भर्खरै :

“नेमकिपाले जस्तो अनुशासन कायम गरेको भए देशको यो हविगत हुने थिएन”

“नेमकिपाले जस्तो अनुशासन कायम गरेको भए देशको यो हविगत हुने थिएन”

भक्तपुर, असार ८ गते । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा सङ्घकी पूर्वकोषाध्यक्ष शोभा प्रधानको तेस्रो स्मृतिसभा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दिवङ्गत जीवनसाथी शोभा प्रधानसँगका विभिन्न अन्तरङ्ग प्रसङ्गहरूबारे चर्चा गर्नुभयो । शोभा प्रधान रामेछापबाट आउनुभएको हुनाले चिट्ठीपत्र र साहित्यमार्फत उहाँलाई देश तथा समाज चिनाउने प्रयास गरेको उहाँले सम्झिनुभयो ।
नेमकिपाको समूल अन्त्य गर्न रचिएको भक्तपुर काण्डको बेला शोभा प्रधानले धीरता नगुमाएको र राजनीतिक क्रियाकलापबाट बिस्तारै समाजमा घुलमिल भएको अध्यक्ष बिजुक्छेँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक कार्यकर्ताहरूको बैठक नै उहाँको विश्वविद्यालय थियो ।”
स्थानीय भाषा सिक्दा र राजनीतिक जीवनका उतारचढावबारे व्यवहार र अध्ययनबाट पाउँदा समाजमा सजिलो हुने अध्यक्ष बिजुक्छेँले प्रकाश पार्नुभयो । दिदीबहिनीहरूलाई अध्ययनमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
पञ्चायतकालीन कालरात्रिमा नेमकिपाले स्थानीय भाषामा राजनीतिक कक्षा चलाएको तर आजका शासक दलहरू पैसाको पछाडि मात्र लागेकोमा उहाँले विरोध गर्नुभयो । जनतालाई राजनीतिक रूपमा पङ्गु बनाएकोमा उहाँले शासक दलहरूको निन्दा गर्नुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेमकिपाले जस्तो अनुशासन कायम गरेको भए देशको यो हविगत हुने थिएन ।”
शासक दलहरूको ध्यान खालि चुनावमा जथाभावी पैसा खर्च गर्ने र त्यो पैसा उठाउन अर्को चुनाव लड्ने चक्रमा रूमल्लिएको उहाँले चर्चा गर्नुभयो ।
स्मृतिसभामा अध्यक्ष बिजुक्छेँले भारतका वामपन्थी इतिहासकार विजय प्रसादले भक्तपुर नगरपालिका भ्रमण गरेको प्रसङ्ग सम्झिनुभयो ।
भारतमा कम्युनिस्टहरूले १८ वर्षसम्म सरकारमा गएर अस्पताल, आदर निकेतन र कलेज बनाउनमा ध्यान नदिएको तर नेमकिपाले नगरपालिका स्तरमै यी काम गरेर देखाएकोमा विजयप्रसाद अचम्मित भएको उहाँले बताउनुभयो । विजयप्रसादले “कहाँबाट सिक्नुभयो ?” भनी सोध्दा अध्यक्ष बिजुक्छेँको जवाफ थियो, “जनताबाटै सिक्यौँ ।”
भक्तपुरमा पार्टीले गरेको प्रयोग देशभरि फैलाउने बताउँदै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “हाम्रा कार्यकर्ताहरू बीउजस्ता हुन् । जिल्ला–जिल्लामा छर्छौँ । त्योसँगै देशभरि परिवर्तनको बहार आउनेछ ।”
वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले शोभा प्रधानको सङ्घर्षशील व्यक्तित्वबारे चर्चा गर्नुभयो । कोरियाली क्रान्तिका साहित्यसँग तुलना गर्दै उहाँले क्रान्तिकारी नेताको सेवा गरेर शोभा प्रधानले क्रान्तिको सेवा गरेको जिकिर गर्नुभयो ।
शोभा प्रधानले भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको नेतृत्वमा चलाइएको शैक्षिक तथा स्वास्थ्य आन्दोलनमा अग्रणी भूमिका खेलेको उहाँले चर्चा गर्नुभयो । आज पनि यी आन्दोलनमा होमिएका नेता–कार्यकर्ताले आफ्नो सुखदुःख बिसाउने चौतारीको रूपमा शोभा प्रधानलाई सम्झिरहने उहाँले स्मरण गर्नुभयो ।
कामदारवर्गका छोराछोरीलाई विद्यालयमा आउन उत्प्रेरित गर्ने प्रधानलाई जनताले सदासदा एक सच्चा कम्युनिस्ट आमाको रूपमा सम्झिरहने प्रदेशसभा सदस्य सैँजुले बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निर्देशक मजेशप्रताप मल्ल तथा पोषणविद् वर्षा भट्टराईले आधुनिक जीवनशैलीले स्वास्थ्यमा पारेका प्रभाव र त्यसबाट बच्ने उपायहरूबारे सविस्तार कक्षा लिनुभएको थियो ।
स्मृतिसभामा नेपाल क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अनुराधा थापामगरले शोभा प्रधान अनुकरणीय र प्रेरणादायी क्रान्तिकारी व्यक्तित्व भएको बताउनुभयो । नेपालको महिला आन्दोलनलाई स्पष्ट दिशानिर्देश गर्दै प्रधानले कामदारवर्गका लागि कामदारवर्गकै महिलाले गर्नुपर्ने आदर्शलाई मूर्त रूप दिएर नयाँ पुस्तालाई सधैँ ऊर्जा र प्रेरणा दिइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको सन्देश प्रवाह गर्दै उहाँले भन्नुभयो, “शोभा प्रधानले पञ्चायती व्यवस्थाविरूद्ध सङ्घर्ष गर्नुको विकल्प छैन भनेझैँ आजको पुँजीवादी व्यवस्थाविरूद्ध सङ्घर्ष गर्नुको विकल्प छैन भनी मनमा राखौँ ।”
स्मृतिसभामा नेक्रामसङ्घका कोषाध्यक्ष रोशनमैया सुवाल र सदस्य गङ्गा वैद्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *