हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
“देशको सिमाना रक्षाको आन्दोलनमा म मारिएँ भने चिन्ता नगर्नुस् बुबा । तपाईँका तीन सन्तान छन् । भारतीयसामु लड्दा लड्दै म ढलेँ भने पनि तपाईँका अरु दुइटा छोराहरू बाँकी नै छन् नि ।” वि.सं. २०७३ फागुन २६ गते बिहान सहिद गोविन्द गौतमले आफ्नो बुबा खिमलाल गौतमलाई नेपालको सीमा रक्षाको आन्दोलनमा जान अनुमति माग्ने क्रममा आफ्नो छाति पित्दै गौरवका साथ बोलेको बुबालाई हिजैजस्तो लाग्दो हो ।
२०८१ चैत ९ गते कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ४ आनन्दबजार कार्गिल डाँडामा सहिद गोविन्द गौतमको सालिकसँगै उभिएर उनको बुबाले दायाँ हातले मुठी कस्दै बोलिरहनुभएको थियो । उमेरले ७३ वर्ष नाघेका वृद्ध बुबा भन्दै हुनुहुन्थ्यो, “सरकारले सीमा रक्षाको लागि सेना र प्रहरी नराख्दा हामीले दुःख पायौँ, हाम्रा सन्तानहरू नै सीमा रक्षक बनेर भारतसँग लडे ।” गोविन्द गौतमलाई देशको सीमा रक्षार्थ प्राण आहुति दिने वीर सहिदको उपमा दिएर राष्ट्रिय सम्मान गरिएको थियो ।
बैशाखी गाउँमा औपचारिक कार्यक्रमपश्चात् पुनर्वास जाने क्रममा कार्गिल डाँडा पुग्दा सहिद गौतमको स्मृतिमा बनाइएको पार्कको अवलोकन गर्ने अवसर जु¥यो । पार्क धेरै ठुलो थिएन, व्यवस्थित पनि भइसकेको थिएन । तर, पनि त्यो ठाउँमा पुगेर सहिदको सालिक अगाडि उभिँदा मनभरि देशभक्ति भावना उद्वेलित भएको अनुभव भयो । त्यसमाथि सहिद पिता नै हामीसामु आएर घटना विवरण बताइरहँदा त्यतिबेलाको सङ्घर्षको चित्र मनमा झलझली आयो । गौतमलाई भारतीय सशस्त्र प्रहरीले गोली हानेको बेलाको भिडियो फुटेज यसअघि पनि हेरेको थिएँ ।
घटनास्थलको भूगोल हेर्दा नेपाल र भारतकंो सिमानामा रहेको जङ्गलमा पारिपट्टि भारतीय सशस्त्र सीमा सुरक्षा बल तैनाथ थियो भने वारि नेपाली भूमि । दुई देशको सिमानामा भारतीय बसाही भन्ने बजार छ, जहाँ सिमानाका नेपाली जनता नुन, तेललगायतका दैनिक उपभोग्य सामानहरू किनमेल गर्छन् । यो बजार भारत प्रवेश गर्ने सीमा नाका पनि हो । नेपालतिर एउटा खोला छ, बर्खा मासमा बाढी आउँदा खोला तर्ने पुल नभएकोले त्यतिबेला स्थानीय नेपाली जनताले चार वटा ह्यूम पाइप राखेर कल्भर्ट बनाएका थिए । आफ्नै भूमिमा कल्भर्ट बनाउँदा भारतीय सेना आएर पटक–पटक धम्की दिने र भत्काउने कार्य गरेकोमा स्थानीय जनताले नेपाली सुरक्षा निकायलाई खबर पनि गरेका थिए । सरकारी पक्षबाट कुनै पहल नभएपछि स्थानीय जनता आफैँ अघि सरेर भारतीय सेनासँग शान्तिपूर्ण प्रतिकार गरेका थिए । चार दिनसम्म दुवै पक्षबिच भनाभन भएको थियो ।
घटना भएको बिहानको क्षण स्मरण गर्दै सहिद पिता खिमलाल सुनाउँदै हुनुहुन्थ्यो, “माइलो छोरो गोविन्द आफ्नो सानो घर हाल्न डीपीसी ढलान गर्ने तयारीमा थिए । साथीहरूले सिमानामा भारतीय सेनाले कल्भर्ट भत्काउन लागेको र त्यस क्रममा स्थानीय नेपालीको घरमा लुटपाट गरेको खबर गरे । ‘हाम्रो भूमिमा भारतीय रजाइँ ¤’ भन्दै उनी मुर्मुरिएर हिँड्ने तयारी गर्दै थिए । मेरो मनमा चिसो पसेर छोरालाई नजान भनेको थिएँ । छाँटकाट निको मानिनँ, नजा छोरो । त्यहाँ तिमी गयौ भने फर्किन्नौ होला ।” किन हो, मैले यसै भनेको थिएँ । तर, छोरोले मेरो कुरा पटक्कै खाएन । उनी भन्दै थिए, “केही हुन्न बुबा । हाम्रै अगाडि हाम्रो भूमि मिच्दा कसरी सहेर बस्ने ? तपाईँको छोरो म एक्लो त होइन नि, अरु दुइटा पनि छन् । लडाइँमा म मरेँ भने मरेँ । देशको लागि रगत बगाउन पाउनु जति खुसीको कुरा के हुनसक्छ र बुबा ¤”
सहिद गोविन्द परिवार पाल्न आफ्नी जवान श्रीमती र ३ वटा कलिला छोरीहरूलाई छोडेर विदेशी भूमि साउदी अरब लामो समय बसेर भर्खरै फर्केका थिए । “साउदीको चर्को घाममा खुन पसिना कति बगाए, बगाए । घर फर्केको त्यही वर्षको कार्तिकमा । तीन महिना पनि परिवारसँग बस्न पाएनन् ।” यति भन्दै गर्दा सहिद पिताको आँखा रसायो ।
त्यस दिन सयौँ गाउँलेहरू सिमानामा भेला भएका थिए । भारतीयहरूले जबरजस्ती कल्भर्ट भत्काउने प्रयास गरेको विरोधमा नारा लगाउँदै स्थानीयहरू प्रतिकारमा उत्रिए । नेपाली प्रहरीहरू केही जवान थिए तर निःशस्त्र । केही समय मुठभेड भयो । यतिकैमा भारतीय सेनाले गोली चलायो । ‘मुर्दारहरूले गोली हाने’ भन्दै नेपालीहरू भागाभाग गर्न थाले । गोविन्द लड्दै थिए, उनलाई कम्मरमा गोली लाग्यो । उनी ढलिहाले । सँगै आन्दोलन गरिरहेका साथीहरूले कसैले हात, कसैले खुट्टा र कसैले टाउको समातेर उनलाई नजिकैको सालको रुखमुनि ल्याइपु¥याए । उनी अचेत अवस्थामा पुगिसकेका थिए । रगत भल्भल्ती बगिरहेको थियो ।
साँझमात्र गाउँलेले सहिद पिता खिमलाललाई खबर गरे । आफ्नो छोरा भारतीयको गोली लागेर ढलेको र धनगढीको अस्पताल लगिएको थाहा पाउनासाथ खिमलाललाई रिङ्गटा लाग्यो । उनी त्यही लडे । कसले सहारा दिएर उनलाई घर पु¥यायो भन्ने पत्तै पाएनन् । गौतमकी बुढी आमा बिरामी थिइन् । आफ्नो छोरोलाई गोली लागेको थाहा पाउनासाथ बुढीआमा विक्षिप्त भइन्, रुन पनि सकिनन्, छात्तिमात्र पित्न थालिन् । गौतमकी श्रीमती पटक–पटक बेहोस् हुन थालिन् । स–साना लालाबाला छोरीहरूले आफ्नो बुबालाई के भएको भन्ने भेउ नै पाउन सकेनन् । उनीहरू त्वाँ परेर कहिले गाउँलेको त कहिले आफ्नी आमाको अनुहार हेर्र्दै टोलाइरहेका थिए ।
आन्दोलनमा सहभागी सबै प्रत्यक्षदर्शीहरूले भारतीय पक्षबाट दस राउन्ड गोली प्रहार भएको बताइरहेका थिए । गोविन्द गौतममाथि निर्ममतापूर्वक गोली हान्ने भारतीय एसएसबी जवान अरविन्द शुक्ला रहेको किटानीसहित समाचारहरू प्रसारण भइरहेका थिए । तर, भारतीय सरकार भने त्यस घटनामा भारतीय पक्षबाट गोली नचलाइएको झूटो दाबी गरिरहेको थियो । भारतीय ज्यादतीको विरोधमा आनन्दबजार र धनगढीमा मात्र होइन, काठमाडौँमा भारतीय दूतावास अगाडि र नेपालको संसद्मा समेत चर्को विरोध भएको थियो । काठमाडौँमा नेपाल मजदुर किसान पार्टीले निरन्तर दबाबमूलक प्रदर्शन गरिरहँदा उल्टै नेपाली प्रहरीले देशभक्त प्रदर्शनकारीहरूमाथि लाठिचार्ज गरी दमन गरेको थियो । गोविन्द गौतमको हत्या गर्ने भारतीय सरकार; अनि संसद्मा गौतमलाई सहिद घोषणा गरी राहतस्वरूप दस लाख रूपैयाँ दिने र परिवारका बालबच्चाहरूलाई पढाउने जिम्मा भने नेपाल सरकारले लिने र हाम्रो सरकारले भारतीय सरकारसँग क्षतिपूर्ति माग्ने र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह पनि गर्न सकेन । स्वाभिमानी र देशभक्त नेपाली जनता आफ्नो सरकारको लाचारीपनप्रति आक्रोशित हुनु स्वाभाविक थियो ।
वि.सं. २०१६ सालमा नेपालको उत्तरी सीमा क्षेत्रमा चिनियाँ पक्षबाट गोली प्रहार हुँदा एक जना नेपालीको निधन भएको थियो । नेपाल सरकारले यस घटनाको चर्को विरोध गरेपछि तत्कालीन चिनियाँ प्रधानमन्त्रीले नेपालसामु लिखित माफी मागी मृतक परिवारलाई ठुलो रकम क्षतिपूर्ति दिइएको थियो । तर, गोविन्द गौतमको हत्या प्रकरणमा नेपाल सरकारले यति आँट गर्न सकेन ।
देशभक्त नेपाली जनताले लामो समयसम्म सडक र संसद्मा चर्को विरोध गरेपछि बल्ल भारत सरकारले त्यस घटनाको छानबिन गर्ने वाचा ग¥यो । तर, विडम्बना ! भारतको वाचा शब्दमा सीमित भयो, घटनाको प्रतिवेदन सार्वजनिक गरिएको छैन न त हत्यारा भनिएका अरविन्द शुक्लामाथि कारबाही गरिएको कुनै समाचार नै आयो । भारत सरकारको तर्फबाट मृतक सहिद परिवारले क्षतिपूर्तिबापत के पाए ? त्यो पनि कसैलाई थाहा छैन ।
हामीसँगको भेटमा सहिद पिता खिमलालले आफ्नो छोराले शहादत्त प्राप्त गर्नुअघि काम गरिरहेको स्थलतर्फ लग्दै भन्नुभयो, “गोविन्दले काम छोडेर गएको घर अहिले पनि डीपीसी ढलान हुनसकेको छैन । छोराको शोकमा डुब्दाडुब्दै आठौँ दिनमा उनकी आमाले पनि प्राण त्यागिन् । बुहारी र तीन नातिनीहरूलाई काठमाडौँमा त लगिएको छ, तर तिनीहरूले के गरिरहेका छन्, नातिनीहरूले राम्रो पढ्न पाएका छन् कि छैनन्, मलाई केही पनि थाहा छैन ।” उनको मुखबाट निराशाको आवाज सुनियो, “म पनि कति दिनको पाहुना बनुँला र ?”
तथापि काँपिएका हातका औँलाहरू मुठी कस्दै चर्को स्वरमा सहिद पिताले भने, “सिमानामा काँडेतार नलगाएसम्म भारतीयहरूले हाम्रो जग्गा मिच्न र हामीलाई दुःख दिन छोड्नेवाला छैनन् । त्यसैले मेरो माइलो (सहिद गोविन्द गौतम) जस्तै धेरै सपुतहरू जन्मिने पक्का छ ।”
सहिद गोविन्दको योगदान र सहिद पिता खिमलालको देशभक्ति भावनाप्रति उच्च सम्मान छ ।
Leave a Reply