भर्खरै :

चीनमा नयाँ ऊर्जा युगको बिहानी

चीनमा नयाँ ऊर्जा युगको बिहानी

दुई हजार वर्षभन्दा पहिले सिसिलीमा एक वैज्ञानिक थिए आर्किमिडिज । सिसिलीको सिराक्यूजमा रोमनहरूले हमला गरे । आर्किमिडिजले सैनिकहरूलाई पर्खालहरूमा टलकदार काँसका ढाल ठडाउन भने रे ¤ किंवदन्तीअनुसार यी टलकदार ढालले सूर्यको किरण केन्द्रित गरे र रोमन युद्धपोतहरूका पालहरूमा आगो लगाए ।
एकदिम म डुनहुआङ नजिकैको गोबी मरुभूमिमा उभिएँ । घामको बाटो पछ्याउने गरी १२ हजार ऐनालाई मसिनो हिसाब गरेर लहरै राखिएको थियो । त्यो देखेपछि मलाई पश्चिमाहरूको प्राचीन किंवदन्ती संसारको पूर्वी किनारमा साकार भएजस्तो लाग्यो । फरक कतिमात्र थियो भने चीनमा यसको आकार निकै भव्य र परिवर्तनकारी थियो ।
हालै चीनमा दुई सम्मेलन भए । सम्मेलनमा जनप्रतिनिधि र राजनीतिक सल्लाहकारहरूले सौर्य ऊर्जाको बढ्दो भूमिकाबारे छलफल गरे । छलफलको क्रममा मलाई आर्किमिडिजको कथा याद आयो । यो संस्मरण त्यसै बेलाको हो ।
डुनहुआङका मोगाओ गुफाहरू प्राचीन भित्तेचित्रहरूको लागि प्रसिद्ध छ । ती भित्तेचित्र हेरेर अचम्म पर्ने लाखौँ पर्यटकहरूको लाममा एकपल्ट म पनि मिसिएँ । त्यो घुमघाममा एक स्थानीय साथीले मलाई २० किलोमिटर पश्चिम लगे । त्यहाँबाट एउटा २६० मिटर अग्लो सौर्य टावर देखियो । वरिपरि राखिएका ऐनाहरूको लस्कर सोही टावरतिर फर्केका थिए । त्यहाँ पुगेपछि बल्ल मैले डुनहुआङको मर्म बुझ्न सकेँ । डुनहुआङ रहेछ पूर्वीय सभ्यताको प्राचीन र आधुनिक मोडलको सङ्गम ।
यो महाकाय ऐना विद्युत् घरको निर्माण शोहाङ हाइ–टेक एनर्जी नाउँको कम्पनीले गरेको हो । विद्युत््घर ७८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो भनेको १ हजारभन्दा बढी फुटबल मैदान बराबर हुन्छ । त्यहाँ उभिएको प्रत्येक ‘हेलियोस्टेट’ ले आफ्नो ११५ वर्गमिटर फराकिलो पाताबाट सूर्यको किरण सोस्छ ।
ऐनालाई एकदम मसिनो हिसाब गरेर लहरै मिलाइएको छ । बाहिरी घेराहरू पानीका लहरजस्ता फराकिँदै जान्छन् भने भित्री घेराहरू बढी नजिक छन् । यसो हेर्दा मौरीका चाका जस्तो लाग्छ ।
दिउँसोपख सूर्यको किरण टावरको सिरानमा केन्द्रित हुन्छ । यसले गर्दा त्यहाँ ५६५ डिग्री सेल्सियस सम्मको ताप पैदा हुन्छ । साँझसम्मै पग्लेको नुनका विशाल ट्याङ्कीहरूमा जम्मा भएको तापले टर्बाइनहरूलाई घुमाइरहन्छ । यसले गर्दा बर्सेनि ३९ करोड युनिट (किलोवाट–घन्टा) स्वच्छ विद्युत् उत्पादन हुन्छ ।
यहाँनिर पश्चिमको प्राचीन मिथक र पूर्वको आधुनिक प्रविधिबिच एउटा मौलिक भिन्नता छ । आर्किमिडिजका ऐनाले क्षणिक विनाशमात्र ल्याएका थिए । तर, चीनका ऐनाहरूले स्थायी जीवनशक्ति उत्पादन गर्दै छन् ।
पग्लेको नुनका भण्डारण ट्याङ्कीहरू चमचम चम्किरहेका थिए । मैले त्यसमा विश्वव्यापी ऊर्जा क्रान्तिको प्रतिविम्ब देखेँ । डुनहुआङ सौर्य विद्युत्गृहले प्रतिवर्ष स्थानीय बस्तीको विद्युत् माग पूर्ति गर्न पुग्दो हरित विद्युत् उत्पादन गर्छ । यो विद्युत्का कारण त्यहाँका बासिन्दाहरू कोइलाको धुँवा–धुलोबाट मुक्त भएका छन् । यो चीनको पूर्णतः स्वदेशी परियोजना हो । यो परियोजनाले गर्दा तल र माथि गरी ६०० उद्यमहरूमा नवीनता ल्याएको छ । यसबाट एकप्रकारको ऊर्जाको क्षेत्रले सामञ्जस्यपूर्ण काँचुली फेरेको छ ।
यसबीच प्रशान्त महासागरपारि बस्ने वासिङ्टनका नीतिनिर्माताहरू भने पश्चिमी युद्धको मानसिकतामा फसेको देखिन्छ । उनीहरू होडबाजी र प्रभुत्वको थोत्रो पिँजडामा समलिएका छन् ।
क्यानडाले अमेरिकाका लागि हुने विद्युत् निर्यातमा जवाफी भन्सार महसुल लगायो । यसले गर्दा अमेरिकी उपभोक्ताहरूको लागत बढेको छ । यसबाट अमेरिकी विद्युत् ग्रिडको कमजोरी पनि उजागर भएको छ । घरेलु विद्युत् क्षमता अपुग हुनाले विशेषगरी उत्तर–पूर्वी अमेरिका क्यानडाको विद्युत्मा निर्भर छ ।
विद्युत् (एसी, अल्टरनेटिङ करेन्ट) को उत्पादन थाल्ने देश हो अमेरिका । तर, अहिले ऊ आफ्नो ग्रिड स्थिर राख्न बाह्य आयातमा निर्भर छ । नवीकरणीय ऊर्जाको विकासमा चीन र अमेरिकाले लिएको उल्टो बाटो यसबाट प्रस्ट हुन्छ । अझ अर्को विडम्बना के छ भने अमेरिकाले आफ्नो संविधानको दफा ३०१ को प्रयोग गर्दै चिनियाँ फोटोभोल्टिक उपकरणको आयातमा उच्च भन्सार कर लगायो । यसले चीनको प्रगतिलाई बीसको उन्नाइस पार्न सकेको छैन । सन् २०२४ सम्ममा चीनले नयाँ सौर्य परियोजनामार्फत थप २७७.१७ गिगावाट विद्युत् उत्पादन गर्ने विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् । यसको अर्थ सन् २०२४ को अन्त्यसम्ममा चीनको कुल सौर्य ऊर्जा क्षमता ८८६.६६ गिगावाट पुग्नेछ । एउटा नयाँ ऐतिहासिक कीर्तिमान रचिनेछ ।
डुनहुआङको अवलोकन कक्षमा बसेर मैले ऊर्जा क्रान्तिलाई जनाउने एउटा सार्थक रूपक पत्ता लगाएँ । संसारका सबै कुनाकाप्चामा बराबर घाम पुग्छ तर मानवनिर्मित प्रविधिमा तगारो लगाउनु बालुवामा पानी खन्याए जस्तै हो । अमेरिकाले हुवावेको ५–जी प्रविधिमा प्रतिबन्ध लगायो । तर, त्यो प्रतिबन्धले चीनलाई क्वान्टम सञ्चारको क्षेत्रमा क्रान्ति ल्याउनबाट रोक्न सकेन । अमेरिकाले सेमिकन्डक्टरमा प्रतिबन्ध लगायो । तर, चीनले कृत्रिम बौद्धिकताको क्षेत्रमा अझ स्वाधीन मार्ग पहिल्यायो । अमेरिकी प्रतिबन्धले चीनको प्रगतिलाई छेक्न सकेन ।
साँझ ढल्दै गयो । डुनहुआङका ऐनाहरू घामका अन्तिम किरण पक्रेर सौर्य टावरतर्फ मोड्न बिस्तारै घुम्न थाले । यसले सभ्यताको प्रतिस्पर्धाको सार बताउँछ – अरूको उज्यालो निभाएर कहिल्यै पनि वास्तविक प्रगति हुन सक्दैन; वास्तविक प्रगति गर्न आफै धपधपी बल्न सक्नुपर्छ ।
अमेरिकी संसद् क्यापिटल हिलका सांसदहरू चिनियाँ ब्याट्रीमाथि प्रतिबन्ध लगाउने–नलगाउने विषयमा विवाद गर्दै छन् । तर, यति नै बेला डुनहुआङका ऐनाहरू घामको बाटो पछ्याउन दिनकै झन्डै १ करोडपल्ट चुपचाप चलायमान हुन्छन् । नवीकरणीय ऊर्जाको यो ‘ऐना चाल’ मा संसारका सबै देशले आफ्नो उज्ज्वल भविष्यको प्रतिविम्ब देख्ने निश्चित छ ।
(लेखक ‘पिपल्स डेली’ का एक वरिष्ठ सम्पादक हुन् । हाल उनी रेनमिन विश्वविद्यालयमा वरिष्ठ अनुसन्धानकर्मीको रूपमा कार्यरत छन् ।)

– ग्लोबल टाइम्सबाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *