भर्खरै :

जातिसंहारबिच घर धपाइँदाको अनुभव

  • जेष्ठ ३२, २०८२
  • जोनाथन उर्मेनेता
  • विचार
जातिसंहारबिच घर धपाइँदाको अनुभव

प्यालेस्टिनी जनताको सङ्घर्षले प्रेरित भएँ । मन समानुभूतिले ओतप्रोत भयो । इजरायली अत्याचारले आक्रोशित भएँ । अनि, झन्डै दुई वर्षको यो औपनिवेशिक होलोकस्ट (फासिवादी अत्याचार) बिच म प्यालेस्टिन फर्केँ । पहिले पनि प्यालेस्टिनको भ्रमण गरेको थिएँ । त्यो भ्रमणले मलाई प्यालेस्टिनका रैथाने जनतालाई गहिराइमा गएर बुझ्न र हातेमालो गर्न घचघच्यायो । यी तिनै जनता हुन् जो जातिभेदी र जातिसंहारक इजरायलसँग ७६ वर्षदेखि जुध्दै आएका छन् ।
मैले प्यालेस्टिनी साथीहरूप्रति मात्र होइन, मध्यकालीन बर्बरता र कब्जामा बाँचिरहेका सम्पूर्ण जनताप्रति ऐक्यबद्धता जाहेर गर्न चाहेँ । प्यालेस्टिन जाने दिन आयो । अमेरिकाको सान फ्रान्सिस्कोबाट मेरो यात्रा सुरु भयो । त्यहाँबाट एम्स्टर्डम पुगेँ । अचम्म ! केही समय म हेग सहरमा बसेँ । त्यही सहरमा छ अन्तर्राष्ट्रिय फौजदारी अदालत
(आईसीजे) । सोही अदालतले सुनाएको थियो इजरायलले जातिसंहार गरेको ‘हुन सक्ने’ फैसला ।
छोटो बसाइपछि मैले इजरायल जाने जहाज चढेँ । इजरायलमा मैले जेजति देखेँ–भोगेँ त्यसबाट त्यो देशबारे मैले पढे–सुनेका सबथोक पुष्टि भयो । साँच्चै इजरायल जातिभेदी र जातिसंहारक देश हो ।

नृशंस पर्खाइको खेल
एम्स्टर्डम विमानस्थलमा मैले उच्च सुरक्षा सतर्कता महसुस गरेँ । विमानस्थलमा चेकजाँच भयो । मलाई एक डच प्रहरीले जाँचे ।
विमान चढ्नुअघि स्क्रिनिङ प्रक्रिया चल्यो । तिनीहरूले मेरो पासपोर्ट हेरे । त्यसपछि घेरा हालेर मलाई दोस्रो स्क्रिनिङ जाँचका लागि लगियो । थप सुरक्षा अधिकारी आएर जाँचे । तिनीहरूले केरकारको शैलीमा मलाई तथानाम प्रश्न गरे ।
मेरो उत्तरले उनीहरूको चित्त बुझेन । तिनीहरूले सन् २०२२ मा मेरो लेबनन भ्रमणबारे प्रश्न गर्न थाले । त्यहाँ मैले चिनेजानेका व्यक्तिबारे सोधपुछ गरे । मैले ‘इन्स्टाग्राम’बाट चिनजान गरेका दुई साथीबारे बताएँ । जाँचकी अकमक्क प¥यो । उसले सामाजिक सञ्जालबाट साथी बनाउन सकिन्छ भन्ने कुरा नबुझेझैँ लाग्यो ।
बेलाबेला जाँचकी आफ्नो उच्च अधिकारीसँग बुझबुझारथ गर्न गइरह्यो । लुकामारी खेले जस्तो महसुस भयो । दिमागै ठप्प पार्न खोजेझैँ लाग्यो । सुरक्षा अधिकारीले एक घन्टापछि सुरक्षा कक्षमा भेट्न आदेश पठायो ।
एक घन्टा बित्यो; सुरक्षा कक्षमा गएँ । तिनीहरूले मेरा मालताल केस्राकेस्रा पारी केलाए । कुनै कसर बाँकी नराखी खोजतलास गरे । म यहुदी राज्यका बाहिरिया लठैतहरूको पूर्ण तजबिजमा थिएँ ।
एक इजरायली सुरक्षा अधिकारीले ममाथि हैकम जमायो । उसले मलाई कोठाको एउटा कुनामा लगेर शरीर छाम्यो । मेरा सबै लुगा जाँचियो† बम बनाउने कुनै तरिका लेखिएको छ कि भनेर परीक्षण गरियो ।
मेरा सबै मालमत्ता जम्मा पारेर एक इजरायली सुरक्षा अधिकारीले मलाई तर्साउन खोज्यो । एक अरबी मूलको अमेरिकीले तेल अभिभ सहरको बिच भागमा धेरै इजरायली नागरिकलाई छुरा घोपेर मारेको बतायो । मलाई उसले झूटो बोलेझैँ लाग्यो ।
पछि मैले मोरक्को मूलको एक अमेरिकीले छुरा घोपेर चार इजरायलीको हत्या गरेको समाचार पढेँ । यस्तै, छिटफुट हिंसालाई देखाएर इजरायलले यो समग्र भूभागमा आफ्नो हिंस्रक वर्चस्व कायम गर्ने मनसाय राख्दै आएको छ । सत्ताका लठैतहरूले मलाई विमानसम्म पु¥याए ।
जनवरी २१ गते । बिहानको चार बजेको थियो । म इजरायलको बेन गुरिअन विमानस्थलमा ओर्लेँ । त्यो बेलाको परिवेश अर्कै थियो । यसपालि अक्टोबर ७ को सन्दर्भ थियो । १५ महिनाअघि अक्टोबर ७ मा एउटा ऐतिहासिक दास विद्रोह भयो । यो विद्रोह प्रत्येक इजरायली बसोबासीको दिमागमा सूलझैँ बिझ्यो ।
यहुदीवादी मिडिया इजरायलीहरूलाई दुईचार कुरा मनाउन सफल रह्यो । पहिलो, यो कुनै उपनिवेशवादविरोधी विद्रोह होइन । बरु कसैगरी उचित ठह¥याउन नसकिने आतङ्ककारी हमला हो । अर्को, यो ‘सभ्य’ युरोपमा भएका (यहुदी) नरसंहारभन्दा फरक होइन । त्यसमा पनि नाजीवादभन्दा यो कत्ति पनि फरक छैन । कडा सुरक्षाबिच इजरायलमा मप्रति केकस्तो व्यवहार होला भन्ने सवाल दिमागमा खेलिरह्यो ।
इजरायली भन्सार चौकीमा पुगेपछि मान्छेहरूले मलाई क्वारक्वार्ती हेरिरहेको पाएँ । कठोर हेराइ र तर्साउने भङ्गीमा देखेँ । के मैले इजरायलविरुद्ध सङ्गीन अपराध गरेको आशङ्का गरिएको थियो कि ? यस्तो दूव्र्यवहार भोग्ने पत्रकार र अन्तर्राष्ट्रवादीहरू कति होलान् ? एक सीमा चौकीमा एकजनाले मेरो पासपोर्टमा लेबननको छाप लगाएको ख्याल ग¥यो । उसको नजरमा यो पापिस्ट काम थियो । उसले मेरो पासपोर्ट लियो र प्रतीक्षा गर्ने कक्षामा पर्खिन भन्यो ।
केही घन्टा बिते । पर्खाइको खेल चल्दै थियो । पट्यार लागेर आयो । यत्तिकैमा एउटा मनोरोगी, आत्महन्ता हेराइ आयो सुरक्षा अधिकारीको । म उसलाई ‘पशु’ भन्छु । उसले मलाई औपचारिक सोधपुछका लागि आफ्नो कार्यालयमा लग्यो । झट्ट हेर्दा ऊ कुनै पुरानो फिल्मको खाँटी खलपात्र जस्तो देखिन्थ्यो । आँखा राता उसका अनि अनुहार थियो निरस र निर्भाव ।
आत्मपीडामा रमाइरहने राज्य व्यवस्थाको यस दलाललाई केले चलायमान बनाउँछ ? यकिनसाथ भन्न सक्दिनँ । यति अवश्य भन्न सक्छु – यो व्यक्ति समझदारी वा आन्तरिक शान्तिको इन्धनले चल्दैन । ऊ थियो परपीडनको दुरूस्त प्रतिमूर्ति । प्लेग लागेको पागलको छनक थियो उसमा । एकाएक मेरो आँखा उसको पछाडि भित्तामा टाँगिएका दुई व्यक्तिको तस्बिरमा गयो । एक थिए नेतन्याहु र अर्का थिए इजरायली सुरक्षा प्रमुख ।
उसको शिरमाथि टाँगिएका यी दुई व्यक्ति अनिष्टकारी थिए । उसले मेरा अन्तरङ्ग जीवनसम्बन्धी प्रश्नका वाणले हान्न थाल्यो । शङ्कास्पद लागेको सुरक्षा खतराको जरा खोतल्न थाल्यो । यसरी तिनीहरू कति सूचना निकाल्छन् खोइ ?
बोल्ने बेलामा घाँटी अड्के जस्तो लाग्यो मलाई । मेरो सारा नसामा खिया लागेझैँ भयो । बुद्धि भुटिएझैँ भयो । यो कुरा तिनीहरूलाई पनि थाहा थियो । मेरा सामु ऐरेगैरे मानिस थिएनन् । उनीहरू पेशेवर परपीडक थिए । ७६ वर्षसम्म तिनीहरूले कसाही कर्ममा तालिम लिएका थिए ।
सुरक्षा अधिकारीले मेरो काम र यो भेगमा मैले चिनेजानेका मान्छेबारे केरकार गरिरह्यो । मैले एकजना प्यालेस्टिनी साथी भएको बताएँ । यसमा पनि उसको आशङ्का हवात्तै बढ्यो । उसले मेरो मित्रताका सबै पक्ष जान्न खोज्यो । मानौँ, हामी दुई साथी मिलेर इजरायल सरकारलाई धरापमा पार्ने जाल बिछ्याइरहेका छौँ । यसपछि उसले इस्टाग्राममा हामीबिच भएका कुराकानी हेर्न खोज्यो । उसले हाम्रो कुराकानीमा ‘स्क्रोल’ गरिरह्यो । मलाई अरबी भाषा आउँछ कि भनेर पत्ता लगाउन खोज्यो ।
मोबाइलमा उसले मेरा पोस्टहरू पनि पढ्न भ्यायो । अनि, म जातिसंहारविरुद्ध छु भन्ने निष्कर्ष निकाल्यो । उसले भन्यो, “तिमीले पहिले नै एउटा पक्षलाई काखी च्यापिसकेका रहेछौ ।” मैले कुरा मिलाउन खोजेँ । तर, ऊ आफ्नो निष्कर्षमा निर्धक्क थियो । अब उसको ध्यान मेरो लेबनन भ्रमणमा केन्द्रित भयो । मेरा साथीहरू किन पत्रकार छन् भनेर उसले जान्न चाह्यो । यसबाट कुनै पनि देशको ऐतिहासिक र राजनीतिक पक्षबारे मसिनो जानकारी लिन सजिलो हुने मैले बताएँ ।
मेरो जवाफले उसको चित्त बुझेन । उसले मोबाइलका सम्पर्क नम्बरहरू हे¥यो । सिरिया, लेबनन र इरानका फोन नम्बर छन् कि भनेर खोजिरह्यो । उसले सबै फोन नम्बर यसरी ढड्डामा टिप्यो मानौँ हामी कुनै ठूलो षड्यन्त्रमा वा सङ्गठित अपराधमा सहभागी छौँ । त्यसपछि उसले मलाई ‘ह्वाट्सएप’ छ कि भनेर सोध्यो । मैले छैन भनेँ । उसलाई भनेँ, “त्यो (एप) अमेरिकामा त्यति चर्चामा छैन ।” उन्मादी मुस्कानसाथ उसले मलाई आफ्नो कार्यालयबाट बाहिरिन भन्यो । मैले दोहो¥याएँ, “साँच्चै छैन !” ऊ फेरि पनि मुस्कायो । भन्यो, “बाहिर गइहाल !” उसको आदेश पालन गर्दै बाहिर निस्केँ र पहिलेझैँ ‘प्रतीक्षा कक्ष’ मा पर्खिरहेँ ।

‘मध्यपूर्वको एकमात्र प्रजातान्त्रिक देश’ बाट धपाइएँ
घन्टौँपछि अध्यागमन अधिकारीहरू फेरि केही प्रश्न लिएर आए । तिनीहरूले मेरो हातको छाप लिए र फोटो खिचे । त्यसपछि मलाई यो खबर सुनाए – ‘इजरायलले मलाई पुनः एम्स्टर्डम पठाउने भएको छ र मलाई इजरायल प्रवेशमा सदाका लागि रोक लगाइएको छ ।’ मलाई कत्ति पनि अचम्म लागेन । यही हुन्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । किनभने, अन्य अभियन्ता र पत्रकार साथीहरूले मलाई यस्तै भोगाइ सुनाइसकेका थिए । मलाई सरकारी निर्णयबारे जानकारी गराइएको आधिकारिक कागत दिए । त्यो बेला महसुस गरेँ – तिनीहरूले मलाई सुरक्षा खतरा करार गरिसकेका थिए ।
पुनः म प्रतीक्षा कक्षमा गएँ । धेरै बेर पर्खिरहेँ । समय बगिरह्यो । त्यसपछि मलाई विमानस्थलसम्म लगियो । त्यहाँ तिनीहरूले फेरि जथाभावी मेरो सामान र शरीरको तलासी लिए । त्यसपछिको चरणमा मलाई भुर्इँमुनिको तलामा लगियो । त्यहाँ केही आक्रोशित व्यक्ति थिए । तिनले मलाई केलाउनु केलाए ।
म बस्न खोजेँ । तीमध्ये एक व्यक्तिले मलाई हत्कडी लगायो । त्यहाँ रहेका दुई जनाको हातमा हत्कडी थिएन । मेरो हातमा मात्र हत्कडी थियो । तिनलाई खतरा हुने मैले के नै गरेको थिएँ र ? मलाई मात्र किन हत्कडी लगाएको भनेर पनि सोधेँ । मेरो प्रश्नको जवाफ दिनमा तिनलाई कत्ति पनि रुचि थिएन । झन्डै चार घन्टा पर्खेपछि समय आएछ । म उभिएँ र हात खोल्नका लागि पछि फर्किएँ । अघिका दुई व्यक्ति मेरो पछिल्तिर गए । एउटाले मेरो हत्कडी खोल्यो । अर्कोले मलाई डरधम्की दिइरह्यो । अत्तालिएर म तिनको पकडबाट भाग्न खोज्छु होला भन्ने लागेको थियो तिनलाई ।
ती दुई व्यक्तिले मलाई बिदाइ गरिने ढोकासम्म पु¥याए । हिँड्दाहिँड्दा खुट्टै दुख्यो । विमानमा चढ्ने बेला भयो । शारीरिकरूपमा कमजोरहरूलाई विमानमा चढाएपछि मलाई पनि सुविधासाथ माथि चढ्न भनियो । यो पूरै यात्रामा यही मात्र मैले सद्व्यवहार नामको केही पाएँ । आकाशमा उड्दै गर्दा मैले नजिकै बसेका एक यात्रुसँग छोटो कुराकानी गरेँ । एम्स्टर्डममा सुरक्षाकर्मीले सुनाएको समाचार सही हो भने उनले ।
तेल अभिभ सहरमा एक अमेरिकीले साङ्घातिक आक्रमण गरेको रहेछ । चार घन्टापछि हाम्रो विमान एम्स्टर्डमको शिफोल विमानस्थलमा अवतरण ग¥यो । राहतको सास फेरेँ । अन्ततः यहुदीवादीहरूको पकडबाहिर पुगेँ भन्ने भयो । त्यही बेला मलाई फेरि आफ्ना प्यालेस्टिनी साथीहरूलाई भेट्न नपाउने भएँ भन्ने पीर लाग्यो । प्यालेस्टिनको पहिलो भ्रमण गर्दा मलाई अचानक कोभिड लागेको थियो । त्यतिबेला एक बुढीआमाले आफ्नो छोरालाई झैँ मेरो स्याहारसुसार गरेकी थिइन् । उनलाई अब कहिल्यै भेट्न नपाइने भयो भन्ने लागेपछि मन व्याकुल भयो ।
त्यसपछि केही दिन म आफ्नो भोगाइबारे सोचमग्न भइरहेँ । जम्मा २४ घन्टामा मैले जुन असहजता भोगेँ त्यो हाम्रा देखादेखी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको वर्षौँ लामो जातिसंहारसामु केही पनि होइन । प्यालेस्टिनका रैथाने जनताले भोगिरहेको दुःखकष्ट र पीडालाई एकाध दिनको त्रासदीभित्र समेट्न सकिन्न ।
गाजामा अहिले हाम्रो युगको होलोकस्ट
(फासिवादी अत्याचार) चलिरहेको छ । नाजी होलोकस्टमा यातनागृहमा थुनिएका यहुदीकै सन्तानहरू अहिले आफ्नै शैलीको फासिवादीले अत्याचारमा अग्रसर छन् । इजरायली राजनेताहरू अहिले प्यालेस्टिनी जनतालाई ‘नरपशु’ भन्दै छन् । जसरी कुनै बेला नाजीहरू यहुदी जनतालाई भन्थे । इजरायलका यी फासिवादीहरू चलाइरहेको यो जातिसंहारमा संरा अमेरिका र उसका मित्र देशहरूको पूर्ण साथ–समर्थन छ ।
सकारात्मक कुरा, विश्वभरि अहिले जनजागरण आउँदै छ । विश्वका क्याम्पस र सडकहरूमा जनताको चेतना जागेको देखिँदै छ । विद्यार्थी र श्रमजीवी जनताले गाजाका जनताको पक्षमा आवाज उठाइरहेका छन् । यहुदीवादविरोधी यहुदीहरूले गजबको संस्कार कायम गर्दै छन् । अरूको गहिरो पीडामा करूणा देखाउने आफ्नो परम्परा दर्शाउँदै छन् । जातिभेदी इजरायलमा प्रवेश निषेध गरिनु मेरो लागि सम्मानको विषय हो । मैले उनीहरूले इजरायल भ्रमणमा रोक लगाउने तिनीहरूले दिएको औपचारिक कागतपत्रलाई फ्रेममा राखेर भित्तामा टाँगेको छु । नजिकै अमिर शोमालीले हस्ताक्षर गरेको पोस्टर पनि टाँगिएको छ । त्यसमा लेखिएको छ – प्यालेस्टिन भ्रमण गर्नुहोला !
(लेखक प्यालेस्टिनी ऐक्यबद्धता आन्दोलनमा सक्रिय छन् । उनले सिलिकन उपत्यका, रुस र मध्यपूर्वमा अमेरिकी साम्राज्यवादले गर्ने गुप्त चलखेलका घटना उदङ्ग्याउँदै र साम्राज्यवादी चलखेलको निन्दा गर्दै संसारका धेरै देश घुमेका छन् । आमापट्टीबाट उनी पोर्चुगली हुन् भने बाबुपट्टीबाट उनी जापानी र फिलिपिनो हुन् ।
स्रोत : कोभर्ट एक्सन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *