भर्खरै :

माक्र्सवाद के थियो ?

माक्र्सवाद के थियो ?

कार्ल माक्र्स १९ औँ शताब्दीका जर्मन दार्शनिक हुनुहुन्थ्यो । समाजको प्रकृति र आर्थिक विकास बारेमा उहाँका सिद्धान्तले इतिहासको दिशा परिवर्तन गरिदियो । शास्त्रीय उदारवादको परम्परामा शिक्षा हासिल गर्नुभएका प्रबुद्ध अर्थशास्त्री माक्र्सले आफू बाँचिरहेको संसारमा सामाजिक–आर्थिक व्यवस्था आधारभूत तहबाटै अन्यायपूर्ण रहेको विचार गर्नुभएको थियो । उहाँको विचारमा सम्पत्तिलाई मुद्राले होइन, श्रमले मापन गर्नुपर्छ । उहाँको विचारको महत्वपूर्ण पक्ष के छ भने वित्त र पूँजी लगानी प्रणालीमा निकै थोरै मानिसको एकाधिकार रहनु आधुनिक समाजमा अन्यायको मुख्य कारण हो । माक्र्सको शिक्षणमा समाज दुई समूहमा विभाजित हुन्छ : पहिलो ती हुन् जो सरसामान उत्पादन गर्छन् र अर्को हो जसले ती सामानको उपभोग गरेर सम्पत्ति कमाउँछन् वा शोषण गर्छन् । विशेषगरी पूँजी लगानी प्रणालीमा आधिपत्य राखेर उनीहरूले शोषण गरिरहेका हुन्छन् । माक्र्सवादी विचारधारामा सबै इतिहासमा विश्वका श्रमिक र तिनीहरूका पूँजीवादी शोषकहरूबीचको प्रतिस्पर्धा समेटिएको छ । माओ त्सेतुङले पहिलोपटक माक्र्सको पुस्तक पढ्नु धेरै वर्ष पहिले नै माक्र्सको निधन भइसकेको थियो ।
माक्र्सवादी सिद्धान्तको खाका तयार पार्ने पुस्तक ‘क्यापिटल’ (पूँजी) बाट माओले पूँजीवादी शोषणको विकल्पका रूपमा समाजवादप्रति माक्र्सको दृष्टिकोण बारेमा धेरै ज्ञान हासिल गर्नुभयो । समाजवादी समाजमा प्राकृतिक रूपमै सार्वजनिक पूँजी लगानी प्रणाली हुन्छ तथा बसोबास, औषधिमूलो, शिक्षा र निवृत्तिभरणजस्ता जीवनका आधारभूत पक्षका लागि आवश्यक वस्तुको समान वितरण गरिनुपर्दछ । श्रम र सम्पत्तिको विभाजनका लागि माक्र्सको विधि थियो ।
‘हरेकको क्षमताका आधारमा उसलाई र हरेकको आवश्यकताका आधारमा उसलाई ।’ माक्र्सको दृष्टिमा समाजवाद भनेको सामाजिक सम्बन्धका लागि नैतिक दृष्टिबाट मात्र श्रेयस्कर ढाँचा होइन, ऐतिहासिक निरन्तरताको तार्किक अन्त्य पनि हो । ‘दी कम्यूनिष्ट मेनिफेस्टो (कम्युनिष्ट घोषणापत्र) मा माक्र्सले मध्ययुगमा जमिनदारले सामन्ती सम्झौताद्वारा कृषकलाई उनीहरूको श्रमको बदलामा सुरक्षा र बसोबासको प्रबन्ध मिलाउने गरी श्रमिक र शोषकवर्गबिच सर्वप्रथम बन्न गएको सम्बन्धको विश्लेषण गर्नुभएको छ । यस व्यवस्थामा सबैखाले मानव अन्तक्र्रिया वस्तु विनिमयले दुर्बल हुन गयो । यस बिन्दुबाट माक्र्सले वस्तुभाउ हासिल गर्ने सङ्घर्षमा हरेक व्यक्ति सम्भावित प्रतिद्वन्द्वी हुनगएको तर्क प्रस्तुत गर्नुभएको छ ।
व्यापार वृद्धि गर्न भौतिकवादले मानव व्यवहारलाई अभिप्रेरित गरेको छ । जसले निरन्तर लाभको पछाडि लाग्ने व्यापारिक वर्गको सिर्जना गर्यो । लोभ र भौतिकवादको पछाडि लागेर व्यापारी वर्ग थप सम्पत्ति आर्जनको बाटोमा अवरोध गर्ने राजसंस्थाको विरुद्ध एकजुट भए । फ्रान्स, अमेरिका र इल्याण्डको क्रान्तिमा मात्र भौतिकवादी भाव थियो, जसमा व्यापारिक वर्ग, जसलाई माक्र्सले ‘बुर्जुवा’ भन्नुहुन्थ्यो, ले जीत हासिल गर्यो । ऐतिहासिक भौतिकवादको अर्को चरणमा माक्र्स आफै प्रत्यक्षदर्शी बन्नुभयो; त्यो थियो, तथाकथित औद्योगिक क्रान्ति । त्यो अवधिमा तीव्र गतिमा भएको प्रविधि विकासले लगभग अपार मुनाफा सहज बनाइदियो । यो आधुनिक पूँजीवादको जीत थियो ।
माक्र्सका लागि पूँजीवाद र विशेषगरी १८ औँ शताब्दीको मध्यमा युरोपको औद्योगिक रूपमा सञ्चालित बुर्जुवा पूँजीवादले समाजवाद अगाडिको अन्तिम चरण पार गरे । बजार अर्थव्यवस्था, सम्पत्तिमा निजी स्वामित्व तथा बुर्जुवा कुलीनवर्गको नियन्त्रणमा रहने कथित प्रजातान्त्रिक सरकारको विशेषता बोकेको पूँजीवाद माक्र्सको नजरमा दास राज्यको आधुनिक संस्करण र सामन्ती करारनामाबाहेक केही थिएन । युरोपका आधुनिक कलकारखानाले गर्दा श्रमिकहरू (जसलाई सर्वहारा भनिन्छ) ले ज्याला पाउन थालेको सत्य नकार्न सकिदैन तर लाभपछिको कुरामा श्रमको अन्तर्निहित शेष मूल्य ज्यालाद्वारा भुक्तानी भएको हुँदैन । माक्र्सले यसमा श्रमिकहरूसँग ठगी भइरहेको निष्कर्ष निकाल्नुभयो । पूँजीवाद सारतः डकैती थियो ।
जहाँसम्म डार्बिनको सिद्धान्त ‘बाँच्नका लागि मानवजातिको सङ्घर्ष’ र एडम स्मिथको सिद्धान्त ’व्यावसायिक प्रतिस्पर्धा’मा आधारित छ, माक्र्सले आधुनिक कामदारहरूको मुख्य सङ्घर्ष (विशेषगरी श्रमिकहरूको) भनेको पूँजीवादसँगको सङ्घर्ष हो भन्ने विश्वास गर्नुभयो । उहाँले यसमा आधुनिक वर्गसङ्घर्ष र अघिल्लो वर्ग सङ्घर्षबिचको आधारभूत भिन्नता देख्नुभयो । आधुनिक समाजको निकै महत्वपूर्ण उत्पादक वस्तु व्यक्ति भयो ः वित्तीय लगानी प्रणाली मुठ्ठीभर मानिसको हातमा गयो ।
‘दी कम्यूनिष्ट मेनिफेस्टो’ लेख्दा मात्र ३० वर्षका माक्र्सले विश्वका श्रमिकहरूलाई सङ्गठित हुन र ऐतिहासिक भौतिकवाद–समाजवादको अन्तिम अवस्थासम्म त्यसलाई लैजान आह्वान गर्नुभयो । चीनमा माक्र्सवादी क्रान्तिको प्रयोगका बारेमा विचार गरिरहँदा माओ त्सेतुङ केही युवा नै हुनुहुन्थ्यो । सिद्धान्ततः समाजवाद एक आदर्शवाद, यतिसम्म कि काल्पनिक समाधान हो ।
कार्यान्वयन तहमा यसका लागि राजनीतिक रणनीति र रक्तपात आवश्यक पर्नेछ । व्यावहारिक रूपमा समाजवाद दुर्बोध प्रमाणित हुनेछ र जसलाई उचाल्न खोजिएको हो उनै कुल्चिएका जनताका लागि कहिलेकाहीँ यसले दुःखद परिणाम ल्याउँछ ।
कार्ल माक्र्स क्रान्तिकारी विचारक हुनुहुन्थ्यो, माओ त्सेतुङ चाहिँ क्रान्तिकारी नेता । ऐतिहासिक भौतिकवादको अनिवार्य अन्त्यका रूपमा महान समाजवादी समाजका लागि माक्र्स र माओले आफ्नो साझा दृष्टिकोणबाट प्राप्त ठुला परिणामको उत्तरदायित्व बहन गर्नुभएको छ ।
माक्र्स र एङ्गेल्सद्वारा प्रेरित क्रान्तिहरू
माक्र्स र एङ्गेल्सको योगदानले विश्वमा क्रान्तिलाई उत्प्रेरित गरेको छ । सन् १९१७ मा बोल्सेभिक भनिएको समूहले रुसी सरकार फालेर सङ्घीय सोभियत समाजवादी गणतन्त्र अर्थात् सोभियत सङ्घ स्थापना गरेको थियो ।
आफ्नो प्रभावका दिनमा सोभियत सङ्घमा आधुनिक समयका रुस, युक्रेन, बेलारुस र जर्जियालगायत १५ देश सम्मिलित थिए । सोभियत सङ्घ सन् १९९१ मा खारेज भएको छ ।
सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा रहेको कम्यूनिष्टहरूको एउटा समूहले चीनमा नियन्त्रण जमायो र जनवादी गणतन्त्र चीन स्थापना गर्यो । आजपर्यन्त कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी)ले चीनमा शासन गरिरहेको छ । सन् २०१४ मा पार्टीका आठ करोड ५० लाख सदस्य थिए ।
युगोस्लाभिया, भियतनाम, उत्तर कोरिया, लाओस र क्युबा लगायतका अन्य देशमा पनि कम्युनिस्ट सरकार बनेको थियो ।
फ्रेडरिक एङ्गेल्स जर्मनीका एक राजनीतिक सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँको जीवन सन् १८२० देखि १८९५ सम्म रह्यो । सन् १८४५ मा उहाँले इल्याण्डमा छँदा ‘दी कन्डिसन अफ दी वर्किङ क्लासेस’ नामको ग्रन्थ लेख्नुभयो । इल्याण्डको म्यान्चेस्टरमा उहाँले श्रमिकहरूको जीवनको अध्ययन गर्नुभएको थियो ।
उहाँको ग्रन्थले बेलायती श्रमिकवर्गको दारुण जीवन अवस्थाको पर्दाफास गरिदियो । ती श्रमिकको न्यून ज्याला, बाँच्नका लागि अस्वस्थ वातावरण र रोगका कारण उच्च मृत्युदर लगायतका तथ्य सो ग्रन्थमा उल्लेख गरिएको थियो । एङ्गेल्सले कार्ल माक्र्ससँग नजिक रहेर सहकार्य गर्नुभयो । माक्र्स र एङ्गेल्स मिलेर कम्युनिष्ट घोषणापत्र लेख्नुभएको थियो । र, माक्र्सलाई ‘दास क्यापिटल’ (पूँजी) लेख्न एङ्गेल्सले अनुसन्धान तथा सम्पादनमा सघाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *