जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

आफूलाई कम्युनिस्ट दाबी गर्ने शासक पार्टीका नेताहरूले खुल्लमखुल्ला कम्युनिस्ट सिद्धान्तविपरीतका अभिव्यक्तिहरू दिँदै छन् । जसले नेपाली समाजमा कम्युनिस्ट विचारप्रति यथेष्ट भ्रम सिर्जना गर्नेछ । सच्चा माक्र्सवादीहरूले संशोधनवादी विचार बोकेका नक्कली कम्युनिस्टहरूको अभिव्यक्तिबाट समाजलाई जोगाउन सैद्धान्तिक बहस अगाडि बढाउनु जरुरी छ ।
आफूलाई कम्युनिस्ट दाबी गर्ने शासक दलका एक सांसदले २०८१ माघ २४ गते संसद्को विशेष समयमा भने, “म कहिलेकाहीँ फर्केर हेर्छु सोभियत सङ्घ किन विघटन भयो ? सोभियत सङ्घ राजनीतिक कारणले मात्र विघटन भएको होइन । सोभियत सङ्घ विघटन हुनुको पछाडि मूल कुरा आर्थिक कारण थियो ।” उक्त भनाइबाट तत्कालीन सोभियत कम्युनिस्ट पार्टीले अवलम्बन गरेको आर्थिक नीतिका कारण सोभियत रुस विघटन भएको हो कि भन्ने भ्रम जनमानसमा सिर्जना गर्छ ।
सन् १९१७ को रुसी समाजवादी क्रान्तिभन्दा पहिले रुसका ६५ प्रतिशत जनता गरिबीको रेखामुनि थिए । जनतालाई समयमै खाद्य सामग्री उपलब्ध गराउन सरकार असफल भयो । त्यतिबेला रुसका ८०० भन्दा बढी कलकारखाना बन्द थिए । रुसको अक्टोबर क्रान्तिले सामन्तहरूबाट थिचिएका र पिल्सिएका कामदार वर्गलाई सत्तामा ल्याउनुका साथै रुसी जनतालाई वास्तविक समानताको बाटोमा डोह¥याएको थियो । साम्राज्यवादी युद्धबाट धुजा धुजा भएको रुसलाई जर्मनीसँग शान्ति सम्झौताको कदम चालेर शान्ति र उन्नतिको मार्गमा अघि बढाउनुका साथै रुसी जनतालाई भोकमरीबाट बचाएको थियो ।
सन् १९१७ को अक्टोबर क्रान्तिपछिको सोभियत हुकुमले बैङ्क, रेल, विदेश व्यापार, खानी, भूमिलगायत उत्पादनका साधनहरू राष्ट्रियकरण गरेर जनताको रोजीरोटीको समस्या पनि समाधान ग¥यो । समाजवादी कालमा सोभियत रुस विश्वको दोस्रो ठूलो औद्योगिक देश बनेको थियो । स्टिल, फलाम, तेल, सिमेन्ट, ट्याङ्क, ट्याक्टर आदि वस्तुहरूको उत्पादनमा रुसले प्रमुख स्थान हासिल गर्न सफल भएको थियो ।
सन् १९५३ मार्च ५ मा स्तालिनको देहावसानपछि सोभियत रुसमा संशोधनवादीहरूले पार्टीको नेतृत्व हत्याए । सन् १९५६ मा रुसमा निकिता खुश्चेभको नेतृत्वमा पुँजीवादको पुनःस्थापना भयो । उनले ‘सह–अस्तित्व’ को नाममा विश्वका पुँजीवादी देशहरूसँग हातेमालो गर्ने अवधारणाअनुसार सोभियत रुसको नीतिमा परिवर्तन गरेर सोभियत रुसलाई पुँजीवादी भासमा पु¥याए । गोर्वाचोभले पनि खुश्चेभकै नीति अपनाउँदै रुसलाई सामाजिक संशोधनवादमा पु¥याएर समाजवादको अन्त्य गरे । मस्कोको क्रेमलिन दरबारमाथि फहरिरहेको सोभियत सङ्घको रातो झन्डा निकालेर तीन रङ्गको झन्डा फहराउन लगाए । यसरी अन्ततः पुँजीवादी प्रतिक्रियावादीहरूको कारण सन् १९९१ डिसेम्बर ३१ मा सोभियत रुस १५ टुक्रामा विभाजित भयो । यसरी रुस विघटन हुनुको मूल कारण ती सांसदले वर्णन गरेअनुसारको आर्थिक कारण थिएन ।
ती नै सांसदले पुनः थपे, “सन् १९४९ मा माओले क्रान्ति गरेर शासन चलाए । तर, माओको शासनको पछिल्लो कालमा आएर संसारले ‘चीन एसियाको बिरामी राष्ट्र हो’ भन्न थालेको थियो । जब देङ सियाओ पिङले चार आधुनिकीकरणको नाममा आर्थिक सुधार गरे । ‘बिरालो कालो होस् या सेतो मुसा मार्नुपर्छ’ भन्ने देङ सियाओको भनाइ विश्वविख्यात छ ।”
ती सांसदको यो भनाइमा पनि कुनै सत्यता छैन । माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा चीनमा जमिनदार र नोकरशाही पुँजीवादको सत्ता नामेट पारेर साम्राज्यवादीहरूको चङ्गुलबाट चीनलाई मुक्त गरेको थियो । क्रान्तिअघि चीनका ९० प्रतिशत किसानहरूको आफ्नो भूमि थिएन । किसानमाथिको शोषण चरम बिन्दुमा थियो । चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९५२ भित्रै भूमिसुधारको काम सम्पन्न ग¥यो । चीनमा स–साना जमिनका टुक्राहरूलाई भूमिसुधारमार्फत सहकारीको अधिनमा ल्याएर समाजवादी चरित्रअनुसारको सामुहिक फर्महरू बने । त्यसले छोटो समयमै चिनियाँ जनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको थियो । निजी उद्योग, बैङ्क तथा वित्तिय क्षेत्रलाई राज्यको मातहत ल्याउने काम भयो । छोटो समयमै औद्योगिक विकासमा पनि चीनले अभूतपूर्व फड्को मा¥यो । सन् १९५७ सम्ममा चिनियाँ कम्युनिस्ट पार्टीले निजी स्वामित्वमा रहेका ठूल्ठूला सम्पत्ति राज्यको मातहत ल्याइसकेको थियो । ६० को दशकसम्ममा चीन सम्पूर्ण स्वदेशी र विदेशी ऋण चुक्ता गरेर निरन्तर आर्थिक विकासको बाटोमा अघि बढिसकेको थियो ।
सन् १९७५ सम्म चीनमा १९४० लाख टनदेखि २८४० लाख टनसम्म खाद्यान्न उत्पादनमा वृद्धि भएको थियो । यो अवधिमा वस्तु र सेवाको मूल्यमा कुनै परिवर्तन भएन । जनतालाई चाहिने अत्यावश्यक खाद्यान्नमा कुनै मूल्यवृद्धि भएन । जनताले खाद्यान्न अभाव झेल्नु परेन । चीनको अर्थतन्त्र तीन गुणाले वृद्धि भयो । सन् १९६४ देखिको १९७४ सम्मको अवधिमा चीनमा ११ सय वटा ठूला र मध्यम खालका उद्योगहरू स्थापना भए । जनतालाई रोजगारीको राम्रो अवसर मिल्यो । त्यही अवधिमा स्टिल उत्पादन १ करोड २२ लाखबाट २ करोड ३९ लाख टनसम्म बढ्यो । कोइला २३२० लाखबाट ४८२० लाख टन, विद्युत् ६,७६,००० लाख किलोवाटबाट १९,५०,००० लाख किलोवाटसम्म उत्पादन भयो । ४ हजार १ सय किलोमिटरभन्दा बढी रेलमार्ग निर्माण भयो । नानजिङ चाङजियाङमा पुल निर्माण भएपछि उत्तर–दक्षिण चीनबिच राम्रो यातायातको सुविधा उपलब्ध भयो । यही अवधिमा चीनले हाइड्रोजन बमको विकास गरेर चीनको सुरक्षा क्षमतालाई मजबुद पार्नुका साथै स्याटेलाइटको प्रक्षेपण गरेर अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा पनि अभूतपूर्व विकास ग¥यो । (आधुनिक चीनको आवधिक इतिहास (१८४०–१९८३) – सु काइमिङ्)
यी तथ्यले शासक दलका ती सांसदको भनाइलाई झुटा सावित गर्छ । शासक दलका सांसदको भनाइमा कम्युनिस्ट विचारलाई खण्डित पारेर दिग्भ्रमित पार्ने मनसाय लुकेको देखिन्छ । माओ त्सेतुङले भन्नुभएको थियो, “बन्दुक बोक्ने शत्रुहरू नष्ट भइसकेपछि पनि बन्दुक नबोक्ने शत्रुहरू बाँकी रहन्छन् । उनीहरू आफ्ना दाँत र नङहरूले भए पनि हामीसँग लड्नेछन् । यसकारण कुनै पनि परिस्थितिमा हामीले तिनीहरूलाई हल्का ठान्नुहुन्न । सर्वहारा र पुँजीपति वर्गबिचको राजनैतिक र वैचारिक क्षेत्रमा हुने वर्गसङ्घर्ष झन् कष्टप्रद हुनेछ । सर्वहारा वर्गले संसारलाई आफ्नो विश्व दृष्टिकोणअनुसार रुपान्तरण गर्न चाहेजस्तै बुर्जुवा वर्गले पनि त्यसै गर्न चाहन्छ ।” (Editorial of the People’s Daily (Renmin Ribao) of June 1, 1966) आफूलाई कम्युनिस्ट दाबी गर्ने शासक दलका नेताहरूको भनाइ पनि संशोधनवादी तथा पुँजीवादी दृष्टिकोणलाई पृष्ठपोषण गर्ने ढङ्गले आएको स्पष्ट हुन्छ । यसले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्नेतर्फ सच्चा माक्र्सवादीहरू सचेत हुनु जरुरी छ ।
२०८१ फागुन ५ गते
Leave a Reply