भर्खरै :

देशको राजनीतिक स्थितिबारे युवामाझ छलफल

देशको राजनीतिक स्थितिबारे युवामाझ छलफल

डडेल्धुरा, २० चैत । डडेल्धुराका युवामाझ देशको राजनीतिक स्थिति र नेमकिपाको अवधारणा विषयक छलफल कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले देशको राजनीतिक अन्योल र जर्जर आर्थिक स्थितिको लागि शासक पार्टीहरू जिम्मेवार रहेको बताउनुभयो ।
नेमकिपाले सरकारको गलत नीति र कार्यक्रमको संसद् र सडक दुवै ठाउँबाट विरोध गर्दै प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
भ्रष्टाचार र पुँजीवाद एक्कै सिक्काका दुई पाटा भएको बताउँदै उहाँले पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था भएको प्रस्ट पार्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रमेशकुमार रावलले नेमकिपाले सुरुदेखि नै युवाहरूलाई वैदेशिक रोजगारको नाममा सस्तो ज्यामी बनाउने नीतिको विरोध गर्दै स्वदेशमै रोजगारीको सिर्जनामा जोड दिँदै आएको बताउनुभयो ।
नेमकिपा सुदूर प्रदेश समितिका सदस्य गणेश त्यातले नेमकिपा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री मन्त्रीलगायत पूर्वपदाधिकारीहरूको सेवा सुविधाको विपक्षमा रहेको र गाडी सुविधाको विरोध गर्ने र नलिने पहिलो पार्टी नेमकिपा रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्थानीय युवाहरूले प्रदेश सरकारले ठुलो रकम सांसदहरूको सेवा सुविधामा गइरहेको रोक्नुपर्ने, प्रत्यक्ष निर्र्वाचित राष्ट्रपतीय बन्दोबस्त उपयुक्त हुने, पूर्वपदाधिकारीहरूको सुविधा कटौती गर्नुपर्ने र युवाहरूलाई स्वदेशमै योग्यताअनुसारको रोजगारको बन्दोबस्त हुनुपर्ने माग उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *