्सान भइरहन्छ । क्षति पुगेको सम्पत्तिको मर्मत सम्भार, जीर्णोद्धार र पुनःनिर्माण गरिहनुपर्दा देशको विकास कसरी हुन्छ ? जति जोगी आए पनि कानै चिरेका भनेजस्तै उस्तै सरकार बन्यो भने कसरी प्रगति हुन्छ† जनताको जीवन स्तर कसरी उठ्छ ? सरकारले जनतालाई कसरी काम मामको व्यवस्था गर्न
सक्छ ? योग्यताअनुसार काम र कामअनुसारको ज्याला कसरी बन्दोबस्त गर्न सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *