इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
सन् १९२१ देखि १९२४ बिचमा माओ त्सेतुङले धेरै समय कुवाङचउमा बिताउनुभयो । त्यहाँ उहाँले सन यात सेनको नेसनलिस्ट पार्टी (केएमटी) र भर्खरै स्थापना भएको कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) का लागि अविराम काम गर्नुभयो । दुवै समूहले आ–आफ्नो विचारधारा विकास गर्दै गए । क्रान्तिको आफ्नो साझा सपना पूरा गर्न आपसमा सहकार्यको प्रयास गरिरहे । तर, ठुलो अन्तर्विरोध कायम थियो । अन्ततः माओलाई केएमटीको केन्द्रीय कार्यकारी कमिटीमा चयन गरियो र केएमटीको सङ्गठन विभागमा काम गर्न उहाँ साङ्घाई जानुभयो ।
सन् १९२५ मा बिरामी परेपछि चिकित्सकको सल्लाहबमोजिम माओ स्वास्थ्यलाभ गर्न आफ्नो जन्म गाउँ शाओशान फर्कनुभयो । लगभग एक वर्ष उहाँ गुपचुप नै रहनुभयो । नेसनलिस्ट पार्टी र सीपीसीको सदस्य भए पनि माओ राजनीतिक वृत्तबाट टाढै रहेर आफ्नी श्रीमती याङ खाईहुई र साना दुई छोराका साथमा घरमै बस्नुभएको थियो । माओ यसरी राजनीतिक गुप्तबासमा बसेको यो पहिलो र अन्तिम घटना थिएन, कुनै पनि महत्वपूर्ण कदम चाल्नु वा निर्णय लिनु पहिले उहाँ प्रायः जनताबाट टाढा एकान्तबासमा जाने गर्नुहुन्थ्यो ।
त्यसो भए माओ त्सेतुङका बारेमा चिन्तनका ती अवधिले के देखाए ?
सहरमा वर्षाैँ बसेपछि ग्रामीण भेगमा फर्कनुभएका माओलाई किसान सङ्घर्षको सम्झना भयो । प्राकृतिक विपद्, खेतीपातीमा असफलता, सरदारहरूको बदमासी तथा घमण्डी जमिनदारहरूको अगाडि गरिब किसानहरूको लचिलोपनासँग माओ पुनः औधि प्रभावित हुनुभयो । शाओशानका बासिन्दासँगै जति बढी माओले काम गर्नुभयो उनीहरू नै चिनियाँ समाजवादी क्रान्तिका मूलधार हुन् भन्नेमा उहाँ अझै विश्वस्त हुनुभएको थियो । उहाँले किसानहरूले आफ्नो इतिहास तथा वर्गीय उत्पीडन चक्रबारेमा जान्न सकून् उहाँले भनेर स्थानीय परिषद् निर्माण र सन्ध्याकालीन विद्यालय सञ्चालनमा ल्याउने काम गर्नुभयो ।
माओले सर्वहारा वर्गभन्दा किसानको नेतृत्वमा हुने समाजवादी क्रान्तिका लागि आफ्नो तर्क प्रतिपादित गर्न पनि सुरु गर्नुभयो । उहाँको लक्ष्य के थियो भने, “शक्तिशाली आँधीबेहरीसरह सयौँ लाख किसान उर्लिऊन् सङ्गठित होऊन् र सबै साम्राज्यवादी, सरदार, भ्रष्ट अधिकारी, स्थानीय उत्पीडक र दुष्ट कुलीनहरू आफ्नो चिहानमा पुगून् ।”
सामान्य शब्दहरू प्रयोग गरेर माओले ‘एन एनालाइसिस अफ दी क्लासेस इन चाइनिज सोसाइटी’ (चिनियाँ समाजको वर्ग विश्लेषण) नामको ग्रन्थ लेख्नुभयो र त्यसबखत माओ प्रचार विभागको उपनिर्देशक रहेको अवस्थामा नेसनलिस्ट पार्टीको तत्वावधानमा सो ग्रन्थ प्रकाशित गरियो । नियतिले उहाँलाई किन कम्युनिस्ट पार्टीको नेतृत्वतर्फ लगिरहेको छ भन्ने यसका निबन्धले स्पष्ट पार्यो ।
त्यस समयमा माओका क्रान्तिकारी कमरेडहरू शिविरहरूमै विभाजित थिए । जो पक्षमा थिए उनीहरू राजनीतिक गठबन्धनमा विश्वास गर्दथे र हातहतियारले सुसज्जित कार्यकर्ताहरू गणतन्त्रका पक्षधर थिए । उनीहरू निःशस्त्र किसानहरूका बारेमा खासै सोच्दैनथे । अर्कोतर्फ कम्युनिस्ट पार्टीमा वामपन्थी विचारधाराका कार्यकर्ता माक्र्सको घोषणापत्रद्वारा सिफारिस गरिएअनुसार मुख्यरूपमा श्रमिक आन्दोलनको पक्षमा थिए । समाजवादी क्रान्तिलाई मूर्तरूप दिनमा सहरी क्षेत्रका श्रमिक अथवा सर्वहाराको भूमिका रहने कुरा माक्र्सले लेख्नुभएको थियो । ग्रामीण क्षेत्रका गरिब कामदारका सन्दर्भमा उहाँद्वारा लिखित परिदृश्यमा कुनै स्थान थिएन ।
देशको सबैभन्दा ठुला र कट्टर मित्र किसानहरूको भरोसा गर्न सकौँ भनी यी दुई अन्तर्विरोधी पक्षलाई सहमतिमा ल्याउने उद्देश्य माओको थियो । उहाँलाई थाहा थियो कि किसान क्रान्तिको विचार माक्र्सवादी मान्यताको ‘सहरी श्रमिकवर्गको विद्रोह’ को विपरीत जानेछ । उहाँले सुकरातसरह परम्पराबाट हटेर आफ्नो तर्क विकास गर्नुभयो । उहाँले आफ्ना क्रान्तिकारी साथीहरूलाई एउटा सामान्य प्रश्न गर्नुभयो ः हाम्रा शत्रु को हुन् र हाम्रा मित्र को हुन् ?
माओको उत्तरले एउटा विशिष्ट चिनियाँ पुँजीवादी संरचना प्रस्ट्यायो । चीनमा औद्योगिकीकरण हुन नसक्दा वस्तु खरिद तथा बिक्री र सेवा प्रवाहबाट मुनाफा कमाउने पुँजीपतिवर्ग घरेलु उद्योगभन्दा पनि विदेशी व्यापारमा भर परेको थियो । वास्तवमा यस वर्गलाई विशेष व्यापारिक उपाधि दिइएको थियो : दलाल । विदेशी वाणिज्य व्यापारमा लागेका ठुला जातीय–स्वदेशी कर्मचारी (यहाँको सन्दर्भमा चिनियाँ) का लागि प्रयोग गरिएको पोर्चुगेली शब्दबाट यो पारिभाषिक शब्द आएको हो । माओले यो दलाल कर्मचारीतन्त्रलाई विदेशी शत्रुको सेवा गर्ने कठपुतलीका रूपमा हेर्नुभयो र यसैले यो पक्ष क्रान्तिको प्राकृतिकरूपमै एउटा प्रतिपक्षी थियो ।
क्रान्तिका विरोधी अरू को थिए त ?
सबैभन्दा पहिलो पङ्क्तिमा त जमिनदारवर्ग थियो । जसलाई माओले ‘सबैभन्दा पश्चगामी र प्रतिक्रियावादी’ घोषणा गर्नुभएको थियो । चीनमा जमिनदारवर्गले बुर्जुवा अथवा मध्यमवर्गीयको प्रतिनिधित्व गर्दथ्यो र आफ्ना अन्तर्राष्ट्रिय मित्र साम्राज्यवादीहरूको पक्ष लिन्थ्यो । यसैले जमिनदारहरू राष्ट्रवादी र कम्युनिस्ट दुवैको लक्ष्यसँग परस्परविरोधी थिए । सोही अवधिका आफ्ना अन्य लेखमा माओले बारम्बार जमिनदारवर्गलाई ‘भूमिपति कुलीन’ र प्रायः ‘दुष्ट कुलीन’ का रूपमा परिचित गराउनुभएको छ । सायद भूमिमा स्वामित्व राख्ने आफ्नो पिता जीवित नरहेकाले माओलाई तालिममा वर्गविरोधी विचारधारा राख्न सजिलो भएको हुनसक्छ ।
दोस्रो सामाजिक वर्गीकरणमा मध्यम बुर्जुवा मानियो । यस वर्गलाई माओले सहरी र ग्रामीण दुवै क्षेत्रका जनसङ्ख्यामा फैलिएको र राजनीतिकरूपमा भर पर्न नसकिने भन्नुभयो । अर्को अर्थमा मध्यम बुर्जुवाहरू मुनाफाका लागि क्रान्तिको लक्ष्यलाई समर्थन गर्ने तर सर्वहारा वा किसानले शक्ति हासिल गर्ने अवस्थामा समर्थन नगर्ने खालका थिए ।
माओले व्याख्या गरेको तेस्रो वर्ग थियो, साना बुर्जुवा । यसमा ‘कुशल शिल्पकार, मालिक किसान र बुद्धिजीवी’ पर्दथे । उनीहरूको चासोका बारेमा उहाँले चातुर्यका साथ लेख्नुभएको छ, ‘मध्यम बुर्जवावर्गमा सजिलै पुग्ने ।’ उनीहरूको उत्प्रेरणामा शङ्का गरे पनि माओले उनीहरूको ठुलो सङ्ख्या तथा नागरिक सङ्घर्षका समयमा उनीहरूको वामपन्थी झुकावको अर्थ ‘साना बुर्जुवाहरू प्रायः जसो मित्रका रूपमा क्रान्तिसँग जोडिन आउने’ निष्कर्ष निकाल्नुभएको थियो ।
माओले किसानलाई अर्धसर्वहाराका रूपमा लिनु पनि सो रचना (चिनियाँ समाजको वर्ग विश्लेषण) को महत्वपूर्ण पक्ष हो । औद्योगिकीकरण नभएको चीनमा औद्योगिक सर्वहाराको सङ्ख्या निकै थोरै भएको उहाँको निक्र्योल थियो । रुसमा लेनिनको नेतृत्व रहेको बोल्सेभिकले थोरै सङ्ख्यामा भए पनि सहरी सर्वहारामा भरोसा गर्नसक्थ्यो । चीनको क्रान्तिमा ग्रामीण भेगका कामदारलाई सोझै आह्वान गर्नुपर्ने तर सहरी कामदारहरूलाई त्यसो नगरे पनि हुने कुरा माओले बुझ्नुभएको थियो ।
जस्तै हामीले हेर्ने छौँ, औद्योगिक सर्वहाराभन्दा अर्ध सर्वहाराको बाहुल्य माओवादी सिद्धान्तको प्रमुख तत्व हुन गएको थियो । अध्यक्ष माओका रूपमा उहाँले माक्र्सवादी तथा माक्र्सवादी–लेनिनवादीको नयाँ अध्याय पाठ्यपुस्तकमा जोड्नुभयो । पहिलो ‘सोभियत’ कलकारखानामा होइन कि ग्रामीण भेगमा स्थापित हुनेछ । चीनमा सन् १९४९ मा माओले घोषणा गरेको ‘पिपुल्स डेमोक्रेटिक डिक्टेटरसीप’ (जनवादी अधिनायकत्व) विश्वका सर्वहारा श्रमिकले नभई चीनका किसानको संलग्नतामा बन्ने थियो ।
– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट
Leave a Reply