भर्खरै :

ज्येष्ठ नागरिकलाई क्षमता अभिवृद्धि तालिम

ज्येष्ठ नागरिकलाई क्षमता अभिवृद्धि तालिम

केके मानन्धर 

भक्तपुर, ४ असार । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले ज्येष्ठ नागरिकहरू लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोडेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । वाग्मती प्रदेशसभाका सांसद नुरज बज्राचार्य, वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
यसैबिच मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो । तालिमअन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको वस्तु) सिलाइ गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो । घरमा छोराबुहारी र नातिहरूमा निर्भर हुन नपर्ने गरी ज्येष्ठ नागरिकहरूलाई आंशिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सीपसम्बन्धी तालिम दिइएको थियो । ३२ जनालाई लप्ते सिलाइ तालिम दिइएको छ भने २० जनालाई सुकुल बुन्ने र १० जनालाई सुकुल र लप्ते बनाउने तालिम दिइएको थियो । तालिममा दुई पटक सम्म भीमरथारोहण गरेका (८२ वर्ष नाघेका) देखि ६० वर्ष उमेर माथिका हजुरआमाहरू सहभागी भएका थिए । ललितपुर थसिस्थित सुजाता महर्जनले सुकुल बुन्ने तालिम दिनुभयो भने काठमाडौँकी पटनादेवी रञ्जितले लप्ते बनाउने तालिम दिनुभयो । वैशाख ७ गते उद्घाटन गरिएको तालिम जेठ ३० गते सकाएर असार ३ गते समापन गरिएको थियो ।
यसैबिच, समूहले हालै वृद्धवृद्धाहरूलाई आंशिक रूपमा आत्मनिर्भर बनाउन सीप विकास तालिम प्रदान गरेको छ । समूहले ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणको लागि प्रतिव्यक्ति रु. १०० चन्दा माग गरी रु. १०० अभियानको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *