भर्खरै :

हकिङमय डायरी : केही दृश्यहरू

सुरेश परियार
“आज आइन्स्टाइनको जन्मदिन हो । उहाँको जन्मदिनमा यो कार्यक्रम हुनु खुसीको कुरा हो । तर आज बिहानै स्टिभन हकिङको मृत्युको खबर आयो ।” आदरणीय वैज्ञानिक उदयराज खनालको मसिनो स्वरमा दुःखद खबर सुनेर भौतिकशास्त्रका विद्यार्थी र शिक्षकले खचाखच भरिएको हल एकाएक सुनसान भयो मानौँ शोकमा मौनधारण गरिएको हो …..

दृश्य १

प्रयोगशालाको काम सकिएको थियो । कक्षा शुरु हुनुअघि केही घण्टा खाली भइन्छ । साथीहरूमाझ हकिङको मृत्युको खबर फैलियो ।
एउटा साथीले भन्यो, “मान्छे एकदिन मर्छ । हकिङ पनि मरे । मृत्युसित लडेर, जितेर, विज्ञानकर्मलाई अघि बढाएर उनले ब्रह्माण्ड विज्ञान (Cosmology) मा योगदान गरे । हाम्रा लागि धेरै कुरा लेखे । आज उनले लेखेका किताबको कुनै एउटा पाठ पढेर उनलाई श्रद्धाञ्जली दिँदा कसो होला ?”
अर्कोले भन्यो, “के लेखेका छन् र ?”
“धेरै किताब लेखेका छन् । तर सबैभन्दा पछिल्लो ग्राण्ड डिजाइन (Grand Design) चाहिँ नछुटाउनू । त्यसैको कुनै पाठ पढे पनि हुन्छ ।”
“आफ्नै किताब पढ्ने फुर्सद छैन आफूलाई । आ….. के लेखेका छन् र त्यसमा ?”
साथीले उत्साहपूर्वक जवाफ दियो, “आइन्सटाइनले ब्रह्माण्डका नियमबारे बिम्बात्मक भाषामा ‘ईश्वरले जुवा खेलेका छैनन्’ भनेका थिए । हकिङले त्यो किताबमा प्रष्ट भाषामा ‘ब्रह्माण्डको उत्पत्तिका लागि ईश्वर आवश्यक छैनन्’ भने । ईश्वरमा आस्था भएका विद्वान र सभ्यतासंगै इतिहासमा नास्तिक विचारक पनि समानान्तर रुपमा विद्यमान थिए भन्ने हकिङले औँलाएका छन् ।”
विज्ञान पढ्नेहरूमा आस्तिकहरूको मात्रा ठूलो हुनु तेस्रो विश्वका विद्यार्थीको विशेषता हो । उसको कुरा सुनेर केही आस्तिक साथीहरू जङ्गिए ।
“कहाँ हुनु ? आइन्स्टाइन त ईश्वरमाथि विश्वास गर्थे ।”
साथी मुस्कायो मानौँ उसलाई यस्तो प्रसंग आउँछ भन्ने हेक्का थियो पहिल्यै । उसले भन्यो, “आइन्सटाइनले धर्मलाई नैतिकताको रुपमा मात्र उल्लेख गरेका छन् । त्यो पनि आफ्ना सार्वजनिक लेखनीहरूमा । केही वर्षपहिले प्रिन्सटन विश्वविद्यालयको पुस्तकालयमा उनको हस्ताक्षरको एउटा नोट भेटिएको थियो । त्यसमा उनले धर्म बालबच्चाको खेल हो भनी लेखेका छन् । हुन त आजभोलि हिन्दु ‘विद्वान’हरूले वेदमा आइन्सटाइनको भ्.mअद्द को व्याख्या उतिबेलै गरिएको थियोसम्म भन्न भ्याएका छन् । उनीहरूको कुरै छाडौँ ।”
आजभोलि नेपाली बजारमा ईश्वरलाई विज्ञानको जामा लगाउने कथित वैज्ञानिक संस्थाहरू क्रियाशील छन् । युवाविद्यार्थीमात्र होइन, विज्ञान शिक्षकहरू पनि यसको प्रभावमा छन् । नास्तिक साथीको कुरा सुनेर हिन्दु संस्कारका केही साथीको पारो तात्यो ।
सानैमा आफ्नो अचेतन मनमा गाडिएको आस्था एउटाले सुनायो, “वैज्ञानिकहरूले निकालेको सबै ज्ञान वेदबाटै त आएको हो ।”
अघिदेखि नै चुपचाप बसेको एउटा साथी पेटीको पल्लो छेउबाट बोल्यो, “वेद भनेको पुराना मानिसहरूको चिन्तन र कल्पनाको उपज हो । बादललाई हेर्दा कसैले त्यसमा मेरी आमाको अनुहार देखेँ भन्नसक्छ । कसैले होइन मेरा हजुरबुवाको जस्तो देखिन्छ भन्नसक्छ । प्रकृतिका शक्तिहरूको आराधना छ त्यसमा । त्यसबेला थाहा नभएका प्रकृतिका रहस्यहरूबारे साधारण प्रश्न छन् । वेद त लोकगीत हो । गीतका बिम्बलाई आफ्नो अनुभवअनुसार व्याख्या गर्छन् मान्छेले ।”
साथी पाएर नास्तिकले खुसीको सास फे¥यो । अनि चुनौती दियो, “वेद पढेर कसले के आविष्कार ग¥यो ? मलाई एउटा उदाहरण देउ ।”
आस्तिकले भन्यो, “धेरै छन् ?”
“के छन् ? एउटा बताऊ ।”
“पुष्पक विमान । अंग्रेजहरूले वेदबाट त हवाई जहाज बनाउने विचार लिएर गएका हुन् ।” आस्तिक साथी मख्ख प¥यो ।
“हेर पुष्पक विमानको चर्चा खासगरी रामायणमा छ । रामायणभन्दा पुराना वेदका शब्द हामीमाझ छन् भने पुष्पक विमान बनाउने प्रविधिको व्याख्या खै त ? विज्ञानसंगै प्रविधि पनि हुन्छ । कुरा र कल्पना त जस्ले पनि गर्न सक्छ । आकाशमा चिर्बिराउँदै उडिरहेका चरालाई हेरेर कसलाई उडौँउडौँ नलागेको होला र ? त्यसैले पुष्पक विमान वाल्मिकीको कल्पना मात्र हो ।”
“वाल्मिकी हो र ? रामायण लेख्ने वेदव्यास हो ।” आस्तिक अल्मिलियो ।
नास्तिकले भन्यो, “यहीँ समस्या छ आस्तिकहरूको । नास्तिक बन्न धेरै मिहिनेत गर्नुपर्छ । दसी प्रमाण र तथ्य जुटाउनुपर्छ । तर जोपनि सजिलै आस्तिक बन्न सक्छ । थाहा नभएका कुरामा ‘ईश्वरको लीला’ भने पुगिहाल्यो । विज्ञान त अनुसन्धान गर्छ, उसलाई दुःख छ । विज्ञान क्रियाशिलताको दर्शन हो भने धर्म अल्छिहरूको ।”
वातावरण गरमागरम भयो । एकजना साथी मध्यस्थकर्ता बन्न आयो, “हेर सबैजनाको आ–आफ्नो विश्वास हुन्छ । यस्ता कुरै गर्ने होइन के हामीले । छोड यस्ता कुरा ।” नास्तिक साथीलाई फुर्काउँदै उसले भन्यो, “तिमीले यस्तासित कुरा गर्ने नै होइन के ।”
नास्तिक सतर्क भयो, “हेर, यो कुनै जुँगाको लडाइँ होइन । र तिमीले भनेजस्तो निरर्थक विवाद पनि होइन । यहाँ सिनेमा, संगीत र खेलकुदका कुरा भएको भए तिमी जोडतोडले बोलिरहेका हुन्थ्यौ । मलाई व्यङग्य नगर । मलाई जति थाहा भएका प्रमाण दिइरहेको छु । साथीहरूले पनि त तर्क देऊन् न । विज्ञानको विद्यार्थी भएर पूर्वाग्रहको आधारमा बोल्न सुहाउन्न । वादेवादे जायते तत्वबोधः भन्छन् । धर्म र विज्ञानबीचको विवाद धेरै पुरानो हो ।”
एकजनाले बीचमै कुरा काट्यो, “जति जे भनेपनि सबैको मनको कुनामा ईश्वरप्रतिको आस्था हुन्छ, हुन्छ । हामी यसलाई नकार्न सक्दैनौँ ।”
नास्तिकले जोस्सिँदै सोध्यो, “कुन ईश्वर ? हिन्दु ईश्वर ? कि क्रिश्चियन ईश्वर ? वा मुस्लिम ईश्वर ? संसारमा धेरै आदिवासी र वन्यजातिहरू यस्ता छन् जसका लागि ईश्वर कालो अक्षर भैँसी बराबर हो । उनीहरू प्रकृतिलाई पूजा गर्छन् । ईश्वरमा आस्था राख्दैनन् ।…… हिजो टोलेमीले बनाएको ब्रह्माण्डको चित्रभन्दा बाहिर ईश्वरको ठाउँ हो भन्थे धार्मिकहरू । मानिस अन्तरिक्षमा पुगेपछि उनीहरूले विज्ञान नपुगेको ठाउँ खोज्न थाले । र त्यहाँ ईश्वरलाई राख्दै हिँडेका छन् । स्ट्याण्डर्ड मोडेल (Standard Model) को हिग्स बोजोन (Higg’s Boson) लाई न्यम God Particle भनेका छन् । क्वाण्टम मेकानिक्स (Quantum Mechanics) को उल्झनलाई प्रयोग गरेर चेतना (consciousness) नै विश्वको आधारभूत निर्माता हो भन्दै हल्ला मच्चाइरहेका छन् । यता वैज्ञानिकहरू अध्ययन गर्दै छन् । धार्मिकहरू निष्कर्ष सुनाइरहेका छन्, तिमीहरूले सक्दैनौ, ईश्वरको लीला अपरम्पार छ ।”
कुरा जति तन्कायो उत्ति तन्किन्थ्यो । शायद यहीँ बुझेर नास्तिक पानी पिउन चुपचाप क्याम्पसको सिँडी उक्लियो । अरुलाई सम्झाउने अर्का मध्यस्थकर्ता आएका थिए । के भन्ने, यिनीहरू विज्ञानका विद्यार्थी मात्रै होइनन् विज्ञानका भोलिको हर्ताकर्ता र शिक्षक हुन् । यिनीहरूमध्ये केहीले त आफूलाई सगर्व कम्युनिष्ट घोषणा गरेका छन् ।
अलि पछि आएको र कथित धर्मविज्ञान संस्थाको कक्षा लिएको एउटा साथीले थर्काएको थियो, “तिमीले जे भन । आजभोलि मान्छेहरू सबैचिज त्यागेर वेद पढ्न थालेका छन् । आजको ४०÷५० वर्षमा विज्ञान धर्ममय बन्छ । हेर्नू…”
यो ‘भविष्यवाणी’ ले केही झस्कायो । हुन पनि पैसाको यो युगमा जता पैसा आउँछ मान्छे उतै दौडिरहेको छ । तर हकिङहरू छन्, आइरहनेछन् र लडिरहनेछन् । विज्ञानले आफ्ना बफादार सन्तान जन्माउन छोड्ने छैन ।

दृश्य २

मध्यदिन । हलमा सबै साथी र शिक्षकहरू उदयराज सरलाई सुन्न बसेका छौँ । उहाँले गुरुत्वाकर्षक तरङ्ग (Gravitational radiation) बारे बोल्ने तय भएको थियो । २०१५ मा छोपिएको गुरुत्वाकर्षक तरङ्ग ब्ल्याक होल (Black hole) र आइन्सटाइनको समीकरणसंग सम्बन्धित थियो । उक्त तरङ्गले आइन्स्टाइनले १९१५ मा लेखेको गुरुत्वाकर्षक क्षेत्रसम्बन्धी समीकरणलाई पुष्टि गर्छ । साथै २०१५ को गुरुत्वाकर्षक तरङ्गको स्रोत दुईवटा ब्ल्याक होलको मिलन थियो । ब्ल्याक होलको मृत्युको घोषणा हकिङले गरेका छन् ।
गुरुत्वाकर्षक तरङ्गको बारेमा प्रवचन दिनुअघि उहाँले आधुनिक विज्ञानमा हकिङ र उनको योगदानबारे भावपूर्ण तस्विर खिच्नुभयो । नास्तिकमात्र होइन आस्तिकहरुको पनि मौनताले हकिङलाई सम्मान दिएको आभाष भयो ।

दृश्य ३

हकिङमाथि रचना गरिएको धुन बजिरहेछ छेउमा । टेबलमा ल्याम्प बलिरहेछ र अगाडि छ डायरी । अनेक तर्कना आइरहेका छन् मनमा । र संगै छ हकिङको सम्झना ।
नौ कक्षामा पढ्थेँ शायद । एकदिन एउटा अजङ्गको ब्ल्याक होल हाम्रो सौर्यमण्डलतिर लम्किरहेको छ भन्ने खबर पत्रिकामा पढेँ । हत्तपत्त कापी निकालेर हिसाब गरेँ । त्यो ब्ल्याक होलको दुरी र गति प्रयोग गरेर हाम्रो सौर्यमण्डलसम्म आइपुग्न लाग्ने समय निकालेँ । खर्बौँ वर्ष लाग्ने देखायो । निसास्सिएजस्तो भयो । केही दिनसम्म निद्रै लागेन । भाइबहिनी, साथीहरू सबैलाई त्यहीँ कुरा सुनाउँथे र निधार खुम्चाउँथेँ । किशोर मन ! समयले त्यो डर घटाउँदै लग्यो । पृथ्वीको आयु सकिएपछि मात्र त्यो ब्ल्याक होल यहाँ आइपुग्छ भन्ने तथ्यले पनि सान्त्वना दियो । केही वर्षपछि कतै पढियो, हकिङ विकिरण (Hawking Radiation) को बारेमा । हरेक ब्ल्याक होलबाट एउटा विशेष विकिरणको रुपमा उर्जा निस्कन्छ । आफ्नो सारा उर्जा गुमाएको ब्ल्याक होल अन्तमा मर्छ । यो विचारले ब्ल्याक होलसंगको मेरो डर खाइदियो । र हकिङ बने किताबी साथी ।
मेरालागि हकिङ थिए अघोषित नास्तिक । मान्छे आफैले सिर्जना गरेको ईश्वरको दास बन्न अस्वीकार गर्ने मानव सामथ्र्यका नमुना र विज्ञानका रक्षक । ग्यालिलियो निधन भएको दिनमा जन्मिएका उनले कतै लेखेका छन् ‘ग्यालिलियोले ल्याटिन भाषामा लेख्ने वैज्ञानिकहरूको चलन तोडेर आम जनताको भाषामा विज्ञान लेखिदिए’ । हकिङले विज्ञानको यो परम्परालाई अगाडि बढाए । जटिल जार्गनहरूबाट निकालेर उनले विज्ञानका नयाँपुराना उपलब्धिलाई कथा, निबन्ध र प्रवचनमार्फत साधारणजनमाझ पु¥याए । पछिल्लो समय उनी पृथ्वीमा मानव जातिको आयुको बारेमा चिन्तित थिए । बहुराष्ट्रिय कम्पनीका नाफाखोर मालिकहरूले साधारणजनलाई अज्ञानता र अन्धविश्वासको भुमरीमा राखेर विश्वलाई मृत्युको मुखमा पु¥याउँदै गर्दा हकिङ अवैज्ञानिक धारणाको विरोधमा उभिने सशक्त र अथक योद्धा थिए । मानव समाजको विज्ञानचेत अभिवृद्धि गर्ने अभियन्ताको रुपमा हकिङ प्रातःस्मरणीय थिए र रहनेछन् ।
रात छिप्पिँदैछ । तर हकिङ संगीत बजिरहेछ, मानौँ कुनै ब्ल्याक होलबाट निस्किरहेको हकिङ विकिरण नजिकै कतै सुसेलिरहेछ ।
फागुन ३०
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *