भर्खरै :

स्वतन्त्र देशको शासकको हैसियत

स्वतन्त्र देशको शासकको हैसियत

हालै दुई छिमेकी मित्र राष्ट्रहरू भारत र पाकिस्तान एक अर्काविरुद्ध सङ्घर्षमा उत्रिए । केही दिनको हवाई हमला र प्रतिहमलापछि अमेरिकी प्रशासनको मध्यस्थतामा सङ्घर्षविराम भइसकेको छ । भारत–पाकिस्तान द्वन्द्वको सन्दर्भमा नेपालले पहलगाम आतङ्ककारी आक्रमणको निन्दा र विरोध गर्नु जति जरुरी थियो, त्यही घटनालाई लिएर भारत–पाकिस्तान द्वन्द्व नबढाउन आह्वान गर्नु अत्यन्त जरुरी थियो तर नेपाल सरकारले त्यस्तो आँट गर्न सकेन । संरा अमेरिकालगायत विभिन्न देशको मध्यस्थतामा दुई देश सङ्र्षविरामका लागि सहमत भए । तर नेपालले लडाइँ रोक्न अन्य दुई छिमेकी देशलाई आह्वान नगरेकोले नेपालको राजनीतिक र कूटनीतिक साखमाथि प्रश्न उठेको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिका जानकारहरूले टिप्पणी गरेका छन् ।
नेपालको भारत र पाकिस्तान दुवैसँग राम्रो कूटनीतिक सम्बन्ध रहेको छ । नेपाल दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सार्कको अध्यक्ष पनि हो । तर, त्यस हैसियतअनुसारको व्यवहार भने नेपालका शासकहरूले प्रदर्शन गर्न सकेनन् । नेपालको स्वतन्त्र र असंलग्न र पञ्चशीलमा आधारित विदेशनीतिअनुसारको अडानसम्म खुलेर राख्न सकेनन् । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत र पाकिस्तानबिच बढेको तनावप्रति ‘गहिरो चिन्ता’ दोहो¥याउँदै ‘तनाव कम हुने अपेक्षा’ व्यक्त ग¥यो । तर खुलेर लडाइँ नगर्न वा संयमित हुन आह्वान गर्न सकेन । नेपालले कूटनीतिक माध्यमबाट त्यसो गरेको सङ्केत कतै देखिएन । देशको निष्पक्ष परराष्ट्र नीतिको विपरीत केही नुनको सोझो गर्न लालायित राजनीतिकर्मीहरूले त भारत र पाकिस्तानबिच द्वन्द्व चर्कँदा नेपालले आफ्नो स्वतन्त्र अडान त्यागेर भारतप्रति पक्षधरता देखाउन मागसमेत अघि सारे ।
भारत–पाकिस्तानबिचको द्वन्द्वको प्रभाव दुई देशलाई मात्र पर्ने होइन । युद्ध अघि बढ्दै जाँदा त्यसबाट नेपाली जनमानसमा समेत ठुलो भूकम्प ल्याउन सक्छ । भारत र पाकिस्तानबिच लडाइँ हुँदा नेपालको अर्थतन्त्र र पर्यटनदेखि भारतमा बस्ने लाखौँ नेपालीदेखि भारतीय सेनामा रहेका हजारौँ गोर्खा सैनिकहरूसम्म प्रत्यक्ष प्रभावित हुनसक्थ्यो । भारतले विगतका आफ्ना चीनविरुद्धका र पाकिस्तानविरुद्धका युद्धहरूमा गोर्खा सैनिकहरू अत्यधिकरूपमा प्रयोग गरेका थिए । युद्ध लम्बिएको भए निश्चितरूपमा उनीहरूले गोर्खा सैनिकहरू बढी प्रयोग गर्ने थिए र हताहति हुने सम्भावना पनि उत्तिकै रहेको हुन्छ । एक छिमेकी देशविरुद्धको युद्धमा अर्को छिमेकी देशले नेपालका नागरिकहरू प्रयोग गर्नु नेपालको लागि विडम्बना नै हो । तसर्थ, सचेत नेपाली जनताले गोर्खा सैनिकको भर्ती बन्द गर्नुपर्छ र युद्धमा परिचालन बन्द गर्नुपर्छ भनी माग उठाइरहेको पनि आठ दसक पुगिसक्यो ।
नेपाल एक स्वतन्त्र र स्वाधीन देश हो । त्यसैले नेपालका शासकहरूको हैसियत पनि स्वतन्त्र देशको शासकको हुनुपर्छ । विडम्बना ¤ त्यस्तो हुन सकिरहेको छैन । नेपालका शासकहरू विदेशी प्रभुहरूसमक्ष लम्पसार नै पर्ने गरेका छन् । भारतको शासक दलका ओहदाविहीन नेताहरूले बेमौसममा नेपाल भ्रमणमा आउँदासमेत नेपालका पूर्व प्रम र मन्त्रीहरूमा लाम लागेर दर्शन गर्न जाने प्रवृत्ति नै बसिसकेको देखिन्छ ।
उनीहरूले राजनीति गर्न, पार्टी चलाउन र निर्वाचन लड्नसमेत विदेश शासक वर्ग वा विदेशी एकाधिकार पुँजीका मालिकहरूसित पैसा लिएका हुनाले त्यस्ता शासकहरूले विदेशीको निर्देशन, इसारा र अनुमतिबेगर केही गर्न सक्दैनन् । देशको जतिसुकै उच्च पदमा पुग्दा पनि त्यसअनुसारको आफ्नो वैचारिक र नीतिगत हैसियत कायम राख्न नसकेका हुन् । विदेशी प्रभुको सिता खाएकाहरूले आफ्ना प्रभुहरूकै गीता गाउनु कुनै आश्चर्य भएन । शासक दलहरू र ती दलका नेताहरूमा भएका आत्मसमर्पणवादी, स्वार्थी र पदलोलुप प्रवृत्तिका कारण देशको सार्वभौमिकता गुम्दै गएको हो । नेपालका शासक पार्टीका नेताहरू स्वतन्त्र देशको शासक बन्न योग्य नै नरहेको चर्चा नेपालका बुद्धिजीवी समुदायमा बरोबर चलिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *