भर्खरै :

नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन

नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन

रित्तिँदै गएका आँगन
कुनै बेला गाउँका आँगनमा नातिनातिनाको हाँसो गुन्जिन्थ्यो । आज तिनै आँगनमा एउटा एक्लो मुढा छ, कोठाका ढोकामा ताल्चा झुन्डिएका छन् । बुढा आमाबुबा मोबाइलको सानो पर्दामा छोराछोरीको अनुहार हेरेर चित्त बुझाउँछन् । घर छ, खेत छ, सम्पत्ति छ । तर, बुढेसकालमा पानी खुवाउने, औषधि खान सम्झाइदिने र साँझपख भलाकुसारी गर्ने आफन्त छैनन् । यो कुनै एक घरको कथा होइन, आजको नेपालको साझा यथार्थ हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा थिए । घरबाट अनुपस्थित कुल जनसङ्ख्या साढे ४४ लाख, अर्थात् कुल जनसङ्ख्याको १५.३ प्रतिशत पुगेको थियो । विद्यार्थी अवस्थामै विदेश जाने लहर झन् तीव्र छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ लाख २३ हजार ५८९ विद्यार्थीले विदेश अध्ययनको अनुमति लिए । ‘नेपालमा केही छैन’ भन्ने निराशाले युवालाई बाहिर धकेलिरहेको छ । घरमा बाँकी रहन्छन् – बुढा आमाबुबा, खाली कोठा र अन्तहीन प्रतीक्षा ।
देश बनाउने पुस्ता, आज एक्लो
यो त्यही पुस्ता हो, जसले श्रमदान गरेर गोरेटो खन्यो, विद्यालयका भित्ता उठायो र वन जोगायो । आफू नपढे पनि खेत बेचेर, ऋण काढेर सन्तानलाई पढायो । समाज, संस्कृति र संस्कारको जग बसाल्यो, नयाँ पुस्तालाई ठुला सपना देख्न सिकायो । आज त्यही सपनाले सन्तानलाई टाढा पु¥याएको छ । संयुक्त परिवार टुक्रिँदै छ । बुढ्यौलीसँगै आउने स्मरणशक्तिको कमजोरी, दीर्घ रोग, एक्लोपन र निराशा घरभित्रै चुपचाप बढिरहेका छन् । एक्लोपन केवल मनको पीडा होइन† यसले शरीरलाई पनि रोगी बनाउँछ ।
हाम्रो संस्कृतिले ‘मातृदेवः भव, पितृदेवः भव’ भन्छ । पुर्खाको सेवालाई पितृ ऋण तिर्ने धर्म मानिन्छ । तर, बदलिँदो समाजमा यो कर्तव्य परिवारको एक्लो काँधले मात्र बोक्न सक्दैन । यहीँबाट समाज र स्थानीय सरकारको भूमिका सुरु हुन्छ ।
भक्तपुरको पहल : दिउँसोको आफ्नै घर
यही पीडाको जवाफ खोज्दै भक्तपुर नगरपालिकाले नेपालमै पहिलोपटक ज्येष्ठ नागरिकका लागि ‘आदर निकेतन’ को अवधारणा व्यवहारमा उतारेको छ । २०८३ असोज ५ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले ख्वप आदर निकेतनको उद्घाटन गर्नुभयो ।
यसको सबैभन्दा सुन्दर पक्ष यो वृद्धाश्रम नहुनु हो । बालबालिका बिहान विद्यालय गएर बेलुका घर फर्केझैँ ज्येष्ठ नागरिक दिउँसो आदर निकेतन वा केन्द्रमा आउँछन् र साँझ परिवारकै काखमा फर्कन्छन् । यसले परिवारको नाता टुटाउँदैन, बरु घरमा कोही नहुँदाको दिउँसोको एक्लोपन मेटाउँछ ।
केन्द्र बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म खुल्छ । मासिक रु. एक हजारमात्र शुल्कमा सेवा पाइन्छ । स्वागत र स्वास्थ्य परीक्षणबाट दिन सुरु हुन्छ । त्यसपछि भलाकुसारी, हल्का व्यायाम, परम्परागत खेल, भजनकीर्तन, सीपमूलक काम, आराम र व्यक्तिगत सरसफाइमा दिन बित्छ । पोषणविज्ञको सल्लाहअनुसार फरक–फरक दिन मौसमी फलफूल, दूध, अण्डा, खीर, नरम तरकारी, जाउलो, रोटी, राजमा, चिउरा र सातु दिइन्छ । यहाँ खाना मात्र होइन, सम्मान पनि पस्किइन्छ । केन्द्रमा बिताएको दिनले ज्येष्ठ नागरिकलाई ‘म अझै समाजको हिस्सा हुँ’ भन्ने अनुभूति दिन्छ ।
नेतृत्वको सोच : नीतिबाट व्यवहारसम्म
नारायणमान बिजुक्छेँको भनाइ छ – “उमेरसँगै स्मरणशक्ति कमजोर हुने भएकाले ज्येष्ठ नागरिकलाई एक्लै छाड्नु हुँदैन । बालबालिकाका लागि विद्यालय र शिशु स्याहार केन्द्र भएझैँ ज्येष्ठ नागरिकका लागि पनि हेरचाहका संस्थागत आधार चाहिन्छ ।” नगर प्रमुख सुनिल प्रजापतिले पोषण, स्वास्थ्य, सरसफाइ र मनोरञ्जनलाई समेटेर सेवा सञ्चालन गरिएको र यसलाई नगरका सबै वडामा विस्तार गरिने, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनका लागि यो सेवा अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
नगरपालिकाले २०७७ सालमै आदर निकेतन सेवासम्बन्धी ऐन बनाएको थियो । अहिलेको सञ्चालन त्यही दूरदर्शी नीतिको व्यावहारिक रूप हो । दिगो बजेट, दक्ष हेरचाहकर्ता, गुणस्तरीय सेवा र नियमित अनुगमनले यसलाई अझ बलियो बनाउनेछ ।
संसारको अनुभव, हाम्रो पाठ
विकसित देशहरूले ज्येष्ठ नागरिकको हेरचाहलाई बिलासिता होइन, आधारभूत पूर्वाधार मानेका छन् । विश्वकै सबैभन्दा वृद्ध जनसङ्ख्या भएको जापानले सन् २००० देखि दीर्घकालीन हेरचाह बीमा लागू गरी समुदायमै ‘डे सर्भिस’ अर्थात् दिवा हेरचाह केन्द्र विस्तार गरेको छ । करिब ३१ करोड ज्येष्ठ नागरिक भएको चीनले ९० प्रतिशतलाई घरमै, ७ प्रतिशतलाई सामुदायिक केन्द्रमा र ३ प्रतिशतलाई संस्थागत रूपमा हेरचाह गर्ने नीतिअन्तर्गत टोल–टोलमा दिवा केन्द्र र ज्येष्ठ नागरिक भोजनालय खोलेको छ । सिङ्गापुरले दस जनामध्ये आठ जना ज्येष्ठ नागरिकको घर नजिकै ‘एक्टिभ एजिङ सेन्टर’ पु¥याउने लक्ष्यसहित २०२४ सम्म २१४ केन्द्र बनाइसकेको छ भने दक्षिण कोरियाका गाउँ–गाउँका ‘ग्योङनोदाङ’ बुढापाकाको दिउँसोको साझा चौतारी बनेका छन् । विश्व स्वास्थ्य सङ्गठनको ‘ज्येष्ठ नागरिकमैत्री सहर तथा समुदाय’ अवधारणाले पनि सेवा घरबाट हिँडेर पुग्न सकिने दूरीमा हुनुपर्ने र ज्येष्ठ नागरिक समाजका सक्रिय अङ्ग बनिरहनुपर्नेमा जोड दिन्छ । यी सबै अनुभवको सार ख्वप आदर निकेतनमा देख्न सकिन्छ† फरक यति हो, भक्तपुरले यसलाई हाम्रै माटो, संस्कृति र स्रोतअनुसार सुरु गरेको छ ।
कानुन छ, अब कार्यान्वयन चाहियो
नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ । संविधानको अनुसूची–८ ले ज्येष्ठ नागरिकसम्बन्धी काम स्थानीय तहकै अधिकारभित्र राखेको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ ले यसको बाटो खोलिसकेका छन् । अर्थात्, कानुनको कमी छैन† कमी इच्छाशक्ति र कार्यान्वयनको छ । भक्तपुरले प्रमाणित गरेको छ – स्थानीय सरकार चाहे भने यो सम्भव छ ।
दुई पुस्ता जोड्ने पुल
ज्येष्ठ नागरिक अनुभव, इतिहास, संस्कार र सीपका जीवित पुस्तकालय हुन्† बालबालिका भविष्यका सम्भावना । आदर निकेतनलाई नजिकका विद्यालयसँग जोडेर विद्यार्थीको नियमित भेटघाट गराउन सकिन्छ । हजुरबा–हजुरआमाले लोककथा, गीत, उखानटुक्का, परम्परागत खेल, हस्तकला र रैथाने ज्ञान सिकाउनुहुन्छ । बदलामा विद्यार्थीले उहाँहरूलाई मोबाइल, भिडियो कल र डिजिटल भुक्तानी चलाउन सिकाउँछन् । यसले बालबालिकामा अग्रजप्रति श्रद्धा र संस्कार जगाउँछ । ज्येष्ठ नागरिकमा भने ‘मेरो ज्ञान अझै काम लाग्छ’ भन्ने आत्मसम्मान फर्काउँछ ।
कर्णालीदेखि ७५३ स्थानीय तहसम्म
भौगोलिक विकटता, छरिएका बस्ती र तीव्र बसाइँसराइ भएको कर्णालीजस्ता प्रदेशमा यस्तो सेवा झन् बढी आवश्यक छ । तर, यसका लागि महँगो भवन पर्खिनुपर्दैन । सुरुवात सानो र सस्तो तरिकाले गर्न सकिन्छ ः
– सामुदायिक भवन, वडा कार्यालय वा विद्यालयको खाली कोठालाई ज्येष्ठ नागरिकमैत्री बनाएर प्रत्येक वडामा एउटा दिवा केन्द्र ।
– नजिकको स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम्सेविकामार्फत नियमित स्वास्थ्य परीक्षण ।
– केन्द्रसम्म आउन नसक्नेका लागि घरदैलो हेरचाह र परामर्श ।
– विदेशमा रहेका सन्तानले आफ्ना आमाबुबाको हेरचाहमा योगदान गर्न सक्ने ‘आमाबुबा सम्मान कोष’ ।
– स्थानीय युवालाई हेरचाहकर्ताको तालिम, जसले गाउँमै रोजगारी पनि सिर्जना गर्छ ।
– स्थानीय बजेटमा छुट्टै शीर्षक, सेवाको गुणस्तर मापदण्ड र नियमित अनुगमन ।
सङ्घले नीति, मापदण्ड र अनुदान† प्रदेशले प्राविधिक र आर्थिक समन्वय† स्थानीय तहले सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिए देशका ७५३ वटै स्थानीय तहमा आदर निकेतन पु¥याउन असम्भव छैन ।
आदर खर्च होइन, लगानी हो
मानिसलाई बाँच्न भोजन र छानो मात्र भएर पुग्दैन । माया, सम्मान, आत्मीयता र आफू अझै कसैका लागि महत्वपूर्ण छु भन्ने अनुभूति पनि उत्तिकै चाहिन्छ । ज्येष्ठ नागरिकलाई भोजन दिनु सेवा हो, स्वास्थ्य परीक्षण गर्नु संरक्षण हो, उनीहरूका कुरा सुन्नु सम्मान हो र उनीहरूको अनुभवलाई नयाँ पुस्तासँग जोड्नु भविष्यमा गरिएको लगानी हो ।
विकासको वास्तविक मापन फराकिला सडक र अग्ला भवनले मात्र हुँदैन: समाजका पुर्खा कति सुरक्षित, सम्मानित र सुखी छन् भन्ने कुराले हुन्छ । आज हामीले पुर्खालाई दिएको आदर नै भोलि हामीले पाउने आदरको जग हो ।
स्थानीय तहको हकमा नेपालमै पहिलोपटक यस्तो अनुकरणीय पहल गरेकोमा भक्तपुर नगरपालिका, यसको दूरदर्शी नेतृत्व, जनप्रतिनिधि, कर्मचारी र सेवामा खटिनुहुने सम्पूर्ण हातहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । भक्तपुरले बालेको यो दियो देशका हरेक गाउँ र सहरमा उज्यालो बनेर फैलियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *