भर्खरै :

देशको सार्वभौमिकता कमजोर भए जनताको प्रतिष्ठा गुम्ने

देशको सार्वभौमिकता कमजोर भए जनताको प्रतिष्ठा गुम्ने

भक्तपुर, २९ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले देशको सार्वभौभिकता कमजोर हुँदा अन्तर्राष्ट्रिय जगतमा नागरिकहरूको प्रतिष्ठा गुम्ने खतरा बढ्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत चिकित्सकहरूसँगको भेटघाट तथा मार्गनिर्देशन कार्यक्रममा बोल्दै सांसद सुवालले शासक दलका गलत क्रियाकलाप र भ्रष्टाचारको कारण अन्तर्राष्ट्रिय समुदायमा नेपालको उपस्थिति कमजोर बनेको र त्यसले गर्दा नेपालको पासपोर्टलाई समेत तल्लो दर्जा दिएको बताउनुभयो ।
“सरकारले भक्तपुर नगरपालिकालाई समयमा अस्पताल सञ्चालन स्वीकृति नदिनु खोटपूर्ण हो । सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित नगर्दा नगरपालिकाबाट सञ्चालन हुने मेडिकल कलेजमा कम शुल्कमा जनताका छोराछोरीले अध्ययन गर्न पाएको छैन ।”
उहाँले भन्नुभयो, “रुस र चीनमा अध्ययन गरेर आएकाहरूको अनुभव सुन्दा ती दुवै देशमा मानवीय मूल्य सम्मानजक रहेको पाउँछौँ । बेलायतका एक नागरिकले चीनमा बसेको १५ वर्षयता शान्तिपूर्ण सुव्यवस्था कायम भएको बताएका छन् । नेपालमा त्यस्तो अवस्था तयार गर्न सरकार सफल भएन ।”
उहाँले भन्नुभयो, “सरकारले नयाँ पुस्तालाई तयार गर्ने वातावरण नबनाएको जनगुनासो बढ्दो छ । हाम्रा नयाँ पुस्तालाई हामीले नै तयार गर्नु जरुरी छ । जनप्रतिनिधिले जनताका समस्या संसद्मा उठाएर सरकारको ध्यानाकर्षण गराउने हो । चिकित्सकहरूले आ–आफ्नो समस्या दिनु भए सरकारको ध्यानाकर्षण गराउन संसद्मा राख्नेछौँ ।”
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रदेखि हाल ख्वप अस्पतालसम्म सेवा गर्ने सबै चिकित्सक र कर्मचारीहरूको एउटा सूची तयार गर्नु उपयुक्त हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपाल सरकारले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर ऐतिहासिक तथ्य र प्रमाणसहित पेस नगर्दा अहिले पनि विभिन्न देशमा बुद्ध नेपालमा नभई भारतमा जन्मेका हुन् भनी प्रचार गरिएको छ । यो गलत हो । सरकारमार्फत तत्काल सच्याइनुपर्छ ।
सांसद सुवालले शिक्षा र स्वास्थ्य उपचार सेवा हरेक नागरिकको नैसर्गिक अधिकार हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य विज्ञान र स्वास्थ्य उपचार सेवामा चिकित्सकहरूले भोगेका समस्याबारे जनप्रतिनिधिलाई जानकारी भएमा संसद् र सम्बन्धित ठाउँमा समाधानका लागि पु¥याउन सकिने प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका पञ्चायतकालदेखि नै जनस्वास्थ्य केन्द्र स्थापना गरेर जनतालाई उपचार सेवा प्रदान गरिरहेको र हाल ख्वप अस्पतालको रूपमा विकास भएको चर्चा गर्दै उहाँले कार्यरत चिकित्सकहरूलाई नियमित रूपमा विशेषज्ञहरूबाट अभिमुखीकरण गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् अस्पताल सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई स्वास्थ्य उपचारको लागि देशकै गन्तव्य बनाउने लक्ष्यसहित स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको मार्ग निर्देशनमा समाजवादी विचारबाट प्रभावित हुँदै ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने दिशामा भनपा लागिरहेको चर्चा गर्दै भन्नुभयो, “अन्य अस्पतालभन्दा विशेष सुविधा दिने उद्देश्यले ख्वप अस्पतालमा ३६५ दिन नै बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा सञ्चालन गरेको, निःशुल्क अक्सिजन तथा रगत सेवा प्रदान गरेको, घरदैलो नर्सिङ सेवा सञ्चालन गरेको र स्वास्थ्य परीक्षण शिविरहरू समुदायस्तरमा चलाइरहेको हो ।”
प्रमुख प्रजापतिले समाजको सेवा गर्ने उद्देश्यले सामूहिक भावना बोकेर बिरामीको उपचार सेवामा लाग्न चिकित्सकहरूलाई उत्साहित गर्नुभयो ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्व, नि.मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल र डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *