भर्खरै :

आमूल परिवर्तनको निम्ति सङ्घर्ष आवश्यक

आमूल परिवर्तनको निम्ति सङ्घर्ष आवश्यक

कुनै दलको नाम माक्र्सवाद, लेनिनवाद या कम्युनिस्ट राख्दैमा त्यो दल सच्चा कम्युनिस्ट हुन्छ भन्ने कुरा होइन । माक्र्सवाद लेनिनवादलाई मार्गदर्शन सिद्धान्त मान्दैमा त्यो दल श्रमजीवी वर्गको पक्षमा हुन्छ भन्ने होइन । हो, कम्युनिस्टहरूको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा हो । कुनै दल कम्युनिस्ट पार्टी हो भने त्यस दलले वर्गीय शोषण र विभेदको अन्त्य गर्ने राजनीति गर्नुपर्छ । त्यस दलले साँच्चै श्रमजीवी वर्गको पक्षमा वकालत गरेको हुनुपर्छ । साम्राज्यवाद विस्तारवाद, सामन्तवाद, पुँजीवादको विरोध गरेको हुनुपर्छ । संशोधनवाद र अवसरवादको विरोधमा जुट्नुपर्छ । पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउन गाउँ–गाउँ र बस्ती बस्तीमा नेता तथा कार्यकर्ताहरू पुगेर जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्छ । कुनै दलको सिद्धान्त र विचार देखाउने दाँत होइन; लोकाचारको निम्ति होइन ।
कम्युनिस्ट पार्टी वर्गसङ्घर्षमा विश्वास राख्छ । वर्गसङ्घर्षले मात्र आमूल परिवर्तन सम्भव छ भन्ने मान्यता राख्छ । वर्गसङ्घर्षको निम्ति बाह्य र आन्तरिक परिस्थिति मिल्नुपर्छ भन्ने मान्यता राख्छ । संसदीय निर्वाचनबाट समाजवाद स्थापना सम्भव छैन भन्ने मान्यता कम्युनिस्ट पार्टीको हो । देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पटक पटक सरकार बने पनि सरकारले कुनै मौलिक परिवर्तन गर्न सकेन; मौलिक परिवर्तनको निम्ति कुनै अभ्यासै गरेको देखिएन । शासक दलका कति नेता, लेखक, बुद्धिजीवीहरू यो सङ्घीय गणतान्त्रिक व्यवस्थाभित्र रहेरै समाजवाद ल्याउने कुरा फुक्छन् । समाजवाद भनेको निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य उपचार मात्र होइन । गाउँ–गाउँ र बस्ती बस्तीमा स्कूल पुग्दैमा त्यो समाजवादी व्यवस्था हुँदैन । तर, त्यो पुग्नु राम्रो पक्ष हो । श्रमजीवी वर्गको पक्षमा श्रमजीवी वर्गको सरकारले शासन चलाउन सङ्घर्ष नगरी हुँदैन । कुनै पनि शासकले आफूखुसी आफ्नो शासन छोड्दैन । कुनै सरकार कसैले छोड भन्दैमा छोड्दैन, फूमन्त्र गर्दैमा ढल्दैन । न त सरकारको नेतृत्व फेर्नु नै मौलिक परिवर्तन हो । पुँजीवादी व्यवस्थामा सरकारको नेतृत्व बरोबर फेरिरहन्छ । नेपालमै धेरै पटक सरकारको नेतृत्व हेरफेर भयो । सत्ता राजनीतिको कारण यो चलखेल भएको हो; भागबन्डाको कारण सरकार अस्थिर बनेको हो ।
कम्युनिस्ट पार्टी नामको दल सरकारमा पुग्दैमा साँच्चै त्यो कम्युनिस्ट पार्टीको सरकार हुँदैन । त्यसो त देशमा आफूलाई कम्युनिस्ट भनिने दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरूको नेतृत्वमा सरकार गठन भयो । तर, श्रमजीवी जनताले देशमा कम्युनिस्ट पार्टी सरकार छ भन्ने कुरा जनतामा कुनै अनुभूति भएन; अनुभूति हुने काम भएन । शोषणरहित समाज स्थापना गर्नेतर्फ सरकारमा गएका कुनै पनि कम्युनिस्ट पार्टीले काम गरेन; तद्नुसारको नीति नियम बनाएन । कुनै दलले हतियार उठाउँदैमा त्यो दल कम्युनिस्ट हुने होइन । व्यक्तिहत्या पनि कम्युनिस्टको चरित्र होइन ।
शोषणरहित समाज स्थापना गर्ने ध्येय कम्युनिस्ट पार्टीको हो । माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक मान्ने दलको नेतृत्वमा सरकार छ । तर, श्रमजीवीवर्गको पक्षमा कुनै नीति नियम बनेन । कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले पुँजीवादी पक्षधरहरूकै पक्षपोषण ग¥यो; पुँजीवादी व्यवस्थालाई नै मलजल ग¥यो । पुँजीवादी पार्टीसँग साँठगाँठ गरेर या घाँटी जोडेर देशमा कसरी आमूल परिवर्तन हुन्छ ? देशमा कसरी समाजवाद स्थापना हुन्छ ? कम्युनिस्ट भनिने शासक दलका नेताहरूले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई थाती राखे; अझ कम्युनिस्ट पार्टीको मूल्य र मान्यताविपरीत लागे । यसले श्रमजीवी वर्गको पहँुच र पकड बलियो हुनेछैन । सत्ता र संसद्मा हालिमुहाली हुनु कम्युनिस्टको चरित्र होइन; कम्युनिस्ट शासन होइन ।
सरकारमा जाने कम्युनिस्ट पार्टीहरूको उद्देश्य नै गलत देखियो । कम्युनिस्टहरूले सत्तामुखी राजनीति गरे; भागबन्डाको राजनीति गरे । कम्युनिस्ट पार्टी सिद्धान्त र विचार छोडेर पालैपालो सरकारमा पुग्यो र सेवा सुविधा लिन तँछाडमछाड भयो । त्यसको कारण नेपालको कम्युनिस्ट आन्दोलनले निरन्तरता पाएन । बरु, सत्ताधारी दलप्रति जनतामा वितृष्णा बढ्यो । अन्तर्राष्ट्रिय समुदायमा नेपालको कम्युनिस्ट पार्टीको बदनाम भयो । यो बदनाम ठुला दल भनिने कम्युनिस्ट पार्टीको कारण भएको हो । तर, देशका सबै कम्युनिस्ट पार्टीहरू त्यस्ता छैनन् । समाजवादी क्रान्तिको निम्ति समाजवादी अभियानलाई निरन्तरता दिइरहनुपर्छ या आमूल परिवर्तनको निम्ति निरन्तर सङ्घर्ष गरिरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *