भक्तपुरको शैक्षिक गुणस्तर माथि उठ्नुमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान
- बैशाख १०, २०८३
भक्तपुर, ४ जेठ । कुनै पनि विद्यालयको गुणस्तर भनेको विद्यालयले प्रदान गर्ने संस्कारगत शिक्षा, विद्यार्थीमैत्री वातावरण, बालमैत्री अनुशासन हो । सुविधासम्पन्न भवन, अङ्ग्रेजी माध्यमको पढाइ भनेको भौतिक शक्ति मात्र हो । त्यसभन्दा धेरै महत्वपूर्ण कला, भाषा, संस्कार समेटिएको विद्यालयको आन्तरिक जीवन्त कार्यक्रम र शिक्षण सिकाइ हुने गर्दछ ।
सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको आयोजनामा चार दिनसम्म विद्यार्थी निकेतन माध्यमिक विद्यालय, साकोठा, भक्तपुरमा सञ्चालित प्राथमिक शिक्षक पुनर्ताजगी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा भक्तपुर नगरपालिका, वडा नं ५ का अध्यक्ष एवं विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले प्रमुख अतिथिको आसनबाट सो विचार व्यक्त गर्नुभएको हो ।
उहाँले सबै विद्यार्थी एकैनासको हुनुपर्ने भन्ने अवधारणा गलत हो, बालबालिकाहरू भट्टाबाट उत्पादित एउटै आकारका इटाजस्तो नभएको हुँदा हरेक विद्यार्थीहरूमा पृथक अन्तर्निहित प्रतिभा हुन्छ जसलाई शिक्षकले समयमै चिनेर शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गराउनुपर्दछ भन्ने कुरामा जोड दिनुभयो । तालिममा सहभागी शिक्षकहरूले आफूले जानेका ज्ञान र सीप लागु गर्दा व्यवहारमा विविध समस्या आए पनि त्यसलाई चिरेर अगाडि बढ्ने इच्छाशक्ति राख्नुपर्ने कुरा उहाँले स्पष्ट पार्नुभयो ।
विद्यार्थी निकेतन माविका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले पुरानो समयका तालिमहरू भत्ता पचाउने र हाजिर गरेर माना पचाउने खालका हुने गरेको कुरा स्मरण गर्दै बिदामा समेत शिक्षकहरू उत्सुुुकतापूर्वक तालिममा सहभागी भएकोले धेरै उत्साह मिलेको विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरूले सिकेका सीपहरू व्यवहारिक रूपमा विद्यार्थी र अन्य शिक्षकसामु प्रस्तुत हुने कुराको विश्वास व्यक्त गर्नुभयो ।
तालिमको समापन समारोहमा प्रशिक्षक देवना जोशीले योजनाबद्ध तरिकाले विद्यार्थीहरूलाई उत्प्रेरणा जगाई सिकाउन शिक्षकहरू लाग्नुपर्नेमा जोड दिँदै प्रयोग नै नगर्नुभन्दा सुरुआत गर्नु धेरै राम्रो कुरा हो भन्ने विचार व्यक्त गर्नुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले सभापतिको आसनबाट शिक्षकहरू अगाडि बढेमात्र विद्यार्थीहरू पनि अगाडि बढ्ने कुरामा जोड दिँदै शिक्षकहरूले आफूले गरेका शिक्षणका नयाँ र राम्रा अभ्यासलाई अभिभावक र समुदायसामु पु¥याउन सके त्यसले सकारात्मक सन्देश प्रवाह हुने विचार राख्नुभयो ।
शिक्षक उद्धव दाहालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा शिक्षिका सङ्गीता जोशीले प्रशिक्षार्थीको प्रतिनिधि मन्तव्य राख्नुभएको थियो भने शिक्षिका शर्मिला ग्वाछाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चार दिनको सो तालिममा मल्टिपल इन्टेलिजेन्स, शैक्षिक सामग्री निर्माण, शिक्षण प्रक्रियालगायतका विषयमा तालिम प्रदान गरिएको थियो । प्रशिक्षक देवरादास फागुले अन्तिम सत्र सञ्चालन गर्नुभएको सो तालिमका प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि विजुक्छेँले सहभागिताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
Leave a Reply