भर्खरै :

तिहार : अन्धविश्वास, रूढिवाद र विकृतिविरुद्ध चेतना फैलाउँदै श्रम, संस्कृति र सामाजिक एकताको पर्व बनाऔँ

तिहार : अन्धविश्वास, रूढिवाद र विकृतिविरुद्ध चेतना फैलाउँदै श्रम, संस्कृति र सामाजिक एकताको पर्व बनाऔँ

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता बोकेको देश हो । यहाँ मनाइने विभिन्न चाडपर्वहरूले समाजको ऐतिहासिक विकासक्रम, सांस्कृतिक पहिचान र सामाजिक सम्बन्धलाई प्रतिबिम्बित गर्छन् । तिहार पनि नेपाली समाजको एउटा महत्वपूर्ण सांस्कृतिक पर्व हो । घरआँगन सफा गर्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, माला लगाउने र मिठोमसिनो खाने परम्पराले नेपाली समाजको सांस्कृतिक जीवनलाई जीवन्त बनाएको छ । उज्यालो, फूल, माला, देउसी–भैलो र आपसी सद्भावसँग जोडिएको यस पर्वको आफ्नै ऐतिहासिक तथा सांस्कृतिक महत्व छ । तर, कुनै पनि चाडपर्वलाई केवल धार्मिक आस्था र परम्पराको सीमाभित्र राखेर हेर्नु पर्याप्त हुँदैन । त्यसलाई सामाजिक, आर्थिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणबाट पनि विश्लेषण गर्न आवश्यक छ ।
तिहारलाई यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाइन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवद्र्धन पूजा र भाइटीकाका रूपमा मनाइने यस पर्वमा मानिसले प्रकृति, पशुपक्षी, कृषि, धनसम्पत्ति र पारिवारिक सम्बन्धलाई विशेष महत्व दिएको पाइन्छ । तिहारमा कागलाई सन्देशवाहक, कुकुरलाई यमदूतको सहयोगी तथा सुरक्षाको प्रतीक र गाईलाई कृषि तथा पशुपालनको आधार एवम् लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता पाइन्छ । गोरुलाई कृषि उत्पादनको सहयोगीका रूपमा सम्मान गर्ने परम्परा आफैँमा मानव समाज र प्रकृतिबिचको अन्तरसम्बन्धको सांस्कृतिक अभिव्यक्ति हो ।
विशेष गरी लक्ष्मीपूजाका सन्दर्भमा धनसम्पत्तिलाई देवीको रूपमा व्याख्या गर्ने धार्मिक मान्यता प्रचलित छ । तर, समाजको वास्तविक समृद्धि श्रम, उत्पादन, सीप, प्रविधि र न्यायपूर्ण आर्थिक व्यवस्थाबाट सम्भव हुन्छ । मेहनत गर्ने श्रमिक, किसान, मजदुर, उद्यमी र उत्पादनशील जनशक्तिको योगदानबिना कुनै पनि समाज समृद्ध हुन सक्दैन । त्यसैले धनको पूजा गर्नुभन्दा धन उत्पादन गर्ने श्रमको सम्मान गर्नु आजको आवश्यकता हो । गरिबी, बेरोजगारी र आर्थिक असमानता कायम राखेर गरिने तडकभडकपूर्ण चाडपर्वले सामाजिक न्यायको लक्ष्य पूरा गर्न सक्दैन ।
काठमाडौँ उपत्यकाका नेवार समुदायले तिहारको अवसरमा मनाउने म्हःपूजा यस पर्वको अत्यन्त महत्वपूर्ण सांस्कृतिक तथा दार्शनिक पक्ष हो । विशेष गरी नेपाल संवत्का नयाँ वर्ष अर्थात् कछलाथ्व पारुका दिन नेवार समुदायले म्हःपूजा गर्छन् । यसमा तिहारको सांस्कृतिक विविधता र नेवार समुदायको मौलिक पहिचान पनि समेटिन्छ । म्हःपूजा ः आत्मसम्मान, अस्तित्व र मानव मर्यादाको सांस्कृतिक अभिव्यक्ति हो । काठमाडौँ उपत्यकाका नेवार समुदायमा म्हःपूजा तिहारसँग जोडिएको विशिष्ट सांस्कृतिक परम्परा हो । नेपालभाषामा ‘म्हः’ को अर्थ शरीर वा आफू भन्ने हुन्छ । त्यसैले, म्हःपूजा भनेको आफ्नै शरीर अर्थात् आफ्नो अस्तित्वको पूजा गर्नु हो । यस दिन परिवारका सदस्यहरूलाई छुट्टाछुट्टै मण्डल बनाएर पूजा गरिन्छ । सगुन, फलफूल, फूलमाला, बत्ती र विभिन्न खाद्य सामग्री चढाएर दीर्घायु, स्वस्थ जीवन र सुखसमृद्धिको कामना गरिन्छ ।
म्हःपूजालाई धार्मिक कर्मकाण्डका रूपमा मात्र बुझ्नु उचित हुँदैन । यसको एउटा महत्वपूर्ण दार्शनिक पक्ष मानिसले आफ्नै अस्तित्व, शरीर र जीवनको महत्व स्वीकार गर्नु हो । मानिसको जीवन मूल्यवान् छ, आफ्नो शरीर र स्वास्थ्यको संरक्षण गर्नुपर्छ र प्रत्येक व्यक्तिको अस्तित्वको सम्मान गर्नुपर्छ भन्ने सन्देश यस परम्परामा अन्तर्निहित छ । मानिसको शरीर नै उसको जीवन, श्रम, सिर्जना र सामाजिक अस्तित्वको आधार हो । मानिसले आफ्नो श्रम र बुद्धिबाट समाज निर्माण गर्छ । त्यसैले, मानिसको जीवन र श्रमको सम्मान गर्नु म्हःपूजाको एउटा व्याख्या हुन सक्छ । मानिसको वास्तविक कल्याण कुनै अलौकिक शक्तिको कृपामा होइन, स्वस्थ जीवन, श्रम, ज्ञान, सामाजिक सम्बन्ध र न्यायपूर्ण समाज निर्माणमा निर्भर हुन्छ । म्हःपूजामा परिवारका सबै सदस्यलाई मण्डलमा राखेर गरिने पूजाले पारिवारिक एकता र प्रत्येक व्यक्तिको महत्वलाई पनि अभिव्यक्त गर्छ । तर, यसको सन्देश परिवारभित्र मात्र सीमित रहनु हुँदैन । जात, भाषा, धर्म, लिङ्ग र आर्थिक अवस्थाका आधारमा कसैलाई पनि सानो वा ठुलो ठान्नु हुँदैन । प्रत्येक मानिसको समान अस्तित्व र मर्यादा स्वीकार गर्नु नै यसको व्यापक सामाजिक सन्देश हुनुपर्छ । नेपाल संवत्को नयाँ वर्षसँगै मनाइने म्हःपूजाले नयाँ वर्षलाई नयाँ सङ्कल्प र नयाँ उत्साहका साथ स्वागत गर्ने अवसर पनि प्रदान गर्छ । त्यसैले, यसलाई पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत मात्र नभई व्यक्तिगत जीवनसँगै सामाजिक जीवनमा सकारात्मक परिवर्तनको सङ्कल्प गर्ने दिनका रूपमा पनि लिन सकिन्छ । म्हःपूजाले मानिसको अस्तित्वको सम्मान गर्न सिकाउँछ, प्रत्येक मानिसलाई समान अधिकार, सम्मान र अवसरसहित बाँच्न पाउने समाज निर्माण गर्न प्रेरित गर्छ ।
तिहार पर्वले दाजुभाइ तथा दिदीबहिनीबिचको आत्मीयता, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिन्छ । पाँच दिनसम्म मनाइने तिहारमा भाइटीकाको विशेष महत्व छ । तिहारको भाइटीका दाजुभाइ र दिदीबहिनीबिचको प्रेम तथा सद्भाव र आत्मीयताको प्रतीक हो । दिदीबहिनीको सुरक्षा, सम्मान र अधिकारको प्रत्याभूति केवल भाइटीकाको दिन टीका लगाएर पूरा हुँदैन । यस अवसरलाई महिला र पुरुषबिचको समानता, पारस्परिक सम्मान र अधिकारको विषयसँग पनि जोड्न आवश्यक छ । महिलालाई केवल परम्परा निर्वाह गर्ने भूमिकामा सीमित राख्ने होइन, समाजको समान अधिकार प्राप्त र निर्णायक सदस्यका रूपमा स्थापित गर्नुपर्छ । दाजुभाइले दिदीबहिनीको रक्षा गर्ने मात्र होइन, दिदीबहिनीले पनि दाजुभाइको सुखदुःखमा समान सहभागिता जनाउने पारस्परिक सम्बन्ध विकास हुनुपर्छ ।
तिहारको उज्यालोमा समाजका श्रमिक, किसान, मजदुर, साना व्यवसायी र विपन्न समुदायको जीवन पनि उज्यालो बन्नुपर्छ । खेतबारीमा पसिना बगाउने किसान, उद्योगमा श्रम गर्ने मजदुर, सडक र निर्माण क्षेत्रमा काम गर्ने श्रमिक तथा दैनिक ज्यालादारीमा जीवन गुजारा गर्ने जनताको श्रमबिना समाजको आर्थिक जीवन चल्न सक्दैन । तर, चाडपर्वको समयमा समेत उनीहरूको जीवनमा अभाव, महँगी र आर्थिक असुरक्षा कायमै रहन्छ । त्यसैले तिहारलाई श्रमको सम्मान गर्ने, श्रमिकको अधिकार स्थापित गर्ने र समाजमा विद्यमान आर्थिक असमानताविरुद्ध आवाज उठाउने अवसरका रूपमा लिनुपर्छ ।
राज्यले पनि चाडपर्वलाई केवल औपचारिक शुभकामना र भाषणमा सीमित नगरी महँगी नियन्त्रण, बजार अनुगमन, गुणस्तरीय खाद्यान्नको उपलब्धता, यातायात व्यवस्थापन र श्रमिकको अधिकार संरक्षणमा ठोस कदम चाल्नुपर्छ ।
महिलामाथि हुने हिंसा, दाइजो प्रथा, घरेलु शोषण, लैङ्गिक विभेद र असमानताविरुद्ध परिवार तथा समाजले निरन्तर सङ्घर्ष गर्नुपर्छ । दिदीबहिनीलाई समान अधिकार, शिक्षा, रोजगारी र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्नु नै भाइटीकाको आत्मीयतालाई वास्तविक सामाजिक अर्थ दिनु हो ।
तर, कुनै पनि चाडपर्वलाई केवल परम्पराको निरन्तरताका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । त्यसको ऐतिहासिक पृष्ठभूमि, सामाजिक महत्व, आर्थिक पक्ष र वर्तमान समाजमा परेको प्रभावबारे पनि दृष्टिकोण राख्नु आवश्यक छ । तिहारलाई अन्धविश्वास, रूढिवाद र अनावश्यक खर्चको माध्यम होइन, वैज्ञानिक चेतना, मानवीय मूल्य र सामाजिक रूपान्तरणको अवसरका रूपमा ग्रहण गर्नुपर्छ । समाजमा प्रचलित सबै सांस्कृतिक परम्परा समान रूपमा उपयोगी हुँदैनन् । कतिपय परम्पराले मानव जीवनलाई सहज, आत्मीय र व्यवस्थित बनाएका छन् भने कतिपयले अन्धविश्वास, विभेद र शोषणलाई समेत निरन्तरता दिएका छन् । त्यसैले, संस्कृतिको संरक्षण गर्ने नाममा हरेक पुरानो प्रचलनलाई जस्ताको तस्तै स्वीकार गर्नु वैज्ञानिक सोच होइन । यी मान्यतालाई धार्मिक विश्वास र सांस्कृतिक प्रतीकका रूपमा बुझ्नुपर्छ । तर, यी पशुपक्षीको वास्तविक महत्व भने प्रकृति र मानव जीवनसँगको सम्बन्धमा निहित छ । कुकुरको निष्ठा, गाईको कृषि तथा आर्थिक जीवनमा योगदान र कागको पर्यावरणीय भूमिकालाई सम्मान गर्नु नै व्यवहारिक चेतना हो । एक दिन पूजा गरेर वर्षभरि पशुपक्षीमाथि दुव्र्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।
सामाजिक प्रतिष्ठाका लागि फजुल खर्च गर्ने प्रवृत्तिले निम्न तथा मध्यम वर्गीय परिवारलाई थप आर्थिक बोझमा पारेको छ । चाडपर्वको आनन्द धनसम्पत्तिको प्रदर्शनमा होइन, आपसी आत्मीयता र सद्भावमा हुन्छ । गरिब परिवारले चाडपर्व मनाउन नसक्ने र धनी परिवारले विलासिताको प्रदर्शन गर्ने सामाजिक अवस्थालाई सामान्य मान्न सकिँदैन । यस्तो असमानताविरुद्ध सामाजिक चेतना निर्माण गर्नु आजको आवश्यकता हो । यस्ता गतिविधिले तिहारको वास्तविक सांस्कृतिक महत्वलाई कमजोर बनाउँछन् । परम्पराका नाममा समाजलाई अन्धविश्वास, रूढिवाद र आर्थिक बोझतर्फ धकेल्नु कदापि उचित हुन सक्दैन । तिहार उज्यालो र आत्मीयताको पर्व हो । तर, वास्तविक उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा व्याप्त अज्ञानता, अन्धविश्वास, शोषण, विभेद, अन्याय र असमानताको अँध्यारो हटाउनु हो । दीपावलीको उज्यालोले जनताको जीवनमा शिक्षा, स्वास्थ्य, रोजगारी, समानता र सामाजिक न्यायको उज्यालो ल्याउन सके मात्र यसको वास्तविक सार्थकता स्थापित हुनेछ । संस्कृति समाजको जीवन्त सम्पत्ति हो, तर संस्कृति परिवर्तनशील पनि हुन्छ । समय र समाजको आवश्यकताअनुसार संस्कृतिलाई मानवहितमुखी बनाउनु नै वैज्ञानिक दृष्टिकोण हो ।
हामीलाई अन्धविश्वासको होइन, वैज्ञानिक चेतनाको तिहार चाहिएको छ । देखासिकी र फजुल खर्चको होइन, श्रम र उत्पादनको तिहार चाहिएको छ । विभेद र असमानताको होइन, समानता र सामाजिक न्यायको तिहार चाहिएको छ ।
देउसीभैलो तिहारको मौलिक सांस्कृतिक विशेषता हो । विगतमा यसले गाउँघरका मानिसलाई एक ठाउँमा जुटाउने, सुखदुःख साटासाट गर्ने र सामूहिक जीवनलाई बलियो बनाउने काम गथ्र्यो । तर, पछिल्लो समयमा कतिपय ठाउँमा देउसीभैलो अत्यधिक रकम सङ्कलन गर्ने, अनावश्यक खर्च गर्ने र मनोरञ्जनका नाममा विकृत गतिविधि प्रदर्शन गर्ने माध्यम पनि बनेको छ ।
देउसीभैलोलाई सामाजिक चेतना फैलाउने अभियान बनाउन सकिन्छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, भ्रष्टाचारविरोधी अभियान, महिला समानता र सामाजिक न्यायका विषयलाई देउसीभैलोका गीतमार्फत जनतासमक्ष पु¥याउन सकिन्छ । यसले संस्कृतिलाई जीवन्त राख्नुका साथै समाज परिवर्तनको अभियानमा पनि योगदान पु¥याउनेछ । देउसी–भैलो मनोरञ्जन र आर्थिक सङ्कलनको माध्यम मात्र होइन, यो सामूहिक सिर्जना, लोकसंस्कृति र सामाजिक चेतना अभिव्यक्त गर्ने माध्यम पनि हो । विगतमा देउसी–भैलोमार्फत समाजका विकृति, विसङ्गति र शासकवर्गका कमजोरीमाथि व्यङ्ग्य गरिन्थ्यो । आज पनि देउसी–भैलोलाई सामाजिक चेतना फैलाउने, श्रमजीवी जनताको आवाज उठाउने, भ्रष्टाचार, शोषण, अन्याय र विभेदविरुद्ध जनमत निर्माण गर्ने माध्यम बनाउन सकिन्छ । संस्कृतिलाई जीवन र समाजसँग जोड्नु नै यसको जीवन्तता हो ।
आज देश आर्थिक सङ्कट, बेरोजगारी, भ्रष्टाचार, महँगी र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । लाखौँ युवा रोजगारीका लागि विदेसिन बाध्य छन् । किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । मजदुरको श्रमको उचित सम्मान छैन । यस्तो अवस्थामा चाडपर्वको नाममा हुने अनुत्पादक खर्च र उपभोगवादी संस्कृतिलाई प्रोत्साहन गर्नुको सट्टा स्वदेशी उत्पादन, स्थानीय उद्योग, कृषि र श्रमको सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । तिहारमा प्रयोग हुने फूलमाला, दियो, खाद्यान्न तथा अन्य सामग्री सकेसम्म स्वदेशी उत्पादनबाट उपयोग गर्नु राष्ट्रिय अर्थतन्त्रलाई सहयोग पु¥याउने व्यावहारिक कदम हुनसक्छ ।
अन्ततः तिहारलाई केवल दीपावली, पूजा, भोजभतेर र मनोरञ्जनको पर्वमा सीमित नराखौँ । यसलाई श्रमको सम्मान, सामाजिक समानता, पारिवारिक सद्भाव, वातावरण संरक्षण, स्वदेशी उत्पादनको प्रवद्र्धन र सामाजिक रूपान्तरणको अवसर बनाऔँ । अन्धविश्वासको अँध्यारो हटाएर वैज्ञानिक चेतनाको उज्यालो फैलाऔँ । शोषण, विभेद र असमानताको अन्त्य गर्दै न्यायपूर्ण समाज निर्माणको सङ्कल्प गरौँ । तिहारको वास्तविक उज्यालो घरका दियोमा मात्र होइन, जनताको जीवनमा सुख, समृद्धि, समानता र न्यायको उज्यालो फैलिनुमा निहित छ । यही सन्देशसहित सबैमा तिहारको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *