भर्खरै :

“जनताको साहित्य” बारे स्रष्टा हरिबहादुर श्रेष्ठको विचार

“जनताको साहित्य” बारे स्रष्टा हरिबहादुर श्रेष्ठको विचार

आजभन्दा ५५ वर्ष अगाडि साहित्यकार हरिबहादुर श्रेष्ठले लेख्नुभएको एउटा कविताबाट छलफल सुरु गरौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भूमिगत कालमा विभिन्न नाममा कलम चलाउनुभयो । ती थुप्रै नाममध्ये नेपाली साहित्याकाशमा अध्यक्ष रोहित हरिबहादुर श्रेष्ठको नामले सुपरिचित हुनुहुन्छ । २०४१ सालमा प्रकाशित कविता सङ्ग्रह “आकाश बाँधिएको छैन” बाट एउटा कविता
“आकाश बाँधिएको छैन ।”
मेरा एक मित्र भन्थे –
‘आकाश बाँधिएको छ’
मैले भनेँ– ‘पखेटा असमर्थ छ ।’
उनी दिक्क माने र छटपटाए
रातो—पिरो आँखाले मलाई हेरेर भने–
‘यो उग्रता हो, व्यवहार भन्दा पर ।’
मैले भनेँ–
मर्न डराउनु
कायरता स्वीकार्न नसकेको बहादुरी हो ।
खोइ त,
आकाशको सीमा कसले भेट्टायो ?
मानिसले कहिले यस धर्तीमा
बाटो बनाउन छोड्यो ? अथवा
नयाँ विचारले, न्याय र मुक्तिले
बन्धनको विरोधमा कहिले
रगत बगाउन छोड्यो ?
सत्य त यो हो
मुक्तिको सासलाई आकाश बाँधिएको छैन
बाटो बनाउन रोक्नु एक बाधा हो ।
त्यसकारण म भन्छु–
‘यहाँ आकाश बाँधिएको छैन ।
यस्तो कुनै बन्धन यहाँ टिक्दैन
जो नचुँडिने अठोट गर्छ ।
बरु यहाँ
सङ्कल्प र विश्वासको मात्र जरुरी छ ।’
मानिसको हृदयमा आशा र विश्वासको विजारोपण गर्ने कविता या साहित्य कहिल्यै पुरानो हुँदैन । मुटुमा सङ्घर्ष र क्रान्ति भाव भर्ने कविता या साहित्य जीवन्त रहन्छ, कालजयी हुन्छ । यो कविता एउटा त्यस्तै दृष्टान्त हो ।
त्यतिबेला पञ्चायती व्यवस्थाको थिलथिलो थियो । शोषण, अन्याय, अत्याचारको सिक्रीले जनताको आकाशसमेत बाँधिएको भ्रम या हिनताबोध प्रतिक्रियावादी साहित्यकारहरूले फैलाइरहँदा हरिबहादुर श्रेष्ठले सङ्घर्षको भावना सञ्चार गर्नुभयो, “विचारको आकाश बाँधिएको छैन । स्वतन्त्रताको आकाशलाई बन्धनको एक पल पनि मञ्जुर हुँदैन । यहाँ प्रजातन्त्रको आकाश बाँधिएको छैन ।” दमनको व्यवस्थाविरुद्धको आवाज, न्याय र मुक्तिको निम्ति बलिदानीको भावना हाम्रा पखेटा हुन् । कसैले बाँध्न खोजेको आकाशमा हिम्मतसाथ गतिशील उड्नु पनि एक किसिमको क्रान्ति हो । त्यसैले पखेटा फिजाइ उडौँं भन्ने सन्देश कवितामार्फत प्रवाह गर्नुभयो ।
त्यतिबेला पञ्चायती व्यवस्थाको असन्तोष र प्रगतिशील विचार दबाउन अनि थुन्न खोजिन्थ्यो । आजको समय पनि फरक ढङ्गमा उस्तै छ । सरकार प्रतिपक्षी आवाज थुन्न खोज्छ । राजनीतिक, आर्थिक बेथिति या भ्रष्टाचारविरुद्धको आवाज दबाउन खोज्छ । यद्यपि परिवर्तनको आशा एवम भरोसा जिउँदो राख्ने आकाश हामीसँग छ, विचार हामीसँग छ, साहित्य हामीसँग छ । यो कवितासङ्ग्रह “आकाश बाँधिएको छैन ” भित्रका हरेक कविताले यही सशक्त सन्देश दिएको अनुभूति आजका पाठकलाई पनि हुन्छ । नेपाली समाज र राजनीतिको यथार्थबोधसँगै परिवर्तनको आकाङ्क्षालाई बलियो बनाउने तागत यी कविताभित्र महसुस हुन्छ ।
कवितासङ्ग्रहको अर्को शक्तिशाली कविता हो, ‘चुँडिने हरेक बन्धन स्वतन्त्रताको भूमिका बन्छ ।’ कम्युनिस्ट पार्टीभित्रका विषाक्त सर्पहरूविरुद्ध एक सच्चा कम्युनिस्टको सङ्घर्ष कवितामा प्रतिध्विनित छ । कम्युनिस्टको खोल आढेर कम्युनिस्ट आन्दोलन निश्तेजमात्र होइन बदनाम गर्न उद्यत सामन्त, पुँजीपतिवर्गका दूतहरूलाई पुग्दो जवाफ छ । नेपाली राजनीतिमा संशोधनवादी धारविरुद्ध क्रान्तिकारी विचार या सङ्घर्षको विकल्प नभएको सन्देश छ । राजनीति सिद्धान्त र विचारको आधारमा हुन्छ । विचार नमिलेपछि एक्लै भए पनि सङ्घर्षलाई अघि बढाउनु कम्युनिस्ट धर्म हो । कविताले सिद्धान्तच्युत भई कम्युनिस्ट आन्दोलनलाई धोखा दिनेहरूलाई उदाङ्ग्याएको छ, चेतावनी दिएको छ —
तर याद गर ।
उठ्दो क्रान्तिकारी ज्वार र जवानीमाथि
सडेगलेको संशोधनवादको कसिँदै जाने हरेक बन्धन
टुक्राटुक्रा भएर चुँडिनेछन् !
त्यस्ता चुँडिने हरेक बन्धन
स्वतन्त्रता र मुक्तिको निम्ति एक भूमिका बन्ने गर्छ ।’
आजभन्दा ४९ वर्षअघि लेख्नुभएको यो कविता आज पनि उत्तिकै सान्दर्भिक अनुभव हुन्छ । यस सङ्ग्रहभित्र समाज र राजनीतिको बेथिति चिरफार गर्नुका साथै सही मार्ग देखाउने आशावादी कविताहरू छन् । ‘नयाँ बिहानीलाई पर्खँदा पर्खँदै’, ‘नयाँ युगलाई ल्याउनु छ’ केही शीर्षक हुन् । देश र जनताको सेवामा समर्पित हुन आह्वान र उत्प्रेरित गर्ने कविता ‘प्रिय ¤ तिमीलाई मेरो अन्तिम चिठी’ बेजोड अनि मार्मिक लाग्छ । चिनियाँ कवि लु शुनको भनाइ छ — “क्रान्तिकारीहरूले लेख्न थालेपछि मात्र क्रान्तिकारी साहित्यको जन्म हुन्छ ।” यस कवितासङ्ग्रह त्यसैको एउटा बलियो उदाहरण हो भन्नु अतिशयोक्ति हुँदैन ।
समाजमा वर्ग विभाजन जस्तै साहित्य पनि विभाजित हुन्छ । प्रगतिशील साहित्त्न्दा प्रतिक्रियावादी साहित्यको भड्किलो प्रचारबाजी भएको त्यो समयमा प्रकाशित यस सङ्ग्रहले ‘साहित्य राजनीति र समाज परिवर्तनको हतियार हो’ भन्ने विचार स्थापित ग¥यो । प्रगतिशील साहित्यले आन्दोलनमा महत्वपूर्ण योगदान ग¥यो ।
सर्जक हरिबहादुर श्रेष्ठ भन्नुहुन्छ, “जनताको साहित्य लेख्नू, जनताको साहित्यकार बन्नू ।” साहित्यको उद्देश्य देश र जनताको सेवा या क्रान्तिको सेवा हुनुपर्छ । श्रमिक जनताको आवाज र आन्दोलन लेख्नू । वर्गसङ्घर्ष लेख्नू । साहित्यलाई राजनीति र क्रान्तिको हतियार बनाउनू । कलमको पल्टनले शोषणको व्यवस्थाविरुद्ध विद्रोह बोल्नू । प्रगतिशील र क्रान्तिकारी साहित्यको अर्थ यही हो ।” त्यस्तो साहित्य लेख्दा चाहे स्रष्टा हृदयचन्द्र सिंह प्रधानको नाटक ‘मरुभूमिका लेखक’ को लेखक पात्रकै जीवन किन बाँच्न नपरोस् ।
साहित्य साहित्यको निम्ति भन्ने तथाकथित बुद्धिजीवी र साहित्यकारहरू वर्गसङ्घर्षको भावना मार्न खोज्छन् । शोषणको पक्षपोषण गर्ने, विदेशी आक्रमण र युद्धको समर्थन गर्ने, सामन्तवाद, पुँजीवाद र उपनिवेशवाद र साम्राज्यवादको समर्थन गर्ने, सबैखाले थिचोमिचो र बेइमानी लुकाउने साहित्य प्रतिक्रियावादी साहित्य हुन् । प्रतिक्रियावादी साहित्य एक अफिम हो भन्नुहुन्छ हरिबहादुर श्रेष्ठ । कामदार वर्गलाई नायक बनाउने, शोषणको व्यवस्था उल्ट्याउने साहित्य प्रगतिशील हुन्छ । हरिबहादुर श्रेष्ठले नेपाली समाजमा प्रगतिशील साहित्य र क्रान्तिकारी साहित्यको प्रचार गर्न, सुसूचित गर्न लेख्नुभएको एउटा पुस्तक ‘जनताको साहित्य र साहित्यकार’ नेपालको बौद्धिक एवम् साहित्यिक जगतमा ठूलो योगदान नै मान्छन् नेपाली पाठक एवम् स्रष्टाहरू ।
नेपालको हकमा यो पुस्तकले चीनमा साहित्य र कलासम्बन्धी भएको येनान गोष्ठीको झल्को दिन्छ । जापानी उपनिवेशविरुद्ध प्रजातान्त्रिक आन्दोलन हुँदै समाजवादी क्रान्तिसम्म पुग्न चिनियाँ प्रगतिशील साहित्यले खेलेको भूमिकाबारे हामी बेलामौकामा छलफल गछौँ, नेपाली साहित्यिक क्षेत्रमा उठ्ने प्रश्नहरूको जवाफ खोज्छौँ ।
साहित्यको स्रोत के हो ? मानिसको सामाजिक जीवन । साहित्य कसको लागि लेख्ने ? सर्वहारा जनताको लागि, मजदुर र किसानको लागि । केका लागि लेख्ने साहित्य ? जनताको सेवाका लागि, जनतालाई शिक्षित बनाउन, सङ्घर्ष गर्नको लागि । के लेख्ने साहित्यमा ? वर्गीय माया लेख्ने, आशा र आदर्श लेख्ने । कसरी सेवा हुन्छ साहित्यबाट ? जनतालाई यथार्थबोध गराएर, वर्ग चेतना दिएर, जनताका लागि सरल र सरस अभिव्यक्ति दिएर, स्रोता एवम् पाठकअनुसार विचारप्रधान साहित्यको स्तर उठाएर, जनताको साहित्य प्रचार गरेर । येनान गोष्ठीले मात्र होइन सोभियत रुसको अनुभवले पनि यही सकियो । त्यतिमात्र होइन सन् १८४८ मा प्रकाशित माक्र्स र एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रको एउटा अध्याय पुरै प्रगतिशील साहित्यको महत्वबारे छ ।
नेपालको हकमा विगत ६ दशकदेखि साहित्यकार हरिबहादुर श्रेष्ठ अर्थात् का.रोहित यो साहित्यिक—राजनीतिक आन्दोलन या सङ्घर्षमा हुनुहुन्छ । निरन्तरको लेखन यात्रा र साहित्यिक सम्मेलनहरूमा उहाँको सक्रियता त्यो आन्दोलनको सिलसिला हो । हरिबहादुर श्रेष्ठ जोड दिनुहुन्छ, “कामदारवर्गको साहित्य पुँजीवादी साहित्यलाई चकनाचुर पार्ने बन्दुक र बम हो ।” भाषा, कला, साहित्य विकासबारे उहाँको विचार बेजोड छ । उहाँको मार्गदर्शन या दृष्टिकोणले नेपाली साहित्य जगतमात्र होइन सिङ्गो समाज र देशलाई उज्यालोतिर निश्चित अघि बढाउँछ । क्रान्तिकारी साहित्यकार हरिबहादुर श्रेष्ठप्रति सम्मान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *